सहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह

सहिद–बेपत्ता योद्धा परिवारको आशामिश्रित शालीन विद्रोह

‘राधिका, म त आएँ’ भनेर फणिन्द्र सिंखडाले कुनै बिहान, साँझ वा मध्यरातमा घर आएर भनिदिए राधिका सिंखडाको मन कति खुसी हुँदो हो ! २५ वर्षदेखि उनी जीवनमा त्यही सुखद क्षण आउला कि भनेर कहिले कहाँ त कहिले कहाँ भौँतारिँदै हिँडिरहेकी छिन् । फागुन १८ गते बिहीबार तमु सेवा समाज लेखनाथ कास्कीको सेमिनार हलमा बेपत्ता योद्धाकी जीवनसँगिनी र सहिदकी आमाका रूपमा एकैपटक सम्मान तथा अभिनन्दन ग्रहण गर्न आएको समयमा उनले राज्यद्वारा बेपत्ता योद्धा पति फणिन्द्र र सहिद छोरा हेममणिलाई मात्र सम्झिइनन्, जनयुद्धमा लामबद्ध हुँदा बेपत्ता र बलिदान हुने देशभरका योद्धाहरूलाई सम्झिइन् । उनले आवेग प्रकट गर्दै भनिन्, ‘बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा आए र विभिन्न आश्वासन/प्रलोभन दिएर फर्किए । हामी सहिद/बेपत्ता योद्धाका परिवार उनले आफूले दिएको आश्वासन व्यवहारमा रूपान्तरण गर्लान् भनेर कुरिरह्यौँ तर कहिल्यै वाचा पूरा गरेनन् । त्यसपछि हाम्रो धैर्य गुम्यो । हामी सहिद/बेपत्ता योद्धाका सन्तति भेला भयौँ र बाबुरामले सम्मान÷अभिनन्दन गर्दा हामीलाई दिएका सम्मानपत्र र बर्कोहरू बोरामा हालेर उनैलाई फिर्ता पठाइदियौँ ।’

लेखक : अशोक सुवेदी

यसो भन्दै गर्दा राधिकाका आँखाबाट आँसु होइन, आफ्ना बेपत्ता पति र सहिद छोराको सपना लुटिएको, पार्टी सरकारमा गएर पनि केही गर्न नसकेको र बारम्बार पीडित बन्दै आएका आफूहरूको हृदय धर्काउँदै माओवादी पार्टीहरू बारम्बार विभाजित बनिरहेकोमा आवेग र आक्रोश व्यक्त भइरहेको थियो ।

बेपत्ता योद्धा फणिन्द्र सिंखडाकी जीवनसँगिनी अर्थात् सहिद हेममणि सिंखडाकी आमा राधिका सिंखडाले आफ्नो काख रित्याएको २० वर्ष र साथ गुमाएको २५ वर्ष भइसकेको छ । महान् जनयुद्धका क्रममा २०५५ साल फागुन ३ गते नारायणघाट चितवनबाट तत्कालीन आततायी सत्ताले उनका जीवनसाथी फणिन्द्रलाई गिरफ्तार गरी बेपत्ता पारेको २४ वर्ष बितिसकेको छ । जनयुद्धकै क्रममा पटकपटक वार्ताहरू भए । मुख्य नेतृत्वबाटै जनयुद्ध सकिएको घोषणा गरियो । जनयुद्धका मुख्य नेता मानिएका प्रचण्ड तीनपटक र बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री भइसके तर पनि उनीहरूले न त फणिन्द्रको सास देखाउन सके, न त लास नै । जनयुद्धमा बलिदान गरेका छोरा हेममणिलाई राष्ट्रिय सहिद घोषणा गर्नसमेत नसकेको दारुण दृश्यले उनको हृदय भतभती पोलिरहेको छ । जनयुद्ध दबाउने शेरबहादुर देउवाहरूसँगै मिलेर यतिबेला प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा छन् तर पनि राधिकाका आँखाबाट क्रोधका ज्वालाहरू निस्किइरहेकै छन् । नेकपा (बहुमत) कास्कीले सहिद सप्ताह २०७९ का सन्दर्भमा लेखनाथ, भण्डारढिकमा आयोजना गरेको सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान समारोहमा शालीन विद्रोह पोख्दै महान् सहिदकी आमा र बेपत्ता योद्धाकी जीवनसँगिनी राधिकाले भनिन्, ‘सहिद र बेपत्ता योद्धाका परिवारले पलपल मर्दै–बाँच्दै गर्नुपरेको छ । उनीहरू दुई ढुङ्गाको तरुल भएर बाँचेका छन् । दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध त हाम्रो आक्रोश छँदैछ, हाम्रो परिवारका सदस्यहरूलाई मुक्ति दिन्छौँ भनेर विद्रोहमा हिँडाउनेहरूबीचको विभाजनले पनि हाम्रो हृदय छियाछिया र टुक्राटुक्रा भएको छ ।’

सहिद–बेपत्ताका योद्धाका अभिभावक र परिवारको हृदयविदारक क्रन्दन कम मर्मस्पर्शी र पीडादायी छैन । बेपत्ता योद्धाका आफन्तहरूलाई आफ्नो मान्छे अहिले आउला र आमा, बाबा ! भनेर सम्बोधन गर्ला कि, भरे आएर हालखबर बताउला कि भन्ने आशा अझै मरेको छैन किनकि सत्ताले बारम्बार बेपत्ता योद्धाका बारेमा पत्ता लगाउन भनेर विभिन्न आयोग र समिति बनाएको नाटक गर्न छोडेको छैन । बेपत्ता योद्धाका आफन्तजनहरू कोही नयाँ मान्छे देख्यो कि राज्यले बेपत्ता बनाएका आफ्नै छोरा, छोरी, बाबा, आमा आएका हुन् भनेर झस्किइरहेका छन् । उनीहरू आफन्तजन भेटिएको वा राष्ट्रिय सहिद घोषणा गरेर सम्मान गरेको समाचार पढ्न पाइएला कि भनी टाठा आँखा पारेर पत्रिका र पुस्तकहरू पढिरहेका देखिन्छन् । बिहीबार भण्डारढिकमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाका परिवारहरूले राखेका आशावादी तर आक्रोशपूर्ण अभिव्यक्तिले संवेदनशील हृदय र मस्तिष्कमा दह्रो झापड प्रहार गर्यो । पार्टी संयोजक कञ्चन, आफैँ सहिद परिवार रहेका पार्टी प्रवक्ता सुदर्शन, प्रवीर, रूपेश, राकेश मात्र होइन, सभामा सहभागी सबैका आँखा रसाए । मुटुका धड्कनहरू बढे र विद्यमान दलाल पुँजीवादी सत्ताप्रति, सत्तामा लम्पसार परेर सहिद–बेपत्ता योद्धाका सपनामाथि भुतभुते खन्याइरहेका शासकहरूमाथि आक्रोश बढाए ।

कार्यक्रममा बेपत्ता योद्धा ऋषि लामिछानेका बुबा देवीलाल लामिछाने, बेपत्ता योद्धा नेत्र बरालका बुबा अणनाथ बराल, बेपत्ता योद्धा आनन्द आचार्यका दाजु केदार आचार्य, बेपत्ता योद्धा देवराज बस्ताकोटीकी श्रीमती सीतादेवी बस्ताकोटी, बेपत्ता योद्धा शिव पराजुलीका बुबा कृष्ण पराजुली, सहिद थमन परियारकी श्रीमती विष्णुमाया परियार, सहिद बाले पुनका छोरा निशान पुन, सहिदपुत्र उपेन्द्र परियारलगायत सबैको एउटै अभिव्यक्ति थियो– क्रान्तिकारी पार्टीहरू फुटेर होइन, जुटेर सहिद÷बेपत्ता योद्धाहरूका सपना साकार पार्नुपर्छ, बेपत्ता योद्धाहरूको खोजी र सहिदहरूका सपना क्रान्तिकारी आन्दोलन र माओवादीको सशक्त शक्तिले मात्र गर्न सक्छ । क्रान्तिकारी पार्टीहरू एक नहुँदा र क्रान्तिकारी शक्ति ध्रुवीकरण नहुँदा छरछिमेक र दुस्मनहरूले पनि हेप्न थालिसकेका छन् । सहिद/बेपत्ता योद्धाका परिवारले गर्व गरेर हिँड्ने दिनभन्दा लुकेर, मुख छोपेर हिँड्नुपर्ने दिन आउँदैछन् ।

सहिद तथा बेपत्ता योद्धा परिवारकी राधिकाले त कतिसम्म भनिन् भने– क्रान्तिकारी पार्टीहरू एक भएर जनयुद्धका अपूरा कार्यभार पूरा गर्ने र सहिद÷बेपत्ता योद्धाका सपना साकार पार्ने शपथ खाएर अघि बढेमा आफूहरू क्रान्तिकारीहरूको ढाल बनेर अग्रमोर्चामा लड्न तयार भएको उद्घोषसमेत गरिन् । माओवादीहरू फुटेर र फुट्नुपर्ने बाध्यात्मक अवस्था निर्माण गरेर दिनदिनै कमजोर बन्दै गएको भन्दै आक्रोश पनि व्यक्त गरिन् उनले । उनले भनिन्, ‘माओवादी आन्दोलनको घर नभत्किँदा कति बलियो थियो ! आज भूकम्पले घर चिराचिरा पारेको छ र पूरै घर कमजोर भएको छ । सहिद र बेपत्ता योद्धाका पक्षमा राज्यसत्ता नहुँदा हिजो पनि लालपुर्जा राखेर आफन्तजनलाई जेल र हिरासतबाट निकाल्नुपर्यो, आज पनि ऋण काढेर आफन्तको सास, लास र परिचय खोज्दै हिँड्नुपरेको छ ।’

सहिद बाले पुनका छोरा निशानबाबु पुनले अझै पनि दलाल पुँजीवादी सत्ताले सहिद र बेपत्ता योद्धाका सपना साकार पारिदेला भन्ने भ्रममा रुमल्लिरहेका सहिद/बेपत्ता परिवारलाई सम्झाउँदै भने, ‘जानीजानी, युद्धको मोर्चाबाट भागेर रक्तरजिञ्जत झन्डा भुइँमा फ्यालेर हिँडेका धोकेबाजहरूबाट अब न सहिदका सपना पूरा हुन्छन्, न त बेपत्ता योद्धाका सपना । सहिद तथा बेपत्ता योद्धाका परिवार पनि विद्यमान सत्ताको भुलभुलैयाबाट मुक्त भएर क्रान्तिकारी बाटोमा हिँडौँ । हामी फेरि पनि बलिदान हुन तयार भयौँ भने अवश्य सहिद र बेपत्ता योद्धाका सपना पूरा हुनेछन् र श्रमजीवी सर्वहारा वर्गको वैज्ञानिक समाजवादी सत्ता प्राप्त हुनेछ ।’

सहिद थमन परियारकी जीवनसँगिनी विष्णुमाया परियारले सत्ताधारीहरूले सहिद र बेपत्ता योद्धाका लागि केही गर्नेवाला नरहेको भन्दै आफूहरू आफ्ना सन्ततिको सपना साकार पार्न बलिदानको यात्रामा हिँड्न तयार रहेको बताइन् । सभामा सहभागी सबै सहिद र बेपत्ता योद्धाका परिवारको एउटै आशा र अपेक्षा थियो– माओवादी पार्टीहरू जुटेर सहिद र बेपत्ताका सपना साकार पार्नुपर्छ ।

सहिद सप्ताहको अन्तिम दिन फागुन २१ गते काठमाडौँमा सहिद बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सन्ततिहरूले माओवादीहरूलाई एउटै आन्दोलन निर्माण गर्न जोड दिएर क्रान्तिकारी आन्दोलन एक भए मात्र वैज्ञानिक समाजवाद प्राप्त हुने र शत्रुहरू परास्त हुने भावना व्यक्त गरे । यी सबै घटना, परिघटना र दृश्यहरूले पनि क्रान्तिकारी आन्दोलन जारी राख्न उत्प्रेरित गरेका छन् ।

नेकपा (बहुमत) को कास्की, लेखनाथमा सम्पन्न चौथो पूर्ण बैठकले क्रान्तिकारी एकता र ध्रुवीकरण गर्दै क्रान्तिमार्गमा निरन्तर अघि बढ्ने निर्णय गरेर सहिद तथा बेपत्ता योद्धाका सपना साकार हुने आशालाई झनै दह्रो बनाएको छ । मङ्गलबार अपराह्न नेकपा (बहुमत) सहित आठ माओवादी दल/समूहले प्रकाशित गरेको संयुक्त विज्ञप्तिले पनि माओवादी नाउँ राखेका पार्टीभित्रका क्रान्तिकारीहरूलाई एकता र ध्रुवीकरणका लागि बल प्रदान गरेको मान्न सकिन्छ । नेकपा (बहुमत) सहित तीन क्रान्तिकारी मालेमावादी पार्टीबीचको एकताप्रक्रियालाई सही साबित गर्दै यसले थप बल र हौसला प्रदान गरेको छ । यो आलेखको अन्त्यमा भण्डारढिकमा उपस्थित महान् सहिद तथा बेपत्ता योद्धाका परिवारजनका वाणीका साथै सहिद–बेपत्ता योद्धाको सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । यो परिचय खण्ड नेकपा (बहुमत) का सचिवालय सदस्य कमरेड रूपेशको ‘सहिद र बेपत्ता योद्धाहरू’ पुस्तकबाट लिइएको हो ।

सहिद हेममणि सिंखडा ‘अङ्कित’ को जन्म २०४० साल असार २७, तत्कालीन धावा गाविस ४, गोरखामा भएको हो । पोखरा उमपा ९, बसपार्क पृथ्वीचोकका बासिन्दा रहेका हेममणिका बुबा फणिन्द्र सिंखडालाई राज्यले २०५५ सालमै बेपत्ता बनाएको हो । हेममणिकी आमा राधादेवी सिंखडा बेपत्ता पति र सहिद छोराका सपनाहरू मर्ने हुन् कि भन्ने चिन्तामा छिन् । हेममणिका भाइ प्रवीण, बहिनीहरू सुधा र सुवी छन् । उनको सहादत २०६० साल भदौ १७, पसगाउँ लमजुङमा भएको हो । शाहीसेनाले पसगाउँ क्षेत्रमा हेममणिको हत्या गरेको थियो ।

विद्यार्थी राजनीतिबाट आन्दोलनमा प्रवेश गरेका हेममणि विद्यार्थी सङ्गठनको कामको सक्रियतासँगै २०५७ सालदेखि पूर्णकालीन कार्यकर्ता भएका थिए । उनीलगायत ५ जनालाई तत्कालीन प्रशासनले २०५८ साल मङ्सिरमा हातहतियार तथा खरखजानाको झूट्टा मुद्दा लगाएको थियो ।

सहिद थमन परियार ‘दिव्य’ को जन्म २००७ साल साउन १३ गते बुबा धम्पु परियार र आमा कुरी परियारको सन्तानका रूपमा माझठाना गाविस १, कास्कीमा भएको थियो । सेनाको घेरा तोड्दै गर्दा २०६२ कात्तिक ६, गते नवलपरासीमा उनको बलिदान भएको हो । प्रवासमा रोजगारीको सिलसिलामा एकता समाजको ‘एकता सन्देश’, ‘दलित सन्देश’, पोखराबाट प्रकाशित राष्ट्रिय साप्ताहिक ‘स्वाभिमान’ मा कार्यरत हुँदै उक्त पत्रिकाको सहसम्पादक, २०४८ सालमा गण्डकी धौलागिरिमा चलेको साङ्गीतिक अभियानको नेतृत्व, नेकपा (मशाल) बाट पार्टीमा सङ्गठित हुँदै काम गर्दै आएका थिए । राजनीतिक क्रियाशीलताकै बीचमा उनी २०५४ सालदेखि भारतबाट नेपाल आएर नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ता भई जनयुद्धमा क्रियाशील भएका थिए । २०५५ मा उनले नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजको दोस्रो राष्ट्रिय सम्मेलनमा सुधारवादबाट दलित मुक्ति असम्भव भएको ठहर गर्दै विद्रोह गरी नेपाल दलित मुक्ति मोर्चा गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०५५ साल फागुनमा नेपाल दलित मुक्ति मोर्चा कास्कीको अध्यक्ष हुँदै २०५७ साल वैशाखमा सम्पन्न उक्त मोर्चाको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल दलित मुक्ति मोर्चाको

केन्द्रीय सदस्य भएर दलित मुक्ति आन्दोलनलाई जनयुद्ध वा वर्गसङ्घर्षसँग एकाकार गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी २०५९ देखि नेकपा (माओवादी) को क्षेत्रीय ब्युरो स्तरको जिम्मेवारीमा काम गर्दै अघि बढेका थिए ।

देशभर जनसरकार गठनसँगै उनको नेतृत्वमा कास्कीमा २०६१ मा पहिलो
जिल्ला जनसरकारको घोषणा भयो । उनले २०६० माघमा घोषणा भएको
तमुवान स्वायत्त जनपरिषद्का सदस्य तथा सञ्चारमन्त्रीको जिम्मेवारीसमेत
समालेका थिए । उनको साहित्य–कला र लेखन पनि धेरै राम्रो थियो ।
उनका २ दर्जनभन्दा बढी लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित
छन् । उनका यिनै लेख–रचनाहरूको सङ्कलन रहेको ‘जनयुद्ध र
दलित मुक्ति’ नामक पुस्तक २०६४ सालमा प्रकाशित भएको छ । सहादत
हुँदा उनी नेकपा (माओवादी) को गण्डक क्षेत्रीय ब्युरो सदस्य तथा नेपाल
दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष थिए । उनका श्रीमती विष्णुमाया परियार, छोराहरू राजु परियार, सन्तोष परियार र छोरी कल्पना (ममता) छन् ।

बेपत्ता योद्धा फणीन्द्र सिंखडा पोखरा उमनपा ९, कृष्णटोल पृथ्वीचोक कास्कीका बासिन्दा हुन् । उनको जन्म २०२१ असोज २१, धाँवा गोरखामा भएको हो । उनका बुबा भवदत्त सिंखडा, आमा मायादेवी सिंखडा हुन् । उनकी श्रीमती राधादेवी सिंखडा, छोराहरू हेममणि (सहिद) र प्रवीण, छोरीहरू सुधा र सुवी हुन् । उनलाई २०५५ फागुन ३, नारायणघाट, चितवनबाट बेपत्ता बनाइएको थियो ।

बेपत्ता योद्धा आनन्द आचार्य ‘साहस’ सार्दिखोला १, भुजुङ्खोला कास्कीका हुन् । उनको जन्म २०३६ वैशाख ४ मा भएको हो । उनका बुबा दण्डपाणि आचार्य र आमा लोकमाया आचार्य हुन् । उनका दाजु केदार आचार्य, दिदी गोमा र बहिनी राधिका हुन् । उनलाई २०५८ साल मङ्सिर २२ गते फूलबारी सैन्यब्यारेक कास्कीबाट बेपत्ता बनाइएको हो । स्थानीय फटाहाहरूले कब्जामा लिएर फूलबारी ब्यारेकका सेनालाई बुझाएपछि सेनाले बगर प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय, कास्की हुँदै फूलबारी
सैन्यब्यारेक रानीपौवा पोखरामा राखेको र त्यसपछि उनलाई बेपत्ता बनाइएको थियो ।
पोखरा पृथ्वीनारायण क्याम्पसमा आईए अध्ययनका क्रममा राजनीतिक

रूपमा उनी सङ्गठित भएका थिए । उनी २०५६ देखि नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भएका थिए । पूर्णकालीन भएदेखि उनी इलाका पार्टी सदस्यका रूपमा कार्यरत रहँदै आएका थिए । बेपत्ता हुँदा उनी पार्टीको इलाका इन्चार्ज एवम् अखिल (क्रान्तिकारी) को जिम्मेवारी लिएर काम गर्दै आएका थिए ।

बेपत्ता योद्धा ‘ऋषि लामिछाने’ को जन्म रिभान ७ पाथे खहरेमा २०४१ भदौमा भएको हो । उनका बुबा देवीलाल लामिछाने र आमा शारदा लामिछाने हुन् । २०५८ साल पुस ११ गते पोखरा २, विन्दवासिनीचोकबाट उनलाई गिरफ्तार गरी बेपत्ता बनाइएको थियो । फूलबारी ब्यारेकको शाहीसेनाद्वारा गिरफ्तारपछि उनलाई राज्यले बेपत्ता पारेको हो । यसअघि उनी अखिल (क्रान्तिकारी), भेडाबारी प्राविधिक शिक्षालय एकाइका अध्यक्ष थिए ।

बेपत्ता योद्धा नेत्रप्रसाद बराल ‘अमर’ को जन्म लेखनाथ २, अर्घौंमा २०३७ साल असोज २६ गते भएको हो । उनको स्थायी ठेगाना सिल्दजुरे गाविस तप्राङ कास्की हो । उनका बुबा अणनाथ बराल, आमा बुद्धिदेवी बराल, भाइहरू मधुप्रसाद, नारायणप्रसाद बराल हुन् । उनलाई २०६० साल कात्तिक १९ गते भरतपोखरी गाविस ७ डाँडागाउँ लम्सालथर कास्कीबाट बेपत्ता बनाइएको हो । जनदमनमा हिँडेका शाहीसेनाले आफ्ना ५ जना सहयोद्धासँगै गिरफ्तार गरी उनलाई राज्यले बेपत्ता बनाएको हो ।

उनी लेखनाथ साहित्य प्रतिष्ठान, रेडक्रस, लेखनाथ युवा क्लबलगायत सामाजिक संस्थामा विभिन्न तहमा रहेर सक्रिय भएका थिए । यसै सिलसिलामा उनी २०५५ सालदेखि नेकपा (माओवादी) मा सङ्गठित हुँदै २०५७ देखि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर लागेका थिए । बेपत्ता बनाइँदा उनी पार्टीको इलाकास्तरको जिम्मेवारीमा रहेर काम गर्दै थिए ।

बेपत्ता योद्धा देवराज बस्ताकोटीको ठेगाना लेखनाथ ४ कास्की हो । उनको

जन्म २०२० साल चैत २९ गते लेनपा ४, राखीडाँडा, कास्कीमा भएको हो । उनका बुबा पुण्यप्रसाद बस्ताकोटी र आमा वेदमाया बस्ताकोटी हुन् । उनकी श्रीमती सीतादेवी बस्ताकोटी, दाजु प्रीतिराज, भाइ ठाकुरराज, दिदी शिरकली, बहिनी रमा, छोरा विजय, छोरीहरू प्रभा र सुस्मिता हुन् । २०६१ साल माघ २३, पोखरा औद्योगिक क्षेत्रबाट उनलाई बेपत्ता बनाइएको हो । विजयपुर ब्यारेकका शाहीसेनाले गिरफ्तारपछि उनलाई बेपत्ता बनाएको हो ।

उनी २०५६ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । उनी औद्योगिक क्षेत्रमा बडीबिल्डर्स कम्पनीमा मेकानिक्स मजदुरको काम गर्दै आएका थिए । सोही समय उनलाई २०५६ सालमा मजदुर आन्दोलनको बहानामा

प्रशासनले गिरफ्तार गरी २२ दिन हिरासत राखेर छाडेको थियो । राज्यको दमनसँगै उनलाई पुनः २०५८ असोज १६ गते औद्यागिक क्षेत्रबाट गिरफ्तार गरी पछि धरौटीमा तारेखमा छाडेको थियो । उनले मजदुरअन्तर्गत अखिल नेपाल यातायात मजदुर सङ्गठनको जिल्ला समिति सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासङ्घको जिल्ला सदस्यको जिम्मेवारीमा काम गर्दै अघि बढिरहँदा राज्यले गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

बेपत्ता योद्धा शिवप्रसाद पराजुली ‘नेत्र’ को जन्म लेखनाथ २, अर्घौंमा २०३६ साल कात्तिक २७, लेनपा २, अर्घौं हरियालीटोल, कास्कीमा भएको हो । उनका बुबा : कृष्णप्रसाद पराजुली, आमा सीता पराजुली, भाइ विष्णुप्रसाद र बहिनी सरिता तिमिल्सिना हुन् । २०५८ पुस १८, पुम्दीभुम्दी १, कालीमाटी कास्कीबाट जनदमनमा हिँडेको शाहीसेनाको टुकडीले

उनलाई बेपत्ता बनाएको हो । उनलाई गिरफ्तार गर्दा उनीसँग पुम्दीभुम्दीका गणेश बराल भने मुस्किलले घेरा तोड्न सफल भएका थिए ।

पृथ्वीनारायण क्याम्पसमा बीएसम्मको अध्ययनसँगै उनले विद्यार्थीमा सङ्गठित राजनीति सुरु गरेका थिए । उनको साहित्य–कलामा विशेष क्षमता थियो । उनी कवि शिरोमणि लेखनाथ साहित्य प्रतिष्ठानको सदस्य, लेनपा युवा रेडक्रस सदस्य, लेनपा क्लबको सदस्य रहेर सामाजिक काम गर्दै जाँदा उनको राजनीतिक परिपक्वता माथि उठेको थियो । उनी सुरुमा अखिल (पाँचौँ) मा सङ्गठित भएका थिए । सुधारवादी सङ्गठनबाट विद्रोह गरी अखिल (क्रान्तिकारी) मा जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :