वर्णशङ्कर चरित्र

निबन्ध

गाउँबस्तीका किसानहरूलाई हरेक दिन चटारोमा बित्छ । खेती लगाउनु, थन्क्याउनु, मल–बिउको व्यवस्थापन गर्नुजस्ता कर्मले उनीहरूको जीवनलाई ऊर्जाशील बनाएको हुन्छ । उनीहरू आफ्ना अग्रजहरूले संरक्षण गरेका विधि र पद्धतिको घेरोभित्र रहेर आफ्नो कर्ममा तल्लीन हुन्छन् । खासगरी असार–साउनको महिना प्रमुख खाद्य बाली धान रोपाइँको महिना हो । ती दिनहरूमा पहाडका बेसी, उपत्यका र भिराला फाँटहरूमा धान रोपाइँको चटारो हुन्छ । धान खेतीमा विभिन्न प्रजातिका बिउको प्रयोग गरिन्छ । खेतको प्रकार हेरेर रसिलो सिमसारमा एक प्रकारको रैथाने जात मानिएको अनदी धानको विशेष महत्व मानिन्छ । हलुका रातो र मोटो त्यो धान खास पर्वका लागि महत्व दिइन्छ । अरू धानभन्दा धेरै शक्ति पाइने भएकाले त्यो धान विशेष माटोमा रोपिन्छ ।

पहाडका भिरालो खेत वा बेसीका कम सिँचाइ हुने गराहरूमा एक प्रकारको रातो धान लगाइन्छ । ठाउँअनुसार त्यसको नाम सोबारा वा मन्सरा र यस्तै–यस्तै भनिन्छ । झलक्क हेर्दा सोबारा र अनदी उस्तैउस्तै लाग्छन् । रूपमा उस्तै देखिए पनि गुणमा धेरै अन्तर छ । कुनै किसानको खेतको सोबारा धान अनदी उब्जने हिले गरामा रोपियो भने त्यो हस्किन्छ र फल्दैन वा फलिहाल्यो भने त्यसको स्वाद न अनदी, न सोबारा जातको हुन्छ अर्थात् वर्णशङ्कर बन्छ । त्योभन्दा अझ उन्नत वा बढी उत्पादनको विज्ञापन गर्दै धानको बिउ किसानहरूको खेतखेतमा पुगेको छ । बजारका निम्ति उत्पादन लिन यो बिउबिजन लाभदायक नै होला तर स्वाद, पौष्टिकता र टिकाउमा भने वर्णशङ्कर बिउको दीर्घकालीन उत्पादन हुँदैन ।

अहिले धेरै कृषि उत्पादनमा वर्णशङ्कर बिउ छ्यासछ्यास्ती पाइन्छ । यस्तो बिउले रैथाने जातलाई निषेध गरेको छ । यसो हुनुको कारण बिउ उत्पादक कम्पनीहरूले एकाधिकार लिनु हो । हामी किसान उत्पादन धेरै देखेर मख्ख त पर्छौँ तर हाम्रो संस्कृति, हाम्रो प्रविधि सखाप हुँदै गएको पत्तो पाउन्नौँ ।

गाउँ छोडेर सहरमा छोराबुहारीले घर किनेपछि बाआमा सहर बस्न बाध्य छन् । अस्ति एकजना दाइसित भेट भयो । गाउँमा ‘अर्गानिक’ उत्पादनको स्वादमा रमाएका दाइ सहरिया खानपानले बिरक्तिएको भाव व्यक्त गर्छन् । तरकारी वा फलफूल कृत्रिमजस्तो लाग्छ । रूपमा जति सुन्दर देखिन्छ, सारमा त्यस्तो छैन ।

त्यसो हुनुको कारण वर्णशङ्कर तरकारीको स्वाद हो । हेर्दा रैथाने जातभन्दा सग्लो र धेरै उत्पादन हुने हुनाले किसानका बारीमा वर्णशङ्कर तरकारीले छिट्टै प्रवेश पायो र त्यसले रैथाने जातका तरकारीलाई विस्थापन गर्यो ।

यी त भए धान खेती वा अन्य खेतीमा वर्णशङ्कर प्रवेशको अवस्था । हाम्रो संस्कृति पनि वर्णशङ्कर उन्मुख हुन थालेको पाइन्छ । उत्पादन सम्बन्धले संस्कृति निर्माण गर्छ भन्ने सङ्केत हाम्रो समाजमा भित्रिएको संस्कृतिले पुष्टि गर्न थालेको छ । यस्तो संस्कृति खास गरेर नवधनाढ्य बन्दै गएका परिवारमा देखापरेको छ । आफ्नो संस्कार–संस्कृतिलाई अपमान गरेर पराइ संस्कृति अपनाउनु वर्णशङ्करता हो । श्रमलाई सम्मान नगर्नु, आफ्नो माटोको आवश्यकताको पहिचान नगर्नु र जिज्युहरूले अपनाएको वैज्ञानिक पद्धतिलाई दुत्कार्दै विदेशी नक्कल गर्नु वर्णशङ्करको अर्को रूप हो । चेतना र युगको आवश्यकताअनुसार संस्कार–संस्कृति परिमार्जन हुँदै जानु एउटा पक्ष हो तर दौरा न सौराको खल्ती भनेझैँ अर्काको देखासिकी गर्नु वर्णशङ्कर चरित्र प्रदर्शन गर्नु हो ।

अहिले युवा जगत्मा स्वदेशप्रतिको मायाममता घट्दै गएको छ । यो स्थिति निम्तिनुमा देशको अर्थव्यवस्था केही हदसम्म जिम्मेवार होला तर युवाहरूमा आफ्नो जन्मभूमिप्रतिको निराशा बढ्नुमा वर्णशङ्कर चेतनाको कारण हो । कतिपय नवधनाढ्य नेपालीहरूमा कस्तो विद्रुप चेतना पस्यो भने आफ्नी गर्भिणी श्रीमतीलाई पर्यटक राहदानीमा अमेरिका वा अस्ट्रेलिया लैजाने र त्यहीँ प्रसूती गराएर आफ्नो बच्चालाई त्यही देशको जन्मसिद्ध नागरिक बनाउने परिपाटीको बिकास भएको छ । नेपाल र नेपालीका लागि यो डरलाग्दो संस्कृति हुन जानेछ । प्राकृतिक हिसाबले हामी सम्पन्न हुँदाहुँदै र उत्पादनमा प्रचुर सम्भावना हुँदा पनि मातृभूमिप्रति अविश्वास बढ्नु ठूलो विडम्बनाको विषय हो । आफ्नै माटोमा उत्पादनको सम्भावना खोजी गर्दै ती क्षेत्रहरूको विकास देश हितमा हुन्छ भन्ने ज्ञान युवा पुस्तामा दिन सकिएन भने नेपालको भविष्य अझ दुरुह बन्नेमा कुनै शङ्का रहँदैन । बचेको जनशक्तिले पनि कृषि उत्पादनमा रैथाने जातको बिउबिजनको संरक्षण र सम्बर्धन जोगाउन सकिएन भने भोलि मरुभूमि बन्ने खतरा पनि उत्तिकै छ । त्यस्तो अवस्थामा बुढापाकाले भनेझैँ ‘धन र संस्कार दुवै नाश झोली तुम्बा पाखुरीमा टाँस’ हुन सक्छ ।

हामीले हाम्रा सांस्कृतिक उत्सवहरू मान्ने वा मनाउने सन्दर्भमा वर्णशङ्कर चरित्रको टड्कारो दृष्टि हाम्रासामु आइपुगेको छ । उत्पादनसँग जोडिएको एउटा कृषिकर्मभित्रको धान दिवस मनाउने परिपाटी देख्दा हाम्रो सत्तासञ्चालनको चेतनामा पूरै वर्णशङ्कर छाप देखिन थालेको छ बितेका केही वर्षदेखि धान दिवस मनाउने सिलसिलामा गमलामा धान रोपेर भरमार प्रचार गर्नुले यो प्रचलनको पुष्टि गर्छ । गमलामा धान रोप्नु मात्र होइन, धानको बिउ काटेर माला पहिरिएर प्रचार गर्नु वर्णशङ्कर संस्कृति नै हो । वर्णशङ्कर उत्पादन देख्दा रूपमा ठूलो, सग्लो र उत्पादनको मात्रा वृद्धि भएजस्तो देखिन्छ तर यसको बिउबिजन सङ्ग्रहयोग्य हुँदैन र पटकपटक नयाँ प्रजातिको बिउ खरिद गरिरहनु पर्दछ । यो पाहुना प्रचलन हो । पाहुना वनस्पति वा अन्न–फलफूल धेरै टिकाउ हुँदैन भन्ने कुरा विज्ञानसम्मत छ । वर्णशङ्कर बिउबिजन उत्पादनमा पुँजीवादी मुलुकहरूले हस्तक्षेप गरेका छन् । उनीहरूले हाम्रोजस्तो विकासशील मुलुकलाई बजार बनाएर आफूहरू मालामाल भैरहेका छन् । ती राष्ट्रका उत्पादन कम्पनीहरू चाहन्छन्– हाम्रो परम्परागत प्रचलन र रैथाने अनाजहरू लोप होऊन् तर हाम्रो सरोकारवाला निकाय गम्भीर छैन । हो, हाम्रो मुलुकमा पनि राष्ट्रिय बिउबिजन वा बाली उत्पादन परियोजनाहरू छन् तर किन सुस्त वा निष्क्रिय छन् त ? के कमिसनको चक्करमा त यो चलिरहेको छैन ? प्रश्न जायज पनि छ ।

अब अलिकति मुलुकको राजनीतितिर फर्कौं । राजनीतिक शक्तिहरूमा पनि वर्णशङ्कर प्रवृत्ति बढ्दै गएको हामीले अनुभव गर्न थालेका छौँ । सबैजसो राजनीतिक पार्टीको केन्द्रमा वर्णशङ्कर प्रवृत्ति भित्रिएको देखिन्छ । एकपटक फर्किएर धान बालीको कुरा गरौँ रातो रङ हुँदैमा सोबारा धानले अनदीको दाबी गरेझैँ पार्टी प्रवेश गर्नेबित्तिकै परिवर्तनको ठेकेदारझैँ देखिने वा पार्टीकेन्द्रको नेतृत्वमा पुग्ने र नेतृत्वको वरिपरि परिक्रमा गरेर नेता बन्ने चलन विचार, क्षमता र कौशल होइन, सारमा वर्णशङ्कर चरित्रको भएन र ? देश र जनताका पक्षमा राजनीति गर्न चाहने शक्तिहरू जनताकै बीचबाट उठेको हुनु पर्दछ । उसको दल वा सङ्गठनले कुनै वाद वा विचारको मातहतमा आफूहरूलाई उभ्याएको हुनुपर्दछ तर वर्तमानमा देखिएका केही व्यक्ति वा झुण्ड त्यस्तो चिन्तनबाट सञ्चालित भएको देखिँदैन । खालि आवेग वा उत्तेजनामा आएर क्षणिक लाभ लिँदा देशले कुन बाटो समात्छ, हेक्का गरिनु पर्दछ ।

यस्तो नेतृत्वले विचारको रक्षा गर्छ कि निषेध ? कतिपय राजनीतिक दल वा तिनका हर्ताकर्ता पात्रहरू परम्पराका नाउँमा फेरिन नसक्नु र देशको आर्थिक मेरुदण्ड मानिएको कृषि उत्पादनमा जिम्मेवार नदेखिनुले हामी कता जाँदै छौँ भन्ने अलमलमा मुलुक तैरिइरहेको छ । यी नेताहरूमा देखिएको विचलन वा नैराश्य कतै वर्णशङ्कर चिन्तनको दासता त होइन । यस्तो प्रवृत्तिमाथि बहस–चिन्तन गर्नुपर्ने समय आएको छ । सोबारा वा मन्सरा धानले म अनदी हुँ भनेर दाबी गर्दैमा त्यसको गुण, टिकाउ र क्षमतालाई कसरी पत्याउनु ! त्यस्तो मान्यतामाथि प्रश्न नउठाउने हो भने यो मुलुक कुन दिशातर्फ जान्छ, हामी सबैले गम्भीर भएर सोचौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :