क्रान्तिको मौसम

गीत

क्रान्तिको मौसम

तेर्सो बाटो भेट्नलाई भिरपहरा नाघ्नुपर्छ
शान्ति भेट्न अशान्तिका चक्रव्यूह तोड्नुपर्छ !

हिँड्ने क्रममा बाटो छेक्दै हिउँ/पहिरो खस्न सक्छ
चट्टान खसी ढसमस्स बीच बाटोमै बस्न सक्छ !

दुई–चार पहिरो नपन्छाई, हिँड्ने बाटो नबनाई
लक्ष्यसम्म पुग्ने काम, गन्तव्य त्यो नठम्याई !

जीवन भन्नु भेल–बाढी तर्दै बढ्ने काम रै’छ
पहिरो पन्छाई, जँघार तरी हाँक हाल्ने काम रै’छ !

भेल, बाढी, पहिरो देख्दै भाग्ने जीवन के जीवन ?
‘जँघार’ सुन्दै मुटु काँप्ने कायर जीवन के जीवन !

निराशा त अन्धकार हो, त्यसले आउन दिन्न बिहान
लोभ–लालसा बाधक हो, त्यसले मात्र दिन्छ चिहान !

लामो यात्रा रोजेपछि, मुक्तिमार्ग खोजेपछि
सुस्ताउँदै बैरागिने, उल्टो हिँड्ने जीवन हुन्न !

यो रात पक्का ढल्छ–ढल्छ, बिहान पक्का हुन्छ–हुन्छ
आशा–बत्ती बाल्नुपर्छ, विचार–ऊर्जा हाल्नुपर्छ !

कुनै पनि बहानामा बरालिनु हुँदै हुन्न
अल्मलिनु, टहलिनु, बैरागिनु झनै हुन्न !

यो हो मौसम क्रान्ति–खेती लगाएर फसल झिक्ने
सुन्दर सपना साकार पार्दै साम्यवाद ल्याइछोड्ने !

सिर्जनानगर

(२१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसका सन्दर्भमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :