‘ब्याक बेन्चर’ : छिपछिपे अध्ययन र अनुभूतिपरक दृष्टिकोण

पेशल आचार्यको स्मृतिमा

मेरो समाज बलेको आगो ताप्छ । गुगलका दर्शनढुङ्गामा वेबसाइटको झुलो चकमक रगडेर खरानी फुकी आगो जोर्ने फुर्सद निकाल्दैन । कपी गर्नेको मोनोपोली बजारलाई सिन्डिकेटमा लगी विज्ञापनका दाइँ हालेर पवटा अनाजलाई बिक्री गर्दछ । कुशाग्र बुद्धिको कवि कि त अँध्यारोको तिजोरीमा कैद गरिएको छ कि त अपहेलित छ यहाँ ।

– पेशल आचार्य (‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रह)

निष्कर्ष

बलेको आगो ताप्नु विद्यमान असमानता र शक्तिपूजाको परिचय हो । विज्ञापनको भरमा पवटा अनाजलाई झर्रो भन्दै बजारमा बेच्नु कालोबजारीको पराकाष्टा हो । एउटा शक्तिशाली स्रष्टा अर्थात् कुशाग्र बुद्धिको कवि गुमनाम हुनु कृति परख गर्ने घ्राणशक्ति मरेको, समालोचकीय क्षमता शून्य भएको वा आग्रहीहरूको जमातले शासन गरेको अवस्था हो । आजको सत्य यही हो । सत्तामा होस् वा समाजमा अझै पनि विभिन्न नयाँनयाँ रङ र बान्कीका नारा लिएर आएका छन् खोटा सिक्काका व्यापारीहरू । त्यसैले समाज अझै वर्गमा विभक्त छ । वर्गहरूका बीचमा ठूलो अन्तर र खाडल छ । त्यो खाडल मेटिन वर्गहरूका बीचमा घमासान टक्कर, सङ्घर्ष, युद्ध, क्रान्ति आवश्यक छ । निबन्धकार पेशल आचार्यले आफ्नो निबन्धकृति ‘ब्याक बेन्चर’ मा यो दलाल पुँजीवादी व्यवस्था र समाजमा विद्यमान यस्ता असमानताको पोल मात्र खोलेका छैनन्, कयौँ दुष्प्रवृत्तिहरूलाई नाङ्गेझार नै पारिदिएका छन् । त्यसैले यो यथार्थवादी निबन्धकृति हो । निबन्धकारले धेरै विषयमा लेखिसकेर पनि लेख्नुपर्ने बाँकी विषय अझै धेरै छन् । अझ सुस्पष्ट दृष्टिकोणसहित लेख्नुपर्ने विषय त कति छन् कति तर एउटै कृतिमा सबै कुरा खोज्नु एउटै खानामा सबै स्वाद खोज्नुजस्तै दुराग्रह हुनसक्छ । निबन्ध लेखन छिरलिएको पछिल्लो अवस्थामा ‘ब्याक बेन्चर’ जस्तो शक्तिशाली र यथार्थवादी बौद्धिक निबन्धसङ्ग्रह लिएर देखापरेका स्रष्टा पेशल आचार्यलाई सलाम छ ! यो बौद्धिकताको प्रयोग हामी यथास्थितिको उद्बोधनमा मात्र नभएर आमूल रूपान्तरणका पक्षमा पनि लेखिएको देख्न चाहन्छौँ किनकि संसारको व्याख्या त धेरैले गरिसकेका छन् तर मुख्य र चुरो कुरो यसलाई बदल्नु हो । यहाँको असमानता र विभेद मेटाउनु हो ।

लेखक : अशोक सुवेदी

स्रष्टा परिचय

पेशल आचार्य अर्थात् हाम्रो क्षेत्रमा परिचित नाउँ ‘पेशल सर’ नेपालको समसामयिक साहित्यिक धारामा अग्रगमन मनपराउने साहित्यिक व्यक्तित्वको नाउँ हो यद्यपि उनका अरू पनि धेरै परिचय छन् । स्थानीय स्तरमा नेपाली भाषा–साहित्यका एक कुशल अध्यापकको छाप छोडेका पेशल आचार्य राष्ट्रिय स्तरमा साहित्यका विविध विधामा कलम चलाएका र स्थापित बनेका व्यक्तित्व हुन् । त्यसैले उनको व्यक्ति परिचयको खासै आवश्यकता छैन अब । ठालुहरूको राजधानी काठमाडौँले हेपेर ‘मोफसल’ भन्ने गरेको वास्तविक जनबस्तीमा बसेर पनि निरन्तर राष्ट्रिय स्तरमा छाइरहन सफल स्रष्टा हुन् पेशल आचार्य । कुनै समयको एउटा दूरदराजको गाउँको विद्यालय र कलेजमा पढाउने शिक्षक यसरी राष्ट्रिय रूपमा हस्तक्षेप राख्न सक्ने स्रष्टा बन्नुको अन्तर्य उनको लेखनी क्षमता नै हो, कुनै नातावाद, कृपावाद वा भनसुन–लेनदेन शक्तिबाट बनेको व्यक्तित्व होइन ।

मेरो जन्मस्थल रामेछाप जिल्लालाई कर्मथलो बनाएकाले पेशल सरप्रति म अलि बढी पक्षधर देखिन सक्छु किनकि उनीसँग मेरो मध्यम दूरीमा बसेर गरेका धेरै सहकार्यका अनुभव मसँग छन् । उनले रामेछाप जिल्लाको शिक्षा मात्र होइन, साहित्य र साहित्यिक पत्रकारितालाई समेत धेरै गुन लगाएका छन् तर नढाँटी भन्नुपर्छ जिल्लाले एउटा जागिर दिनुबाहेक उनलाई आजसम्म केही पनि गुन लगाएको वा लगाउन सकेको छैन । त्यसो त उनी गुन लगाइमाग्ने वा गुनको बदला गुन माग्ने स्वार्थलम्पट स्रष्टा पनि होइनन् । पछिल्लोपटक प्रकाशित उनको ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रहमा पनि ठाउँठाउँमा उनी लोभी, आत्मप्रशंसक, खेताला लगाएर चर्चा कमाइमाग्नुपर्ने व्यक्ति होइनन् भन्ने प्रस्ट देखिन्छ । धेरै टाढा पनि होइन, धेरै नजिक पनि होइन, मध्यम दूरीमा बसेर हेर्दा मैले चिनेका अध्यापक, स्रष्टा, साहित्यिक पत्रकार पेशल आचार्यको मुहार र व्यक्तित्व एउटै छ । कतै अग्लो वा कतै होचो र कसैले बाँसको टेको लगाएर उभ्याइदिएको बुख्याँचाजस्तो छैन । समान किसिमको छ । आफ्नै पौरख, सीप र पाखुरीमा बाँचेका कलमजीवी, बुद्धिजीवी, अक्षरका पारखी, सहृदयी व्यक्तित्व भएकाले उनीसँग मेरो नाता जोडिएको हो । लेखनीको यो नाता दीर्घकालसम्म अटुट रहने अपेक्षा गरेको छु ।

स्रष्टा पेशल र उनको कृतिमाथि छिपछिपे दृष्टि

मोरङको विराटनगरमा जन्मिएर भर्खरको युवा वयमा शिक्षकको जागिर खान पहाड उक्लिएका पेशल आचार्यले आफूसँगै स्रष्टा व्यक्तित्वलाई पनि लिएर आएका थिए । नढाँटी भन्नुपर्छ स्रष्टा व्यक्तित्व निर्माण गर्दै गरेका पेशल आचार्यलाई मैले आफ्नै जन्मभूमिमा चिनेको हो एउटा श्रमशील स्रष्टाका रूपमा । म मिसन पत्रकारिता, व्यावसायिक सञ्चारगृहको जागिरे पत्रकार र एउटा माक्र्सवादी स्रष्टा भनाउन गौरव गर्ने संस्कृतिकर्मी तर पेशल आचार्य कहिल्यै नखुल्ने र वर्गीय नदेखिने रुचिका स्रष्टा । पहाड उक्लिएपछि उनी पहाडेजस्तै लागे । रामेछापका जस्तै लागे । रामेछापमा जन्मिएकाहरू काम र अवसरको खोजीमा राजधानी र विदेशतिर हानिए तर पेशल आचार्यका लागि अविकसित यही समाजको धुलौटे माटो, बाटो र पाटो प्रिय भयो । कहिलेकहीँ त लाग्छ, उनी रामेछापका हुन् र हामी बाहिरका । कहिलेकहीँ रामेछापका साहित्यकार र साहित्यिक पत्रकारको इतिहास लेख्दा उनी जिल्लामा बसेर सिर्जना गर्नेको नाउँमा आफ्नो नाउँ राख्छन् र सहरतिर बसेर सिर्जना गर्नेको नाउँमा हाम्रो नाउँ लेख्छन् । त्यतिबेला भित्र कतै नमीठो, पीरोसँग दुख्थ्यो । हो, त्यही समयमा हो उनीसँग सिर्जनात्मक सम्बन्ध गाँसिएको तर वर्ष, महिना र दिनचाहिँ ठ्याक्कै सम्झना छैन । लाग्छ, दशकौँ भइसकेको छ । हामीले कलिला पैताला टेकेर हिँडेको पाइला र डोबहरू अर्थात् हामी जन्मिएको भूमिमा उनका युवा पैताला टेकिएका हुन् र हामीले असरल्ल उठाएका विषयलाई उनले समालेर पस्किएका छन् । त्यसैले उनी रैथाने र हामी सहरबासी लाग्थ्यौँ, भनिन्थ्यौँ । धेरै मीठो माया लाग्थ्यो उनको यहाँको बसाइ र सिर्जनाप्रति । उनका लेखरचनाहरू पढ्दा लाग्थ्यो, परिस्थतिले हामीलाई आफ्नो जन्मथलोलाई कर्मथलो बनाउन नदिए पनि उनले धानिदिएका छन् सिर्जनात्मक अभियानहरू । ती अभियानमा कहिले उनी कविता लिएर, कहिले पत्रिका लिएर, कहिले मुभी क्यामेरा लिएर, कहिले समीक्षक भएर र कहिले साहित्यिक पत्रकार भएर अन्तरवार्ताकारका रूपमा पनि प्रस्तुत भए । सिर्जनाका विविध विधामा रमाए, फस्टाए । नयाँनयाँ उत्पादन पनि गरे । आफ्नो जन्मथलोको स्रष्टा र पत्रकारका रूपमा भित्रैदेखि गहिरो माया पलाएको हो उनीसँग । आजसम्म त्यही माया झाँगिएको हो । त्यसैले बोक्रे सम्बन्ध छैन उनीसँग । जति छ सच्चा छ र सहृदयी छ । उनका सिर्जनामा मेरो जन्मथलोका मजस्तै हजारौँ ‘ब्याक बेन्चर’ हरू आउँछन् । त्यसैले ती मेरा लागि पनि असाध्यै प्रिय छन् ।

नेपाली भाषा शिक्षक समाज रामेछापका अध्यक्ष, अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष, एमनेस्टी रामेछाप समूहका सदस्य, असल शासन जिसस रामेछापका सल्लाहकार, सान नेपालका सल्लाहकार… उनका यी सामान्य र औपचारिक परिचयले मात्र पनि उनी रामेछापे हुन् भन्दा फरक पर्दैन तर उनी यति मात्र होइनन्, अरू धेरै हुन् जो उनका कृति र उनको जीवनी अध्ययनपछि मात्र थाहा हुन्छ ।

उनको पछिल्लो निर्बन्धात्मक सिर्जना ‘ब्याक बेन्चर’ का बारेमा साहित्यकार महेश प्रसाईं भूमिकामा भन्छन्, ‘अनुभूतिको परिकल्पना र कल्पनाशील अनुभूति निर्बन्ध चिन्तनको शाश्वत् पक्ष त्यसै बन्दैन । रचनाशिल्प वास्तविक जीवनसित छ । जीवनवादी जीवनबाट छ । भोगिने सत्यहरू र नभोगिने सत्यहरू, दुवै ती एउटै विषयका होचाअग्ला पाटा हुन् । मस्तिष्कको एउटा अवाक स्थितिले रक्षा गर्छ दुवैलाई । पेशलको यो रक्षक व्यक्तित्व आसलाग्दो छ यहाँ ।’

हो, पेशल आचार्य धेरै सम्भावना बोकेका व्यक्तित्व हुन् र चिन्न, खोज्नसके हिमाली जडीबुटी यार्सागुम्बाजस्तै हुन् । सक्कली जडीबुटी चिन्न सक्ने–नसक्ने परखीको क्षमतामा भर पर्छ । ‘ब्याक बेन्चर’ को सरसर्ती अध्ययनबाट पनि उनमा भएको व्यापक दृष्टिकोण, त्यसलाई व्यक्त गर्ने कलात्मक क्षमता र बौद्धिकताको झल्को मिल्छ ।

‘ब्याक बेन्चर’ अर्थात् पछिल्लोसिटेहरू । पछिल्लो सिट कक्षाकोठामा मात्र हुँदैन, समाजमा पनि हुन्छ । राजनीतिमा पनि हुन्छ । अर्थशास्त्रमा पनि हुन्छ । साहित्यमा पनि हुन्छ । घरको, समाजको, राज्यको पछिल्लो सिटमा बस्न बाध्य पारिएकाहरूको कथा वा चित्र हो ‘ब्याक बेन्चर’ भलै ती पछिल्लोसिटेहरूका बारेमा धारणा र व्याख्या वर्गदृष्टिकोणअनुसार आआफ्नै किसिमका हुन्छन् । राज्यसत्ताको शोषण, दोहन र पक्षपातपूर्ण व्यवहारका कारण मानिस बाध्य भएर पछिल्लो सिटमा पुग्छ । कोही रहरले पछिल्लो सिट अथवा ओझेलमा पुग्दैन, उसलाई त्यहाँ बल गरेर पुर्याइन्छ । वर्गसमाजमा सत्ताधारी शोषक वर्गले सधैँ श्रमजीवी जनतालाई पछिल्लो सिट अथवा सुविधाविहीन स्थानमा पुर्याइदिन्छ । जब सत्ताको यो चरित्रका विरुद्ध ब्याकबेन्चरे वा पददलितहरूले विद्रोह गर्छन्, त्यसपछि फ्रन्टसिटेहरू अर्थात् शासकहरू बलपूर्वक पछिल्लो सिटमा धकेलिन्छन् वा पत्तासाफ हुन्छन्, मेटिन्छन् । यो वर्गसमाजको अनिवार्य नियम हो । यद्यपि पेशल आचार्यको ‘ब्याक बेन्चर’ मा यो पक्षको चर्चा त्यति शक्तिशाली रूपमा मुखर हुन सकेको छैन । यो निबन्धको पनि सीमा हो र निबन्धकारको पनि ।

कक्षाकै कुरा गरौँ, कक्षामा पछिल्लो सिटमा बस्नेहरू धेरै हुन्छन् र पछिल्लो सिट वा बेन्चमा बस्नुपर्नाका विभिन्न कारणहरू हुन्छन् । पढाइमा अलि सामान्य, कमजोर, शारीरिक अवस्था पनि सामान्य– गैरलडाकु र शिक्षक–विद्यालयसँगको पहुँचमा पनि पछि परेका विद्यार्थीहरू ‘ब्याक बेन्चर’ हुन्छन् । आफ्नै कुरा गरौँ न, म पनि ‘ब्याक बेन्चर’ थिएँ । म पढाइमा कमजोर भएर होइन, अरूभन्दा अलि सानो उमेरको र छिप्पिएका विद्यार्थीहरूको चेपाइमा परेर ‘ब्याक बेन्चर’ भएको थिएँ । आफैँ शिक्षक बनेको समयमा अझ नजिकबाट थाहा पाएँ– घरको सबै काम भ्याएर विद्यालय जान बाध्य बनेकाहरू ‘ब्याक बेन्चर’ हुँदा रहेछन् । बिहान एक डोको घाँस काटेर, एक भारी सोतर काटेर, होटेलमा गाईभैँसीको दूध लगिदिएर, एउटा मेलो भ्याएर, भाइबहिनीहरू बोकेर विद्यालय जान बाध्य विद्यार्थीहरू पछिल्लो बेन्चमा बस्न बाध्य हुन्छन् । टाढाटाढाबाट विद्यालय जानुपर्ने अवस्थाका विद्यार्थी ‘ब्याक बेन्चर’ हुन्छन् । उनीहरू शिक्षकको आँखामा पनि पछिल्तिर हुन्छन् । अग्रभागका गतिविधिहरू थाहा नभएपछि पछिल्लो भागमा बस्नेहरूमाझ साथीभाइहरूबीच खासखुस चल्छ । पढाइमा भन्दा अरू विषयतिर ध्यान जान थाल्छ । शिक्षकले पनि ‘ब्याक बेन्चर’ हरूप्रति त्यति वास्ता गर्दैनन् । ‘ब्याक बेन्चर’ हरूले गृहकार्य गरे–नगरेको हेर्दैनन् । उनीहरू ‘ब्याक बेन्चर’ हुनुको कारण गहिराइमा पुगेर सोच्दैनन्, सोध्दैनन् र त्यसको निराकण गर्ने उपायहरू सुझाउँदैनन् । शिक्षकहरूलाई लाग्छ– यी ‘ब्याक बेन्चर’ हुनकै लागि जन्मिएका हुन् । फलस्वरूप ‘ब्याक बेन्चर’ क्रमशः दब्बु हुन थाल्छ । कोपभाजनमा पर्छ । विद्रोही बन्छ र रूपान्तरणको सङ्घर्षमा सामेल हुन्छ ।
समाजका अरू विषयमा अब्बल हुने तर कक्षामा पछिल्लो सिटमा बस्न बाध्य भएकाहरूलाई देखेको र चिनेको छु मैले । पेशल आचार्यले पनि निबन्धसङ्ग्रहको धेरै स्थानमा उदाहरण दिएरै चर्चा गरेका छन्– सबै ‘ब्याक बेन्चर’ हरू कमजोर हुँदैनन् र समाज सञ्चालन गर्नेहरू प्रायः ‘ब्याक बेन्चर’ नै हुन्छन् । अघिल्लो बेन्चमा बस्नेहरू कि त कक्षाका प्रथम, द्वितीय र उत्कृष्ट पाँच (टप फाइभ) मा पर्नेहरू हुन्छन्, कि त उमेर र शरीरले अलि ठूलाबडा, अगुवा (मनिटर), शिक्षकका नातागोताकाहरू हुन्छन् । प्रथम, द्वितीय, तृतीय हुनेहरू अर्थात् ‘फस्र्ट बेन्चर’ हरू पुस्तकका कीरा हुन्छन् । उनीहरूको ध्यान पुस्तकमा भन्दा अन्यत्र, बाहिरी सामाजिक गतिविधिमा हुँदैन । ‘मनिटर’ र शिक्षकका आफन्तहरू ‘डन’ जस्तै हुन्छन् । उनीहरूमा क्रमशः शासकको गुण सवार हुन थाल्छ । घरको, परिवारको, समाजको, कथित उपल्लो वर्ग, जाति, लिङ्ग, क्षेत्रको सास्ती खेपेकाहरू पछिल्लो सिटमा बस्न बाध्य हुन्छन् । दस हन्डर र ठक्कर खाएकाले उनीहरूलाई जीवनको भुक्तमान थाहा हुन्छ । त्यसैले उनीहरू किताबी ज्ञानमा मध्यम भए पनि जीवनको ज्ञानमा अब्बल हुन्छन् । समाजका बहुसङ्ख्यकहरू पछिल्लोसिटे भएकाले यो समाजका बहुसङ्ख्यकको प्रतिनिधित्व गर्ने निबन्धसङ्ग्रह हो ‘ब्याक बेन्चर’ । निबन्धका विषय, पात्र र उक्तिहरूले पनि अब्बल ठहरिएका एकाध पहिलोसिटेहरूको भन्दा बीच र पछिल्लो सिटमा बस्नेहरूको जीवनकथा बोकेको छ । त्यसैले यो जनसामान्यहरूका विषयमा लेखिएको निबन्ध हो । बहुसङ्ख्यकको आवाज मुखरित गर्ने निबन्ध हो । त्यसैले यसको शीर्षक सार्थक छ । नेपाली भाषामा ‘ब्याक बेन्चर’ को शाब्दिक अर्थ पछिल्लोसिटे हुन्छ होला कि ? तर यसको भावार्थ भने कक्षामा पछिल्लो सिटमा बस्न बाध्यहरूजस्तै राजनीतिक रूपमा शासकका आँखा नपरेकाहरू, सामाजिक रूपमा समाजका कथित गन्नेमान्नेहरूबाट हेला गरिएका पददलितहरू, आर्थिक रूपमा विपन्नहरू, सांस्कृतिक रूपमा शासनसत्ताबाट ओझेलमा पारिएका पछैटेहरू भन्ने हुनुपर्छ । पुस्तक र पुस्तकभित्रको एउटा शीर्षक पनि हो ‘ब्याक बेन्चर’ तर यो निबन्धको नाउँ मात्र नभएर समाजको, राज्यको, शासकको आँखामा नपरेका, अविकसित, पिछडिएकाहरूको सन्दर्भमा आएको हुनुपर्छ भन्ने मेरो सामान्य बुझाइ हो । नेपाली विषयका शिक्षक र नेपाली भाषाका साहित्यकारले किन अङ्ग्रेजी शब्द सापटी लिएर पुस्तकको नाउँ र निबन्धको शीर्षक राखेका होलान् भन्ने प्रश्न पनि उब्जिन सक्छ तर समग्र पुस्तकको विषय पछिल्लो सिटमा बस्न बाध्य पारिएकाहरू भएकाले आफ्नो उद्देश्यमा पुस्तक सार्थक छ, सफल छ ।

निबन्ध र निबन्धकारिता

‘ब्याक बेन्चर’ निबन्धात्मक कृति हो, आत्मपरक अर्थात् निजात्मक निबन्धसङ्ग्रह । निबन्धका विविध आयामहरू छन् । निबन्ध तुलनात्मक रूपमा सिर्जनाका अन्यभन्दा निर्बन्ध विधा हो तर लेखनशैली र विषयवस्तु चयनमा निर्बन्ध भए पनि यो विचारबाट भने अवश्य निर्बन्ध छैन । नेपाली साहित्यमा प्रसस्तै लेखिएको, समसामयिक, यथास्थितिवादी धारामा लेखिइरहेको तर माक्र्सवादी साहित्यमा कहिले बाढीजसरी उहापोह लेखिँदै र कहिले खहरेजसरी सुक्दै गएको विधा हो निबन्ध । समयसामयिक धारामा भने निबन्ध र निबन्धकारिताले राम्रै स्थान राखेका छन् । यही मेसोमा आएको छ पेशल आचार्यको ‘ब्याक बेन्चर’ ।

प्रतिध्रुवीय कित्तामा निबन्ध विधाले निरन्तरता नै पाइरहे पनि माक्र्सवादी धारामा भने अन्य विधामा झैँ यसको त्यति निरन्तरता र एउटै गति देखिँदैन । राजनीतिक–सांस्कृतिक प्रतिक्रान्ति, मूल्यहरूको विघटन, आदर्शहरूको स्खलन र नयाँ क्रान्तिले गति लिँदै गरेका कारण माक्र्सवादी धार विशाल र वेगवान् बनेर प्रतिगामी र यथास्थितिवादी धारलाई कुल्चिँदै अघि बढिरहेको र सडेगलेको, फोहोर मिसिएको ढलजस्तै बनेको प्रतिध्रुवीय कित्ता चर्पीनजिकको मूलाझैँ मौलाएको अवस्थामा त्यसको असर सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि परेको छ । त्यसैले मार्क्सवादी धारमा सिर्जना र संस्कृतिका हरेक विधा आस्था, विचार–अस्मिता जोगाएर जरुवा पानीजस्तै एउटा मन्द गति र प्रवाहमा वहेको पाइन्छ भने प्रतिध्रुवीय कित्ता दुर्गन्ध र विनाससहित छ्यालब्याल भएर बगेको अवस्था छ । पेशल आचार्यको निबन्धकारिता खाँट्टी मार्क्सवादी पनि होइन र यथास्थितिवादी धारको पनि होइन । समाजमा विद्यमान विकृति, विसङ्गति, असङ्गति, कुरीतिहरूको भण्डाफोर गर्न चाहने गतिशील निबन्ध हुन् ‘ब्याक बेन्चर’ का निबन्धहरू । मध्य धारमा बसेर लेख्नु जोखिम मोल्नु हो । यो धारमा बसेर लेख्दा कहिले ह्वात्तै प्रशंसाको बाढी आउने र कहिले मूल्याङ्कनमा शून्यता छाउने खतरा पनि हुन्छ तर पेशलले त्यो जोखिम मोलेका छन् । देखेजति, जानेजति, सुनेजति सबै कुरा भन्दा कोही पनि आफ्नु नहुने र आफू मात्र बाँकी रहने खतरा पनि हुन्छ यस्तो लेखनीमा । तर त्यो पेशल आचार्यलाई स्वीकार्य छ । निरन्तर कसैको (कुनै पात्र, सत्ता, संस्था आदिको) प्रशस्ती वा भजन गाउनु सिर्जना होइन, भाटगिरी हो । दासहरूले मात्र यस्तो कर्म गर्न सक्छन् । भाटगिरी स्वीकार्य छैन पेशललाई । त्यसैले उनी कतै विद्यमान सत्ताको पनि खिल्ली उडाउँछन् त कतै आमलयमा मिसिएर आमूल परिवर्तनका पक्षधरहरूलाई पनि खुइल्याउँछन् । यस्तो जोखिम मोलेर पनि स्थापित बन्नु चानचुने विषय होइन । त्यसैले पेशल र ‘ब्याक बेन्चर’ दुर्घटनाबाट संयोगले बचेका सकुशल यात्रीजस्तै हुन् भन्ने लाग्छ मलाई ।

शब्दकोशीय र भावपरक अर्थ

नेपाल प्रज्ञाप्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा निबन्धको परिभाषा यसरी गरिएको छ : कुनै विषयलाई कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना, साहित्यको एक गद्य विधा । त्यस्तै हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराईद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोशमा निबन्धलाई कुनै वस्तु, विचार वा भावको शृङ्खलाबद्ध अभिव्यक्ति भएको एक विधा, प्रबन्ध भनिएको छ । त्यसैगरी नेराप्रप्रको शब्दकोशमा संस्मरणको परिभाषा यसरी दिइएको छ : बराबर सम्झना आउने बितेका दिनको कुरो, मीठो प्रकारको सम्झना, मधुर स्मृति । राम्रोसित वा बरोबर सम्झना गर्ने काम, नाम जपाइ, संस्मृति । पुरानो घटना, वस्तु, महत्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्वपूर्ण कुराको उल्लेख, कथन वा रचना । त्यसैगरी प्रयोगात्मक नेपाली शब्दकोशमा भनिएको छ : बारम्बारको सम्झना, स्मृति । मीठो सम्झना, मधुर सम्झना । अनुभव, यात्रा आदिका आधारमा लेखिएको साहित्यिक रचना ।

नियात्राका बारेमा प्रज्ञाप्रतिष्ठानको बालकृष्ण पोखरेलको सम्पादनमा निस्किएको बृहत् नेपाली शब्दकोशमै भनिएको छ : यात्रा निबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप । यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध । प्रज्ञाको कोशमा धर्काचित्रका बारेमा भनिएको छ : धर्काचित्र भनेको साहित्यका क्षेत्रमा श्रव्यकाव्यमा गद्यफाँटअन्तर्गत कथाभन्दा भिन्न खालको एक रूप ।

प्राडा नन्दीश अधिकारीले ‘लालबस्तीको यात्रा’ पुस्तकको भूमिकामा रेखाचित्रबारे वाल्टरको क्याम्ब्रिज एड्भान्स लर्नर डिक्सनरी उल्लेख गर्दै भनेका छन् : निबन्ध, कथा, संस्मरणको मिश्रण भएको साहित्यिक रचना हो ।

यी परिभाषामा डायरीलेखन समेटिएको छैन । डायरी पनि निजात्मक निबन्धको एक महत्वपूर्ण विधाका रूपमा अघि आएको छ ।

यी परिभाषाहरू उद्धरण गर्नुको तात्पर्य र अन्तर्य पेशल आचार्यको हालै प्रकाशित आत्मपरक–बहुल निबन्धात्मक कृति ‘ब्याक बेन्चर’ को विधागत अवस्थिति खोतल्न सचेत पाठक र अध्येतालाई केही सहज वातावरण निर्माण गरिदिनु पनि हो ।

उठान

नेपालको समकालीन र यथास्थितिवादी साहित्य परम्परामा निबन्ध विधामा अब्बल स्रष्टाहरू जन्मिसकेका छन् । लक्ष्मीप्रसाद देवकोटा, पारिजातप्रभृत्ति स्रष्टाका आत्मपरक, संस्मरणात्मक निबन्धहरूले यथास्थितिको घेरा नाघेर आलोचनात्मक, प्रगतिशील चेत बोकेको पाइन्छ भने शङ्कर लामिछाने, तारानाथ शर्माप्रभृत्ति स्रष्टाका निबन्धमा यथास्थितिवादी चेतना । मार्क्सवादी साहित्यमा भने प्रतिगामिताको अन्त्य र यथास्थितिको घेरा तोड्दै सुन्दर समाजवादी यथार्थवादी चिन्तन प्रस्तुत गरिएको पाइन्छ । कलात्मकताका दृष्टिले पारिजात र सरलताका दृष्टिले श्यामप्रसाद शर्मा लामिछाने प्रगतिशील निबन्धकारको अग्रपङ्क्तिमा देखिन्छन् । आलोचनात्मक र व्यङ्ग्यात्मक चेतका दृष्टिले भने भैरव अर्याल, श्याम गोतामे, रुद्र खरेल र खगेन्द्र सङ्ग्रौलाहरू आउँछन् । संस्मरणात्मक निबन्धहरू मार्क्सवादी साहित्यमा पनि धेरै नै लेखिएका छन् । जनयुद्धकाललाई संस्मरणात्मक निबन्ध लेखनको पनि स्वर्णकाल मान्दा हुन्छ माक्र्सवादी साहित्यमा । कृष्ण सेन ‘इच्छुक’ प्रभृत्ति स्रष्टाका संस्मरणात्मक निबन्धसङ्ग्रहहरूले नेपालको मार्क्सवादी साहित्यलाई हराभरा बनाएका छन् । यद्यपि जनयुद्धकालमा धेरै वैचारिक लेखहरू पनि लेखिएका छन् । वैचारिक, दार्शनिक, राजनीतिक लेखहरूमा साहित्य र कलाको मात्रा कम पाइन्छ । त्यसैले निबन्धात्मक बान्की भएर पनि वैचारिक लेखहरूलाई साहित्यको चलनचल्तीको निबन्ध विधाको परिभाषामा समेटेको पाइँदैन ।

मार्क्सवादी साहित्यमा विगतका तुलनामा यस सदीको पचास र साठीको दशकमा निबन्ध विधा अत्यन्त फस्टायो । त्यसपछि सुस्ताएको निबन्ध विधाले सत्तरीको दशकको मध्यसम्म खासै गति लिन सकेको देखिँदैन । सत्तरीको दशकको मध्यबाट भने यसले अलि गति समातेको छ । यस क्रममा आत्मपरक, संस्मरण र डायरीपरक निजात्मक शैलीका निबन्धहरू लेख्ने प्रचलन बढेको छ । हाल मार्क्सवादी साहित्यमा निबन्ध विधा फुटकर लेखनमा मात्र सीमित बन्दै गएको अवस्था छ । सङ्ग्रहका रूपमा भने सीमित निबन्धात्मक कृतिहरू फेलापार्न सकिन्छ ।

लेखन र विशेषतः सिर्जनात्मक/साहित्यिक लेखन सांस्कृतिक कर्म हो । राजनीतिक र सांस्कृतिक कर्म एकापसमा अन्तरसम्बन्धित छन् । समाजमा विद्यमान वर्ग र वर्गहरूका बीचको सङ्घर्षको क्रम र गतिसँगै सांस्कृतिक कर्म पनि गतिशील हुन्छन् । सिर्जना पनि सांस्कृतिक कर्म हो । सांस्कृतिक कर्मले जमेको तलाउमा तरङ्ग उत्पन्न गरिदिने कर्म पनि गर्छ । गतिहीन समाजलाई गतिशील बनाउन र राजनीतिक परिवर्तनपछि आत्मिक रूपान्तरणका लागि पनि सांस्कृतिक कर्म (आन्दोलन र रूपान्तरण) को उत्तिकै महत्व छ । संसारकै वर्गसङ्घर्षहरूमा मार्क्सवादी सांस्कृतिक आन्दोलनहरूले वर्गसङ्घर्षलाई उठाउन र उपलब्धिहरूलाई संस्थागत गर्न अमूल्य योगदान दिएका छन् । नेपालमा पनि निरन्तर जारी वर्गसङ्घर्षमा सांस्कृतिक आन्दोलनको ठूलो योगदान र महत्व छ । यथास्थितिविरोधी सिर्जनात्मक कर्महरूले पनि प्रगतिशील आन्दोलनलाई टेको दिइरहेका हुन्छन् । प्रगतिशील सिर्जनाले प्रगतिवादी आन्दोलन र त्यसले मार्क्सवादी आन्दोलनलाई केही न केही सहयोग पुर्याइरहेको पाइन्छ । यस हिसाबले हेर्दा ‘ब्याक बेन्चर’ ले पनि समाजमा असरल्ल विषयवस्तु औँल्याएर प्रगतिशील आन्दोलनलाई एउटा खुराक दिएको छ ।

निकट इतिहासलाई केलाउँदा नेपालमा पचास र साठीको दशकमा झन्डै एघार वर्षसम्म सञ्चालित महान् जनयुद्धको समयमा सांस्कृतिक आन्दोलनले वर्गसङ्घर्षको अग्रभागमा रहेर महत्वपूर्ण मोर्चा समालेको थियो । त्यसमा राजनीतिसँगै कला, साहित्य, संस्कृतिका सबै स्वरूपहरू क्रियाशील थिए । मानिसको जीवनमै आमूल परिवर्तनका लागि सतहमा जनयुद्धले र गहिराइमा सांस्कृतिक आन्दोलनले एक रथका दुई पाङ्ग्रा भएर मोर्चा समालेका थिए तर नेतृत्वका केही पात्रको महापतन, दलाली र गद्दारीपछि जनयुद्धको पनि पतन भयो र जनयुद्धले स्थापना गरेका राजनीतिक, वैचारिक, सांस्कृतिक सबै उपलब्धि धूलीसात भए । प्रतिगमन दलाल पुँजीवाद बनेर नेपाल र नेपालीको राजनीति र संस्कृतिको घोडा चढ्यो । परिणामतः आज एकातिर सरकारी नेकपाको मोहोरामा दलाल पुँजीवादी प्रतिगमन र अर्कातिर विप्लव नेतृत्वको नेकपाको अगुवाइमा एकीकृत जनक्रान्ति सञ्चालित छन् । कहिले प्रतिगमन हाबी हुन्छ र त्यसको राजनीतिक–सांस्कृतिक अभिव्यक्ति फासिवादका रूपमा प्रकट हुन्छ । कहिले जनक्रान्ति हाबी हुन्छ र दलाल पुँजीवादी राजनीति–संस्कृतिको टाउकोमा लाठी बर्साउँछ । आजको अवस्था यही हो । पेशल आचार्यको निबन्धात्मक कृति ‘ब्याक बेन्चर’ मा समाजको विद्यमान पेचिलो अवस्था अग्रभागमा नदेखिए पनि बाछिटाका रूपमा समाजका अन्तरविरोधहरू आएका छन् ।

ब्याक बेन्चरमाथि सरसर्ती बुझाइ

‘ब्याक बेन्चर’ लेखिएको भूमि रामेछाप हो । रामेछाप पनि वर्गसङ्घर्षको केन्द्रमा छ । निरङ्कुश जहानियाँ राणा शासनको अत्याचारविरुद्ध जागरण कविता अभियानका अभियन्ता धरणीधर कोइरालादेखि मकैको खेती पुस्तक लेखेर बलिदान दिने कृष्णलाल अधिकारीको जन्मभूमि हो रामेछाप । नेपालका प्रथम विद्यार्थी सहिद गङ्गालालदेखि नेकपाका संस्थापक/महासचिव पुष्पलालको पनि जन्मभूमि रामेछाप नै हो । आशुकविका नाउँले विख्यात शम्भुप्रसाद ढुङ्ग्यालदेखि राणाविरोधी आन्दोलनका योद्धा एवम् विद्रोही कवि हितप्रसाद उपाध्यायको जन्मभूमि पनि रामेछाप नै हो । राणाकालमा कृष्णलाल र गङ्गालालदेखि संसदीय कालमा भोजबहादुर कार्की, जनयुद्धमा तीफदि, बाबुराम लामा, रक्तिम हुँदै एकीकृत जनक्रान्तिमा रामकुमार श्रेष्ठसम्मका दुई सयभन्दा बढी लालयोद्धा–स्रष्टालाई जन्माएको जिल्ला भएकाले रामेछापलाई लालहरूको जिल्ला पनि भनिन्छ । राणाकालदेखि नै रामेछाप वर्गसङ्घर्षमा छ । त्यसैले यहाँको साहित्य, कला र संस्कृति पनि वर्गसङ्घर्षकै वरिपरि छन् । पक्ष वा विपक्षमा छन् । पेशलको ‘ब्याक बेन्चर’ मा यहाँको हावापानी, माटो र प्रवृत्तिहरू देख्न पाइन्छ तर यहाँ प्रत्येक शीर्षकको रौँचिरा अध्ययन गर्ने लक्ष्य राखिएको छैन ।

रामेछापमा पनि समाजकै दुई विचारधारालाई प्रतिनिधित्व गर्ने साहित्यका दुई धारा देखिन्छन् : पछिल्लो समयमा जगदीश घिमिरे प्रतिष्ठान वा त्यस कित्ताले बोकेको, प्रलेस नाउँको यथास्थितिवादी संस्था र त्यसमा आबद्ध स्रष्टाहरूले लिएको समसामयिक यथास्थितिवादी धारा र मार्क्सवादी साहित्य प्रतिष्ठान, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ एवम् अखिल नेपाल लेखक सङ्घ, रामेछाप साहित्य प्रतिष्ठान र हित–जून साहित्य प्रतिष्ठानले बोकेको आमूल परिवर्तनको पक्षपाती मार्क्सवादी धारा । स्रष्टा पेशल आचार्य दुवै धाराका अभियान र कार्यक्रममा उत्तिकै जमिरहेका हुन्छन् । त्यसैले पनि उनको सिर्जनाको क्षेत्र व्यापक छ । ‘ब्याक बेन्चर’ मा यी दुवै अभियान र आयामका विषयवस्तु कुनै न कुनै रूपले अभिव्यक्त भएको पाइन्छ ।

समीक्षक/स्रष्टा डीबी भुजेलले पेशल आचार्य रचित निबन्धसङ्ग्रह ‘ब्याक बेन्चर’ का बारेमा भनेका छन् :

‘ब्याक बेन्चर’ अर्थात् कक्षाको सबैभन्दा अन्तिमतिरका बेन्चमा बस्नेहरू । यी दुई शब्दको शीर्षकभित्र लुकेको अथाह निबन्धकारिताका उत्कृष्ट सर्जक पेशल आचार्य । भाषिक प्रस्तुतिका दृष्टिले अब्बल र भावगाम्भीर्यका दृष्टिकोणमा समुच्च स्थानको निबन्धसङ्ग्रहका रूपमा यसलाई पुष्ट्याउनुपर्दा कुनै हिच्किचाहट हुँदैन । एउटा साधारण पाठकका मनले भन्दा सर्जकमा रहेको अधिकतर विषयवस्तुको सङ्गालो हो ‘ब्याक बेन्चर’ अनि निबन्धकारभित्र रहेको अथाह ज्ञानको बहाव हो– यो ।

कृति र कृतिकारका बारेमा यति थाहा पाइसकेपछि अरू धेरै परिचर्चा गरिरहनु पर्लाजस्तो लाग्दैन तर पनि स्रष्टा पेशल आचार्यसँग एउटा पाठक र हितैषीको नाताले आफूलाई लागेका केही पृथक अनुभूतिहरू अनुभूतिकै स्वरूपमा राख्ने अनुमति मागेको हुँ ।

फेरि दोहोर्याऊँ, यहाँ ‘ब्याक बेन्चर’ को रौँचिरा व्याख्या गर्ने उद्देश्य राखिएको छैन तर पनि पुस्तकको रूप पक्ष अर्थात् बनोट र सार पक्ष अर्थात् बुनोटका दृष्टिले पनि व्यापक परिचर्चा भने गर्न सकिन्छ । यस अनुभूतिपरक समीक्षामा त्यसो पनि गरिएको छैन । सरसर्ती बनोट पक्षमा हेर्दा चोर घाम, मिठो झन्झट, दुःख आफै दुख्ने गर्छ, अक्षरहरूको बिस्कुन, नाइँ भनौँ, गुरु अनि गोरु हुन्छ, दुई र द्वन्द्व, कपुरी क, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भुइँ मान्छे, सम्भावनाहरूको जुलुस, पानी अंकल, भार्या चिन्तन, साला ! दाल, भात, डुकु, सलाद बनाइँदैछ देश, सम्पादकको मृत्यु, ‘ब्याक बेन्चर’ , व्यवहार विश्वविद्यालय, विदित/अविदित, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेःयुगेः, भाव, अभाव र प्रभाव, समय बालापन फर्काइदे !, स्वाभिमानको शोकगीत, कट् फर जिन्दगी, जीवनले के सिकायो ? कट् फर संस्कार र रित्तो गुँड चरा नियति शीर्षकका २९ वटा आत्मपरक निबन्ध यस सङ्ग्रहमा समेटिएका छन् । सबै विषय यो समाजमा व्याप्त परिस्थितिका उपज हुन् र हुन्– विषयमाथि लेखकका दृष्टिकोण ।

त्यस्तै बुनोट, अन्तरवस्तु वा सारका दृष्टिले स्रष्टाले ‘ब्याक बेन्चर’ मा समाजमा विद्यमान आमप्रवृत्तिको चिरफार गरेका छन् । विविध शीर्षक र नाउँ दिँदै स्रष्टा यायावर बन्न पुग्छन्, दार्शनिक बन्न पुग्छन् र समाज, यसका पात्र र प्रवृत्तिलाई विभिन्न दिशाबाट विश्लेषण गर्छन् । विषयका दृष्टिले आफूले यस निबन्धसङ्ग्रहमा जीवन, जगत्, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तति, विवाह, सन्तान र भाबी संसारका बारेमा विविध विषयानुभूति र तिर्यक चित्रणका साथ प्रस्तुत गरेको स्रष्टा पेशल आचार्यको आत्मकथन छ । एउटै विषय पनि दृष्टिकोण, चेतना र शिल्पअनुसार पृथकपृथक ढङ्गबाट अभिव्यक्त गर्न सकिन्छ । पहिला पनि सङ्केत गरिसकिएको छ, वर्गसमाजमा कुनै पनि वस्तु र विषयलाई हेर्ने दृष्टिकोण दुईवटा हुन्छन् : मार्क्सवादी, द्वन्द्वात्मक भौतिकवादी र आदर्शवादी । यो जीवन, जगत्लाई हेर्ने, पर्गेल्ने, व्याख्या गर्ने, उपयोग गर्ने उद्देश्य नै दुई पृथक दृष्टिकोण र विचारमा केन्द्रित भएपछि स्रष्टाले आफ्नो विचार र दृष्टिकोणअनुसार नै जीवन र जगत्लाई परिभाषित गरिरहेको हुन्छ । यो प्रस्ट हो । उभयलिङ्गी विचारले जीवन र जगत्बारे भ्रम मात्र छर्छ । दृष्टिकोणमा भ्रम छर्नु भनेको प्रकारान्तरले यथास्थितिलाई सघाउनु हो, आदर्शवादी बन्नु हो, प्रगति, उन्नति र मुक्तिको बाटोमा ठूलोसानो तगारो हाल्नु हो । यो कुरा स्रष्टा पेशल आचार्यलाई भलिभाँती थहा छ । शीर्ष निबन्ध ‘ब्याक बेन्चर’ मा आजको समाज कस्तो छ, उनको दृष्टिकोणले यो प्रस्ट देखाउँछ :

मेरो समाज बलेको आगो ताप्छ । गुगलका दर्शनढुङ्गामा वेबसाइटको झुलो चकमक रगडेर खरानी फुकी आगो जोर्ने फुर्सद निकाल्दैन । कपी गर्नेको मोनोपोली बजारलाई सिन्डिकेटमा लगी विज्ञापनका दाइँ हालेर पवटा अनाजलाई बिक्री गर्दछ । कुशाग्र बुद्धिको कवि कि त अध्याँरोको तिजोरीमा कैद गरिएको छ कि त अपहेलित छ यहाँ ।

ब्याक बेन्चरको आन्तरिक पक्षलाई विचार, विषयवस्तु, कला, शिल्प, शैलीलगायत विविध अंशमा विश्लेषण गर्न सकिन्छ तर यहाँ त्यसतर्फ पनि लागिएन । विचारका दृष्टिकोणले समसामयिक यथार्थवादी हुँदै अति यथार्थवादी धाराका प्रवक्ताझैँ लाग्ने पेशल आचार्यका निबन्धात्मक रचना आयाम र व्यापकताका दृष्टिकोणले पनि बृहत् क्षेत्र समेट्ने क्षमताका छन् । शब्दभभण्डारका दृष्टिकोणले यी निबन्ध पर्याप्त छन् भने प्रयोगात्मक भाषाशैलीका दृष्टिकोणले पनि अब्बल छन् । लेखकीय शैली कलात्मक र प्रौढ छ । म पेशल आचार्यका निबन्धलाई देवकोटा वा शङ्कर लामिछानेसँग तौलने वा दाँज्ने पक्षमा छैन, पेशल आचार्यका रचना पेशल आचार्यसँगै तुलना गर्ने क्षमता राख्छन् । अरूसँग दाँजेर कसैलाई होच्याउनु वा अतिप्रशंसा गर्नु सही होइन किनकि हरेक स्रष्टाको मौलिकता तुलनायोग्य हुँदैन । हात्ती छामेजस्ता लाग्छन् पेशल, कविता पढ्दा कविजस्तो, समीक्षा पढ्दा समीक्षकजस्तो, जीवनी–अन्तरवार्ता पढ्दा साहित्यिक पत्रकारजस्तो र निबन्ध बढ्दा अब्बल निबन्धकारजस्तो । यो उनको मौलिक विशेषता हो । आफूले जानेको, आफूलाई लागेको, देखेको, सुनेको, मानेको कुरा नलुकाईकन भन्ने प्रस्ट वक्ता हुन् उनी । त्यसैले उनलाई अतियथार्थवादी निबन्धकार भन्न मन लागेको हो । उनका बारेमा समीक्षक डीबी भुजेलले भनेका छन्–

‘मेरो विचारमा यो निबन्धको सर्जक खहरे होइन, जो वेहदसँगले गडगडाएर आउँछ र क्षणभरमा नै सुकिदिन्छ पनि । यो त निरन्तर रूपमा सुसाइरहने र बगिरहने समुद्र हो जो सधैँसधैँ छालहरूमा उन्मत्त भएर उफ्रिरहन र गहिराइहरूमा डुबुल्की मार्न अनवरत प्रयास गरिरहन्छ । अथाह ज्ञानको भण्डार छ उसमा, भाषिक शिल्पी प्रस्तुतिमा अब्बल दर्जाको लेखकमा दरिन्छ ऊ । मैले नजिकबाट नियालेको, देखेको र पहिचान गरेको लेखकीय विशेषता यही नै हो । म त भन्छु– सर्जकको ‘ब्याक बेन्चर’ मात्र ती कक्षाका पछाडिका बेन्चतिर बस्नेमा मात्रै सीमित छैन, ग्रामीणदेखि सहरी परिवेशसम्मको जीवन भोगाइको उत्कृष्ट प्रस्तुति छ– यसमा । माक्र्सवादी चिन्तनदेखि लिएर फ्रायडवादी चिन्तनसम्मका दर्शनहरूले लुकामारी खेलेका छन्– यस सङ्ग्रहभित्रका निबन्धहरूमा ।

आलोचनाले कृति र कृतिकारलाई सबल बनाउँछ तर त्यसका लागि ध्वंसात्मक होइन, सिर्जनात्मक आलोचनाको आवश्यकता पर्छ । कतिपय स्रष्टा आलोचना भन्नासाथ मुहार अँध्यारो बनाउँछन् तर सिर्जना क्षमता राख्ने स्रष्टाले सत्य आलोचनासँग डराउनु पर्दैन । पेशल आचार्य सितिमिति आलोचनासँग डराउने स्रष्टा पनि होइनन् । अरूको आलोचना गर्ने हिम्मत गर्ने स्रष्टाले आफ्नाबारेमा गरिएको आलोचना सुन्न, छ्यानबिन गर्न र मनन गर्न पनि आवश्यक हुन्छ । झन्डै चार दशकदेखि निरन्तर नेपाली भाषाका शब्दमा खेलिरहेका स्रष्टाले आफ्नै निबन्धसङ्ग्रहमा गरेको पुनरुक्ति, अङ्ग्रेजी भाषाका शब्दको सस्तो प्रयोग र कृतिभरि बियाँजसरी भेटिने व्याकरणिक त्रुटिप्रतिको असावधानी, असचेतता वा बलमिच्याइँ उनीजत्तिको स्थापित स्रष्टाका लागि क्षम्य छैन । त्यसैले म यो अनुभूतिपरक समीक्षामा स्रष्टा रमेश घिमिरेले कृति र कृतिकारमाथि गरेको टिप्पणीपरक आलोचना प्रस्तुत गर्दै आफ्नो टिप्पणी पनि बिट मार्ने अनुमति माग्छु–

‘भुइँ मान्छे’, ‘विदित/अविदित’, ‘भाव, अभाव र प्रभाव’ जस्ता केही सस्ता र निबन्धीयभन्दा बढी भावपरक गफाडी बनेका छन् यिनी– यो सङ्ग्रहभित्र । ‘कट्फर’ यिनलाई मन परेको शब्द हो जसमा ‘संस्कार’ र ‘जिन्दगी’ जोडेका छन् । हुँदाहुँदा ‘जीवनले के दियो ?’ भन्नसमेत यिनी पछि पर्दैनन् । ‘सम्पादकको मृत्यु’ भएको घोषणापत्रसमेत छपाएका छन् यिनले गहन र रोचक पारामा तर अझै पुग्नुपर्ने निबन्धीय भाँती भने पुगेको महसुस हुँदैन ।

‘ब्याक बेन्चर’ निबन्ध कृतिमा भएको दाँतमा ढुङ्गा लागेजस्तो सत्य कुरा के हो भने फरकफरक समयमा फरकफरक पत्रपत्रिकामा छापिएका निबन्धहरूमा एउटै उक्ति, भनाइ र तथ्यहरू जहाँतहीँ पुनरावृत्ति भएका छन् । जुनसुकै निबन्धमा एउटै उक्ति दोहोरिरहन्छ । जस्तै : उदाहरण हेरौँ, गुरु गुण र चेला चिनी धेरै निबन्धमा छ । संसार आँसुले बनेको हो । संसार जित्ने मानिस घरमा हार्छ । अरूअरू धेरै छन् दोहोरिइरहेका उक्ति, भनाइ र तथ्यहरू जुन कुनै पनि हिसाबले प्रीतिकर लाग्दैन । कृतिमा पुनरुक्तिको पहाड उभिएको छ जसलाई सम्याउनु र छिमल्नुको कुनै विकल्प छैन ।

यिनको अर्को मूल कमजोरी भाषामा मधुरताको अभाव हो, भाषालाई बाँधेर राख्न यिनी चुकेका छन् । झ्वाट्ट भन्छन्, प्याच्च लेख्छन् । कतिपय शब्दहरू समेत अपाच्य लाग्छन् । अङ्ग्रेजी शब्दहरूसँग यिनको अतीव मोह गाँसिएको छ । शब्दहरू त फुराउँछन् यिनी तर त्यसलाई भाँती पुर्याएर वाक्य बनाउन र त्यसलाई सुनौँ–सुनौँ, पढौँ–पढौँ लाग्ने बनाउन भने कताकति चुकेका छन् ।

शब्द र तथ्यहरूको अतिशय गन्जागोलमा अर्थको अनर्थ लगाइदिन सक्ने खतरा आशा गरेका निबन्धहरू ‘सम्भवामि युगेः युगेः’, ‘दुःख आफैँ दुख्ने गर्छ’ जस्ता अरू निबन्धहरू पनि पर्ने जोखिमका लाग्छन् । साथै राजनीतिक विषयमाथि विचार उठानको यिनको शैली रूखो र नमिठो लाग्छ– कताकता । मूल चुरोलाई छोडेर सतहमा दौडिएका निबन्धहरू पनि छन् ।…

३ मङ्सिर, २०७७
हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान
सिर्जनानगर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :