२७ औँ जनयुद्ध दिवसको सम्झनामा

२७ औँ जनयुद्ध दिवसको सम्झनामा

नेपालको इतिहासमा माओवादी जनयुद्धको नामले परिचित र स्थापित नेपाली क्रान्तिको सङ्क्षिप्त नाम नै ‘जनयुद्ध’ थियो । जनयुद्ध विरोधीहरू जनयुद्ध शब्दबाट पनि भयभीत छन् । उनीहरू जनयुद्ध भन्न पनि डराउँछन् । जनयुद्धसम्म भन्न नसकेर द्वन्द्व भनेर जनयुद्धलाई न्यूनीकरण गर्ने, बदनाम गर्ने र भ्रष्टीकरण गर्ने गर्दै आएका छन् ।

वास्तवमा जनयुद्ध नेपाली समाज रूपान्तरणको महाअभियान थियो । यो नेपालको इतिहासमा एउटा उथलपुथलकारी आन्दोलन थियो । यसैको कारणले त नेपालमा गणतन्त्र सम्भव भएको हो । जनयुद्ध हुँदैनथ्यो भने नेपालमा अझैसम्म संवैधानिक राजतन्त्र कायमै रहने निश्चित थियो किनकि नेपाली काङ्ग्रेस र एमालेले त त्यस बेला नै २०४७ सालको संविधानलाई विश्वको सबभन्दा उत्कृष्ट संविधानको उपमा दिएका थिए भने राजालाई संवैधानिक राजा र संवैधानिक राजतन्त्रलाई उनीहरूले आत्मैदेखि स्वीकारका थिए । सबैको पार्टी विधानमा संवैधानिक राजतन्त्र आत्मसात गरेको कुरा लेखेका थिए । यसका आधारमा राजा, काङ्ग्रेस र एमालेको त्रिपक्षीय साझेदारी सत्ता सञ्चालन गर्दै आएका थिए । यो पनि सबैलाई थाहा छ– उनीहरू मिलेर जनयुद्धको दमन गरे र भयङ्कर रक्तपात मच्चाए । दसौँ हजार माओवादी कार्यकर्ता र सर्वसाधारण जनताको हत्या गरे । उनीहरूले माओवादीलाई हत्यारा र हिंसावादीको आरोप लगाए तर वास्तवमा हत्यारा उनीहरू थिए, राज्यसत्ता थियो किनकि हरेक हिंसाको स्रोत राज्यसत्ता हुन्छ । त्यसमा पनि सामन्तवादीरपुँजीवादी राज्यसत्ताको चरित्र त झन् क्रूर र तानाशाही हुन्छ ।

लेखक : सन्तोष बुढामगर

आज पनि यी दलहरू जनयुद्धलाई द्वन्द्व र जनमुक्ति सेनालाई लडाकु भनेर जनयुद्ध र जनमुक्ति सेनाको उपहास गरिरहेका छन् । जनयुद्धलाई सबैभन्दा दमन गर्नेहरूले नै आज गणतन्त्रको सबैभन्दा बढी सुविधा उपभोग गरिरहेका छन् । उनीहरूले नै आज जनयुद्धका सीमित उपलब्धिहरूको चौकीदारी गरिरहेका छन् । जनयुुद्ध सही थिएन भन्दै यसको बदनाम गर्ने कार्य गरी नै रहेका छन् । उनीहरू अहिले पनि जनयुद्ध सही थियो भन्ने पक्षमा छैनन् । उनीहरू जनयुद्धको नकारात्मक प्रचार गरिरहेका छन् ।

नेपाली राजनीतिमा अहिले पनि जनयुद्ध सही थियो—थिएन भन्ने विषयमा दुई स्पष्ट दृष्टिकोणहरू छन् । यसमा जनयुद्धविरोधीहरूको नकारात्मक दृष्टिकोण र धारणा हुने नै भयो तर आफूलाई वामपन्थी भन्नेहरू सत्तामा बसेका र क्रान्तिकारी आवरणमा सत्ताबाहिर बसेका सानातिना दलहरूमा पनि अझै नकारात्मक धारणा र दृष्टिकोण छ । हिजोको जनयुद्धको नेतृत्व गर्ने मूल नेतृत्वले पनि मुखमा जनयुद्धलाई सही नै बताए पनि त्यही जनयुद्धविरोधी दलहरूसँग घाँटी जोडेर साझेदारी सत्ता चलाउँदै जनयुद्धविरोधी गतिविधि गर्दै आएका छन् । अहिले यी दुवै दृष्टिकोण राख्नेहरू नै अपवित्र गठबन्धन गरेर दलाल सत्ताको चौकीदारी गरिरहेका छन् जसले राजतन्त्रको वकालत गर्दै गणतान्त्रिक आन्दोलनलाई दमन गरे र दसौँ हजारको खुनखराबा गरे तिनैले आज गणतान्त्रिक सत्ताको चौकीदारी गर्नु ‘दूधको साक्षी बिरालो’ भनेजस्तै हो । अहिले यी बिरालाहरूले देशलाई ‘बाँदरको हातमा नरिवल’ बनाइरहेका छन् । यसरी जनयुद्धविरोधीहरू जनयुद्धको उपहास गरिरहेका छन् । साँच्चै भन्नुपर्दा जनयुद्ध कुनै उपहासको विषय नभएर एउटा गौरवपूर्ण ऐतिहासिक परिटना थियो ।

आज त्यो महान् जनयुद्ध २६ वर्ष पार गरेर २७ औँ वर्षमा प्रवेश गरेको छ । यो शुभअवसरमा सवभन्दा पहिले जनयुद्धलाई जनयुद्धको रूपमा स्थापित गर्ने र गौरवमय इतिहास कोर्ने महान् सहिदहरू, बेपत्ता योद्धाहरूलाई श्रद्धासुमन अर्पण गर्दछु । महान् सहिद तथा बेपत्ता परिवार र जिउँदा सहिदका रूपमा छट्पटाइरहनु भएका जनयुद्धका घाइते तथा अपाङ्ग योद्धाहरूमा उच्च सम्मानभाव प्रकट गर्दछु । जनयुद्धलाई हरतरहले नैतिक, भौतिक सहयोग र समर्थन गर्ने महान् जनतालाई लालसलाम गर्दछु र सहयोद्धा नेता तथा कार्यकर्ता र जनमुक्ति सेनाका साथीहरू जसले जनयुद्धलाई जनयुद्धका रूपमा स्थापित गरे र आजउप्रान्त पनि जनयुद्धलाई आत्मैदेखि आत्मसात गर्दै अगाडि बढिरहनुभएको छ, सबैमा विजय र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

समय निरन्तर गतिवान् छ । समाज निरन्तर परिवर्तनशील छ । इतिहास हार र जितका गोरेटाहरू कोर्दै निरन्तर अगाडि बढ्ने गर्दछ । १० वर्षको जनयुद्ध समग्रमा विजयको इतिहास हो । यो सर्वहारा वर्गको सफलताको इतिहास हो । १० वर्षको शान्तिप्रक्रिया समग्रमा पराजय र माओवादी आन्दोलनको विघटनको इतिहास हो । यसले विजय र पराजय, सफलता र असफलताको बक्ररेखा पार गरेर अहिले सकारात्मक र नकारात्मक शिक्षाहरू दिँदै २६ वसन्तहरू पार गरेको छ । यसले फेरि नयाँ क्रान्तिलाई जन्म दिएको छ– एकीकृत जनक्रान्तिको । एकीकृत जनक्रान्तिले फेरि नयाँ गोरेटो खन्दै अगाडि बढेको छ । यो इतिहासमै अर्को गौरवको विषय हो । यो इतिहासको अर्को नयाँ कोसेढुङ्गा (Mile Stone) हो । यसले विघटित माओवादी आन्दोलनलाई नयाँ शिराबाट सङ्गठित गर्दै विश्वलाई क्रान्तिको एउटा नयाँ सन्देश दिन सफल भएको छ । यो जनयुद्धको खरानीबाट पैदा भएको नयाँ आन्दोलन हो । जनयुद्धले चिताबाट एकीकृत जनक्रान्तिलाई बाँकी कार्यभारहरू सुम्पँदै र हस्तान्तरण गर्दै गएको छ । यसलाई पूर्णता दिने कार्य अब एकीकृत जनक्रान्तिको काँधमा आएको छ ।

यो पृथ्वी, यो ब्रह्माण्डमा कुनै पनि चीज वा वस्तु अजम्मरी छैन । सबै चीजको आयु हुन्छ । त्यो जन्मन्छ र मर्छ । कसैको आयु लामो हुन्छ र कसैको आयु छोटो हुन्छ, फरक यति हो । सजीव वस्तुको आयु तुलनात्मक रूपले छोटो तर तीव्र चलायमान हुन्छ तर निर्जीव वस्तुको आयु तुलनात्मक रूपले लामो हुन्छ तर यसको गति धिमा हुन्छ । समाज पनि वस्तु हो, क्रान्ति पनि वस्तु हो, समय र युग पनि वस्तु हो । वस्तु मर्छ । मर्नुको अर्को अर्थ हो अर्को नयाँ वस्तुमा विकास हुनु । यसलाई अध्यात्मवादीहरू ‘जुनी फेर्नु’ भन्छन् । जुनी फेर्दा पुरानोको अस्तित्व समाप्त हुन्छ र त्यसले भिन्न रूपमा अस्तित्व ग्रहण गर्दछ । यसो भन्नुको अर्थ अध्यात्मवादले भनेजस्तै वस्तु मर्छ, आत्मा मर्दैन भनेको होइन । वस्तुको आत्मा हुँदैन, गुण वा स्वभाव हुन्छ । गुण वा स्वभाव वा यसको प्रकृति बदलिन्छ । अर्कोमा रूपान्तरण हुन्छ । रूपान्तरण हुनुको अर्थ हो अर्कोमा विकास हुनु । पुरानोको नयाँमा विकास हुँदा केही गुणहरू पुरानाका पनि लिएर आएको हुन्छ तर पुरानाको भन्दा नयाँमा विकास भएर आएको हुन्छ । बिरुवा मर्छ तर त्यो बिरुवाको गुण मर्दैन । यसले असङ्ख्य फलहरू दिन्छ र फलबाट असङ्ख्य नयाँ बिरुवाहरू पैदा हुन्छन् । यो सङ्ख्यामा पनि विकास हुन्छ र गुणमा पनि विकास हुन्छ । विकास मात्र हुँदैन, विनास पनि हुन्छ । विनास हुनु मर्नु वा पतन हुनु हो । मानिस पनि मर्छ तर नयाँ रूप, रङ, स्वभाव, चेतना भएका नयाँ मानिसहरू जन्मिरहेका हुन्छन् । नयाँले पुरानोबाट केही वंशजन्य गुणहरू लिएर आएको हुन्छ तर नयाँमा नयाँ गुणहरूको विकास भएको हुन्छ । वनस्पति जगत् र प्राणी जगत्मा जस्तै यो नियम समाज विज्ञान र क्रान्तिमा पनि लागू हुन्छ । यो जनयुद्धमा स्वभावैले लागू हुने नै भयो । पुरानो स्वभाव, चरित्र र रूप–रङको जनयुद्धको अन्त्य भयो । त्यसबाट केही वंशजन्य पुराना गुणहरूसहित नयाँ गुणहरूको विकास भएको नयाँ क्रान्तिको जन्म भएको छ । त्यो नयाँ विकसित रूप नै एकीकृत जनक्रान्ति हो । यो जनयुद्धको विकास हो ।

कुनै वस्तुको विकासप्रक्रियालाई पुरातन पक्ष वा पुरातन सोचाइ–चरित्र भएका तत्वहरूले स्वीकार्दैनन् भलै त्यो केही समयका लागि किन नहोस् । त्यसको वैज्ञानिक पक्षलाई उनीहरू इन्कार गर्दछन् । पृथ्वी गोलो छ भन्दा चेप्टो छ भन्नेहरूले मानेनन्, उल्टो सही भन्नेलाई दण्ड गरे । त्यसको वैज्ञानिक पक्षलाई केही समयका लागि बन्देज गरे, प्रतिबन्ध गरे । समाज विज्ञानमा पनि मार्क्स–एङ्गेल्सले माक्र्सवादको प्रतिपादन गरेर बाहिर ल्याउँदानल्याउँदै यसमाथि प्रतिबन्ध लगाए । कति दुःख पाए उनीहरूले । लेनिन र माओहरूले यसको विकास गरिरहँदा उनीहरूलाई कति दुःख दिए, कति अवाञ्छित लाञ्छनाहरू खेप्नुपर्यो । नेपालमा पनि जनयुद्धको सुरुआती दिनहरूमा यिनले जनयुद्धलाई पत्याएनन् । स्वीकार गरेनन् । पछि दमन गरेर सिध्याउन खोजे । सकेनन् । पछि शान्तिप्रक्रियाका नाममा पछाडिबाट छुरी रोपे । आखिरमा जनयुद्ध समाज बदल्ने विज्ञानको एउटा शाखाका रूपमा स्थापित भयो । त्यसैको परिणाम नेपालले कम्तीमा गणतन्त्र पायो तर विडम्बना के भयो भने जनयुद्धले बच्चा त जन्मायो परन्तु आमालाई बचाउन सकिएन । यसको शल्यक्रिया गर्ने डाक्टर अक्षम भयो । आमाको हत्या गरे । बच्चालाई मुस्किलले बचाउन सकियो । मरिरहेको जनयुद्धरूपी आमाको गर्भबाट शल्यक्रियाद्वारा एकीकृत जनक्रान्तिरूपी बच्चालाई सकुशल निकाल्नु र बचाउनु धेरै महान् कार्य थियो । अहिले आमाको हत्या गर्नेहरू विभिन्न बहानामा बच्चाको पनि हत्या गर्ने षड्यन्त्रमा छन् । यसलाई बचाएर लैजानु र यसको भविष्य सुनिश्चित गर्नु अहिले क्रान्तिकारीहरूको दायित्व बनेको छ । अहिले पनि यसलाई अस्वीकार गर्ने पुरातनवादीहरू सक्रिय छन् । प्रतिक्रियावादी तत्वहरू यसलाई मार्न अनेक तिक्डम गरिरहेकै छन् । सोच–चिन्तनमा पछाडि परेकाहरूले पनि पूर्वाग्रही र दुराग्रही भावनाले यसको धारलाई भुत्ते पार्ने काम गरिरहेका छन् । यो नेपाली वामपन्थी आन्दोलनको एउटा क्रोनिक रोगजस्तै बनेको छ । यो सामन्तवादी नेपाली समाजको उपज हो । असली कम्युनिस्ट बन्न नसकेको सूचक हो । यसमा क्रान्तिकारीहरू निकै मेहनत, धैर्य र संयमका साथ आफ्नो मिसनलाई अगाडि बढाउनुपर्ने छ ।

जनयुद्ध क्रान्तिको एउटा सिद्धान्त हो । यो एउटा विचार हो । क्रान्ति परिवर्तनको एउटा विधि र प्रक्रिया पनि हो । त्यसैले यसको विकास प्रक्रियालाई सिद्धान्त, विचार, विधि, प्रक्रिया, स्वभाव, चरित्र, संरचना र परिवर्तन अर्थात् रूपान्तरणको कसीमा हेर्नुपर्छ । कसैले भन्ने गर्छन्— तपाईंहरू अलग्गिएर नयाँ के गर्नुभएको छ र ? यो बिल्कुल अबुझ, अवैचारिक, अराजनीतिक र असैद्धान्तिक कुरा हो । यो दृष्टिकोणविहीन र अगाडि भनिएका कसीको कमीका अभिव्यक्ति हुन् । साँच्चै १० वर्षको शान्तिप्रक्रिया तीव्र गतिमा ओरालो लागेको अवधि थियो । यसलाई नबुझ्नु हो । यो अवधिमा महादेवले पार्वतीको मृत शरीर बोकेर हिँड्दाहिँड्दा कुहिएर कीरा परेर तिनका अङ्ग–प्रत्यङ्गहरू विभिन्न ठाउँमा खसालेर अन्तिममा सबै शरीर नै अन्त्य भएजस्तै जनयुद्धलाई प्रचण्डले शान्तिप्रक्रियामा बोकेर हिँड्दाहिँड्दा २०७५ सालमा यसको अन्त्येष्टि गर्यो । बचेखुचेको माओवादी नामको अस्तु पनि साम्राज्यवादलाई चढाएर यसको अन्त्येष्टि गरेर एमालेमा प्रवेश गरे । शान्तिपूर्ण १० वर्षहरूमा विभिन्न समयमा माओवादी जनयुद्धका उपलब्धिरूपी अङ्गहरूलाई यसरी नै विभिन्न समय र स्थानहरूमा खसाल्दैखसाल्दै (छोड्दै–छोड्दै) गएर अन्तिममा सबै सकिएपछि जनयुद्धको अस्तुरूपी माओवादलाई पनि भेटी चढाए । यसरी समापन गरिएको माओवादी जनयुद्धले एकीकृत जनक्रान्तिलाई जन्म दियो । यसले नयाँ एकीकृत सिद्धान्तको विकासलाई जन्म दिएको छ । एकीकृत कार्यदिशालाई जन्म दिएको छ । विचारमा नयाँ स्वतन्त्र धाराको सिर्जना र विकास गरेको छ । एउटा वैकल्पिक शक्ति र संरचनालाई जन्म दिएको छ । नयाँ प्रतिबन्धको चरण पार गरेको छ । प्रतिबन्ध र सरकार र नेकपाबीचको वार्ताप्रक्रिया आफैँमा एउटा नयाँ राजनीतिक अध्याय थियो । ३ बुँदे सहमति आफैँमा एउटा इतिहास बनेको छ । यसले सिर्जना गरेको नयाँ परिस्थिति र नयाँ राजनीतिक कार्यनीतिक शृङ्खला क्रान्तिको एउटा दृष्टिकोण हो ।

अहिले देश अकर्मण्यताको भुमरीमा परेको छ । यसबेला नेपालको राजनीतिक परिस्थिति निकै सङ्कटमा परेको छ । नेपालका संसदीय राजनीतिक दलहरू त महासङ्कटको दलदलमा फसेका छन् । यसबेला देशलाई सङ्कटबाट अग्रगमनको दिशातिर डोर्याउने दायित्व नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको छ । नेपाल कम्युनिस्ट पार्टीले यतिबेला असाध्य सोचबुझका साथ सबभन्दा उपयुक्त राजनीतिक निकास के हुन सक्छ ? शान्तिपूर्ण ढङ्गले देशलाई अग्रगमनतिर लैजाने उपयुक्त निकास के होला भनेर एउटा निष्कर्ष दिएको छ— जनमतसङ्ग्रहको । यद्यपि यो एजेन्डालाई संसद्‌वादी दलहरूले असाध्य हल्काफुल्का र पुरातन दृष्टिले हेरिरहेका छन् र माथि भनेझैँ सही हुँदाहुँदै पनि यसलाई पुरानो चिन्तन प्रणालीले स्वीकार गर्न सकिरहेका छैनन् । मानिरहेको अवस्था छैन किनकि यो नियम हो । पुरानोले आफ्नो अस्तित्वरक्षाका लागि पनि यो स्वीकार गर्दैन । यो तिनीहरूलाई त्यस बेला मात्र स्वीकार्य हुन्छ जब यो उनीहरूका पक्षमा हुनेछ र हुन्छ । त्यसैले उनीहरू जनमतसङ्ग्रहका बारेमा सुन्नसम्म चाहँदैनन् । पूरै बेवास्ता गरिरहेका छन् तर शान्तिपूर्ण तरिकाले मुलुकलाई अग्रगामी दिशा दिने हो भने र शान्तिपूर्ण सहकार्यको ढोका खोल्ने हो भने योभन्दा उपयुक्त निकास अरू छैन । यही नै यति बेलाको सबभन्दा जनप्रिय र जनहितमा छ । मुलुकको पनि हितमा छ ।

संसदीय दलहरू जुगौँजुग जनतालाई यो संसदीय चुनावको पिङ खेलाउँदै आएका छन् र अहिले पनि त्यही पिङ थापेका छन् । यो पिङ जति घुमाए पनि र जति मच्चाए पनि उही ठाउँमा घुमिरहने प्रणाली हो । यसले मुलुक र जनतालाई निकास दिँदैन । यसले जनयुद्धको खरानीबाट मलजल पाएर हुर्किरहेको एकीकृत जनक्रान्तिको विकासप्रक्रियालाई रोक्छ र नेपाली क्रान्ति पछि धकेल्छ । अझ गम्भीर र नेपालीहरू बुझ्नैपर्ने कुरा त के भने यो संसदीय व्यवस्थाले साम्राज्यवादी शक्तिहरू र शक्तिराष्ट्रहरूलाई नेपालमा चलखेल गर्ने र निरन्तर हस्तक्षेप गरिरहने वातावरण दिइरहेको छ । नेपाल र नेपाली जनताको विकास र परिवर्तनको ढोकामाथिको बिर्कोको काम गरिरहेको छ संसदीय प्रणालीले । यो नै अहिलेको नेपाली जनता, नेपाली राजनीतिज्ञहरूको असफलता र पराजयको कारण बनेको छ । यो कुरालाई बुझ्न नसक्नु नेपाली राजनीतिज्ञहरूको विडम्बना हो । बुझेर पनि बुझ पचाउनेहरूको दलाली र आत्मसमर्पणको नियति हो ।

त्यसैले वर्तमान अवस्थामा जाम खाएको वा अकर्मण्यतामा फसेको नेपालको राजनीतिक भुमरीबाट देशलाई सङ्कटमोचन गर्ने हो भने अहिलेको सबभन्दा उपयुक्त राजनीतिक निकास जनमतसङ्ग्रह नै हो र देशलाई समृद्धि र विकास तथा नेपाली जनतालाई स्वाधीनता र स्वतन्त्रता दिने हो, भयो । यसको पनि सबभन्दा वैज्ञानिक–राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति नै हो । यो जनयुद्धको विकासप्रक्रियाको एउटा पाइला हो । यो कार्यदिशालाई सबैले आत्मसात गर्ने हो भने यो देशमा सबभन्दा कम क्षति र सबभन्दा कम रक्तपात गरेर क्रान्ति सम्पन्न गर्न सकिन्छ । जनयुद्धको २७ औँ वार्षिकोत्सवले सबैलाई यही चेतना देओस्, सबैमा यही शुभकामना !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :