जनताको घर–आँगनमा

सहिद–संस्मरण

जनताको घर–आँगनमा

जब जनतामा चेतनाको विकास हुन्छ तब शोषण गर्ने राज्यसत्ताको विरुद्धमा विद्रोहका लहरहरू उर्लिन थाल्छन् । तीव्र गतिमा विकास हुँदै विद्रोहको लहरहरू गाउँदेखि सहर र देशदेखि विदेशसम्म फैलिन पुग्छन् । अनि त्यसले सिङ्गो राज्यसत्ता टिकाउन कम्मर कसेका बहादुरहरूको मुटु कपाउँछ, उसलाई न दिनको भोक न रातको निद्रा नै पर्छ । त्यसपछि तिल्मिलाएका काँतरहरू मुक्तिका खातिर विद्रोहको लहरहरू उराल्दै वासन्ती युद्धमा निस्केका शोषित–पीडित वर्गका जनताका असल छोराछोरीहरूमाथि आक्रमण गर्दै दमनमा उत्रन्छन्, हत्या गर्छन्, बाटो छेक्ने दुस्प्रयास गर्छन् र आफ्नो लुटको स्वर्ग बचाउने कुचेस्टा गर्छन् । तर नयाँ जनवादी क्रान्तिको पथप्रदर्शक सिद्धान्त वा विचारधारा (वैचारिक हतियार) माक्र्सवाद–लेनिनवाद–माओवादलाई कुनै पनि हालतमा जुन कुनै शक्ति लगाए पनि निमोठ्न नसक्नेहरूले जस्तोसुकै धरपकड, हत्या अभियान सञ्चालन गरेर जनतालाई, क्रान्तिलाई धुलो चटाउने सपना देखे पनि समाप्त पार्न सक्ने छैनन् । बरू हत्या अभियान सञ्चालन गर्दा बगेको त्यही रक्तबीजमा लाखौँ साहसीहरू जन्मने क्रम बढ्न थाल्छ र क्रान्ति एक दिन सफल भएरै छाड्छ । त्यसैले अन्याय विरूद्ध न्यायपूर्ण युद्धमा भाग लिएका हामीहरूले यही सत्यता बुझेर देखेर युद्धमा लामबन्दी भएका छौँ ।

लेखक : बुद्धिबहादुर श्रेष्ठ ‘अन्जान विरही’

सुतिरहेका मान्छेका हृदय, मुटुलाई भक्झकाउन र वस्तीहरूलाई जगाउनका निम्ति पार्टीले जनसम्पर्कको निम्ति हामीलाई निदाइरहेको उत्तरी भेगमा पठाएको थियो । जहाँ राम्रोसँग खस भाषा पनि बोल्न जान्दैनन्, जहाँ अशिक्षित मान्छेको जमात अति दुःखकष्ट खेपेर अति दुर्गम विकट हिमाल छेउका पहाडी पखेराहरूमा एकमुठी सास मुस्किलले धानेका छन् । अधिकांश जनजाति गुरुङ, मगर र तामाङहरू एवम् दलित जातिको बसोबासस्थलमा झन्डै जङ्गली युग कायम रहेको छ भन्ने आभास पाइन्छ । खेत त्यति धेरै छन । भए पनि चिसोको कारणले धान उत्पादन हुँदैन अनि कोदाको एक डल्लो ढिँडो पनि माले ढिँडो मकैको च्याख्ला, गहुँ, जौ र कोदोको पिठो घोलेर खान्छन् । मान्छे देखेर मान्छे तर्सन्छन् । त्यही ठाउँनिर हामी सोझिएका थियौ । अँध्यारो रात, उकाली ओराली, खोच, कुइनेटा, पार गर्दै हामी कुनै ठाउँबाट अनुशासनपूर्वक हिड्यौँ । जाँदाजाँदै बाटोमा एउटा खोला आइपुग्यो, रातको शान्त वातावरणमा खोलाको आवाजले हृदय नै झक्झकाइरहेको थियो । वरिपरिबाट गीत गाउँदै कानमा चुम्न आउने बतासको मीठो धुन सुन्दै कहिलेकाहीँको चिसो स्याँठमा काँप्दै हामी निकै परका बस्तीतिर जाँदै थियौँ । हामी खुसी पनि थियौँ । बाटोमा पर्ने घरहरू अन्धकारमा बिलाएका थिए । सारा मान्छे निन्द्रामा थिए । रातको सन्नाटा चिरेर मध्य राततिर सम्बन्धित ठाउँमा हामीहरू पुग्यो । त्यस रात त्यही घरमा बितायाैँ । भोलिपल्ट दिनभरि त्यही रह्याैँ । स्थानीय साथीहरूको सहयोगमा जिम्मेवार टिमका कमरेडले जानकारी लिनु भएपछि सम्पर्कको लागि जाने बाटो गाउँघर सम्बन्धित मान्छेको हुलिया लिएर कार्यक्रम तयार पार्नुभयो । अर्को दिन इलाका सेक्रेटरीले हाम्रो काम जिम्मेवारीलगायत नौलो ठाउँमा जाने हुँदा आइपर्ने विभिन्न समस्यासँग मुकाबिला गर्न त्यहाँबाट धेरै ज्ञान लिन, बुझ्न र अनुशासन पालन गर्दै आफ्नो स्वर उठाउन प्रेरणा र सुझाव दिनुभयो । अझ सबभन्दा बढी पार्टीको उद्देश्य सफल पारेर फर्कन जोड दिनुभयो र विदा दिनुभयो ।

भोलिपल्ट रिमरिम साँझपख हामी बसेका घरका बाआमालगायत गाउँलेहरूसँग विदा भएर यात्रा सुरु गर्र्यौ । हाम्रो ग्रूप एकपछि अर्को गर्दै हिँड्दैथ्याैँ । गाउँदेखि केही पर त्यस गाविसभरिका जनतालाई अति दुःख दिएको, धूर्त फटाहा, जासुसको काम गर्ने र स्थानीय स्तरमा जनयुद्धको प्रतिकार गर्न प्रतिकार समितिमा रहेको एमालेको विकल श्रेष्ठ, जसलाई त्यस भेगका कसैले रूचाउँदैन त्यस भ्रष्टाचारीसँग भेट भयो । हामीहरूसँग भेट हुँदा उसको अनुहार हेर्न लायकको थियो । ठाडो शिर गरेर हेर्ने साहस नगरिहाल्ने गाउँलेकै उसले मुन्टो बटारेर हेर्यो र डराउँदै हाम्रो राजनीतिक कमिसारसँग थोरै कुरा गरेर बाटो ततायो । हाम्रो धपक्क बलिरहेको अनुहारको अगाडि ऊ नुन खाएको कुखुराजस्तै देखिन्थ्यो ।

आधा घण्टा हिँडिसकेपछि पुलिसहरू, फटाहाहरू, लफङ्गाहरू र गाउँलेहरूले किनमेल गर्ने खार्चोक भन्ज्याङ काटेर माथि रहेको सिरानघर, माझघर गाउँतिर लाग्यौँ । हामी दुई टोली भएर पस्यौँ । सिरान घरको विक दलितहरूको गाउँमा माझघरको गुरुङ गाउँमा कार्यक्रम ग¥यौँ । खाना खानुभन्दा अगाडि हामीलाई देखेर तिनले मार्न आएको कुरा पनि गरे । हामीले फटाहालाई कुटपिट गर्न आको पनि भने । हामीले गरिब किसानहरूसँग चन्दास्वरूप पैसा माग्न आएको हल्ला पनि गरे । डरत्रासले गर्दा कोहीचाहिँ के गर्दा रहेछन् यिनले हेरौँ भनेर साहस झिक्दै हामीतिर आए । तर पछि हाम्रो कार्यक्रम देखेपछि तिनीहरू औधी खुसी भए । नजिकै बसेर गफ गरेर हामीलाई झुकेर नमस्कार गर्दै ‘हजूरहरूको कार्यक्रम सफल होस्’ भनेर गए । काङ्ग्रेस, एमाले, पञ्चलगायत फटाहाले फिँजाएका भ्रमका पत्रहरू हामीले चिर्यौँ । कलाकारहरूको नाताले मैले जनताका दुःखसुखलाई समेटेर शोषण र शोषणका विरुद्धमा लेखिएका गीतहरू गाएर सुनाएँ । उनीहरूले निकै रमाउँदै चाख मानेर सुने ।

दोस्रो दिन हामी चिसापानी लेकमा लाग्यौँ । सम्पर्कका लागि खोजेको मान्छे घरमा नभएकाले केही असुविधा पर्यो तर जनताको न्यानो माया पाएर औधी खुसी भयौँ । भोकले सुसुपाल परेर पुगेका हामीलाई ज्यान कक्रक्क पार्ने जाडोमा सागको तिउन र ढिँडो खान दिनुभएर एकजना किसानले सत्कार गर्नुभयो । त्यहाँ खेत छैन । कोदोको शुद्ध ढिँडो पनि खान पाइँदैन ।

भोलिपल्ट त्यस गाउँलाई दुःख दिइरहेको जितबहादुर गुरुङ भन्ने फटाहाकहाँ पुग्यौँ । चुनाव आउँदा उम्मेदवारको पैसा खाएर गाउँलेलाई फलानालाई भोट हाल भनेर धम्क्याउने, घूस खाने र हैकम लाद्ने नाइकेबाट नराम्रो व्यवहार पायौँ । मान्छेको हत्या गरेर त्यही खुनले बौलाउँदै शरण खोज्न हिँडेको भन्ने आशयका तुच्छ कुरा गरेको त्यस फटाहाको फट्याइँ र चर्तिकला राम्रैसँग थाहा पायौँ । सम्पूर्ण गाउँलेलाई थर्काउने जितबहादुर गुरुङ गाउँलेहरूको बाटो बनाउँदा विरोध गर्ने, जाँडरक्सी खान उक्साउने र गाउँसेवाको कुरा गर्नेहरूलाई पिटेर तह लगाउने कार्य गरेको रिपोर्ट पायौँ र त्यसो हो भने अर्कोपटक राम्रोसँग भेट्न आउनेछौँ भन्दा मकहाँ ढिम्किनै पर्दैन भनेर रुखो व्यवहार देखायो । त्यस बिहान ढिँडोसमेत खान नपाएर छाक छाड्यौँ । भोक र थकाइलाई च्यापेर हामी अर्कै गाउँतिर लाग्यौँ । निकै तल आएपछि एउटा घरमा मकै भुट्न लगाउने कुराकानी गर्दै आयौँ । डाँडाको एउटा घरमा आइपुग्दा त्यहाँ बारीमा जोतिरहेका बुढा किसानलाई देख्यौँ । बाह्र दिनदेखि निस्लोट भएर एउटै ओछ्यान परेकी बिरामी छोरी र दस वर्षको सानु छोरा मात्रै रहेछन् । बिरामी छोरी पन्ध्र वर्षकी थिइन् । अझसम्म अस्पताल लगिएको रहेनछ । जोतिरहेका किसान बालाई घरमा बोलाएपछि साथीहरूले जोत्ने पालो दिनुभयो । ती किसानलाई हामीले सोध्यौँ– बुबा, छोरीलाई किन अस्पताल नलानुभएको हो ?

उहाँले भन्नुभयो– झाँक्री राखेको । सङ्गत गुनाको रोग बताएको छ । नजिक अस्पताल छैन । फेरि एकपटक भारफुक गरेर, देवीदेउता भाकल गर्छु । ठीक हुन्छ कि हुँदैन, हेर्छु ।

हामी सबै छक्क पर्यौँ । बिरामी छोरी ज्वरो र खोकीले प्राण खुस्केलाजस्तो भइसकेकी थिइन् । हामीले सिटामोल दिएर चाँडै अस्पताल लैजान अनुरोध गन्यौँ । उहाँहरूको अस्पताल, डाक्टर, औषधीप्रतिभन्दा धामीझाँकी, भारफुकप्रति विश्वास थियो । यो कस्तो ठाउँ र चेतना भएका मान्छे बस्दारहेछन् भन्ने प्रत्यक्ष देख्न पायौँ । भोकले गर्दा किसान बालाई मकै भुट्न लगायौँ । मकै भुट्ने हाँडी रहेनछ । डेक्चीमा भुटेर दिनुभयो । त्यो आधा काँचो आधा पाकेको मकै र पानी खायौँ अनि भोक मार्यौँ । पछि पैसा बुझाउँदा लिन मान्नुभएन किनभने हामीले कुराकानी गरेको सुन्दा माओवादीको हल्ला सुन्नुभएका ती किसान बाले आफ्नै घरमा आफ्नै आँखाले देख्न पाउँदा खुसीले गद्गद भएको छु भन्नुभयो । मैले धर्म गरेँ भाइ–छोराछोरीहरूलाई भन्दै मजासँग हाँस्न थाल्नुभयो । हामी पनि खुसी भएर हाँस्दै बाटो लाग्यौँ ।

ओरालो झर्दैछौँ रमाइलो, मनोहर दृश्य हेर्दै । तल स्तुल खोला नागबेली हुँदै अनेक डाँडापखेरा छिचोल्दै बगिरहेको थियो । वरिपरि फाँटतिर गाउँको हरियाली, गाईगोरु आनन्दले चरिरहेका, गोठाला–गोठालीहरू रमाइलो गरेर खेलिरहेका, किसानहरूले जोतिरहेका रमाइला दृश्यहरू देखिन्थे । माथितिर हेर्दा सुन्दर डाँडा, बनजङ्गल, घरगाउँले मोहनी लगाइरहेको थियो भने चराहरूले हावा खाँदै नाचिरहेको त्यो दृश्य, आहा ! झन् त्यसलाई हेर्दै प्रकृतिको सुन्दरताको कविता कोरूँकोरूँझैँ लागिरहेको थियो । लोभी आंखाले जति दृश्यपान गर्दा पनि नअघाउने । तर टाढा पुग्नुपर्ने हुनाले ती सबै हेर्दै छिट्टै बाटो काट्यौँ ।

बेलुकी रातमाटे गाउँमा पुग्यौँ । हामी दुई समूह भएर छुट्टाछुट्टै बस्यौँ । खुसीको कुरा एमालेबाट विजयी भएका वडाअध्यक्षकै घरमा बसेर कार्यक्रम चलायौँ । भोलिपल्ट दिउँसो त्यहाँ प्रावि स्कुलको भवन बनाउँदै गरेका कामदारकहाँ छापामार तरिकाले प्रवेश गरेर डेढ घण्टाको कार्यक्रम गरेर हाम्रो उद्देश्य प्रस्ट बुझायौँ । उहाँहरूले खुसीले भावविभोर भएर ताली पड्काउनुभयो । उपस्थित कामदार दाजुहरूलाई कुरा सुन्न कामै छोड्न लगाएर एमाले वडाध्यक्षले धेरै सहयोग गर्नुभयो । कामदार ६५ जना थिए । ती परपर, निकै पर खोला पारितिरको गाउँबाट काम गर्न जुटेका थिए । अनि हामी उहाँहरूसँग बिदाबारी भएर मिलिक्क त्यहाँबाट निस्कियौँ । उहाँहरू हेरिरहनुभएको थियो हामीलाई । हामीले पनि उहाँहरूलाई हेर्दै डाँडा काट्यौँ । जनताको मायाममता सागरझैँ उर्लिएको थियो । त्यसै मायाको सागरमा हामी डुबेर भोक प्यास, थकाइ, अनिँदो, निद्रा, जाडो अझ हामीमाथि आइपरहेका दुःखकष्टको अनुभवसम्म गर्नु परेन । जनताको घरआँगनमा गएर उहाँहरूसँगै रमाइलो जीवन बिताउन पाउँदा, उहाँहरूको सुख–दुःखमा सहभागी हुन पाउँदाको असीम आनन्द भौतिक सुखसयलबाट प्राप्त हुने आनन्दभन्दा बढी थियो, मीठो थियो ।

त्यस गाउँकै अति गरिब परिवारमा हामी तीनजना खाना खान गएका थियौँ । जेनतेन गरी खाने त्यो परिवारकहाँ खाने कुरा कोदोभन्दा अरू अन्न केही रहेनछ । सुकुमबासी परिवार । अर्को घरबाट चामल ल्याएर उहाँले पकाइदिनुभयो । बिचरीको घरमा पानी खाने गतिलो अम्खोरा पनि रहेनछ । तीनवटा सिलाबरका बटुको पनि पल्लो घरबाट ल्याउनुभयो । उहाँले अति सत्कार गरेर खाना खुवाउनुभयो । त्यो झुप्रो, त्यो गरिबीले डामेको विशाल हृदय भएकी दिदीले दुःखका कुरा गरेर धुरुधुरु मन रुवाइदिनुभयो । बच्चा सानासानै थिए । उहाँका श्रीमान् पनि बिहानै अर्काको काम गर्न गइसक्नुभएको रहेछ । मैले नाम सोधेँ– दिदी तपाईंको नाम के हो ? उहाँ ट्वाल्ल परेर हेरिरहनुभयो र एकछिनपछि भन्नुभयो– ‘नानीबाबु, मेरो नाम श्रीमान्लाई थाहा होला ।’ उहाँले यस्तो जबाफ दिँदा हामी छक्कै पर्यौँ । २७ वर्ष भएकी दिदीले आजपर्यन्त गोरखाको सदरमुकामसम्म देख्नुभएको रहेनछ । ठूलाठूला घर, मोटरगाडी, सहरको रमझमको के कुरा गर्नु ? उहाँले खालि सुनेर चित्त बुझाउनुभएको रहेछ । आरुघाट बजार र उँभो लेकतिर भारी बोक्दैमा त्यो लहलहाउँदो बैँस पनि ढलिसकेको, मायालाग्दो अनुहार देख्यौँ, गरिबको दुःख कस्तो हुन्छ ? रोइरोई दुःखमा, भोकमा अनिकालमा गरिबहरूले कसरी दिन काट्नु परिरहेको छ ? त्यो पनि आँखाले देख्न पाइयो । त्यो सौतेनी व्यवहारमा परेको गाउँको जहाँ न मावि स्कुल नै छ, न अस्पताल, न कार्यालयहरू, न फराकिलो बाटोघाटो । एक पाथी चामलको ८०÷९० रुपैयाँ पर्छ । बल्लतल्ल चाडबाडमा जाउलो खान पाइने कुरा दिदी भन्नुहुन्छ । बाँच्ने आधार छैन । त्यो अवस्था, स्थिति देख्दा, ठूलाठूला महल खडा गरेर पजेरोमा हुइँकिने, सुरासुन्दरीसँग मोज गरेर, होटेलमा चौरासी व्यञ्जन डकारेर महँगा पेय पदार्थ पिएर हिँड्ने, पशुझैँ किनबेच हुने सौखिन पशु मान्छे यो देश र जनताको उत्थानका निम्ति भनेर चुनाव जितेर जान्छ । विकासको कुरा गर्छ । कुर्सी–कुर्सी अनि आफ्नै दैलोमा देशको ढुकुटी र जनताको रगतपसिनाको मूल्य थन्क्याउँछ । ढाँट, छलकपटको राजनीति गरेर हिँड्छ– उसको विलासितापूर्ण जीवन देख्दा ६ प्रतिशत हुनेखाने सामन्त, धनाढ्य, तस्कर, कालोबजारिया र दुष्टहरूको जीवन देख्दा हाम्रो मनमा त्यसैत्यसै आक्रोशका ज्वालाहरू धपक्क बल्न थाल्छन् । आँखामा विद्रोहका मुस्लाहरू मडारिन थाल्छन् र तिनीहरूलाई दाँतले चपाएर किचिफाँडो बनाइदिऊँझैँ लाग्छ । भोकमा, दुःखमा रोइरहेकी बिचरी दिदीलाई आधा पेट खाना र त्यही आउन्जेल पनि देशको राजनीतिले हाम्रो जीवनमाथि कसरी खेलबाड गर्दैछ भनेर बुझाइयो । पछि बिदाबारी हुन लाग्दा आँगनको डिलमा उभिएर बच्चा च्यापेर दिदीले भन्नुभयो– ‘नानीबाबु, हाम्रो झुप्रोमा फेरिफेरि पनि पाल्नु है ?’

हामीले भन्यौँ– ‘हुन्छ, दिदी हुन्छ । तपाईंहरू नरुनुस्, तपाईं–हामी यही दुःखमा हुर्केका हाैँ । भोकमा रोएका हाैँ । जालीफटाहाको शोषणमा परेर अत्तालिएका छाैँ । त्यसैले हाम्रो दिन ल्याउन, हाम्रो व्यवस्था ल्याउन नै यसरी आफ्नो घरपरिवार, सम्पत्ति सबै छाडेर यही एउटा झोला बोकेर सुतिरहेका बस्ती र मान्छेहरूलाई भकझक्याउन, ब्युँझेका मान्छे र बस्तीलाई हिँडाउन र हिँडेकालाई कुदाउने अभियानमा लागेका हौँ । बसीबसी हामीलाई ठगेर खान पल्केका ६ प्रतिशत धनी सामन्त, पुँजीपतिहरूको सत्ता फ्याँकेर गरिब, किसान, मजदुरहरूको हैकम चल्ने शासन नौलो जनवादी व्यवस्था ल्याउन कटिबद्ध भएका हौँ । तपाईंहरूको माया पायौँ भने दिदी एक दिन हाम्रो भाग्य बदलिनेछ, मुस्कान हाम्रो अनुहारमा पक्कै झुल्काउन पाउनेछौँ भन्दै नमस्कार गरेर हिँड्यौँ । बाटोमा मेरो मनमा नमिठो भाव उर्लियो । बिचरी दिदीको परिवारलाई गाउँलेहरूले व्यवहारमा अछुत भनेर छुट्ट्याउँछन् रे । हियाएर गाली गर्छन् रे । त्यति राम्रोसँग बोल्दैनन् रे । यो घृणा र तिरस्कारले भरिएको स्वार्थी संसारमा के गरी बाँच्ने हो ? दिदीको निरीह अनुहारले मेरो मनमस्तिष्क कुटुकुटु खाइरह्यो । त्यसैबेला बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ नाटकको एक वाक्य सम्झन पुगेँ– ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।’ विह्वल भएर छट्पटाइरहेकी दिदीको मनले पनि यसै भनेको होला । तर ईश्वर केको दुःखीको घरमा बास बसोस् । मान्छेले मान्छेलाई दिइरहेको यो दुःखमा, मान्छेले मान्छेमाथि गरिरहेको यो शोषणमा ईश्वरले केको दुःखी र गरिबको पक्ष लेओस् ।

अभियानकै क्रममा हामी खोला तरेर बेलुकी क्यान्थली पुग्यौँ । त्यहाँ एमालेबाट विजयी वडाध्यक्षको छोराको बिहेको पूर्वतयारी चल्दै रहेछ । गुरुङ भएकाले फजुल खर्च गरेर बिहे गर्छन् भन्ने त सुनेका थियौँ, त्यो प्रस्ट देख्न पायौँ । वर्षभरि खाने उत्पादन त नहुने त्यो ठाउँका बासिन्दा गुरुङ जो लाहुरे पनि होइन, ले परम्परा पछ्याएर छोराको बिहेमा ४ मुरी कोदाको रक्सी बनाउँदै रहेछन् । ४ मुरी रक्सी खान कति पाहुना जुट्दा हुन्, छक्कै पर्यौँ हामी । त्यस गाउँमा बाँडिएर खाना खाएपछि कार्यक्रम गर्न जुट्दा सबै आआफ्नै गोठतिर सुत्न गइसकेका रहेछन् । खेतमा, बारीमा, बेसीमा गोठ बस्ने चलन यो भेगमा जहाँकहीँ छ । गाउँमा घर कुर्न बस्ने मान्छे मात्रै हुन्छ । त्यस दिनको बेलुका कार्यक्रम हुन नसकेपछि हामी दुई साथी एकजना कक्षा ८ मा पढ्ने गुरुङ भाइकोमा पुग्यौँ । त्यस गाउँको सबभन्दा बढी पढ्ने शिक्षित व्यक्ति त्यही ८ कक्षामा पढ्ने भाइ रहेछन् । उनको घरमा सुत्न गयौँ । उक्त घर निकै गरिब रहेछ । गुरुङ भाइका बाबुआमाले हामीलाई ओढ्नका निम्ति सिरकहरू दिनुभयो । उहाँ आफूहरू रातभरि आगो तापेर अनिँदो बस्नुभयो । हेर्नुस् यो बिल्लीबाठ ! हामीलाई ओढ्ने कुरा चाहिँदैन, बरु रातभरि कुराकानी गरेर बसौँ भन्दा उहाँहरू मान्नुभएन । बरु आमाले भन्नुभयो– बरा, नानीहरू, कहाँकहाँबाट आयौ होला । राती सुत्न पाइँदैन रे, खान पाइँदैन रे । पुलिसले फेलापारे गोली ठोक्छ रे । अस्ति कमला भट्ट नानीलाई मारेर फ्याँक्यो भन्ने सुनेँ । फटाहाहरू पनि तिमीहरूको खोजी गरेर हिँड्या छ रे भनेर हाम्रो नानीले कुरा गरेको सुन्दा मलाई अचम्मै माया लागेर आयो बा, हाम्रो छोरा पनि तिमीहरूकै पार्टीमा छ नानी भनेर उल्टै वर्गीय मायाले हामीलाई लछप्पै भिजाउनुभयो । म निदाउन सकिनँ । स्वभावैले अरू साथीहरूभन्दा बढी भावुक छु म अनि त्यो दृश्य देख्नुपर्दा औधी नरमाइलो लाग्यो । कहिले आउला गरिब–किसानहरूको दिन खुल्ने अवस्था ? कहिले पाउलान् पेटभरि खान, लाउन र चैनको सास फेर्न यी दरिद्र लाखौँ झुपडीका मान्छेले ? भोलिपल्ट उठ्यौँ । चिया पियाैँ र नमस्कार गरेर बाटो लाग्यौँ चित्रेतर्फ । सेन्ट्री राखेर बाटोभरि हाम्रो पार्टीको नारा लेख्यौँ– छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔँ ।’ ‘जनयुद्ध जारी छ ।’ ‘कृषि ऋण नतिरौँ ।’ ‘सम्पूर्ण जनजातिहरू एक हौ ।’ ‘संस्कृत शिक्षाको विरोध गरौँ ।’ ‘अनेकिसङ्घ (२००७) जिन्दावाद ! नेकपा (माओवादी) जिन्दावाद ! बाटोहरूमा यी अक्षर घामको ज्योतिले झन् चम्किरहेका थिए । लेख्दै जाँदा दिउँसोको साढे १ बजिसकेको थियो । बाटोको धेरै माथि रहेको एक घरमा गएर गुन्द्रुकको तिहुन उमामालेर ढिँडो खायौँ र गीत गाएर सुनायौ । घरबूढी आमै र उनका नातिनीले चाख मानेर सुनिरहे ।

झमक्क साँझमा चित्रे पुग्दा पहिला अलमलमा पर्यौ । पछि एउटा घरमा बस्ने व्यवस्था भयो । मनमा नरमाइलो भइरहेको थियो तर पछि अप्ठेरो भएन । त्यहाँको दाइ ढुङ्गा (घर छाउने) लिएर आएपछि हामीलाई भेट्नुभयो । उहाँ औधी खुसी हुनुभयो किनभने दाइले हामीलाई खोज्न, मसेल, देउराली गाउँमा गएको थिएँ भनेर सुनाउनुभयो । उहाँले कुराकानीकै क्रममा त्यहाँको अन्तरविरोध पनि राख्नुभयो । गाउँको एकजना फटाहाले उनकी दिदीलाई गर्भ बोकाएपछि उल्टै धागो बाँधेर रु. १५ सय खाएछ र लखेटिदिएछ । त्यस्तै गर्भ बोकाउँदै धागो बाँधेर अरू दुईजनाबाट पनि पैसा खाएको रहेछ । धारा बनाउँदा आएको पैसा पनि खाएछ । जाँडरक्सी खाएर मनपरी व्यवहार गर्ने, छोरीचेलीको इज्जत लुट्ने त्यो दुराचारीले गाविसको पदाधिकारीको संरक्षणमा उल्टै गाउँलेहरूलाई धम्क्याउँदै आएको रहेछ । त्यसको विरोध सचेत युवकहरूले गर्दा पुलिस ल्याएर तर्साएको रहेछ । त्यस मारबाट छुट्कारा पाउन कुरिरहेका गाउँलेहरू सबैले हामीलाई त्यहाँ देख्दा र भेट्न पाउँदा भगवान् देखेसरह खुसी हुनुभयो । त्यस बेलुकी गाउँकै स्कुलमा पढाउने शिक्षकसँग अन्तरक्रिया गर्यौँ । गाउँलेहरूसँग कुराकानी गरेर सुत्यौँ । गाउँलेहरू सङ्गठित हुन चाहिरहेको कुरा सुन्यौँ । गाउँलेहरूले फटाहालाई कारबाही गर्न अनुरोध गर्नुभयो । अनुमति पाए हामी त्यसलाई अहिल्यै… भन्दै आक्रोश पोख्नुभयो । हामीले त्यसै विषयमा केन्द्रित रहेर गाउँलेहरूलाई आश्वासन दियौँ । भोलिपल्ट मकैभटमास भुटेर नुनिलो जिरापानी खान दिएर हामीलाई बिदाइ गर्नुभयो । हामी फेरि भेटघाट गर्न आइहाल्छौँ भनेर गयौँ ।

दिउँसोको टन्टलापुर घाममा ठसठस कन्दै रिँगटा लाग्ने ठाडो भीरको बाटो होसियारी अपनाउँदै अमला खाँदै हिँडेर सुलीकोट पुग्यौँ । सुलीकोटको टुप्पामा रातो कपडामा हँसिया–हथौडा अङ्कित झन्डा हावामा फर्फराइरहेको थियो । डाँडाको टुप्पामा भएकाले वरिपरिका गाउँलेहरूले फर्फराइरहेको झन्डा देख्न सक्थे । साँझतिर त्यहाँ नजिकै रहेको तामाङ बस्तीमा पुग्यौँ । त्यो परिवारले साह्रै हँसाउनुभयो । बेलुकीको खानापछि तीस वर्षसम्म प्रधानपञ्च रहेको र राजाको बाहुलीबाट तक्मासमेत पाएको तामाङसँगै अरू गाउँलेहरूलाई राखेर हामी आउनुको, हिँड्नुको कारण बुझायौँ । त्यहाँ पनि असाध्यै मीठो माया पायौँ । गाउँलेहरूले संसदीय व्यवस्था, भोट र चुनावप्रतिको वितृष्णा पोखे । पञ्चायती व्यवस्थाभरि प्रधानपञ्च भएका तामाङ बुढाले पञ्चायती व्यवस्थाका नराम्रा पक्षहरूको आन्द्राभुँडी खोतल्नुभयो र हामीलाई आफ्नो लक्ष्य प्राप्त नहुन्जेल लागिरहन प्रेरणा दिनुभयो ।

अब काङ्ग्रेसको डरलाग्दो गुरुङ गाउँ चुनडाँडा जाँदैछौँ जहाँ २०४८ सालको चुनावमा संयुक्त जनमोर्चाका उम्मेदवार भक्ति लामिछाने (जो अहिले वीरगन्ज जेलमा हुनुहुन्छ) लाई काङ्ग्रेसका गुन्डाहरूले छिर्नै दिएका थिएनन् । उता सौरपानी पुलिस चौकी केही पर छ । पुलिस र फटाहाको जगजगी हाम्रो नजिक मडारिइरहेको थियो । मनमा अनेक शङ्काउपशङ्का उब्जे पनि हामीमा कुनै डर लागेन किनकि स्क्वायड टिम पनि त्यस दिनदेखि सामेल भएको थियो । परिआएमा जुध्छौँ भन्ने साहस हामीमा थियो । साँझपख काङ्ग्रेसको गुरुङ गाउँमा हामी पुग्याैँ । शत्रुको अखडामा दबिएर बस्नुभएका एकजना हाम्रै समर्थक गुरुङ दाजुकोमा पुगेर बस्यौँ । काङ्ग्रेसका भन्नेहरू डरले थरथरी थिए । आत्मसमर्पण गर्न आँटेझैँ देखिन्थे कोही अनुहारहरू । जेहोस् हामीले नै खाना बनायौँ । बरु थुप्रै भाइबहिनीहरू जम्मा भएकाले हँसाउँदै, कुराकानी गर्दै मैले ‘देशैभरि अखिल क्रान्तिकारी’ भन्ने गीत गाउन सिकाएँ । उनीहरूले मीठो स्वरमा त्यो गीत एकै छिनमा टिपे ।

खाना खाएपछि गुरुङ दाइले बोलाउनुभएका छिमेकका आमा, दिदीबहिनीहरू, बुबाहरू, दाइहरू आउनुभयो । आउने क्रममा गाउँलेहरू धेरै धुरिए हाम्रो कुराकानी, गीत, ध्यानपूर्वक सुने । त्यस दिन झन् सबैभन्दा बढी कुराहरू बुझाउन सफल रहेको आभास भइरहेको थियो । काङ्ग्रेसबाट छुट्कारा पाउन र हामीलाई भेट्न, हाम्रो कुरा सुन्न खोजिरहेका रहेछन् उनीहरू । गरिबको सत्ता ल्याउन हिँडेका कलिला युवकयुवतीहरू हामीलाई देखेर भन्दै थिए– ‘माओवादी भनेका मान्छे मार्ने, लुटपाट मच्चाउने, चन्दा माग्ने अनि छोरीबेटीको इज्जत लुट्ने भन्ने सुनेका थियौँ र डराएका थियाैँ । मुखमा रातो कपडाले बेरेर खुकुरीले मार हान्छ भन्थे यहाँका मान्छेले तर नानीहरू त हाम्रै छोराछोरीजस्तै रहेछन् । अब त डराउँदैनौँ । नानीहरूका कुरा बुझ्यौ ? त्यसै नभानभा कुरो गर्दोरहेछ मान्छेहरूले ।’ त्यसै दिन अर्को टोलीले तल्लो गाउँमा कार्यक्रम गर्यो । काङ्ग्रेसी गाउँमा आउँदा बाटोको चौतारीमा चकले लेखेका यी हरफहरू देखेका थियौँ– क्रान्तिकारी माओवादी–जिन्दावाद ! अखिल क्रान्तिकारी–जिन्दावाद !

हामी ठोटनेरी पुग्दैछौँ । अशिक्षित गाउँ, पुलिसको थानानजिकको गाउँ अनि भीरपखेराले घेरिएको गाउँ, जाडो हुने ठाउँ, त्यहाँ पुग्यौँ । त्यस दिनको बेलुकी तल्लो ठोटनेरीमा पूजा रहेछ । पूजा हेर्न र नाचगान गर्न आएका गुरुङ युवकयुवतीहरूको ठूलो जमात हाम्रो कार्यक्रम सुन्न बस्यो । मैले धेरै गीतहरू गाएर सुनाएँ । कमरेडहरूले देशको राजनीतिका बारेमा बुझाउनुभयो । एमालेबाटै जितेका उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरूलगायत पेन्सन पकाएर घरै बसेका लाहुरेहरूसँग सौहार्दपूर्ण कुराकानी गर्यौँ । उनीहरू भन्दै थिए– पदमा बसेर केही पनि हुदिनँ लेई, काङ्ग्रेसलाई जिताएर हेर्यौँ, तेले पनि केही गरिन, एमालेले गर्छ कि भनिठानेर यसपालि जिताको तेल्ले पनि केही गरिन । हाम्रो लागि कसैले पनि गर्दिन रछ लेई । कसैले पनि काम नगर्ने, गाविसमा आएको पैसा तिनै खाँदोरहिछ । सित्तैमा भोट दियो, दुःख पाएर तर विकास केही भइन । आब चिन्यो हाम्ले कसैलाई नि हेर्दैन । आब राजनीति गर्दैन, बरु चुपचाप बस्छ…।

‘चुपचाप बसेर झन् हुँदैन । गरिबको दिन ल्याउने पार्टीलाई चिन्नुपर्छ हजूर ।’ हामीले प्रश्न गर्दा उहाँहरूले भन्नुभयो, ‘हामी आब है चुप बस्छ अनि तिमीहरूको पार्टीलाई हेर्छ है अनि तिमीलाई माया गर्छ, हुन्छ ?’ यसो भनेर हामीलाई सोध्नुभयो । हामीले हुन्छ भनेर बुझाउन सक्यौँ । हामी झन् उँभोउँभो चिसो लेकतिर जाँदैछौँ । जाडो बढिरहेको छ । झन् सुन्दर हरियाली दृश्यहरू देख्न पाउँछौँ । भिरपखेरातिर गहुँ र तोरीको हरियाली, उत्तिसघारी, लालीगुराँसका रूखहरू, अग्लाअग्ला पहाडहरू कुहिरोले डम्म ढाकेको छ । चिसो हातखुट्टा कठिङ्ग्र्याउँदै । पानी छुन नसक्ने चिसो छ । हामी सारा प्रकृतिका वैभवहरू हेर्दै भण्डारी गाउँमा पुग्छौँ । त्यहाँको मुण्डा घर, खर्क र त्यहाँबाट तलतिर देखिने अनेक गाउँबस्ती, फाँट, खोलानालाका दृश्यले आँखालाई खिचेको छ । जब हामी गाउँमा पुग्छौँ, मान्छे भागाभाग हुन्छन् ।

एकजना लाहुरे बुबाको घरमा गएर बस्यौँ । पछि सुन्यौँ– माओवादी आएको देखेर डरले भाग्दा खप्परै फुटेछ । कोही घरमा आइमाईहरू पीठो बोकेर, आफ्ना नानीहरूलाई बोकेर गोठतिर दौडँदै गएछन् ।

त्यो के सुन्नुपर्छ हामीले हँ ?

लाहुरेले भन्नुभयो– ‘यहाँ पढेको कसैले छैन । मान्छे देखेर मान्छे डराउँछ ।’

त्यहाँ सबैले भिन्दै भाषा बोल्दारहेछन् । नेपाली राम्रो बोल्न जान्दैनन् भन्ने पनि सुन्यौँ । लाहुरे र तिनको छोराको मद्दतले हामीले त्यहाँ आफ्नो कार्यक्रम गर्यौँ । उनीहरूले बोलाएपछि धेरै मान्छे आए । हाम्रो गीत सुने, कुरा सुने । बेलुका हामी सबै घरमा एकजना, दुईजना गरेर बाँडिएर खाना खायौँ । खाना खाने क्रममा म पुगेको घरमा मकैका भुसा (जो पशुले खाने कुँडोजस्तो हुन्छ) को देख्दै घिनलाग्ने ढिँडो, टिमुर, खुर्सानी, नुन र सिस्नोको तिउन खाएँ । म पुग्दा त्यस घरका तीन नानीहरू, बुढाबूढी एउटै भाँडाबाट जूठो हातले झिक्दै खाइरहेका थिए । म पुग्नासाथ बूढीले ढिँडो देखाउँदै भनिन्– ‘यीः सिस्नुको तिउन खान्या भया बस्’ भोकले आन्ध्राभुँडी बटारिएका बेलामा मैले ‘खान्छु’ भनेँ । ती दिदी खितित्त हाँसेर फेरि भनिन्– हाम्रो यहाँ खेत छैन, ढिँडो खान्छा, ढिँडोले यी हेर (आफूलाई देखाउँदै) झन् मोटो हुन्छ । पस्केर दिएपछि मैले कपाकप खाइदिँदा बूढाबूढी मुखामुख गरेर हेर्न थाले । त्यस घरको दाइले भनेको दुःखका कुरा (जो कहिल्यै पनि बिर्सन सक्दिनँ) सुन्दा दन्त्यकथा सुनेको जस्तो लाग्यो । त्यस दिन पनि उनी सबेरै नाम्लोडोरी लिएर माथि ठूलो पहाडको जङ्गल काटेर हिउँ परिरहेको पहाडबाट हिउँमा गढेर लोठसल्ला (उनीहरूको भाषामा झ्याँक्री काठ) मूल्यवान् जडीबुटी लिएर साँझमा मात्र घर आएका रहेछन् ।

त्यस अभियानमा हामी रमाइलोले मात्रै गएका होइनौँ । त्यहाँको भौगोलिक अवस्था, त्यहाँको दुःख–सुख त्यहांँ छिपेको अन्याय–अत्याचारको जालोका बारेमा, त्यहाँको रहनसहन, भाषा, वेशभूषा, बोलीचाली, त्यहाँको संस्कार सम्पूर्ण कुराहरू बुझ्न पायौँ । यस मानेमा हामीले थुप्रै ज्ञान प्राप्त गर्यौँ । त्यसवरिपरिका शोषणका बारेमा पनि सुन्यौँ । तीमध्ये दुईवटा यस्ता थिए– भण्डारीगाउँ र थलागाउँबीचको खर्क विवाद । अझैसम्म नमिलेको, मुद्दा परेर थुप्रै घरहरूले पैसा उठाएर मुद्दा तोडेको र पैसा खर्च गरेको लेकमा पाइने अति मूल्यवान् जडीबुटी झ्याँक्री काठ त्यहाँका बासिन्दाले हिउँमा गएर ल्याउने, पछि त्यसलाई काटकुट गरेर घाममा सुकाउने, तयार पार्ने र आफैँले बोकेर गोरखा पुर्याइदिनुपर्ने तर त्यसको ज्याला नदिने, उल्टो महँगो जडीबुटी प्रतिकेजी रु. ५४ मा दिनुपर्ने । त्यसरी बेचेको जडीबुटीको पैसा पनि तत्काल नपाइरहेको गुनासो व्यक्त गरे । दुईटा गाउँका बीचको जङ्गलमा विवाद परेर मिलाउनका लागि गाउँका किसानहरूबीच झगडा र अन्तरविरोध थियो । तीलगायत थोरै ज्यालादर, साहुले चर्को ब्याजमा पैसा खेलाउने परम्परा । कुनै फटाहाको हैकम सहेर बस्नुपर्ने चलन आदि थिए । त्योबाहेक आश्चर्यलाग्दो कुरा त यो थियो– माथिको इलाका क्यान्थली, चित्रे, टुक्राङ, भण्डारीगाउँ, रन्चोक, क्यौरा, अझ अरू माथितिर एसएलसी पास गर्ने कोही रहेनछ । स्वास्थ्य उपचारका लागि अस्पताल नभएको, खाद्य डिपो नभएकाले जनताले निकै दुःख खेपेर भारी बोक्न तल घ्याम्पेसाल जानुपर्ने । रूढिवादी परम्पराले जकडेको आन्तरिक रूपमा पनि थुप्रै कुराहरू बुझ्न पाइयो । भण्डारी गाउँबाट हिँड्न लाग्दा एकजना आमैले भन्नुभयो– ‘हिजो तिमरुको नाटक हेर्दा कानको गहना फुकायो है अनि डरायो । आब डराउँदैन । फेरि हाम्रो गाउँमा आइजा है ।’ अनि उहाँहरूले नमस्कार गर्नुभयो । हामीले पनि नमस्कार गरेर बिदा भयौँ ।

हामी टुक्राङतिर लाग्यौँ । दिउँसो केही आवश्यक सामग्री किन्न पठाएको साथीलाई पुलिसले लखेटेर फर्किनुभयो । बीच बाटोमा पुलिस आएको हुनाले बाटो छोडेर जङ्गल पस्नुपर्यो । जङ्गलभित्र छङ्गाछुर भिर थियो । बाटो पाउन सकेनौँ र जङ्गलमै हरायौँ । साँझतिर बाटोको एउटा धर्सा समातेर गाउँमा पुग्यौँ तर एकजना साथी लड्नुभयो र खुट्टा मर्केर हिँड्न सक्नुभएन । थाकेर भोकले ढल्नै लाग्दा पनि त्यस दिन कार्यक्रम गरेरै छाड्यौँ । भोलिपल्टको दिउँसो सबैलाई जम्मा पारेर दुई–तीन घण्टा कार्यक्रम गर्यौँ । त्यहाँ पनि मैले नाच देखाउनुपर्यो ।

भीरको बाटो, खोँच, कुइनेटा, घुम्ती, जङ्गल काटेर निकै छेउ रहेको कुल गाउँमा पुग्यौँ । आफ्नो कार्यक्रम गर्यौँ बेलुका र दिउँसो दुईपटक । त्यहाँ ओढ्ने लुगा नपाएर चिसो रातमा कठ्याङ्ग्रिएर सुत्नुपर्यो । निद्रा पटक्कै आएन । अनि भोलिपल्ट हिँड्दा ती कष्टकर दिनले हामीलाई झन् प्रेरणा दिइरहेझैँ लागिरहेथ्यो । क्रान्तिमा निरन्तरता दिन मेरो मनभित्र पनि अनेकौँ आशा छचल्किरहेका थिए । हामी आफँैलाई सम्झाइहेथ्यौँ। ‘वसन्ते युद्धमा पाइला बढाएका युवा बाटो, कठिन छ, विपद छ, ज्यानको जोखिम छ तर यही बाटोबाट लक्ष्य सफल भएरै छाड्छ । शोषित–पीडित जनताको दिन आएरै छोड्छ, हिम्मत नहार ।’

यतिखेरसम्म जताततै हल्ला फिँजिइसकेको थियो– माओवादीहरूका पल्टनहरू गाउँमा हिँडेका छन् । गाउँका मान्छेलाई सम्झाउँदै–बुझाउँदै, सङ्गठन गर्दै र इलाका मजबुत बनाउँदै हामी सिम्बुमा आइपुग्यौँ । गोठ बस्न जाने बा–आमा, गाउँलेहरूलाई गाउँमा बोलाएर हामीले कार्यक्रम दियौँ । त्यस रात ढिँडो खाएर आनन्दसँग सुत्यौँ । भोलिपल्ट बिहान ढिँडो खाने तरखरमा लाग्दा कुनै एकजना दाजु हतारमा आएर भन्नुभयो, ‘तपाईंहरू छिटो भाग्नुहोस्, पुलिस आइसक्यो । छिटो भन्या’ छिटो ।’ उहाँको आत्तिएको स्वरले हामी जिल्ल पर्यौँ र हेर्यौँ । आफ्नो झोला टिपेर हिँड्दा पुलिस घरपछाडि आइसकेको रहेछ । हामी आँगनबाट दुई कान्लामुनिको गाउँमा झर्दा पुलिसहरू आँगनमा आइपुगेर चिच्याए– ‘ए राँडीका छोरा हो, नभाग ।’ तीन कान्ला तल पुगेर पछाडि हेर्दा गोली ठोकिहाल्यो । त्यो ओरालो ठाउँ, हाम्रा लागि प्रतिकूल थियो । हामी पनि माथि भएको भए देखाइदिने थियौँ हाम्रो शक्ति र चमत्कार तर के गर्नु ?

त्यो गोली कसैलाई पनि लागेन । हामी जति सक्यो भाग्दै थियो । मेराअगाडि दुईजना महिला साथीहरू लड्नुभयो । उहाँहरूलाई नाघेर म पल्लोछेउ पुगेँ । साथीहरू एक दिशा र म अर्को दिशातिर दौडियौँ । तल छङ्गाछुर भीर र खोल्सा थियो । सानो गोरेटो बाटो पनि कता थियो देखिएन । केही यता भिरालो जग्गा थियो, त्यसैबाट साथी जानुभएछ । म र अर्को एकजना साथी उतैतिर हानियौँ । पछाडि फर्केर हेर्दा फटाहाको लस्कर र पुलिस रहेछन् । उनीहरू छिल्लिँदै सिठी लगाउँदै आइरहेका थिए । हामी हतास मनस्थितिमा थियौँ किनभने छङ्गाछुर भीर केही हात नजिक थियो । के गरौँ कसो गराँै भयो । दौडँदै जाँदा सानो भिर देखिंदै देखिएन । त्यहाँबाट बिस्तारै घस्रन खोज्दा चिप्लिएर थेच्चारिँदै खसें । म तल पुग्दा मेरो मुखबाट पीडाको स्वर गुन्जियो– ‘ऐऽयाऽ मरेँ नि बा ।’ अर्को साथी पनि खस्नुभयो । चिच्याउन उपयुक्त थिएन । पुलिस छेवैमा हामीलाई खोज्दै हिँड्दै थियो ।

स्रोत : जनादेश, २०५४

(गोरखा बगुवाका स्रष्टा, योद्धा एवम् कलाकार क. बुद्धिबहादुर श्रेष्ठ ‘अन्जान विरही’ २०५५ सालमा जनयुद्धकै क्रममा गोरखामै सहिद हुनुभयो । उहाँका कथासङ्ग्रह, कविता र फुटकर संस्मरण प्रकाशित छन् । –सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :