द्वन्द्वात्मक भौतिकवाद लागू गर, संशोधनवाद होइन

माओवाद मार्क्सवाद–लेनिनवादको विकास हो । मार्क्सवाद सिर्जनशील समाज विज्ञान हो । यो अन्ध नक्कल गर्ने विषय होइन । अन्ध नक्कल गर्नु जडसूत्र हो भने सिर्जनात्मकताका नाउँमा मूल भाव र विचार नै तोडेर आफूअनुकूल बनाउनु संशोधनवाद हो । त्यसैले मार्क्सवादको सिर्जनशील विकास र प्रयोगका क्रममा माओवादको विकास भएको हो ।

आज कतिपय कम्युनिस्ट नामधारी समूहहरूले सिर्जनशीलताका नाउँमा मार्क्सवादको गुदी कुरा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद नै छोड्न पुगेका छन् । मार्क्सवादमा वर्तमान परिस्थितिको विश्लेषण गर्ने कुरामा सिर्जनशीलताको अभाव हुँदा विचारधारात्मक क्षेत्रमा विकास गर्ने विषय अलमलमा परिरहेको अनुभूति हुन्छ । माओको मृत्युपछि कुनै पनि देशमा क्रान्ति सम्पन्न हुन नसक्नुमा यही समस्या देखापर्छ ।

विश्व कम्युनिस्ट आन्दोलनमै संशोधनवाद हाबी छ र कहीँकतै जडसूत्रवाद पनि समस्याका रूपमा देखापरेको छ । यसले मालेमावादी, क्रान्तिकारी शक्तिहरूलाई गम्भीर प्रकारले सोच्न बाध्य बनाएको छ । लेनिन र माओले मार्क्सवादको सही प्रयोग गरी विचारको विकास गर्दै क्रान्ति सफल बनाउँदा लेनिनवाद र माओवादमा विकास भएको हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन । रुसमा १०६ वर्षअगाडि महान् अक्टोबर क्रान्ति सम्पन्न भएको थियो भने चीनमा ७४ वर्षअगाडि नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । मार्क्सवाद भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद परित्याग गर्नु गैरमार्क्सवादी बन्नु हो । नवसंशोधनवादका प्रवर्तकहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद परित्याग गरेर पनि मार्क्सवादी होइने ‘नयाँ भाष्य’ (अर्थात् नयाँ भ्रम) उत्पन्न गर्ने षड्यन्त्र गरिरहेको समयमा क्रान्तिकारी कम्युनिस्ट नेता–कार्यकर्ताहरूले लेनिन र माओका साथसाथै मार्क्सवादलाई बारम्बार अध्ययन गर्नु र लागू गर्नुपरेको छ ।

नयाँ पुस्तामा मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, मार्क्सवादी सौन्दर्यशास्त्रप्रतिको रुचि र आकर्षण बढाउनु आवश्यक छ । हामी अब निरन्तर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र पुँजी लिएर जनताको बस्तीदेखि खेतखलिहानसम्म पुग्नुपर्छ । मार्क्सवादलाई नेपाली धरातलसँग जोडेर विचारधाराका साथै क्रान्तिकारी कार्यदिशाको विकास गर्नु आवश्यक छ ।

मार्क्सवादलाई व्यवहारमा रूपान्तरण गर्नुमा लेनिन र माओकै महत्वपूर्ण देन छ । लेनिन र माओका भोलुमहरू पनि हामीले साथसाथै अध्ययन गर्नु आवश्यक छ । मालेमा लागू गर्ने क्रममा हामीले पनि नयाँ विकास गर्ने सम्भावना रहन्छ । अहिलेको ठूलो समस्या भनेको मार्क्सवादलाई राम्रोसँग बुझ्न र त्यसलाई सिर्जनशीलतामा लागू गर्न नसक्नु हो । नयाँ कार्यदिशाको विकास गर्न नसक्दा हामी अल्मलिने खतरा पनि बढ्न सक्छ । नेपालको क्रान्ति पूरा गर्ने कार्यदिशा जनवादी क्रान्ति हो कि वैज्ञानिक समाजवादी क्रान्ति हो भन्ने विषय जनतामा प्रस्ट रूपमा लग्न सकियो भने क्रान्तिको भविष्यलाई कसैले टार्न सक्तैन । त्यसैले हाम्रो प्रयास सदैव मार्क्सवादलाई सही रूपमा बुझ्ने, सही वर्गविश्लेषण गर्ने र वस्तुवादी राजनीतिक र सैन्य कार्यदिशा बनाउनेतर्फ हुनुपर्छ ।

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्– सम्पादक) ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :