गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

नेपाली जनयुद्धसित जोडिएको गोरखाको गाँखु हत्याकाण्डले प्रत्येक बर्सको भाद्र २३ गते नेपाली क्रान्तिकारीहरूलाई झस्काउने गर्दछ । त्यसदिन तात्कालिक शासकको नाङ्गो र गैह्र न्यायिक हत्याको जति भत्र्सना गरे पनि अपुग हुन्छ । नेपाली क्रान्तिकारीहरूले राज्यको बेथिती र ज्यादतीका बिरूद्ध सञ्चालन हुँदै आएको माओवादी आन्दोलनले एउटा उँचाइ लिँदै थियो । माओवादीले आफुसँग भएको सैन्य शक्तिलाई बिस्तार गरेर बिकास गर्दै गएको थियो र भाद्र २३ गते सो प्लाटुनलाई पुर्ण सैन्य फर्मेशनमा घोषणाको तयारिमा थियो । सो घोषणा सभालाई सम्बोधन गर्ने र सहिद परिवारहरूसित भेटघाट गर्ने उद्देश्य लिएर तात्कालिक पार्टी केन्द्रीय वैकल्पिक पोलिटब्युरो सदस्य क सुरेश वाग्ले (बासु), प्लाटुन कमाण्डर भिमसेन पोखरेल (वैरागी) र भर्खर भर्ना भएकी छापामार सदस्य चिजा गर्तौला सहितको टोली गोरखाको भुङ्लिचोकबाट गाँखुतर्फ जाँदै थियो । भदौको याम भएको र भर्खर घाम लागेको समयमा जङ्गलको बाटो हिँड्दै गर्दा एकछिन सुस्ताउने अभिप्रायले चौतारोमा सुस्ताउँदै गर्दा छोप्राकतिरबाट आएको प्रहरी टोली नजिकै आइपुगेको उहाँहरूले सुइँको पाउनु भयो । त्यतिबेला कमरेड वासु अस्वस्थ हुनुहुन्थ्यो । चौतारोबाट केही माथि उक्लँदै गर्दा प्रहरीले घेरा हाल्यो । प्रहरीको घेरामा परिसकेपछि उहाँले आफ्नो सुरक्षा प्रमुख वैरागीलाई घेरा तोड्ने निर्देशन दिनुभयो तर वैरागीले स्वीकार गर्न मान्नु भएन । चिजा भने प्रहरीको आँखा छलेर भाग्न सफल हुनुभयो । प्रहरीले वासु र वैरागी दुबैलाई घिसारेर एउटा किसानको घर नजिक पुर्याएर आत्मसमर्पणको आदेश दियो । तर घेरामा परेका कामरेडहरूबाट त्यो सम्भव नभएपछि प्रहरीले गोली हानी अर्धमृत बनाएर जिउँदै आगो लगाएर पासविक हत्या गर्यो । त्यो बर्बर हत्याको जति निन्दा गरे पनि पुग्दैन । कमरेड वासुको हत्याले तत्कालिक माओवादी अभियानमा एउटा तरङ्ग उत्पन्न भयो । आफ्ना प्यारा नेताको हत्याले थुप्रै युवा बिद्यार्थीहरू पार्टीको अभियानमा लामबद्ध भए ।

अब सङ्क्षिप्तमा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को परिचय हेरौँ ।

वासुको सङ्प्क्षित जीवनी :

गोरखा जिल्लाको तात्कालिक आँपपिपल गाबिस–५ (हाल पालुङ्टार न.पा.–२) मा पिता भोजराज वाग्ले र आमा दुर्गादेवी वाग्लेको दोस्रो सन्तानको रूपमा २०१० साल असौज २८ गते सुरेश वाग्लेको जन्म भएको हो । खिरिलो र दुब्लो पातलो ज्यानका वाग्ले बिछट्ट प्रतिभावान हुनुहुन्थ्यो । उहाँको प्रारम्भिक शिक्षा आफ्नै मामाघरको हजुरबा गायत्री गणेश अर्यालबाट भएको थियो । प्रारम्भिक शिक्षापछि काठमाडौं स्थित रानीपोखरीको भाषा पठशालबाट प्रथम परीक्षा उत्तीर्ण गरी संस्कृत छात्रावासमा रहि शास्त्रीसम्मको पढाई उत्तीर्ण गर्नु भएको थियो । उहाँ २०३२ बाट शिक्षण सेवामा प्रवेश गरी विद्यालयमा औपचारिक र जनसमुहमा अनौपचारिक शिक्षा दिन थाल्नु भएको हो । शिक्षण कलामा उहाँको बेजोडको प्रतिभाका कारण विद्यार्थीहरू माझ निकै लोकप्रिय बन्नु भयो । उहाँ विद्यार्थीकाल देखि नै अध्ययनशील र बहुमुखी प्रतिभाका कारण माक्र्सवाद, लेनिनवाद र माओकालिन समाजको राम्रो ज्ञान हासिल गर्नु भएकोले आम किसानहरू माझ पनि प्रिय बन्न सफल हुनु भयो ।

मुलुकभर पञ्चहरूको राँइदाँइ थियो । आम जनता पञ्चायती निरङ्कुशताले पेलिएका थिए । मुलुकभित्र पञ्चायतको विकल्पको खोजी भैरहेको अवस्थामा उहाँ तात्कालिन नेकपा (चौथो महाधिवेशन) निकट पुग्नु भयो र २०३५ सालमा पार्टी सदस्यता लिनु भयो । पञ्चायती ज्यादतिका विरूद्ध मुलुकभर आन्दोलनका ज्वारभाटा उठ्न थालिसकेका थिए । यसैबीच सुरेश वाग्ले गोर्खाली शिक्षकहरूलाई सङ्गठित गर्दै आन्दोलन उठाउन अग्रसर हुनु भयो । उहाँको क्षमताको अहारिस गरेर पञ्चहरूले पटक पटक गिरफ्तार पनि गरे तर उहाँ विचलित हुनु भएन । उहाँ लामो समय शिक्षण पेशामा स्थायी करार रहनु भयो र जब २०४६ मा उहाँ स्थायी नियुक्त हुनु भयो दुई बर्स नपुग्दै राजिनामा दिएर संयुक्त जनमोर्चा नेपालको तर्फबाट गोरखा क्षेत्र नम्बर दुईको साँसद उमेद्वार हुनु भयो र ने.का.को गुण्डागर्दीको कारण झिनो मतले पराजित हुनु भयो । त्यसै समयदेखि उहाँ पार्टीको पुर्णकालिक कार्यकर्तामा सक्रिय हुनु भयो ।

२०५२ मा पार्टीले जनयुद्ध सुरु ग¥यो । पार्टीको उक्त दीर्घकालिन अभियानमा वाशु गण्डक क्षेत्रको नेतृत्वमा रहनु भयो । पार्टीको बैठकमा हुने बैचारिक र सैन्य कार्यक्रमका बारेमा बहस छलफलमा उहाँ तार्किक ढङ्गले प्रस्तुत हुनुहुन्थ्यो । उहाँ एउटा कुशल विचारक पनि हुनुहुन्थ्यो । उहाँका कयौँ वैचारिक सिर्जनाहरू प्रकाशन भएका पनि छन् । कमरेड बासुको व्यक्तित्वका विविध पाटाहरू थिए । वासुको व्यक्तित्वका बारेमा कमरेड किरणको बुझाई छ – ‘क. वासुका व्यक्तित्वका बिबिध आयाम रहेका छन् । सर्वप्रथम त उहाँमा सरलता, विनम्रता, मृदुभाषिता, स्पष्टवादिता र क्रान्तिकारिता जस्ता असल कम्युनिष्टमा हुनुपर्ने गुणहरू थिए र यिनै गुणले उहाँको व्यक्तित्व निर्माणमा राम्रो आधार तयार पारेका थिए ।’ (सम्झना र स्मृतिमा सुरेश वाग्ले) । एक पटक एउटा सभामा प्रचण्डले भनेका थिए ‘कमरेड बासुको तार्किक क्षमताले हामी नतमस्तक हुन्थ्यौँ ।’

कमरेड वासु विद्यार्थीकालदेखि वैचारिक र सिर्जनशील हुनुहुन्थ्यो । उहाँले गण्डकी विद्यार्थी परिषद्को मुखपत्र ‘लालुपाते’को सम्पादन प्रकाशनका साथै कयौँ महत्वपूर्ण वैचारिक र साहित्यिक सिर्जना लेख्नु भएको छ । उहाँले आफ्नो निजी स्वार्थका लागि कहिल्यै सोच्नु भएन । दीर्घरोगी आफ्नी जीवनसङ्गिनी भर्खर हुर्कदै गरेका छोरा–छोरीको भविष्यबारे पनि उहाँले निजी मामिला सम्झेर देश र जनताको लागि तयार रहनु चानचुने अवस्था होइन । एकातिर आफू श्रममा खटिनु र श्रमजीवीहरूको मुक्तिको लागि मन वचन र कर्मले लागिपर्नु उहाँको विशेषता थियो । सादा जीवन, उच्च विचार तथा त्याग र समर्पणको उच्च भावना भएका एक आदर्श पात्रको सहादतले माओवादी आन्दोलनको एउटा तप्कामा विसर्जनको स्थिति पैदा गर्यो भने टुटफुटको शृङ्खला पनि बढेर गयो । यो स्थिति आउन नदिन बाँकी बचेका क्रन्तिकारीहरूले वासुको आदर्शलाई पच्छ्याउँदै क्रन्तिको झण्डा उठाउन ढिला गर्नु हुँदैन ।

कमरेड वासुको सहादतसँगै जोडिएर आउने अर्का पात्र हुनुहुन्छ कमरेड भिमसेन पोखरेल (वैरागी) । उहाँको बारेमा पनि छोटो चर्चा गरौँ ।

वैरागीको सङ्क्षिप्त जीवनी :

पिता देविप्रसाद पोखरेल र आमा लीलादेवी पोखरेलको छैटौँ सन्तानका रूपमा गोरखा जिल्लाको तात्कालिन छोप्राक गाबिसमा २०३१ साल चैत्र ५ गते भीमसेन पोखरेलको जन्म भएको हो । सानै उमेरदेखि श्रमशील जिन्दगीमा हुर्किएका उहाँ विद्यार्थी जीवनमा जिज्ञासु र अध्यनशील हुनुहुन्थ्यो । उहाँको परिवार कृषिमा निर्भर रहेको र उहाँले परिवारका लागि समेत कडा श्रम गर्नु परेको थियो । आफू बाँचेको समाजमा हुने होची अर्घेली र बिभेदबारे गहिरो अध्ययन गरेका उहाँमा सानै उमेरदेखि बिद्रोहको भाव विकास भएको थियो । उहाँले कक्षा दशसम्मको अध्ययन गाउँकै महेन्द्र लिला मा.वि. हर्मीबाट उत्तीर्ण गर्नु भएको हो । उहाँ उच्च शिक्षाका लागि गोरखा क्याम्पसमा प्रवेश गरेसँगै विद्यार्थी आन्दोलनको नेतृत्वमा सङ्गलग्न हुनुभएको थियो ।

गोर्खाली समाजमा वर्गसङ्घर्षको ज्वारभाटा शुरु भएको स्थितिमा सङ्घर्षको अघिल्लो मोर्चामा रहेर उहाँले नेतृत्व सम्हाल्नु भएको थियो । पार्टी कामकै सिलसिलामा उहाँको कमरेड शिलु (उमा भुजेल) सँग बिबाह भएको थियो । आफ्नो पढाइ, घर परिवार भन्दा माथि उठेर पार्टी र क्रान्तिको लागि अग्रमोर्चामा रहेका उहाँ त्यसैदिन सैन्य मोर्चाको कमाण्डरमा नियुक्त हुनेवाला हुनुहुन्थ्यो । उहाँ प्रहरीको घेरा तोडेर भाग्न सक्ने अवस्था रहँदा रहँदै पनि नेतृत्वको सुरक्षाका लागि इमान्दार रहेर सहादत लिन तयार हुनु भयो । यो उहाँको त्यागबाट सिक्नु पर्ने महत्वपुर्ण पाठ हो ।

अतः आन्दोलनमा सहादत हुनेहरूको मूल्याङ्कनमा थपघट वा तलमाथि गरिनु हुन्न । सबै सहादतको मूल्य बराबर हुन्छ । तर कतै कुनै स्थितिमा परिवारको पहुँच हेरेर सहिदहरूको मूल्याङ्कन गरिएको पनि छ । यसो गरिनु सहादतको अवमूल्यन हो । गाँखुमा घटेको घटनापछि उर्लिएको आन्दोलनको उँचाइले प्राप्त गरेको परिणामले अहिले माओवादी केन्द्र सत्तासिन छ तर उसले सहिदहरूको आदर्शलाई लत्याएर दक्षिणपन्थी बाटो अपनाएको वर्तमान स्थितिमा क्रान्तिकारी शक्तिहरूले जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने अठोट लिनु आजको टडकारो आवस्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :