जनयुद्धका तीन सहिदकी आमा सीता दाहालको निधन, नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

जनयुद्धका तीन सहिदकी आमा सीता दाहालको निधन, नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : एउटै परिवारबाट जनयुद्धमा बलिदान गर्ने तीन सहिद मीनकुमार दाहाल, पवन दाहाल र देवीप्रसाद दाहालकी ममतामयी आमा सीताकुमारी दाहालको श्वासप्रश्वासको उपचार गराइरहेको अवस्थामा ८३ वर्षको उमेरमा सहिद मेमोरियल अस्पताल कलङ्कीमा फागुन १ गते असामयिक र दुःखद् निधन भएको छ ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले महान् सहिदहरूकी आमा सीता दाहालको निधनले आफ्नो पार्टीलाई अत्यन्त गम्भीर र दुःखी बनाएको भन्दै सहिद–आमा सीताप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले सीता दाहालको त्याग, धैर्य र महानतालाई क्रान्तिको ऊर्जाका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनले सीताकुमारी दाहालको निधनबाट शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

जनयुद्धको समयमा विभिन्न मोर्चाहरूमा सीताकुमारी दाहालका तीनै छोरा मीनकुमार दाहाल, पवन दाहाल र देवीप्रसाद दाहालको सहादत भएको थियो । सीताका तीन छोरी गायत्री, मीरा र हीरा छन् । उनी कान्छी छोरी हीरासँग बस्तै आएकी थिइन् ।

सीता दाहालका पति पुण्यप्रसाद दाहालले पनि निरङ्कुश सामन्ती पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा तीन वर्ष नख्खु जेलमा बिताएका थिए । उनको पनि अल्पायुमै निधन भएको थियो ।

दाहालको सोमबार नै काठमाडौँ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिरम संस्कारका क्रममा नेकपा (बहुमत) केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :