क्रान्तिकारी पत्रकारहरूको एकता अधिवेशन असोज ६ गते काठमाडौँमा गर्ने निर्णय

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको एकता अधिवेशन र बैठक सम्पन्न

क्रान्तिकारी पत्रकारहरूको एकता अधिवेशन असोज ६ गते काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको एकता अधिवेशन र बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकले क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त राष्ट्रिय भेला आगामी असोज ६ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

अधिवेशन तथा बैठक सूचना–सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय प्रवक्ता, कार्यालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्यता र विभागका सचिव हुकुमबहादुर सिंहको अध्यक्षतामा बसेको हो ।

महान् सहिदहरूप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको एकता अधिवेशन र बैठकमा विभागका इन्चार्ज कञ्चनले पार्टी कार्यालयको परिपत्र पढेर त्यसको भाव सम्प्रेषण गरेका थिए ।

बैठकमा विभागका सचिव हुकुमबहादुर सिंहले सूचना–सञ्चार तथा प्रकाशन विभागको मस्यौदा मार्गनिर्देशिका प्रस्तुत गरेका थिए । बैठकमा इन्चार्ज कञ्चन र सचिव सिंहले बैठकमा उठेका विषयमा स्पष्ट पारेका थिए ।

बैठकले प्रकाशन तथा सङ्गठन निर्माणसम्बन्धी निम्ननिर्णयहरू गरिएको जनाइएको छ :

१) आफ्नो नाममा प्रकाशन दर्ता गरी सञ्चालन गरिरहेका वा भविष्यमा सञ्चालन गरेमा र पार्टी वा जवस मोर्चाका आर्थिक तथा व्यवस्थापन विभागमा रहेका विभागका कुनै पनि सदस्यले पार्टी प्रकाशनको व्यवस्थापकीय जिम्मेवारीमा नबस्ने ।

२) एकताअघिको पार्टी प्रकाशनको जिम्मेवारी लिएका व्यक्तिहरूको जिम्मेवारी परिवर्तन भएपछि प्रकाशनको स्वामित्व परिवर्तन गर्ने, अन्यत्र जिम्मेवारीमा रहेका तर प्रकाशनको सञ्चालक समितिमा रहेका सदस्यहरूले सेयर सदस्यता अन्य जिम्मेवार व्यक्तिलाई हस्तान्तरण गर्ने र आवश्यकताअनुसार सञ्चालक समिति पुनर्गठन गर्ने ।

३) पार्टीका बाह्य प्रकाशनहरूलाई क्रमशः एउटै व्यवस्थापनअन्तर्गत व्यवस्थापन र सञ्चालन गर्ने र यसका लागि एक सम्पादकीय टिम र अर्को व्यवस्थापकीय टिम गठन गर्ने ।

४) दुवै पार्टी एकता भएको सन्दर्भमा क्रान्तिकारी पत्रकारहरूको एउटै पत्रकार सङ्गठन गठन गर्ने, त्यसको नयाँ अन्तरिम विधान र प्रतिवेदनका आधारमा प्रदेश र जिल्लाका एकता अधिवेशनहरू गर्दै आगामी असोज ६ गते पत्रकारहरूको केन्द्रीय एकता अधिवेशन गर्ने र नयाँ पत्रकार सङ्गठनको नेतृत्व चयन गर्ने । त्यसका लागि निम्न कामहरू गर्ने :

क) दुवै सङ्गठनहरूको केन्द्रीय, प्रदेश र जिल्ला सङ्गठनहरूका पदाधिकारी र सदस्यहरूको नाम–सूची तयार गर्ने ।
ख) क्रान्तिकारी पत्रकारहरूको सङ्गठनको केन्द्रीय एकता भेला/अधिवेशन गरेर अन्तरिम विधान र प्रतिवेदन तयार पारी भेलामा पेस गर्ने । सङ्गठनको नाम केन्द्रीय एकता भेलाले टुङ्ग्याउने ।
ग) सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने
घ) अन्तरिम विधान र प्रतिवेदन छाप्ने र वितरण गर्ने
ङ) जिल्ला, प्रदेश र केन्द्रको एकता भेला आयोजना गर्ने
उल्लिखित कामका लागि अशोक सुवेदी, इन्द्र राउत, कमल बुढा र नारायण पंगेनीलाई जिम्मा दिने ।

५) नयाँ वेब डिजाइनरद्वारा इरातोखबर र मूलबाटोको डिजाइन गर्ने ।

६) अर्को व्यवस्था नभएसम्मका लागि यथास्थितिमा नै पत्रिका र अनलाइन सञ्चालन र व्यवस्थापन गर्ने तर पार्टीका बाह्य प्रकाशनहरूलाई क्रमशः एउटै व्यवस्थापनअन्तर्गत व्यवस्थापन र सञ्चालन गर्ने कामलाई गति दिने ।

७) बद्री चौलागाईं, जितेन्द्र महर्जन र डा. केशव देवकोटालाई विभागमा राखेर जिम्मेवारी दिने ।

८) रातो खबर साप्ताहिक र ईरातो खबर अनलाइनमा अशोक सुवेदी, आशिष चौधरी र बद्री चौलागाईं (थप) लाई सञ्चालक समितिमा राखी व्यवस्थापकीय जिम्मेवारी दिने ।

९) मस्यौदा मार्गनिर्देशिकामा उल्लेख गरिएका कामहरू र जिम्मेवारीबारे क्रमशः लागू गर्दै जाने ।

बैठकमा क्रान्तिकारी पत्रकार सङ्गठनका संयोजक कमल बुढाले क्रान्तिकारी पत्रकारहरूको सङ्गठनसम्बन्धी सङ्क्षिप्त प्रतिवेदन र क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष नारायण पंगेनीले मस्यौदा विधानका केही बुँदा प्रस्तुत गरेका थिए । बैठकमा दुवै मस्यौदामाथि प्रारम्भिक छलफल भएको थियो ।

बैठकमा उपस्थित विभागका सदस्यहरूले मस्यौदा मार्गनिर्देशिका, मस्यौदा प्रतिवेदन र मस्यौदा विधानमाथि आलोचना गरी सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :