वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

व्यक्ति होइन व्यवस्था बदलौँ ! शिक्षामा सुधार होइन, आमूल रूपान्तरण गरौँ !!

जन्मदेखि मृत्युपर्यन्त मानवजीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्ट्याउनसक्ने, सही र वैज्ञानिक निर्णय लिन सक्षम बनाउने, विभिन्न समस्याको व्याख्या मात्र होइन, समाधानका निम्ति विवेक प्रदान गर्ने ज्ञान वा चेतना नै शिक्षा हो । वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय हुने भएकाले सर्वहारावर्गीय दृष्टिकोणले शिक्षालाई परिभाषित गर्दा समाजमा मानवले मानवलाई गर्ने शोषण, विभेद, असमानता पैदा गर्ने र मुनाफाका निम्ति प्राकृतिक स्रोत–साधनलाई चरम दोहन गरी मानवजीवनलाई सङ्कट पार्नुका साथसाथै पृथ्वीलाई ध्वस्त बनाउने मावनताविरोधी र प्रकृतिविरोधी पुँजीवादी विचारधाराको विकल्पमा प्रकृतिको रक्षा गर्दै वर्गविहीन सुन्दर समाज निर्माण गर्ने चेतनाको निर्माण गराउनु नै शिक्षा हो । समग्रमा शिक्षा भनेको प्रकृतिलाई रक्षा गर्दै शोषणविहीन, समानता भएको वर्गविहीन सुन्दर समाजको स्थापनाका निम्ति द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित चेतना नै शिक्षा हो ।

कुनै पनि मुलुकको शिक्षाप्रणाली उक्त मुलुकमा भएको राजनीति र अर्थनीतिअनुरूपको हुन्छ । नेपालको वर्तमान राज्यसत्ता दलाल पुँजीवादी संसदीय व्यवस्था हो । त्यसकारण नेपालको वर्तमान शिक्षाप्रणाली दलाल एवम् निगम पुँजीवादी शिक्षाप्रणाली हो । नेपालको शिक्षा २००७ देखि २०२८ सम्मको अवधिमा बेलायत र भारतबाट निर्देशित रह्यो । २०२८ मा ल्याइएको नयाँ शिक्षापद्धतिबाट २०३६ सालमा शिक्षामा निजीकरणलाई वैधानिकता दिएसँगै नेपालको शिक्षा दलाल तथा निगम पुँजीवादी शिक्षातिर उन्मुख भयो । दलाल एवम् निगम पुँजीवादी शिक्षा भनेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राष्ट्रियतालगायत सम्पूर्ण क्षेत्रमा दलाली, परजीवी र परनिर्भर दास मानसिकता भएको जनशक्ति उत्पादन गर्नु हो । विदेशी तथा दातृ संस्थाद्वारा नियन्त्रित र निर्देशित शिक्षा हुनु, शिक्षालाई निजीकरण र व्यापारीकरण गरी श्रमजीवी जनताको हातबाट शिक्षा खोस्नुका साथै ज्ञानलाई व्यापारको वस्तु बनाई अकूत नाफा कमाउनु, शिक्षालाई मुख्य गरी श्रम र उत्पादनबाट अलग गराई शैक्षिक वेरोजगार उत्पादन गर्नु, युवा विद्यार्थीमा दास मानसिकता निर्माण गर्नु, मानव–मानवबीचमा असमानता, विभेद, शोषण, उत्पीडन पैदा गर्नु र मुनाफाका निम्ति प्राकृतिक स्रोत–साधनलाई दोहन गरी मानव जीवनसँगै प्रकृतिलाई नै ध्वस्त बनाउने प्रकृतिविरोधी र मानवताविरोधी पुँजीवादी विचारधाराको पक्षपोषण गर्ने जनशक्ति उत्पादन गर्नु, राष्ट्रिय आवश्यकतामा भन्दा विदेशीहरूको इच्छा र आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्नुलगायत विशेषताहरू दलाल एवम् निगम पुँजीवादी शिक्षाको विशेषता हो । हरेक कोणबाट नियाल्दा नेपालको शैक्षिक प्रणाली असफल सिद्ध भएको छ । त्यसकारण अन्धकारलाई उज्यालोतिर, पराजयलाई विजयतिर, असफलतालाई सफलतातिर उन्मुख गराउने र नागरिकको आत्मसम्मान, स्वाभिमानको सम्मान गर्दै राष्ट्रिय र सामाजिक आवश्यकतालाई सम्बोधन गर्ने आत्मनिर्भर, सिर्जनशील र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा वैज्ञानिक समाजवादी शिक्षाप्रणाली मात्र हो ।

लाखौँ युवा विद्यार्थीको भविष्य सुनिश्चित र सुरक्षित गर्ने समाजवादी शिक्षाप्रणालीको वैचारिक जग मालेमावाद हो जसले ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आत्मसात गर्दछ । पुँजीवादले पैदा गर्ने शोषण, विभेद, असमानतालाई चिर्दै शान्ति, समानता, स्वतन्त्रता सुनिश्चित गर्ने समाजवादी व्यवस्थालाई थप सुदृढ बनाउँदै साम्यवादी व्यवस्था स्थापना गर्ने महत्वपूर्ण आधार बन्न जान्छ । समाजवादी शिक्षाले अधिभूतवादी आदर्शवादी दृष्टिकोणलाई निषेध गर्दछ । समाजवादी शिक्षा श्रमजीवी वर्गीय शिक्षा हो जसले शोषणकारी पुँजीवादी शिक्षाको निषेध गर्दछ । समाजवादी शिक्षाको विशेषता यसप्रकार रहेको छ :

१. बहुप्राविधिक शिक्षामा जोड

बहुप्राविधिक शिक्षा भनेको विद्यार्थीलाई कुनै एक विषयमा मात्र सीमित र सङ्कुचित नबनाईकन सबै विषयमा उदाहरणका लागि प्रकृति विज्ञान, समाज विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र आदि विषयको आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी विकास गराई सिर्जनशील, गतिशील, रचनात्मक र स्वाधीन नागरिक बनाउने गर्दछ । यस शिक्षामा सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षलाई संयोजन गरिन्छ अथवा शिक्षालाई श्रम र उत्पादनसँग जोडिन्छ जसले गर्दा श्रम गर्न र श्रमप्रति सम्मान गर्न सिकाउँछ । यस शिक्षाले प्रविधि चलाउन मात्र होइन, बनाउनसमेत सिकाउँछ । विद्यार्थीको चौतर्फी क्षमताको विकास गराउन समाजवादी शिक्षाले मद्दत गर्दछ, यो विज्ञानमा आधारित शिक्षा हो ।

२. निःशुल्क र समान शिक्षामा जोड

विद्यार्थीको इच्छा, चाहना, क्षमता र आवश्यकताका आधारमा उसले जुनसुकै विषयको ज्ञान निःशुल्क हासिल गर्न पाउने अधिकारको सुनिश्चित गरिन्छ । पुँजीवादीहरूले शिक्षामा निजीकरण र व्यापारीकरण गरी शिक्षालाई व्यापारको वस्तु बनाएकाले श्रमजीवी जनताको पहुँचबाट टाढा बनाएका छन् जसले गर्दा गरिबका छोराछोरीहरूको इच्छा र क्षमता हुँदाहुँदै पनि लाखौँ, करोडौँ तिरेर डाक्टर, इन्जिनियर, वकिल आदि क्षेत्रमा दक्ष हुन पाइरहेका छैनन् । २१ औँ शताब्दीमा दलाल पुँजीवादीहरूले जति नै स्वतन्त्रता र समानताको नारा लगाए पनि गरिब विद्यार्थीले ज्ञान हासिल गर्ने इच्छा र क्षमतालाई पैसाले कुल्चेर ती विद्यार्थीको सपनाको हत्या गरिरहेका छन् । स्वतन्त्रता र समानताको नाराले आफ्नो आपराधिक र अमानवीय हर्कतलाई लुकाउन पुँजीपतिहरू सफल भइरहेका छन् । समाजवादी व्यवस्थामा लागू हुने वैज्ञानिक समाजवादी शिक्षाप्रणालीमा सर्वप्रथम ज्ञान/शिक्षाको व्यापारको अन्त्य गरिन्छ । बुबा–आमाको खल्तीमा भएको पैसाका आधारमा नभई विद्यार्थीको इच्छा, क्षमता र आवश्यकताका आधारमा जुनसुकै विषय पनि पढ्न पाउने व्यवस्था हुन्छ । पैसा हुनेले पढ्ने र पैसा नहुनेले नपढ्ने विभेदकारी वर्तमान शिक्षाप्रणालीलाई अन्त्य गर्दै समान र निःशुल्क रूपमा विद्यार्थीको इच्छा र आवश्यकताका आधारमा जुनसुकै विषय पनि पढ्न पाउने सुनिश्चितता समाजवादी शिक्षाप्रणालीमा हुन्छ ।

३. श्रम र उत्पादनसँग जोडिएको शिक्षा

‘शिक्षा र भौतिक उत्पादनको संयोजन’ नै समाजवादी शिक्षा हो भनी माक्र्सले कम्युनिस्ट घोषणापत्रमा भन्नुभएको छ । थप माक्र्सले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । यसलाई जोड दिँदै लेनिन भन्नुहुन्छ, ‘पुँजीवादी शिक्षाको आधारभूत कमजोरी भनेकै श्रमबाट अलग गराउनु हो ।’ त्यसकारण पुँजीवादी शिक्षाको विशेषता भनेकै सैद्धान्तिक र व्यावहारिक पक्षको तालमेल नमिल्नु हो । समाजवादी शिक्षामा विद्यालय र शिक्षालाई उद्योग र उत्पादनसँग अनिवार्य जोडिएको हुन्छ । श्रम र उत्पादनबिनाको शिक्षा भनेको हातखुट्टाबिनाको मानव–शरीरजस्तो हुन्छ । समाजवादी शिक्षाले प्रत्यक्ष श्रम र उत्पादनसँग जोडी मानव–जीवनलाई सुख, समृद्धितिर उन्मुख गराउँछ ।

४. समाज र देशको मागमा आधारित शिक्षा

नेपालको वर्तमान दलाल तथा निगम पँुजीवादी शिक्षाप्रणालीले व्यक्ति, परिवार, समाज र देशको माग र आवश्यकतालाई परिपूर्ति गर्ने जनशक्ति उत्पादन गर्ने नभई कुन देशमा कस्तो जनशक्ति आवश्यक छ, त्यसको परिपूर्ति गर्ने काम नेपालको विद्यालय र विश्वविद्यालयमार्फत उत्पादन गरिरहेका छन् जसअनुसार नेपाली युवा विद्यार्थीहरू आफ्नो आत्मसम्मान र स्वाभिमानलाई गुमाई विदेशमा सस्तो ज्यालामा श्रमशक्ति बेच्न बाध्य भएका छन् । समाजवादी शिक्षाप्रणालीले देशमा भएको प्राकृतिक स्रोतसाधनलाई उपयोग र परिचालन गर्दै समाज र देशको आवश्यकता परिपूर्ति गर्ने जनशक्ति उत्पादन गर्दछ ।

निष्कर्ष

नेपालको वर्तमान शैक्षिक प्रणालीले शिक्षामा निजीकरण र व्यापारीकरण गरी गरिब किसान मजदुरका छोराछोरीहरूको हातबाट शिक्षालाई खोसिएको छ । साथै शिक्षालाई श्रम र उत्पादनबाट अलग गराई शैक्षिक बेरोजगार जन्माउने गरेको छ । नेपाल अहिलेसम्म कसैको प्रत्यक्ष उपनिवेशमा नरहे पनि नेपाली युवाहरूलाई आधुनिक तरिकाले अर्काको देशमा दास बनाई देशको स्वाधीनता र नागरिकको स्वाभिमानलाई गुमाएको छ । करिब ७० लाख नेपाली युवा विदेशमा दास जीवन बिताउन बाध्य छन् । वर्तमान शैक्षिक प्रणालीले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रमा परनिर्भर, परजीवी बनाउने जनशक्ति उत्पादन गरेको छ । यो सबै परिणाम हुनुको मुख्य कारण दलाल पुँजीवादी संसदीय व्यवस्था र यसअन्तर्गत रहेको शैक्षिक प्रणाली हो । तसर्थ यो शिक्षाप्रणाली राष्ट्रविरोधी र जनविरोधी छ । दलाल पुँजीवादी राज्यसत्तालाई परास्त गरी गरिब, श्रमजीवी जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्नुपर्छ जसले बहुसङ्ख्यक मानिसको समस्या समाधान गर्दछ । त्यसो हुँदा वर्तमान दलाल एवम् निगम पुँजीवादी शिक्षाप्रणाली अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षाप्रणाली स्थापना गर्नु अहिलेको आवश्यकता हो ।

(लेखक नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्