हरेक कारखानामा लेनिन

कविता

हरेक कारखानामा लेनिन

उसले बिर्सियो चित्र कोर्न
उसले बिर्सियो रङ भर्न
एउटा युवाले चित्र कोर्न बिर्सिएको याम
एउटा रङ्गकर्मीले रङ भर्न बिर्सिएको याम
चित्रकारले कस्तो चित्र कोर्छ
रङ्गकर्मीले कस्तो रङ भर्छ ?
कस्तो चित्र बन्छ ?
कस्तो बन्छ हामी अनुमान गरौँ
दिमागमा विद्रोह राखेर
कलम समाइरहेको युवाले
कविताका नियमहरू तोडेर लेखेको
कविताजस्तै कविता ?
भयानक
जसले पुरानो सत्ताको लालस्कायान किन नगरोस् ?
लालबिहानको स्वागत किन नगरोस् ?
अक्टोबर क्रान्तिझैँ चित्र किन नबनोस् !
एउटा कविले कविता लेख्न बिर्सिएको याम
श्रमिकले कस्तो कविता लेखिदेओस्
लय बिर्सिएको ?
पुरानो लय बिर्सिएको कविता
लय नभएको कविता
सत्ताका लागि भयानक हुनसक्छ
कविहरू तर्कुलेमा राइफलको कुँज लगाउन चाहन्छन्
हरेक मधुरोमा
क्रान्तिका लालरङहरू पोत्न चाहन्छन्
गायकहरू गायनमा विद्रोह मिसाउन चाहन्छन्
श्रमिकहरू श्रममा अलिकति रगत मिसाउन चाहन्छन्
खुनपसिना मिसाएर
सपना फलाउन चाहन्छन्
माक्र्सवादीहरू प्रत्येक बस्तीहरूमा
समाजवाद फुलाउन चाहन्छन्
अध्यात्महरू हरेक रणमैदानमा
बुद्ध फुलाउन चाहन्छन्
साम्राज्यवादीहरू हरेक देशहरूमा
जेलेन्स्की जन्माउन चाहन्छन्
पुँजीवादले मान्छेका पाइलापाइलामा
सुर्कनी पासो थापेको याम
कम्युनिस्ट मान्छेहरूले कसरी सोच्ने
कसरी हेर्ने ?
कसरी फड्कने ती जँघारहरू ?
आजित भएर श्रमिकहरू पुनः
हरेक कारखानामा लेनिन जन्माउन चाहन्छन्
विद्यार्थीहरू पुनः हरेक स्कुलमा
लालपरेड खेल्न चाहन्छन्
किसानहरू उखुबारीमा सेल्टर बनाउन चाहन्छन्
भरियाहरू हरेक घुम्तीमा एम्बुस थाप्न चाहन्छन्
पुरानो व्यवस्था फेर्न यहाँ
को–को के–के गर्न आतुर छैनन् !
यहाँ हरेक युवा तातो भएको याम
हरेक श्रमिकहरू रातो भएको याम
मौसमले पनि साथ दिएको याम
अब साँच्चै
माओवादीहरू माओवादी बन्न सक्नुपर्छ
माओवादीहरूले
वैज्ञानिक समाजवाद– जिन्दावाद भन्न सक्नुपर्छ
अब आउनुपर्छ एउटा आँधी
गड्गडाहट शक्तिशाली वेगले ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :