यात्रुलाई मरणासन्न हुने गरी यातना दिने प्रहरी हबल्दार कृष्णबहादुरलाई कारबाही गर्न युवा सङ्गठनको चेतावनी

यात्रुलाई मरणासन्न हुने गरी यातना दिने प्रहरी हबल्दार कृष्णबहादुरलाई कारबाही गर्न युवा सङ्गठनको चेतावनी

कञ्चनपुर : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले धनगढी एयरपोर्टमा विदेश जान लागेका युवक नरेश गिरीमाथि कुटपिट गर्ने प्रहरी वरिष्ठ हबल्दार कृष्णबहादुर पाण्डेमाथि आवश्यक अनुसन्धान गरी आवश्यक कारबाहीको माग गर्दै यस्ता हर्कत पुनः नदोहोर्याउन प्रहरी प्रशासनलाई चेतावनी दिएको छ ।

युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरका इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र ऐरीले हबल्दारमाथि कारबाही माग गर्दै जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन युवा जनस्वयम्सेवक नेपाल स्थापनाकालदेखि नै सामाजिक विकृति, विसङ्गति र मिटरब्याजी आतङ्कका विरुद्ध आन्दोलनरत रहेको कुरा सम्पूर्ण नेपाली जनसमुदायमा अवगत नै छ । राष्ट्रमा बलात्कार, भ्रष्टाचार, कालोबजारी, बढ्दो महँगी, बेरोजगारीजस्ता समस्याहरू बढ्दो सङ्यामा छ तर राज्य जनताप्रति झन्झन् गैरजिम्मेवार बन्दै गएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘रोजगारकै सिलसिलामा विदेशी भूमिमा जानका लागि धनगढी एयरपोर्टदेखि काठमाडौँ आउन लागेका बेलडाँडी गाउँपालिका ३ का युवक नरेश गिरीमाथि धनगढी एयरपोर्टमा डिउटीमा खटिएका प्रहरी वरिष्ठ हबल्दार कृष्णबहादुर पाण्डेको नेतृत्वमा खटिएको टोलीले स्रोत खुलाउँदा पनि पाँच लाख नगद बोकेको निहुँमा युवकमाथि गरिएको कुटपिटका विषयमा हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । कुटपिटबाट उनको आँखामा गम्भीर चोट लागेको छ । नरेश गिरीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै यस्ता हर्कत पुनः नदोहोर्याउन प्रहरी प्रशासनलाई चेतावनी दिन चाहन्छौँ ।’

वक्तव्यमा उक्त घटनाका मुख्य दोषी कृष्णबहादुर पाण्डेमाथि आवश्यक छानबिन गरी हदैसम्मको कडा कारबाहीका लागि पनि सङ्गठनले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :