क्रान्ति र डाटा साम्राज्यवाद

क्रान्ति र डाटा साम्राज्यवाद

सुरुआत

आज विज्ञान तथा सूचनाप्रविधिमा अभूतपूर्व क्रान्ति भइरहेको छ । सूक्ष्म यान्त्रिकी, कृत्रिम बौद्धिकता र डाटा साम्राज्यवादले गम्भीर चुनौती एवम् महान् सम्भावनाको ढोका खोलिरहेको छ । आज विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, प्राकृतिक, पर्यावरणीयलगायत सङ्कटहरू देखापरिरहेका छन् । ती सङ्कटहरूले सिङ्गो मानव जाति आक्रान्त बनिरहेको छ । विज्ञानले नै आजको प्रविधिको विकास भएको छ । विज्ञानप्रविधिले नयाँ सम्भावनाहरूको अध्ययन, अनुसन्धान र अन्वेषण मात्र होइन, कयौँ सम्भावनाहरूलाई वास्तविकतामा बदलिरहेको छ । पृथ्वी, अन्तरिक्ष, ग्रह–नक्षत्र आदिले युक्त एवम् अनन्त रहेको विश्वब्रह्माण्डका विषयमा विभिन्न वैज्ञानिकहरूले निरन्तर अवलोकन, अध्ययन, अनुसन्धान र अन्वेषण गरिरहेका छन् । नयाँ सम्भावनाहरूको खोजी पनि भइरहेका छन् । मानव जाति चन्द्रमामा पुग्यो । आज मङ्गलग्रहलगायत अन्य ग्रहहरूको सम्भाव्यताको अध्ययन भइरहेको छ । विज्ञानप्रविधिको विकास र प्रयोगले विश्व एउटा गाउँमा परिणत भएको छ । धेरै विषयहरू मानवजस्तै देखिने रोबोट; गुगलले बनाएको मोबाइल फोनको सफ्टवेयरमा संकेन्द्रित भएका छन् । विज्ञानप्रविधिको विकास र प्रयोगले मानव जातिका लागि तमाम प्रतिकूलताहरूलाई अनुकूलतामा बदलिरहेको छ । परन्तु प्राकृतिक प्रकोप र सामाजिक सङ्कटको कारक पनि बनिरहेको छ । विज्ञानप्रविधिलाई मानव जातिले सही ढङ्गले प्रयोग गर्नसके बरदान र गलत प्रयोग गरेमा अभिशाप हुनेछ ।

मानव जातिले बाँच्न र अस्तित्वका लागि प्रकृतिसँग सङ्घर्ष र भौतिक मूल्यको उत्पादनका निम्ति प्रकृतिको प्रयोग गर्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणबाट हेर्दा प्रकृतिसँगको सङ्घर्षमा मानव जातिको सामाजिक सम्बन्ध, सामाजिक सङ्गठनका रूप र मानवचेतनामा व्यापक परिवर्तन भइरहेको छ । सामाजिक जीवन र भौतिक परिवेशले मानिसको चेतना निर्धारण गर्दछ । भौतिक जगत् पहिलो र मानवचेतना दोस्रो हो । क्रान्तिकारी कम्युनिस्टहरूले विश्वका हरेक घटना, परिघटना, महासङ्कट र महान् सम्भावनाहरूलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा विश्लेषण र संश्लेषण गर्न जरुरी छ । विज्ञान तथा सूचनाप्रविधिको युगबोधबिना युगीन कार्यभार पूरा गर्न असम्भव छ । विश्वसाम्राज्यवादको पहुँच, प्रयोग र नियन्त्रणमा रहेको विज्ञान तथा सूचनाप्रविधिलाई आमश्रमिक जनताको पहुँच र प्रयोगमा ल्याउनु क्रान्तिको अपरिहार्य एवम् युगीन कार्यभार हुनेछ ।

पृष्ठभूमि

मानव समाजको उत्पत्ति र विकाससँगै विज्ञान तथा सूचनाप्रविधिको पनि विकास एवम् विस्तार भइरहेको छ । विज्ञान तथा सूचनाप्रविधि पनि परम्परागतबाट अत्याधुनिकमा विकास र विस्तार भइरहेको छ । १९ औँ शताब्दीमा स्टिमद्वारा सञ्चालित प्रिन्टिङ र टेलिग्राम कोइलाद्वारा सञ्चालित जटिल रेल र कारखाना प्रणालीलाई जोड्ने र व्यवस्थापन गर्ने सञ्चार माध्यम बनेको थियो । २० औँ शताब्दीलाई बेलायती प्रख्यात गणितज्ञ एवम् दार्शनिक वेदन्डरसेलले सूचनाप्रविधिको शताब्दी बताएका थिए । २० औँ शताब्दीमा टेलिफोन र पछि रेडियो तथा टेलिभिजन अधिक भौगोलिक रूपमा फैलिएको तेल, मोटरगाडी र सहरी युग तथा सामूहिक उपभोक्ता समाजको व्यवस्थापन र बजार व्यवस्थापनका लागि सञ्चार माध्यम बनेको थियो । आज २१ औँ शताब्दीमा इन्टरनेट बढ्दो मात्रामा आपसमा जोडिएको समाजमा वितरित नवीकरणीय ऊर्जा, स्वचालित रसद र यातायातको प्रबन्धका लागि सञ्चार माध्यम विश्वव्यापी बनिरहेको छ । पहिलो र दोस्रो औद्योगिक क्रान्तिहरूका टेक्नोलोजी प्लेटफर्महरू ऊध्र्वगामी आदेश र नियन्त्रणद्वारा केन्द्रित गर्न डिजाइन गरिएका थिए । तेस्रो औद्योगिक क्रान्तिमा वस्तुहरूको इन्टरनेट पूर्वाधारको उदय भएको छ । सन् २०११ मा अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका एरिक ब्राएनलोल्फसन र एन्ड्यु म्याकाफीको पुस्तक ‘दोस्रो मेसिन युग’ मा यो युग धेरै संज्ञानात्मक कार्यहरूको स्वचालनमा संलग्न द्वन्द्व जसले मानिस र सफ्टवेयर सञ्चालित मेसिनले एक–अर्काको पूरकका रूपमा नभई एकले अर्कालाई विस्थापन गर्नेछ भन्ने औँल्याएका थिए । सन् १९५० बाट कम्प्युटरको विकासपछि दोस्रो मेसिन युगको सुरु भएको मानिन्छ ।
सूचनाप्रविधि, चुनौती र सम्भावना

सूचनाप्रविधिले ध्वनि, तस्बिर, अक्षर तथा अङ्कका रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोगमा भण्डारण, सम्पादन, सम्प्रेषण एवम् प्रवाह गर्दछ । सूचनाप्रविधिलाई कम्प्युटर विज्ञानको एक शाखा पनि मानिन्छ । सूचनाप्रविधिलाई प्रक्रिया, संरचना र विभिन्न प्रकारका डेटाहरूको प्रशोधनको समग्र अध्ययनका रूपमा परिभाषित गरिएको छ । मानव जीवनका सबै क्षेत्रमा सूचनाप्रविधिको महत्वपूर्ण भूमिका रहेको छ । आज मानव जीवनका हरेक पक्ष सामाजिक प्रगति, विकास र रूपान्तरणमा सूचनाप्रविधिको भूमिका धेरै बढिरहेको छ । विज्ञान तथा सूचनाप्रविधिलाई केही मानिसहरू क्रान्तिको बाधक मात्र होइन, त्यसका कारण क्रान्तिलाई कोरा कल्पना एवम् असम्भव ठान्दछन् । त्यो विभ्रम मात्र हो । विज्ञान तथा सूचनाप्रविधिले विश्वमा क्रान्तिको नयाँ क्षितिज खुलिरहेको मात्र होइन, त्यसलाई हाइपर सोनिक र सुपर सोनिकको गतिमा मानव समाजलाई नजिक पु¥याइरहेको छ । अर्काथरी केही मानिस त्यो भ्रमको खेती गरिरहेका छन् । अबको उत्पादक शक्ति मानिस होइन, विज्ञान तथा सूचनाप्रविधि हो । सफ्टवेयर मानिसले बनाएको हो, त्यसको सञ्चालक पनि मानिस नै हो । वास्तविकता के हो भने आज उत्पादक शक्तिसँग विज्ञान तथा सूचनाप्रविधि जोडिएको छ तर विज्ञान तथा सूचनाप्रविधि नै उत्पादक शक्ति भने होइन । विश्वब्रह्माण्डमा कहीँ–कतै पनि त्यस्ता अदृश्य भगवान् छैनन् जसले सफ्टवेयर निर्माण र सञ्चालन गरून् । इतिहासमा तब महान् आर्थिक परिवर्तनहरू भए जब मानिसहरूले नयाँ ऊर्जा प्रणाली भेट्टाए र तिनीहरूलाई व्यवस्थित गर्न नयाँ सञ्चार मिडिया सिर्जना गरे । ऊर्जा प्रणाली र सञ्चार मिडियाको संयोजनले गतिशीलताको पुनर्संरचनाका लागि नयाँ म्याटिक्सको स्थापना गरिरहेको छ जसले ठूलो सङ्ख्यामा मानिसहरूलाई विश्वव्यापी रूपमा एकजुट हुने र बढी जटिल, परस्पर निर्भर सामाजिक सङ्गठनहरूमा संलग्न हुन सम्भव बनाउँछ । सँगसँगै टेक्नोलोजी प्लेटफर्महरूले पूर्वाधारहरूको संरचना बनाउँछन् । वस्तुहरूको इन्टरनेट भन्ने शब्द सन् १९९५ मा एमआईटी अटो आईडी सेन्टरका संस्थापकहरूमध्ये एक कोभिन एस्टनद्वारा बनाइएको थियो । रेडियो फ्रिक्वेन्सी पहिचान (एफआरआईडी) चिप्स जसले वस्तुहरूको निगरानी र अनुगमन गर्न प्रयोग गरिन्छ । न्युरल नेटवर्कमा सबैको संयोजनले मानव जातिलाई गोपनीयताको युगबाट बाहिर निकाल्छ । मानिस चाहे गुगल, फेसबुक, ट्विटर, इबे, अमेजन, इमेल, भाइबर, ह्वाट्सएप, टिकटक आदि जुनसुकैसँग जोडियोस्, मानिसको सबै डाटा विश्वव्यापी भइरहेको हुन्छ । एप्पलसँग अहिले ‘फाइन्ड माई फ्रेन्ड्स’ भन्ने आईफोनको फिचरले हरेक व्यक्तिको लोकेसन ट्र्याक गर्न र नेटवर्कमा अरूसँग सम्पर्क गर्न सम्भव तुल्याउँछ । न्युयोर्क क्लिन वेब ह्याकाथनको इकोनोफको वेबसाइटले उपभोक्ताहरूको ऊर्जा दक्षता निर्धारण तुलना गर्न सम्भव तुल्याउँछ । पकिम्फी नामको एपले प्रयोगकर्ताहरूको एउटा वाइफाई हटस्पोटद्वारा न्युयोर्क पार्कको लोकेसन पत्ता लगाउन सहयोग गर्दछ । थ्री डी कम्प्युटर मोडेलबाट अनुसन्धानकर्ताहरूले स्क्रिनमा विभिन्न संयोजनहरू बनाउन सक्छन् । वैज्ञानिकहरूले नयाँ सूचना युगको कम्प्युटर प्रयोग गरेर भविष्यमा सबै प्रकारका नयाँ अणुहरू सिर्जना गर्ने योजना बनाएका छन् । रसायनशास्त्रीहरूले आफैँलाई पुरुत्पादन गर्नसक्ने, विद्युत् उत्पादन गर्नसक्ने, प्रदूषण पत्ता लगाउने, ट्युमर रोक्न सक्ने, कोकिनको प्रभावलाई प्रतिरोध गर्नसक्ने र एड्सको वृद्धि रोक्नसक्ने यौगिकहरूको विकास गर्ने सम्भावनाहरूको खोजी र प्रयोग गरिरहेका छन् । विश्वव्यापी मिडियाहरू साम्राज्यवादी मुठीभर मुनाफाखोर मिडिया कम्पनीहरूका हातमा केन्द्रित छन् । डाटा साम्राज्यवादका कारण आज मानव जाति बजारमा आफ्ना मित्रहरूलाई शोषण गरेर आफूलाई धनी बनाउने अवसरको खोजीमा मूलतः उपयोगिता खोज्ने प्राणीमा बदलिएको छ । कम्प्युटर प्रविधि र जेनेटिक प्रविधि एउटा शक्तिशाली नयाँ प्राविधिक यथार्थमा एकीकृत भएका छन् । गुगल, फेसबुक, ट्विटर, इबे, अमेजनजस्ता कर्पोरेट दिग्गजहरूमध्ये प्रत्येकले विश्वबजार सुरक्षित गर्न अर्बौं डलर खर्च गरेका छन् । चालकविहीन सवारी साधनको आगमन, गुगल गाडी एक पुनर्जडित टोयोटा प्रियस हो जसले जीपीएस नाभिगेसन प्रणालीमा जडित क्यामेरा, राडार सेन्सरहरू, एक लेजर रेन्ज खोजकर्ता र विस्तृत गुगल म्यापको प्रयोग गरेर आफूलाई हाँक्दछ । जर्मन इन्जिनियर तथा अर्थशास्त्री क्लाउस मार्टिन स्वावले सन् १९१६ मा चौथो औद्योगिक क्रान्तिले नयाँ प्रविधिहरूद्वारा भौतिक, डिजिटल र जैविक विश्वलाई फ्युजन गरी अर्थतन्त्र तथा उद्योगका क्षेत्रमा मात्र होइन, मानव जाति सर्वश्रेष्ठ हो भन्ने तथ्यलाई नै चुनौती दिनसक्ने बताएका थिए । सन् २०११ मा अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका एरिक ब्राएनलोल्फसन र एन्ड्यु म्याकाफिको प्रकाशित पुस्तक ‘दोस्रो मेसिन युग’ मा यो युग धेरै संज्ञानात्मक कार्यहरूको स्वचालनमा संलग्न द्वन्द्व जसले मानिस र सफ्टवेयर सञ्चालित मेसिनले एक–अर्काको पूरकका रूपमा नभई एकले अर्कालाई विस्थापन गर्नेछ भन्ने औँल्याएका थिए । सफ्टवेयरले मानिसले भन्दा वस्तुगत रूपले लगातार र छिटो गतिविधिको मूल्याङ्कन गर्ने, मानिसबिना नै अग्गारिद्मले कर्पोरेटहरूको आयलगायत अनेकौँ विषय र क्षेत्रमा पूर्वानुमान गर्दछ ।

विज्ञान तथा सूचनाप्रविधिले विश्वमा क्रान्तिको नयाँ क्षितिज खुलिरहेको मात्र होइन, त्यसलाई हाइपर सोनिक र सुपर सोनिकको गतिमा मानव समाजलाई नजिक पुर्याइरहेको छ । अर्काथरी केही मानिस त्यो भ्रमको खेती गरिरहेका छन् । अबको उत्पादक शक्ति मानिस होइन, विज्ञान तथा सूचनाप्रविधि हो । सफ्टवेयर मानिसले बनाएको हो, त्यसको सञ्चालक पनि मानिस नै हो । वास्तविकता के हो भने आज उत्पादक शक्तिसँग विज्ञान तथा सूचनाप्रविधि जोडिएको छ तर विज्ञान तथा सूचनाप्रविधि नै उत्पादक शक्ति भने होइन ।

सन् १९५० बाट कम्प्युटरको विकासपछि दोस्रो मेसिन युगको सुरु भयो । आज कम्प्युटर हार्डवेयर, सफ्टवेयर र सञ्जालहरू डिजिटल प्रविधिका अङ्ग बनेका छन् । सन् १९६० मा अमेरिकी रक्षा विभागले विकास गरेको इन्टरनेट कम्प्युटर सञ्जाललाई जोड्ने विश्वप्रणाली बनिरहेको छ । इन्टरनेटले सुरुदेखि अन्त्यसम्म सर्बर र ग्राहक विश्वव्यापी सबैको डाटा सूचनाप्रवाह गर्दछ । त्यसलाई सूचनावाहक वा महामार्ग पनि भनिन्छ । सन् १९८९ मा एक ब्रिटिस कम्प्युटर वैज्ञानिकको टिम बर्नर्सलिले विश्वव्यापी सञ्जालको अवधारणा अघि सारेको थियो । सन् १९९० को दशकको अन्त्यदेखि इन्टरनेटको तीव्र प्रयोगसँगै कम्प्युटरको गणना गर्ने क्षमता पनि धेरै बढ्यो । सन् १९९९ मा आधिकारिक रूपमा इन्टरनेट अफ थिङ्सको अवधारणा देखाप¥यो । यो दोस्रो मेसिन युगको एवम् चौथो औद्योगिक क्रान्तिको पूर्वाधार तत्व मानिएको छ । आईओटी उपकरणहरूमा जोडिएर मानिसहरूले एकआपसमा सम्पर्क र सञ्चार प्रवाह गरिरहेका छन् । आईओटीले मुख्य उद्योगहरू, स्वास्थ्य सेवा, वित्तीय प्रणाली, यातायात, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण, कृषि, स्मार्ट सहरदेखि हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । सन् २००५ मा रोजर मनैगलसले ठूलो डाटाको नामकरण गरे जसको आकार लगातार बृहत् बनिरहेको छ । सन् २०१२ सम्म मात्र त्यो केही टेराबाइट डाटाबाट जेटाबाइटमा पुगेको छ । सन् २०२० मा फोन, कम्प्युटर, सेन्सर र अन्य उपकरणहरू व्यापक विस्तार भइरहेका छन् । बजारको सूचना अध्ययन गर्ने एक फर्म आईडीसीका अनुसार सन् २०१७ देखि २०२५ बीचमा विश्व डाटा क्षेत्र वार्षिक तीस प्रतिशतले वृद्धि हुनेछ । सन् २००८ मा तीनजना उत्तरअमेरिकी वैज्ञानिकहरूले कृत्रिम बुद्धि (एआई) को विकासमा उच्च फड्को मार्दै डिप लर्निङ अल्गारिदमको विकास गरे । अल्गारिदमले ठूलो मात्रामा डाटाको अध्ययन गर्ने, विश्लेषण गर्ने, मानिसजस्तै निर्णय गर्ने वा भविष्यवाणी गर्नसक्छ । कृत्रिम बुद्धि (एआई) ले वा मसिन लर्निङले भाषाको अनुवाद, व्यक्तिको स्वर पहिचान, सडक र मानव व्यवहारको डाटा अध्ययन गरी रोबोटद्वारा चालकरहित गाडी चलाउनेजस्ता काम सम्भव बनाएको छ । त्यसको माध्यमबाट अहिले बैङ्कको स्वरूपलाई परिवर्तन गर्ने मात्र होइन, डिजिटल मुद्राले नोट र सिक्कालाई विस्थापन गर्ने र कारोबारको सूचनालाई केन्द्रित गर्न सक्नेछ । सन् २००८ मा एप्सको निर्माण गरी गुगल र एप्पलले एप्स स्टोरको सेवा सञ्चालन गरे । युरोपियन युनियनका देशहरूमा मात्र प्रतिवर्ष १० अर्ब युरोबराबरको अर्थतन्त्र एप्सले सिर्जना गरी ५ लाख २९ हजारले रोजगारी पाएका छन् । सन् २०२० जुनको तथ्याङ्कअनुसार रोब्लोक्स नामको खेल एप्सले मात्र २७ लाख ४० हजार अमेरिकी डलर कमाउने गरेको छ । यो एउटा दृष्टान्त मात्र हो । त्यसले आज विश्वव्यापी प्रभाव पारिरहेको छ । फाइभ जी सूचना सञ्जालले नयाँ औद्योगिक क्रान्तिको आधारशिला तयार पारेको छ । त्यसले स्मार्ट समुदाय, यातायात र सहरहरू बनाउने सम्भावना प्रदान गर्दछ । चीन र दक्षिणकोरियाले सिक्स जीको अनुसन्धान सुरु गरिसकेका छन् । त्यो सन् २०२७ सम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

जेफ बेजोसले ब्लुओरिजिन नामको कम्पनी खडा गरी ‘अन्तरिक्षको औद्योगीकरण’ र अन्तरिक्षमा ‘मानव पर्यटन’ को योजना अघि सारेका छन् । एलोन मस्कले स्पेसएक्स नामको कम्पनी स्थापना गरी मङ्गलग्रहमा आधिपत्य गर्ने योजना अघि सार्दै सन् २०५० सम्ममा मङ्गलग्रहमा मानव सहर निर्माण गर्ने घोषणा गरेका छन् । युरोपियन युनियनले अन्तरिक्ष योजनाअन्तर्गत एरियन– ६ निर्माण गर्दैछ । चीनले लिङ्क स्पेस नामको कम्पनी खडा गरी पुनः प्रयोग हुने लन्चरको पहिलो कदमको परीक्षण गरिसकेको छ । अमेरिकी उपन्यासकार, सम्पादक र प्रोफेसर एड्गर लरेन्स डक्टोरोले डिजिटल युगको मुटु बहुराष्ट्रिय निगमहरूमा केन्द्रित सत्ता एवम् कर्पोरेटोक्रेसी भनेका छन् । स्मिरनाइओसले सन् २०१६ मा गुगल, एमेजोन, फेसबुक र एप्पललाई चारजनाको गिरोहको संज्ञा दिएका छन् । सीएनबीसी नामको टेलिभिजन कार्यक्रमका सञ्चालक जिम केमेरले सन् २०१३ मा फेसबुक, एप्पल, एमेजोन, नेटफ्लिक्स र गुगलले बजारमा पूर्ण नियन्त्रण गरेको बताएका छन् । सन् २०१५ पछि हवावे, डिडी, जेट्टिई र बाइट डान्स चिनियाँ र विश्वस्तरका सामसुङ, इन्टेल, सिस्को र ओरेकल उदीयमान टेक जाइन्टका रूपमा छन् । यस्ता डाटा वा प्रविधि भीमकाय कम्पनीहरूले ऊर्जा वा तेल निगमहरूदेखि मिडियालगायत सबै क्षेत्रलाई पछि पारिसकेका छन् । सन् २०१४ मा अमेरिकी लेखिका तथा विद्वान् सोसना जुवोफले ‘बिग डाटा’ सर्भेलेन्स पुँजीवादमा विकास भएको जनाएकी छिन् । उनी भन्छिन्, ‘यो सर्भेलेन्स पुँजीवादको चुरो त्यस्तो आर्थिक प्रणाली हो जसले निजी डाटालाई नाफाको उद्देश्यले वस्तुका रूपमा किनबेच गर्दछ ।’ आज डाटा वा सर्भेलेन्स पुँजीवादले विश्वको शक्ति संरचनालाई परिवर्तन गरेको छ । विश्वको शक्ति सन्तुलन कमजोर बनी थप रूपमा ठूला निगमतर्फ ढल्केको छ । १९ र २० औँ शताब्दीको औद्योगिक पुँजीवादले व्यापक मात्रामा वस्तुको उत्पादन गर्दथ्यो । उपभोक्ता, कामदार र जनतासँग त्यो निर्भर थियो तर त्यसका विपरीत सर्भेलेन्स पुँजीवादले डाटामा आश्रित तर सर्भेलेन्स पुँजीवादको प्रक्रियाबारे अनभिज्ञ सर्वसाधारण जनतालाई सिकार बनाएको छ । सर्भेलेन्स पुँजीवादले जनताको आत्मनिर्णयको मनोवैज्ञानिक र राजनीतिक आधारलाई चुनौती दिइरहेको छ । त्यस्ता निगमहरूले जनताको निम्न चेतना, अज्ञानता, सहायताबेगरको सिकाइ, असावधानी, असुविधा, आदत वा खास उद्देश्य नबोक्नेजस्ता मानवीय कमजोरीलाई प्रयोग गर्दै जनता वा प्रयोगकर्तालाई जालमा पार्दछन् र उनीहरूको ‘आत्मनिर्णय’ माथि नराम्ररी प्रभावित गर्दछन् । हामी नियमित रूपमा किन्डल प्रयोग गर्दछौँ भने डाटा, अनुहार पहिचान र बायोमेट्रिक सेन्सरहरूद्वारा त्यो व्यक्ति के मन पराउँछ वा पराउँदैन, उसको मनोभाव के छ ? कस्तो पुस्तक पढ्दा उसको शरीरमा के प्रभाव पर्दछ भन्ने कुरा अमेजनले थाहा पाउँछ । यस्ता भीमकाय निगमहरूले भविष्यमा मानव दिमागलाई समेत ह्याक गर्न सक्छन् । इन्टरनेटको उदयले कम्प्युटरहरूबीच र डिभाइसबीच सूचना र डाटा ट्रान्सफर हुन्छ । कम्प्युटरको माध्यमबाट भएका आर्थिक कारोबारहरू, कम्प्युटर माध्यमबाट संस्थागत र विश्वव्यापी संस्थागत प्रणालीहरू जस्तै अर्बौं सेन्सरहरूबाट वस्तु, शरीर र स्थानका डाटाहरू प्राप्त गर्ने गर्दछन् । गुगलको मेसिन लर्निङमा गरिएका नयाँ लगानीका क्षेत्रहरू जस्तै ड्रोन, लगाउने वस्तुहरू, मानवरहित गाडी, नानो पार्टिकल, घरमा प्रयोग हुने साना, चुस्त उपकरणहरूको बढ्दो सञ्जालको माध्यमबाट असीमित डाटा सङ्कलन गरिन्छ । कर्पोरेसन र सरकारको डाटा केन्द्र जस्तै बैङ्क, भुक्तानी प्रणाली, कर र जनगणना तथ्याङ्क, स्वास्थ्य सेवा, क्रेडिट कार्ड, बिमा, औषधी उद्योग र टेलिकम कम्पनीबाट डाटा प्राप्त गर्दछन् । चरित्र र विषयवस्तुको विविधता र खास चिह्नमाथि भर नपर्ने प्रभाव, निजी र सरकारी निगरानीका क्यामेरा जसमा स्मार्ट फोनदेखि स्याटलाइट, सडक दृश्यदेखि गुगल अर्थबाट प्रवाहित हुने डाटाहरू, सानाबाट जोडिँदै बनेको ठूलो डाटा अर्थात् व्यक्तिहरूको निजी कम्प्युटर जडित कार्यहरू, फेसबुकले हार्भेस्ट गर्ने लाइक्स, गुगल सर्च, इमेल, टेक्स्ट, फोटो, गीत, भिडियो, स्थान, सञ्चार स्वरूप, नेटवर्क खरिद, हिँडडुलका गतिविधिहरू, हरेक क्लिक, पेजभ्यु आदिबाट डाटाहरू प्राप्त गर्दछ । गुगल फेसबुकलगायत टेक जाइन्टहरूले विभिन्न स्रोत वा तरिकाबाट डाटा प्राप्त गरेर डाटाकरण, सारसङ्क्षेपीकरण र विश्लेषण गर्छन् । त्यसपछि जोड्छन्, प्याक गर्छछन् र बेच्छन् । ती कम्पनीहरूले दलालहरूबाट ती डाटा प्राप्त गर्दछन् । वस्तुहरूको इन्टरनेटले एकीकृत विश्वव्यापी नेटवर्कमा सबैसँग प्रत्येक चीजलाई जोड्नेछ । व्यक्तिहरू, मेसिनहरू, प्राकृतिक संसाधनहरू, उत्पादन लाइनहरू, खाद्य नेटवर्कहरू, उपभोग बानीहरू, रिसाइक्लिङ प्रवाहहरू र लगभग आर्थिक र सामाजिक जीवनका हरेक पक्ष सेन्सरहरू र सफ्टवेयरहरूद्वारा वस्तुहरूको इन्टरनेट प्लेटफर्ममा जोडिनेछन् जसमा लगातार हरेक क्षणमा बिग डाटा भरिन्छ र व्यवसायहरू, घरहरू र सवारी साधनका लागि वास्तविक समयमा उपलब्ध गराइन्छ । फलस्वरूप बिग डाटा उन्नत एनालिटक्सद्वारा प्रशोधन हुनेछ, पूर्वानुमान गर्ने एल्गोरिदममा रूपान्तरण हुनेछ र स्वचालित प्रणालीको कार्यक्रममा परिणत हुनेछ । सर्वव्यापी कम्प्युटरिङको नयाँ युगमा सङ्क्रमणलाई सहयोग पुर्याउन युरोपियन युनियनको युरोपियन आयोगले गठन गरेको निकायका वस्तुहरूको इन्टरनेट युरोपियन रिसर्च क्लस्टरले इन्टरनेटका केही असङ्ख्य मार्गहरूलाई निर्धारण गरेको छ । त्यसमा वस्तुहरूलाई वितरित ग्लोबल नेटवर्कमा जोड्न पहिले नै राखिएको छ । वस्तुहरूको इन्टरनेट औद्योगिक र व्यावसायिक क्षेत्रहरूमा आइरहेको छ । वस्तुहरू र सेवाहरूको प्रवाहलाई अनुमान गर्न र पहिल्याउन कम्पनीहरूले सबै वाणिज्य कोरिडोरमा सेन्सर स्थापना गरिरहेका छन् । सेन्सरहरूले कच्चा स्रोतहरूको उपलब्धता रेकर्ड र सम्प्रेषण गर्दछन् । गुगल एनग्राम दर्शकको शब्द ट्र्याकरको जाँच परिवर्तनको शक्तिशाली सङ्केत हो । एनग्राम दर्शकले एक शोधकर्तालाई डिजिटलाइज्ड पुस्तकहरू खोज्न सक्षम बनाउँछ जुन कम्प्युटर र इन्टरनेट टेक्नोलोजीको समानान्तर गरिरहेको छ । अटोमेसन, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सका रूपमा लाखौँ कामदारको विस्थापन, बजार उपभोक्ताको क्रय शक्तिमा ह्रास हुने प्रक्रिया जारी छ जहाँ नयाँ आईटी र सफ्टवेयर, मनोरञ्जनका नयाँ रूपहरू, नयाँ शिक्षण उपकरणहरू, नयाँ मिडिया आउटलेटहरू, नयाँ हरित ऊर्जा, नयाँ थ्रीडी प्रिन्टद्वारा उत्पादनहरू, नयाँ आमनेसामने स्वास्थ्य अनुसन्धान पहलहरू र नयाँ सामाजिक उद्यमशील व्यवसायीहरू पनि सिर्जना भइरहेका छन् । यो डाटा साम्राज्यवाद र क्रान्तिको युग पनि हो ।

सूचनाप्रविधि र क्रान्ति

आधुनिक विज्ञान तथा सूचनाप्रविधिमा भइरहेको विकास विश्वका विशाल सङ्ख्यामा रहेका श्रमिक जनसमुदायको सस्तो श्रमसँग जोडिएको छ । त्यसले आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ मार्न सुनिश्चित गरिरहेको छ । आधुनिक विज्ञान तथा सूचनाप्रविधिले आज सिङ्गो विश्व एउटा गाउँमा परिणत भइरहेको छ । त्यसले विश्वको जुनसुकै स्थानमा हुने सकारात्मक तथा नकारात्मक घटनाले प्रभावित गरिरहेको छ । त्यसले आमश्रमिक जनताको चेतना एवम् प्राविधिक ज्ञानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । आज विकेन्द्रित उत्पादन तथा केन्द्रित वितरणको सामाजिक प्रक्रिया विश्वव्यापीकरणले काम र आवश्यकताअनुसारको वितरणको भौतिक पूर्वाधार तयार भइरहेको छ । साथै वर्गअन्तरविरोधलाई साम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबीचको अन्तरविरोधले नयाँ क्रान्तिको वस्तुगत परिस्थिति निर्माण भइरहेको छ । इन्टरनेटको सञ्जाल विकासले अर्बौं मानिसलाई जोडिरहेको छ । मानिसको ज्ञानलाई साझा बनाइरहेको छ । सूचनाप्रविधि, ऊर्जा र यातायातमा भएको क्रान्तिले पुँजीवादका दुई आधारस्तम्भ निजी सम्पत्ति र नाफामा आधारित बजार अर्थ व्यवस्थाको औचित्य समाप्त भइरहेको छ । सूचनाप्रविधिको विकास र विश्वव्यापीकरणले सेकेन्ड वा मिनेटमा कम्युनिस्ट विचारधाराको विश्वव्यापी प्रचार–प्रसार एवम् प्रवाह गर्न सम्भव छ । सूचनाप्रविधिको विकास र विश्वव्यापीकरणले नयाँ क्रान्तिको खातिर चुनौतीको चिनियाँ पर्खाल मात्र होइन, महान् सम्भावनालाई वास्तविकतामा बदल्न सम्भव छ । पुँजीवादको पराजय र वैज्ञानिक समाजवादको विजय अवश्यम्भाबी छ ।

२५ पुस, २०७९

प्रतिक्रिया दिनुहोस्