भो फाइल‌ नखोल‌

कविता

लेखक : बलराम तिमल्सिना

भो फाइल नखोल‌
फाइलभित्र कमरेड हुनुहुन्छ
फाइलभित्र कमरेड नाङ्गै हुनुहुन्छ
फाइलभित्र नाङ्गै बसेर
कमरेड समृद्धिको सपना देख्दै हुनुहुन्छ !

भो फाइल नखोल
फाइलभित्र कमरेडका छोरा छन्
फाइलभित्र कमरेडनी पनि हुनुहुन्छ
कमरेडनी पनि कान्छी कमरेडनी
तिनीहरू पनि नाङ्गै छन्
फाइलभित्र नाङ्गै बसेर तिनीहरू
कमरेडको समृध्दिको बिरुवामा
मल हाल्दै छन/पानी हाल्दै छन ।

फाइल नखोल भनेको सुनेनौ ?
फाइलभित्र जयनेपालजी हुनुहुन्छ
फाइलभित्र जयनेपालजी नाङ्गै हुनुहुन्छ
नाङ्गै बसेर जय नेपाल जी
तपस्या गरिरहनु भएको छ
शुशासनको तपस्या
ऐले फाइल खोल्यौ भने
तपस्या भङ्ग हुन्छ
शुशासन भरङ्ग हुन्छ ।

फाइलभित्र
जयनेपालजीका
स्वास्नी छोराछोरीहरू पनि छन
ती पनि चरिनाङ्गै छन
फाइलभित्र चरिनाङ्गै बसेर
तपस्यारत जयनेपालजीलाई
ती चमर हम्किरहेछन !

भएभरका फाइल खोल्यौ भने
नेपाल ह्वाङ्गै देखिन्छ
सबै नाङ्गै देखिन्छन
हाकिम ,न्यायधीश
उद्योगपति,ब्यापारी
सबै नाङ्गा नाङ्गै देखिन्छन !

फाइल खोलेर हेर्न बानी परेपछि
कपडा लगाएका मान्छे देख्दा पनि
तिमीलाई अनौठो लाग्न थाल्ने छ
तिमी आफैले पनि
कपडा लगाएको छु भनेर एकिन गर्न
पटक पटक जीउ छाम्नु पर्ने छ
पटक पटक ऐना हेर्नु पर्ने छ ।

कम्ता गाह्रो छ
फाइलभित्र लुकेर बस्न
त्यो पनि नाङ्गै बस्न
कुन बेला भूइँचालो आइदिन्छ
र नाङ्गै भुतुङ्गै दौडनु पर्छ ।

यसरी मान्छेलाई
नाङ्गै दौडनु पर्ने काम गर्दै नगर
भो अब फाइल खोल्ने काम गर्दै नगर ।

१ भदाै, २०८० सिनामङ्गल

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :