परम्परा, अन्धविश्वास र आडम्बरलाई चुनौती दिँदै रोहित र शारदाबीच प्रगतिशील विवाह सम्पन्न

परम्परा, अन्धविश्वास र आडम्बरलाई चुनौती दिँदै रोहित र शारदाबीच प्रगतिशील विवाह सम्पन्न

काठमाडौ : न सिन्दुर, न पोते, न त दाइजो, तामझाम र तडकभडक नै । पार्टीका शीर्ष नेता, कार्यकर्ता र केही आफन्तहरूको जमघटमा बिहीबार काठमाडौँ अनामनगरस्थित संवाद डबलीको मञ्चमा एक जोडी युवा बिहेको सामान्य पहिरनमा नयाँ जीवन आरम्भ गर्ने उद्घोष गर्दै प्रतिबद्धता मन्तव्य व्यक्त गरिरहेका थिए । न जन्तीको खचाखच त न घरगाउँलेको भिडमभिड र तडकभडक ! जति मानिसको सहभागिता थियो, सबै परम्परावादी संस्कार र संस्कृतिको अन्त्य गर्दै नयाँ संस्कार र संस्कृति आरम्भ गर्न प्रतिबद्धता व्यक्त गरेर भेला भएका थिए । कार्यक्रम थियो नेकपा (बहुमत) का युवा नेता रोहित र सामाजिक अभियन्ता शारदा केसीबीच प्रगतिशील विवाह ।
उक्त विवाहलाई विचारमा रूपान्तरण गर्न र सांस्कृतिक क्रान्तितर्फ उत्प्रेरित गर्न उपस्थित थिए नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, पार्टी कार्यालय सदस्य दीपक, पार्टी सचिवालय सदस्य पूर्ण, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, जवस–मोर्चा प्रमुखलगायत पार्टी नेता–कार्यकर्ता । बेहुलीका तर्फबाट सामाजिक अभियानमै संलग्न उत्तम कँडेललगायत व्यक्तिहरू सहभागी थिए भने पार्टीका संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, बेहुला रोहित, बेहुली शारदा सबैले विवाहलाई नयाँ जीवनको आरम्भ र उत्सव मात्र नभएर सङ्घर्षको ऊर्जा र मोर्चाका रूपमा परिभाषित गरिरहेका थिए ।
कार्यक्रममा शारदा–रोहितको जोडीलाई बधाई तथा शुभकामना दिँदै नेकपा (बहुमत) का संयोजक कञ्चनले मालेमावादी विचार र संस्कृतिले नै क्रान्तिलाई सफलतामा पु¥याउने बताए । उनले साम्राज्यवादी षड्यन्त्रविरुद्ध लड्न सबै मालेमावादी क्रान्तिकारीहरूबीच एकता हुनुपर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने पनि बताए ।
विशिष्ट अतिथि पार्टी प्रवक्ता सुदर्शनले विवाह दुई विचार, दुई संस्कार र दुई संस्कृतिबीचको रूपान्तरणसहितको एकता रहेको बताए । जनयुद्धले निर्माण गरेको नयाँ संस्कार र संस्कृतिलाई क्रान्तिकारीहरूले नयाँ शिराबाट अघि बढाउनुपर्ने नेता सुदर्शनले बताए ।
बेहुलीका पक्षबाट बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रकृति मानवकेन्द्रित जनअभियानका पूर्वअध्यक्षसमेत रहेका पूर्वमाओवादी नेता उत्तम कँडेलले मालेमावादी क्रान्ति र मनोक्रान्तिलाई मिलाएर अघि बढ्न नयाँ जोडीलाई प्रेरित गरे ।
केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरो सदस्य रोहित ढकाल ‘अनुपम’ र सामाजिक अभियन्ता शारदा केसीले आफूहरूबीचको प्रेमसम्बन्धलाई विवाहमा रूपान्तरण गरिपाउन पार्टी केन्द्रीय कार्यालयसमक्ष संयुक्त निवेदन दिएका थिए । नयाँ जोडीले कार्यक्रम आयोजक सङ्गठन र पार्टी नेतृत्वलाई धन्यवाद दिँदै आमूल परिवर्तनका लागि जारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका ब्युरो संयोजक अशोक सुवेदीले सभामा उक्त निवेदन वाचन गरी प्रगतिशील विवाहको अर्थ, महत्व र माक्र्सवादी संस्कृतिमा प्रगतिशील संस्कृतिको स्थानका बारेमा बताएका थिए । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष खेम थपलिया, रोहितका भाइ विनोद ढकालले प्रगतिशील विवाहले समाजमा नयाँ संस्कृति निर्माणमा योगदान पुग्ने बताएका थिए । पार्टी सल्लाहकार समितिका सदस्यसमेत रहेका कलाकार ढुण्डीराज अधिकारीले हार्मोनियम र मुर्चुङ्गा बजाउँदै जनवादी गीत गाएका थिए । कार्यक्रमको सञ्चालन पार्टीको नवौँ महाधिवेशन आयोजक समितिकी सदस्यसमेत रहेकी प्रचार ब्युरो सदस्य अम्बिका चन्दले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :