यातायात मजदुरको आन्दोलनमा यातायात मजदुर सङ्गठनको ऐक्यबद्धता

यातायात मजदुरको आन्दोलनमा यातायात मजदुर सङ्गठनको ऐक्यबद्धता

काठमाडौँ : नेकपा (बहुमत) निकट यातायात मजदुर सङ्गठनले आन्दोलनरत यातायात मजदुरहरूको सङ्घर्षमा ऐक्यबद्धता जनाएको छ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ केन्द्रीय समितिले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
सङ्घका केन्द्रीय संयोजक कालीबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यातायात मजदुरहरूसँग सम्बन्धित प्रचलित नेपाल कानुन यातायात तथा सवारी व्यवस्था ऐन २०७३ र केही प्रावधानहरू मजदुरको रोजीरोटीविरुद्ध रहेको र मजदुर हितविरोधी तहले कानुनबमोजिम भन्दै धमाधम चालक अनुमतिपत्र निलम्बन र खारेजीको अभियान चलाएसँगै सरोकारवाला पक्षको ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा फागुन १ गते काठमाडौँको बालाजुस्थित गोंगबु बसपार्कमा यातायात मजदुरहरूमाथि दमन भएको, झन्डै हताहतीको परिस्थिति उत्पन्न भएको र मजदुर हितविरोधी पक्षको मिलोमतोमा मजदुरहरूले न्यायपूर्ण रूपमा उठाएका जायज माग र स्वाभाविक आन्दोलनलाई अन्यथा अर्थ लगाउने मनसायका साथ विवादमा जोडिएको उल्लेख छ ।
सङ्गठनले विज्ञप्तिमार्फत घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको जनाइएको छ । सङ्गठनले न्यायप्रेमी यातायात मजदुरहरूको न्यायिक प्रदर्शनभित्र सुनियोजित घुसपैठ गरी दलालहरूले यसलाई बदनाम गर्न खोजेको भए पनि सङ्गठनले मजदुरहरूका जायज माग पूरा गर्न सरकारसँग हार्दिक आग्रह रहेको छ ।
यातायात क्षेत्रका विभिन्न समितिमा कार्यरत मजदुरहरू घोषित कार्यक्रमअनुरूप नै सङ्घर्षमा उत्रिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :