प्यारो दाजु बलहीरा अर्थात् करबहादुर बुढाको स्मृतिमा

२०७८ साल असोज ९ गते मेरो सहोदर दाजु बलहीरा बुढामगरको आफ्नै निवास घोराही १३ डुमुर गाउँमा निधन भयो । उहाँ ८ वर्षदेखि प्यारालाइसिस भएर ओछ्यान पर्नुभएको थियो । उहाँलाई हाम्रो स्थानीय र जातीय परम्पराअनुसार दाहसंस्कार गर्ने काम भयो । उहाँ बुबाआमाका हामी ५ भाइ, दुई बहिनी छोरा–छोरीमध्ये पहिलो सुपुत्र हुनुहुन्थ्यो । माइलो दाजु राजीमन बुढा २६ वर्षको कलिलो उमेरमा विवाह नगर्दै २०३२ सालमा राँगनको रोगबाट ६ महिना बिनाउपचार थला परेर बित्नुभयो । त्यसबेला म सानै थिएँ । हाम्रो गाउँमा न अस्पताल थियो, न त औषधी–उपचारको व्यवस्था नै । सानातिना रुघाखोकीदेखि ठूूलाठूला दीर्घ रोगसम्म पनि धामीझाँक्री र झारफुकमै भर पर्नुपथ्र्यो । यो हाम्रो गाउँको मात्र थिएन, सायद त्यसबेलाको विशाल ग्रामीण क्षेत्रहरूमा यस्तै अवस्था थियो । कयौँ मानिसले सानाभन्दा साना रोगहरूबाट पनि बिनाउपचार अकालै मर्नुपथ्र्यो । त्यसको सिकार हाम्रो परिवार पनि बन्दै आयो ।

बुबाको ५५ वर्षमै पाखुराको हड्डी भाँचिएपछि उपचार नपाएर इन्फेक्सन भएर त्यसैको कारण ६ महिनापछि हृदयाघात भयो । आमाको पनि घरकै अगाडि ढिकबाट खसेर २ वटा करङ भाँचिए र त्यसैको कारण उहाँ पनि लामो समय ओछ्र्यान पर्नुभयो र ५७/५८ वर्षकै उमेरमा बित्नुभयो । घरमै झारफुक र देवीदेवताको भर पर्दापर्दै देवीदेवता र धामीझाँक्रीले पनि बचाउन सकेनन् । माइलो दाइ राँगनको रोगले र साइँली भाउजू रगत नरोकिएर बित्नुभयो । आजको स्वास्थ्य विज्ञानको आँखाबाट हेर्दा यी नितान्त सामान्य खालका, सजिलै उपचार गर्न र बचाउन सकिने रोग थिए तर गरिबी, अशिक्षा, अचेतना, स्वास्थ्य सुविधाहरूबाट टाढा र रूढिवादी चेतना, संस्कारका कारण यी सबै सम्भव हुँदाहुँदै पनि अकालै गरूँला, खाउँला भन्ने बैँसमै जीवन त्याग्नुपर्ने बाध्यता थियो । यो बाध्यताले मनहरू थिलथिलो भएका छन् । पीडाहरूले भावनामा गहिरो डाम बसालेर गएका छन् । यी जीवन–मृत्युका घटनासँग म १२ वर्षको उमेरदेखि साक्षात छु, परिचित छु । प्रत्यक्ष मेराअगाडि भएका यी घटनाले मलाई असाध्यै मर्माहत बनाएको छ । मलाई कम्युनिस्ट आन्दोलनमा प्रेरित गर्नुहुने आदरणीय मेरो सहोदर जेठो दाजुलाई हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु ।

यस्तै घटनाहरूका बीचमा हाम्रो परिवार एउटा सामान्य गरिब परिवारको बीचबाट अघि बढिरहेको थियो । यस्तो परिवारमा जन्मनुभएका आदरणीय जेठा दाइको नाम आमाले करबहादुर, घरकी बज्यैले बलहीरा बुढा राखिदिनुभयो । दाइलाई कसैले करबहादुर भने, कसैले बलहीरा भने पनि उहाँका दुवै नाम उस्तैउस्तै बराबरी प्रचलनमा थिए । पछि नागरिकता बनाउने बेला उहाँले करबहादुर नामबाट नागरिकता बनाउनुभयो । उहाँको जन्म २००१ साल चैत १५ गते भएको थियो ।

यसै क्रममा उहाँका ३ छोरी र एक छोरा भए । एक मात्र छोरा राजप्रकाश भारतीय आर्मीमा भर्ती भए । जेठी छोरीले दाङमा घर किनिन् । जेठी र माइली छोरीले घोराहीमै होटेल व्यवसाय सुरु गरे । भाइबहिनीहरूलाई पढाए । पहाड घरमा बुढाबूढी मात्रै परम्परागत खेतीप्रणालीमा दुःखकष्ट गरी बसिरहेको बेला दाइलाई उच्च रक्तचाप –ब्लड प्रेसर) ले हान्यो । उहाँको एउटा आँखा धमिलो बन्दै नदेखिने भएपछि उहाँ आँखाको उपचारका लागि दाङ घोराही छोरीहरूकोमा झर्नुभयो । छोरीहरूले उहाँलाई तुलसीपुर आँखा अस्पतालमा जाँच गराए । डाक्टररले ब्लड प्रेसरको कारणले यो भएकाले ब्लड प्रेसर कम गराएर हल भएन भने मात्र अप्रेसन गर्ने सल्लाह दिए तर उहाँले छिट्टै अप्रेसन गरेर घर फर्किने भनी जिद्दी गरेपछि छोरीहरूले घोराहीस्थित एउटा निजी अस्पतालमा परीक्षण गराए । उनीहरूले तुरुन्तै आँखाको अप्रेसन गरिदिए । आँखाको अप्रेसनपछि आँखाको समस्या त हल भयो तर अप्रेसनको नवौँ दिनपछि अर्को बेढ¨ सुरु भयो, प्यारालाइसिस । उहाँको बायाँ हातखुट्टाहरू नचल्ने भए ।

यो आठ वर्ष अगाडिको घटना हो । प्यारालाइसिस भएपछि उहाँ घोराहीस्थित छोरीज्वाइँको घरमै बस्दै आउनुभयो । पछि छोरोले त्यही घर किनेर आफ्नै बनाउनुभयो । केही समयपछि लट्ठी टेकेर वरपर गर्ने, खोच्याउँदै बसपार्कसम्म पुग्ने र आफैँ घर आउने, ट्वाइलेट आउनेजाने गरिरहनुभएको थियो । त्यसै समयमा फेरि ट्वाइलेट जाने बेला लडेर प्यारालाइज भएको खुट्टाको साँप्राको हड्डी भाँचियो । यसपछि उहाँ हलचलै गर्न नसक्ने गरी थला पर्नुभयो । यसपछिका करिब आठ वर्षहरूमा दाइ र भाउजूहरूको अवस्था निकै दर्दनाक बन्यो । दाइलाई उठाउने र सुताउने, खाना–खुवाउने र मल–मूत्र दहन गर्ने, सफा गर्ने दाइभाउजूको दिनचर्या बडो हृदयविदारक र करुणादायी बनेको थियो । म हरेक पटक भेट्न गएँ । उहाँको हालत र भाउजूको अवस्था देख्दा हृदय पग्लेर आउँथ्यो । पछिल्लो समय उहाँ झन्पछि झन् कमजोर बन्दै जानुभयो । यति गर्दा पनि भाउजूले आफ्नो कर्तव्यमा कुनै कमी हुन दिनुभएन ।

यसै सिलसिलामा पछिल्लो समय दाइको अवस्था झन्पछि झन् बिग्रिँदै जान थाल्यो । कामका क्रममा मेरी श्रीवनसँगिनी घोराही आएको बेला दाइभाउजूहरूकहाँ नै बसिन् । हामी सबै आउँदा सबै जहिले पनि दाइभाउजूकहाँ नपसीकन चित्त बुझ्दैनथ्यो । श्रीमतीजीको पूरा एक महिनाको बसाइ दाइभाउजूहरूसँगै भयो । दाइभाउजूसँगै बसेपछि दाइको अवस्था निकै नाजुक हुँदै गएको र दाइले मलाई घरिघरि सोधिरहनुभएको खबर श्रीमतीबाट पाइराखेँ । अरू कामहरू ठाती राखेर भदौ ४ गते दाइलाई भेट्न आएँ र ४ दिन सँगै बसेँ । त्यसपछि छिटै आउने बाचा गर्दै म पार्टी कार्यक्रमहरूतिर लागेँ । यसबीचमा करिब एक महिना भयो, श्रीमतीले यसबीचको एक महिना दाइभाउजुहरूकै नजिक रहेर भाउजूलाई सहयोग गरिन् । असोजको सुरुआतबाट मेरो परिवारले दाइको स्वास्थ्य निकै चिन्ताजनक अवस्थामा रहेको र कान्छा कहिले आउँछ भनेर सोधिरहनुभएको खबरले म पनि भित्रभित्र आत्तिइरहेको थिएँ । सपना पनि दाइलाई विभिन्न मुद्रा र अवस्थामा देख्न थालेँ । बीचबीचमा भाउजूलाई पनि फोन गरिरहेँ । भाउजूले पनि कान्छा किन नआएको, कान्छा आएर पनि किन नबोलाएर गएको यस्ता प्रश्नहरू निरन्तर गरिरहेको भनेपछि हाम्रो केन्द्रीय समितिको बैठक र पोखराको विद्यार्थी सम्मेलनको उद्घाटन सत्र भ्याएर दाइलाई भेट्न जाने योजना बनाएँ र त्यसैअनुरूप नै म असोजको आठ गते बेलुका ८ बजेतिर दाइभाउजूकहाँ पुगेँ । दाइलाई भेटेँ, नमस्कार गरेँ । मात्र पुलुक्क हेर्नुभयो । एक छिनपछि ‘आयौ ?’ भन्नुभयो । मैले टाउको निहुर्याएर ‘अँ’ भनेँ । ‘मलाई चिन्नुभयो ?’ भनेँ, फेरि बोल्नुभएन, एकहोरो हेरी मात्र रहनुभयो । दोहोर्याएर फेरि सोधेपछि ‘अँ’ भन्ने सङ्केत दिनुभयो । ‘म को हो ?’ भनेँ । धौ–धौ सानो आवाजमा सासले ‘कान्छा’ भन्नुभयो । मैले ‘नआत्तिनू’ भनेँ । खानापछि, दुईदुई तुर्की पानी र जुस चम्चाबाट मुखमा राखिदिएँ । उहाँले दायाँको अलि–अलि चल्ने हातले देब्रेतिरको मुटुतिर सङ्केत गर्दै ‘यहाँ दुख्छ’ भन्नुभयो । यस्तै अरू केके बोल्नु खोज्नुभएको थियो, उहाँले पनि सक्नुभएन, मैले पनि बुझिनँ । हामी दुई भाइको अन्तिम बुझिने र नबुझिने हाम्रो कुराकानी यति भयो । खानापछि भाउजू र मैले कोल्टे बनायौँ, एकहोरो मतिर हेरिरहनुभएको थियो । केही समयपछि फेरि सीधा बनायौँ । मुखमा अलिकति पानी राखिदिएँ, भो भन्ने सङ्केत दिनुभयो । उहाँको दायाँ आँखाबाट आँसु बगिरहेको देखेँ । म पनि भावुक भएँ । करिब १० बजे रातीको समय थियो । मैले उहाँका हात समातेँ । हातका कुइनाहरू सुन्निएका थिए । कुइनाको मासु डल्लो कालो भएको थियो । दायाँ आँखा सानो र वरपर कालो भएको थियो । मुख हेरेँ, जिब्रो धेरै छोटो भएको थियो । नाडी छामेँ, पल्स भेटिनँ । आँखा हेरेँ, एकोहोरो भएको थियो । समय यस्तै करिब ११ बजेको थियो, भाउजूले कान्छा, तिमी आराम गर्न जाऊ, थाकेका छौ । दाइको सधैँ यस्तै हो भन्नुभयो । म पनि आराम गर्न गएँ तर भोलि बिहानै एउटा लेख तयार पारेर एउटा प्रकाशनलाई दिनुपर्ने भएकाले म १२ बजेतिर त्यो लेख तयार पारेर मात्र सुतेँ । म मस्त निद्रामा परेको थिएँ, ढोकामा ढकढक आवाज आयो । म जुरुक्क उठेँ । माइतीकी माइजूको ‘कान्छा’ भन्ने आवाज आयो । ढोका खोलेको माइजू हुनुहुँदो रहेछ । माइजूले आत्तिएको आवाजमा ‘कान्छा, जेठा दाइ त मान्छे नहुने हो किजस्तो छ, छिटो आइज’ भन्नुभयो । म सीधै दाइकोमा पुगेँ । छामेँ, कराएँ, हल्लाएँ तर दाइको शरीर निश्चल भइसकेको थियो । हातहरू चिसा तर शरीर तातै थियो । उहाँको मुखमा हात राखेँ, सास बन्द भइसकेको थियो । भाउजू छेवैमा बसेर रोइरहनुभएको थियो । भाउजूले रुँदै औँठीको आधा भाग, अर्को सुनको सानो टुक्रा र एउटा पुरानो सिक्का भिजाएको सुनपानी दिनुभयो । मैले पानीसँगै ती सबै मुखमा राखिदिएँ । तर सास गइसकेकाले निल्ने अवस्था थिएन । मैले चोर औँलाले घाँटीसम्म छिराइदिएँ । मुखमा औँला राख्दा मुख तातै थियो । आँखा र मुख खुला थिए, बन्द गरिदिएँ । मैले हिजोको जस्तै दाजु—दाजु भनेर दोहोर्याई–तेहेर्याई कराए“ तर उहाँको पार्थिव शरीर मात्र हाम्रो मेरासामु थियो । उहाँले सदाका लागि बोली बन्द गरिसक्नुभएको थियो । मेरा दुवै आँखाबाट आँसु झरे । हिजो उहाँको आँखाको आँसु र आजको मेरो आँखाको आँसुबीचको साइनो गहिरो थियो तर भेट भएनन् । यी दुवै आँसुहरू बिदाइका आँसुमा परिणत भए । उहाँको आँसु देखेँ र मैले आँसुको अर्थ बुझेँ तर मेरो आँसुको अर्थ बुझ्ने अवस्थामा उहाँ हुनुहुन्नथ्यो ।

संयोग यस्तो भयो, म आएको ३ घन्टापछि दाइले प्राण त्याग गर्नुभयो । मान्छेले भनेजस्तै मलाई नै पर्खी बसेजस्तो भयो । हरेक मान्छेको सास टुट्नुअगाडि एकपटक अनुहारमा कान्ति छाउँछ । मुहार उज्यालो भएर आउँछ । कोही बोलिरहेको मान्छेको बोली फुट्छ । खानै नखाने मान्छेले पनि खाना खान्छ र कोही त अब त ‘म मर्दिनँ’ भनेर ठूलो बाँच्ने आशा जगाउँछन् । हाम्री आमाले प्राण त्याग गर्नुपूर्व शरीर हलचल गर्न नसक्ने र आँखासमेत बन्द भएको दुई दिन भएको थियो । दुई दिनपछि जेठो दाइ भेडीगोठबाट ढिलो आउनुभयो, ‘जेठा छोरा आउनुभयो’ भनेर कसैले सुनाएको एकछिनपछि प्राण त्याग गर्नुभयो । माइलो दाइले जेठो दाइलाई खोजिरहनुभयो । पटक–पटक दाइ आउनुभएन ? भनिरहनुभएको थियो । दाइ भेडीगोठमा हुनुहुन्थ्यो । अर्को दिन जब दाइ घर आउनुभयो र भित्री सँघार नाघेर बिरामी दाईको खुट्टानिर पुग्नुभयो, उहाँको अन्तिम वचन फुट्यो– ‘दाज्यु आउनुभयो ?’ जेठा दाइले ‘अँ, आइपुगेँ’ मात्र के भन्नुभएको थियो, माइलो हर्लक्कै जानुभयो । यसपालि जेठा दाइ र मेरो पनि त्यस्तै भयो । म आउँदा उहाँ आँखा बन्द गरेर आराम गरिरहनुभएको थियो । मैले नजिक गएर दाज्यु भनेपछि आँखा खोल्नुभयो । माथि भनेझैँ केही कुराकानी पनि भयो । ११ बजे राती हामी छुट्टियौँ । यसको ठीक ३ घन्टापछि उहाँको पार्थिव, अविचल शरीर मात्र हाम्रो अगाडि थियो । उहाँ सदाका लागि बिदा भइसक्नुभएको थियो । दागबत्ती दिने एक मात्र छोरो पल्टनमा राजस्थानमा थियो, भोलिसम्म पनि आइपुग्ने स्थिति थिएन । उहाँका हामी शेष ३ भाइहरूमा २ भाइ थबाङ हुनुहुन्थ्यो । समय, दूरी र वर्षाले एक दिनमा आउने स्थिति उहाँहरूको पनि थिएन । त्यसैले अब कान्छा आयो भनेर ढुक्क भएजस्तो भयो । अन्तिममा मैले नै दागबत्ती दिएँ । यो संयोगको कुरा थियो ।

माइलो दाजु, आमा र जेठो दाजु गरी यस्ता ३ वटा घटना मैले आफ्नै जीवनमा बेहोरेँ । मलाई के अनुभूति भयो भने मर्ने मान्छेको पर्खाइको अर्थ हुँदो रहेछ । मेरो यो तेस्रो घटना थियो हाम्रै परिवारमा । पखाइको अर्थ आशा हुँदो रहेछ । आशा छ जीवन छ, आशा सकियो मृत्यु । यो मेरो संश्लेषण हो । आशा कति दह्रो हुँदो रहेछ, कति बलियो हुँदो रहेछ । यसलाई कसैले आध्यात्मिक अर्थमा नबुझिदिनुहोला । यो भौतिक परिवेशकै उपज हो । मैले यसलाई क्रान्तिसँग तुलना गरेँ । जसरी एउटा मान्छेको आशाले उसलाई अन्तिमसम्म बचाउँछ र बाँच्न सिकाउँछ, त्यसरी नै क्रान्ति पनि यस्तै आशावादमा बाँचेको हुन्छ । आशावाद कति दह्रो र बलियो हुन्छ जसले क्रान्तिलाई कहिल्यै मर्न दिँदैन । आशावाद मरेपछि क्रान्ति पनि मर्छ । क्रान्ति सबैको आशामा जीवित हुन्छ । प्रचण्डको दिमागमा क्रान्तिको मृत्यु भयो । त्यो क्रान्तिका लागि ‘डेथबडी’ मा बदलियो तर विप्लवको दिमागमा क्रान्ति जिउँदै थियो र बलियो आशावाद थियो । त्यही आशावादले क्रान्तिलाई बचायो, जगायो र उठायो । यो आशा क्रान्तिको आगमनपछि मात्र मर्छ अर्थात् अर्को नयाँ आशामा बदलिन्छ । त्यो फेरि अर्कोमा साम्यवादी आशामा बदलिन्छ । जबसम्म वैज्ञानिक समाजवाद हाम्रो अगाडि आउँदैन, तबसम्म आशा पनि जिउँदै रहन्छ र क्रान्ति पनि जिउँदै रहनेछ ।

अन्त्यमा दाइलाई हामी सबै मिलेर बिदा गर्यौँ । उहाँले भाउजू, उहाँका एक मात्र छोरा–बुहारी–नातिनी, तीन छोरी र छोरीहरूबाट २ नाति–नातिना, हामी तीन भाइ, २ बहिनीलाई सदाका लागि छोडेर, टुहुरो बनाएर जानुभयो । उहाँ सधैँका लागि बिदा हुनुभयो । आदरणीय मेरो अभिभावक, हाम्रो अभिभावक, दाजुको निधनले हामी सबैलाई निकै मर्माहत बनाएको छ, दुःखी बनाएको छ । हामी उहाँप्रति लाख–लाख श्रद्धाञ्जली अर्पण गर्दछौँ । उहाँले लगाएको बाटोमा लागिरहने प्रण गर्दछौँ । दाजु, तपाईंको सम्झना हाम्रो मानसपटलमा सदासदाका लागि रहिरहनेछ । तपाईंले भन्ने गरेको प्यारो नाम धनीराज बुढामगर (धनी) तपाईंलाई नै सदाका लागि अर्पण गर्न चाहन्छु । आदरणीय ठूल्दाजु, अल बिदा ! अल बिदा !! अल बिदा !!!

तपाईंको प्यारो–प्यारो कान्छो भाइ (तपाईंकै निवास घोराही १३, डुमुरगाउँ) , १० असोज, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :