नेकपा (बहुमत) भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापनपत्र

नेकपा (बहुमत) भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापनपत्र

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले प्रमुख जिल्ला अधिकारीलाई तीनबुँदे सहमति कार्यान्वयन, आस्थाका बन्दी रिहाइ, झूट्टा मुद्दा खारेजी, पार्टी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित ४४ बुँदे मागसहितका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला इन्चार्ज रोजन र संयोजक केदारसहितका पार्टी नेता–कार्यकर्ताले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) श्रमजीवी, उत्पीडित तथा विश्वसर्वहारा वर्गको अग्रदस्ता हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा हाम्रो पार्टीले सडक सङ्घर्ष र विभिन्न मोर्चाबद्ध सङ्घर्षहरू गर्दै आएको कुरा सर्वविदितै छ ।’
ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी ४४ बुँदे मागपत्र बुझाई स्पष्ट दृष्टिकोणसहित आफ्नो राजनीतिक एजेन्डा प्रस्ट पारिसकेका छौँ । विगतदेखि हाम्रो पार्टीले देश र जनताका पक्षमा शान्तिपूर्ण ढङ्गबाट न्यायिक सङ्घर्ष गर्दै आउँदा हाम्रा नेता–कार्यकर्ताहरूलाई यो दलाल पुँजीवादी संसदीय व्यवस्थाले अस्तव्यस्त र अवैज्ञानिक कानुनको हवाला दिँदै बिनाकारण अन्यायपूर्ण र अमानवीय ढङ्गबाट झूट्टा मुद्दामा फसाएर लोकतन्त्रको धज्जी उडाउँदै मानवअधिकारको न्यूनतम मूल्यमान्यताको पनि ख्याल नगरी जेलको चिसो कोठरीमा कोचिरहेको छ । लोकतन्त्रको दुहाइ दिने यो राज्यले आफूले गरेको सम्झौतामा थोरै पनि इमानदारी नदेखाएका कारण आज देशको राजनीतिक अवस्था दिनानुदिन गम्भीरतातर्फ धकेलिइरहेको छ । राज्य अझै पनि ३ बुँदे सम्झौता कार्यान्वयन गर्न तयार नहुने र देशमा विद्यमान राजनीतिक समस्या समधानको बाटोतर्फ अग्रसर नहुने हो भने यो दलाल, साम्राज्यवादी कठपुतली सरकारलाई हामी चुनौती दिन चाहन्छौंँ– हाम्रो पार्टीले जनसङ्घर्ष, जनदबाब, जनप्रतिरोध सङ्घर्ष, जनविद्रोहको बाटो हुँदै अन्ततः एकीकृत जनयुद्धको बलमा यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी क्रान्तिको खुड्किला पार गर्दै वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नेछ ।’
ज्ञापनपत्रको अन्त्यमा भनिएको छ, ‘तत्कालीन नेकपा, हाल नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सँग राज्यका तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले गरेको ३ बुँदे सम्झौता तुरुन्त कार्यान्वयन गर्न हाम्रो पार्टी हार्दिक आग्रह गर्दछ । हाम्रो शान्तिपूर्ण आग्रहलाई कमजोरी ठाने जनताको आँधीबेहरीले मै हुँ भन्ने ठूलाठूला बादशाह, राजा–महाराजाहरूलाई महलबाट थुतेर सडकमा पछारेको र गिओटिन गरेको इतिहास स्मरण गराउँदै जिल्ला प्रशासन अधिकारीको माध्यमद्वारा यो ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :