सलाम छ लप्सीफेदीको प्रतिरोधी चेतनालाई !

सलाम छ लप्सीफेदीको प्रतिरोधी चेतनालाई !

नेपालको राष्ट्रियताको रक्षाका लागि इतिहासको लामो कालखण्डदेखि नै जनताले राष्ट्रघाती शासकहरू र तिनका राष्ट्रघाती हर्कतका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्दै आएका छन् । जनता साम्राज्यवादका विरुद्ध, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका पक्षमा छन् भन्ने कुरा काठमाडौँ लप्सीफेदीका जनताले राष्ट्रघाती एमसीसीको षड्यन्त्रका विरुद्ध राष्ट्रघाती योजनाको प्रतिरोध गरेर साबित गरिरहेका छन् । देशभक्त, साम्राज्यवादविरोधी जनतालाई सलाम छ ! यो देशभक्तिपूर्ण प्रतिरोधलाई कुनै पनि दमन, षड्यन्त्र, साम, दाम, दण्ड, भेदले गलाउन नसक्ने आशा र अपेक्षा गर्दछौँ ।

नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) बीच मङ्गलबार गठित पार्टी एकता संयोजन समितिले पनि देशभक्त र क्रान्तिकारी जनता र शक्तिमा उत्साह र आशा बढाएको छ । जटिल बन्दै गउको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई तीनवटा क्रान्तिकारी पार्टीबीचको एकता र त्यसपछि अघि बढ्ने क्रान्तिकारी आन्दोलनले समाधान गर्ने अपेक्षा गरिएको छ । यसले क्रान्ति तथा देशभक्त शक्तिमा क्रान्तिकारी आशावाद बढाएको छ । यो ऐतिहासिक कदमको उच्च सम्मानसहित प्रशंसा गर्नैपर्छ ।

साम्राज्यवादको लाचार छाया बनेको दलाल पुँजीवादी देउवा–दाहाल पाँचदलीय गठबन्धन सरकारले सडकमा जनताको रगतको खोलो बगाउँदै बमबारुदको त्रास देखाएर राष्ट्रघाती महाकाली सन्धिको घटना दोहोर्याउँदै संसद्‌बाट २०७८ साल फागुन १५ गते एमसीसी नाउँको अर्को राष्ट्रघाती सम्झौता पारित गरेको थियो । विडम्बनाको कुरा त के छ भने एमाले नाउँको दलले आफ्नो स्वार्थको अर्कै विषयमा संसद्मा नाराबाजी गरेर र माओवादी केन्द्र नाउँको दलले रातारात नाटक गरेर कथित व्याख्यात्मक टिप्पणी भन्दै राष्ट्रघाती एमसीसी सम्झौता पारित गरिदिए र नेपाली जनताले घोषित रूपमै अमेरिकी साम्राज्यवादको दलाल भनेर चिनेको काङ्ग्रेस र उसको मुख्य नेतृत्वलाई ‘अमेरिकी साम्राज्यवादलाई युद्ध लाद्ने ‘कन्फर्टेबल’ वातावरण बनाइदिए । फलस्वरूप आज नेपाली जनताको टाउकोमा अमेरिकी साम्राज्यवादी युद्ध–स्वार्थ मडारिइरहेको छ । काठमाडौँ लप्सीफेदीमा एमसीसी कार्यान्वयनका लागि विद्युत् सबस्टेसन निर्माण गर्ने नाउँमा किनिएको जमिनको विषयलाई लिएर स्थानीय देशभक्त जनताले करिब दुई सातादेखि दलाल सत्ता र सरकारको डटेर प्रतिरोध गरिरहेका छन् र देशभरका देशभक्त एवम् क्रान्तिकारी शक्ति र जनताको स्याबासी पनि पाइरहेका छन् । लप्सीफेदीका जनताले देशभरबाट एमसीसीलगायत राष्ट्रघाती कदम र गतिविधिका विरुद्ध डटेर प्रतिरोध गर्नुपर्ने सुखद सन्देश पनि प्रवाह गरिरहेका छन् । राज्यको क्रूर दमनको प्रतिरोध गर्ने जनता महान् र सलामयोग्य छन् !

इतिहासदेखि नै नेपाली जनताले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर कठोर सङ्घर्ष गर्दै आएका छन् । अङ्ग्रेज साम्राज्यवादसँगको लडाइँमा होस् वा भारतीय साम्राज्यवादी उत्पीडन, आक्रमण र हस्तक्षेपका विरुद्ध होस् अथवा पछिल्लो समयमा अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध, नेपाली देशभक्त एवम् क्रान्तिकारी जनताले निर्णायक स्तरको सङ्घर्ष गर्दै राष्ट्रियताको रक्षाका लागि रगत नै बगाइरहेका छन् । दलाल सत्ता रक्षाका लागि दलाल पुँजीवादी पार्टीहरू रातारात यो र ऊ गठबन्धन गर्दै निकृष्ट किसिमको नग्न–रत्यौली खेलिरहेका छन् र साम्राज्यवादी स्वार्थ पूर्ति गर्ने वाचासहितको एमसीसी सम्झौता कार्यान्वयन गर्न राज्यको सम्पूर्ण स्रोत र साधनको दुरुपयोग गरिरहेका छन् । दलाल शासकहरूले देशभक्त नेपाली जनताका विरुद्ध नेपाली जनताबाटै भाडाका सिपाहीहरू निर्माण र दुरुपयोग गरेर नेपालीको देशभक्तिको इतिहासमा विषादी मिसाइदिएका छन् । नेपालको सेना र प्रहरीले इतिहासमा हाकाहाकी लेन्डुप शैशलीको राष्ट्रघातलाई प्रोत्साहन गरेको र देशभक्त शक्ति र जनतालाई यसरी प्रत्यक्ष दमन गरेको देखिएको थिएन तर एमसीसी प्रकरणमा नेपाली सेनाको पत्राचारकाण्ड सार्वजनिक भएदेखि लप्सीफेदीमा एमसीसीको प्रतिरोध गरिरहेका जनतामाथि बर्बरतापूर्ण तरिकाले बुट, लाठी प्रहार गर्ने, महिला प्रदर्शनकारीलाई घरमै पुगी जगल्ट्याएर घिसार्ने, बालबालिकालाई समेत आक्रमण गरेर घाइते बनाउनेसम्मका आततायी हर्कतहरू देखाएर सरकारले जनतालाई प्रतिरोधका लागि ललकारेको छ । नालापानीदेखि सिन्धुलीगढीसम्म हजारौँको बलिदान गरेको अनुभव सँगालेको नेपाली देशभक्त तथा क्रान्तिकारी जनसमुदायले राष्ट्रघाती एमसीसी पारित गरिँदा संसद् भवन क्षेत्रलाई रणमैदान बनाएर राष्ट्रियताका लागि थप रगत बगाएको अनुभव पनि समेटेको छ । लप्सीफेदीका जनताले नालापानी, सिन्धुलीगढी र नयाँबनेश्वर तीनवटै सङ्घर्ष र लडाइँको महत्व र औचित्व साबित गर्दै अझै उच्च किसिमको प्रतिरोधको आवश्यकता दर्साएका छन् ।

लप्सीफेदीका जनताको प्रतिरोधप्रति ऐक्यबद्धता जनाउँदै नेपालका तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालले आफूहरू जनताको साथमा रहेको दोहोर्याएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा एउटै मोर्चा बनाएर सङ्घर्ष गरिरहेका तीन पार्टीका शीर्ष नेतृत्वले संयुक्त वक्तव्य जारी गरी एमसीसीको षड्यन्त्र र दलाल सरकारको क्रूर दमनविरुद्ध काठमाडौँ लप्सीफेदीमा विस्फोट भएको जनआक्रोशप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी निर्देशनमा नेपाल सरकारद्वारा जनतामाथि गरिएको दमनको घोर भत्र्सना पनि गरेका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले अमेरिकी परियोजना सहश्राब्दी चुनौती निगम (एमसीसी) अन्तर्गत सहश्राब्दी निगम लेखा (एमसीए) को विगतदेखि नै जोडदार विरोध गर्दै आएको स्मरण गराउँदै जनताको देशभक्तिपूर्ण आवाजलाई लत्याउँदै संसद्‌बाट २०७८ साल फागुन १५ गते व्याख्यात्मक टिप्पणीका नाममा पारित गरिएको र एमसीएले नेपालका प्राकृतिक स्रोतहरू लुटपाट गरी निर्यात गर्ने उद्देश्यका साथ काठमाडौँको लप्सीफेदी, नुवाकोटको बेलकोटगढी (रातामाटे), नवलपरासीको भूमहीलगायत स्थानमा ४०० केभी विद्युतीय प्रवाह सबलाइन निर्माण गरेको विषयमा पनि जनताको कडा विरोध रहेको प्रस्ट पारेका छन् । लप्सीफेदीमा विद्युत् प्राधिकरणको घर बनाउने बहाना बनाएर एमसीएअन्तर्गत विद्युतीय प्रवाह सबलाइन बनाउन जग्गा लिएको विषय जनताले थाहा पाएपछि जनआक्रोश विस्फोट हुन पुगेको भन्दै तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनताको प्रतिरोध सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी निर्देशनमा नेपालको सरकारले जनतामाथि गरेको दमनको पनि घोर भत्र्सना गरेका छन् । तीन पार्टीले सरकारलाई राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न पुनः जोडदार माग पनि गरेका छन् ।

दलाल पुँजीवादी सरकार एकातिर जनताको प्रतिरोध आन्दोलनमाथि क्रूर दमन गर्दै राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गरेर देशलाई साम्राज्यवादी युद्धमैदान बनाउने खेलमा लागिरहेको छ भने अर्कातिर यही दलाल पुँजीवादी सत्ता र सरकार टिकाउने अन्तिम प्रयासस्वरूप महान् जनयुद्ध र जनआन्दोलनले विस्थापित गरेको सामन्तवादको केन्द्रीय संरचना र शक्ति राजतन्त्र ब्युँताउने अभ्यासस्वरूप सामन्तवादका नायक पृथ्वीनारायण शाहको भूत ब्युँताउँदै पृथ्वीजयन्ती मनाउन पुस २७ गते बिदा दिने निर्णयमा पुगेको छ । यो निर्णय नेपाली जनताले सताब्दीऔँदेखि सामन्तवादविरुद्ध गरेको त्याग, शौर्य र बलिदानको उपहास हो । सम्पूर्ण नेपाली जनताले दलाल सरकारका सबैखाले प्रतिगामी, प्रतिक्रियावादी र प्रतिगमनकारी, राष्ट्रघाती हर्कतहरूका विरुद्ध सङ्घर्षमा उत्रिनु अत्यावश्यक भइसकेको छ । दलाल पुँजीवादी सत्तामा जनतन्त्र र जनजीविकाको त नामोनिशाना नै छैन, नेपाली जनताले जोगाएर राखेको राष्ट्रियता पनि शासकहरूले आफ्नो सत्तास्वार्थका लागि समाप्त पार्दैछन् ! यति बेला देशभरका देशभक्त, क्रान्तिकारी जनता र शक्ति एक भएर सरकारका राष्ट्रघाती र प्रतिगमनकारी दमका विरुद्ध सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनातिर अग्रसर हुनु आवश्यक छ । तीन पार्टीको एकता संयोजन समितिले अवश्य पार्टी एकता गर्दै क्रान्तिकारी आन्दोलन अघि बढाउनेमा दुई मत छैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :