अब निरन्तर होइन, निर्णायक क्रान्ति आवश्यक

अब निरन्तर होइन, निर्णायक क्रान्ति आवश्यक

अखल क्रान्तिकारी जहानिया राणा शासनका विरुद्ध लड्ने गङ्गालाल श्रेष्ठहरूको उत्तराधिकारी हो । नेपाल आमाको छातीमाथि बुट बजार्दा त्यसको प्रतिरोध गर्ने चिनियाँकाजीहरूको उत्तराधिकारी हो । महान् जनयुद्ध र वर्गसङ्घर्षमा जीवन आहुति गर्ने बेनोज अधिकारी, पूर्ण पौडेल र अहिले प्रज्वल शाहीहरूको उत्तराधिकारी हो । त्यसकारण उद्घाटनसत्रको यो हलबाट हामी केही उद्घोष गर्न चाहन्छौँ ।

यहाँ विभिन्न विद्यार्थी सङ्गठनका साथीहरूले शुभकामना दिएर जानुभयो । म केही प्रश्न र जिज्ञासा प्रतिनिधिसाथीहरूको अगाडि राख्न चाहन्छु : हामीले हाम्रो सङ्गठनका पूर्वमहाचिव पूर्ण पौडेलकी जीवनसँगिनी आस्थालाई यो सङ्गठनले निम्ता गरेको थियो । उहाँ किन आउनुभएन ? उहाँले पूर्ण पौडेलको सपना बिर्सिनुभयो वा संसद्वादभित्र गएर पूर्ण पौडेलहरूका सपना बेच्ने कुचेष्टा गर्नुभयो ? यो हलले यसको जबाफ खोजिरहेको छ । हामीले विपीन भण्डारीका बुबा एकराज भण्डारीलाई पनि भेलामा बोलाएका थियाँै । उहाँ आउनुभएन । उहाँले विपीन भण्डारीको सपना बिर्सिनुभयो वा उहाँका सपना बेच्नेहरूसँग घुँडा टेक्नुभयो ? यो हलले जबाफ खोजीरहेको छ । हामीले प्रकाश शाहीहरूलाई पनि बोलाएका थियौँ । उहाँहरू कथित बैठकमा सहभागी हुनुभयो र यो हलमा मुख देखाउन सक्नुभएन । यो पनि एउटा जिज्ञासा हो । यो जिज्ञासाको जबाफ दिने हैसियत उनीहरूले राख्ने छैनन् तर हामी समयसँगै सङ्घर्ष र आन्दोलनबाट यसको जबाफ दिने मात्र होइन, हिसाबकिताब पनि गर्दै जानेछौँ ।

यहाँ विभिन्न विद्यार्थी सङ्गठनका साथीहरूले आआफ्नो आदर्श पनि देखाउनुभयो र केहीले निरीहता पनि प्रकट गर्नुभयो । विद्यार्थी साथीहरू, नेपालका विद्यार्थीहरू संसद्वादको दास, कारिन्दा हुन वा यसको जयजयकार गर्न सक्दैनन् । सिंहदरबारवरिपरि बसेर त्यसको जुठोपुरो खानेहरूसँग विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने नैतिक बल छैन । यहाँ एकजना बहिनीले आन्दोलनलाई चन्दामा बेच्ने सङ्गठन भन्नुभयो । उहाँहरूको पार्टीजस्तो नेकपा (बहुमत) र यसको विद्यार्थी सङ्गठन कुनै विदेशीको जुठोपुरो खाएर बस्ने सङ्गठन होइन । हामी कोही पनि भ्रमित हुन जरुरी छैन । नेपालका ९० लाख विद्यार्थीमाझ हामीले यो भ्रम सफा गर्नुपर्नेछ । त्यो भूमिका र जिम्मेवारीसहित हामी हलमा उपस्थित भएका छौँ ।

आज तपाईंहरूसँग केही जिज्ञासा र प्रश्नहरू छन् । कसैले हाम्रो सपनाको कुठाराघात गर्छन् भने ती सबै बढारिएर जानेछन् । यहाँ विद्यार्थीहरूले एउटै अखिल क्रान्तिकारीको नारा लगाउनुभयो तर हाम्रो विद्यार्थी सङ्गठन कुनै साम्राज्यवादी दलालसँग घुँडा टेक्दैन । त्यसकारण यहाँ एउटै अखिल क्रान्तिकारी सम्भव छैन । यो एक हजार वर्षको इतिहास बोकेको संसदीय व्यवस्था के हो भन्ने कुरा हामीलाई थाहा छ । संसदीय व्यवस्था भनेको, संसद् भनेको गफ गर्ने थलो हो । लेनिनको शब्दमा भन्दा यो खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो । आज संसदीय व्यवस्थाको संसद् कुकुरको मासु झुन्ड्याएर कुकुरकै मासु बेच्ने थलो बन्न गएको छ । यो अखिल क्रान्तिकारी संसद्वादको दास बन्दैन । त्यसैले एउटै अखिल क्रान्तिकारी सम्भव छैन । यो सङ्गठन विचार, दृष्टिकोण र सपनाको हिसाबले एउटै हुन सक्दैन ।

हामी सुन्दर सपना देखिरहेका छौँ । अब्दुल कलामले भनेजस्तै सपना ती होइनन् जो सुतेको बेला देखिन्छन् । सपना त ती हुन् जसले सुत्न दिँदैनन । हामी सुन्दर र महान् सपना देखेर यो हलमा उपस्थित भएका छौँ । निराशाको बाटो होइन, बलिदानको बाटो रोज्ने आन्दोलन हो अखिल क्रान्तिकारी । प्रचण्ड र विप्लवलाई जनयुद्धले जन्माएको हो । आज विप्लव कहाँ पुगे ? रामकृष्ण ढकालको गीतजस्तै ओरालो लागेको हरिणको चाल भोजस्तै भएको छ उनको जीवनमा । जनयुद्धले विप्लव बनाएको थियो । हामीले महासचिव बनाएका थियौँ । आज कैयौँ साथीहरू जेलमा छन् भने कैयौँ साथीहरूको सहादत भएको छ । विप्लवलाई यहाँबाट भाग्ने छूट छ ? यसको लेखाजोखा र हिसाबकिताब इतिहासले गर्नेछ । क्रान्ति रहरले होइन । विप्लव दाइले रहर गरेका थिए, सकेनन् ।

साथीहरूलाई थाहा छ होला रुसमा नरोदनवादीहरू थिए जसले श्रमिक वर्गलाई भीड देख्थे । भीडले होइन, वीरले क्रान्ति गर्ने हो भन्थे । त्यसकारण विप्लव दाइजस्ता एक्ले विरहरूले क्रान्ति गर्ने होइन । मुलुकमा थुप्रै पार्टीहरू छन्, एउटा रमेश सुनुवार, अर्को आहुती भन्नेको पार्टी छ । आहुती भन्छन्, स्विजरल्यान्डको ब्युरोक्र्यासी पार्टीजस्तो छ । त्यही तरिकाले पार्टी चलाउन खोजेर हामी त नयाँ गरिरहेका छौँ । नयाँ भनेको के हो ? मुखबाट खाना खाने कि नाखबाट खाने ? उनले विज्ञान र प्रविधिको कुरा गरेका छन् । विज्ञानप्रविधिले उत्पादनको ठाउँ लिइसक्यो, अब मान्छे मरे नि हुन्छ, काम छैन भन्छन् । रोबोटले क्रान्ति गर्ने हो भने रोबोट कसले बनाएको हो ? मान्छेले बनाएको होइन ? हार्डवयर मान्छेले बनाएको हो । सफ्टवयर मान्छेले बनाएको हो । मान्छे निर्णायक हो । आहुतीहरूले कागजमा लेखेको कुरा निर्णायक हुँदैन । आकाशमा गड्याङगुडुुङ गर्दा कहिलेकहीँ च्याउ उम्रिन्छ । आज बालेन, हर्क र रवि लामिछानेहरू च्याउ उम्रिएका छन् । ती च्याउहरू हुन् । च्याउको आयु चौबीस घन्टा हुन्छ र २४ घन्टापछि कीरा लागेर आफैँ झर्छ । अमेरिकामा निगम पुँजीवादले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बनायो । नरेन्द्र मोदीहरू आए । तिनीहरू सब बिलाएर गए । सुरुमा उनीहरूको जसरी हाईहाई थियो, त्यो हाईहाई बिलाएर गयो र आज त्यो भेटिँदैन । त्यस्तै आज बालेनहरू, हर्क र रवि लामिछानेहरू आउका छन् तर ती विकल्प होइनन् । जनताले विकल्प खोजेको हो । विकल्प गतिशीलतामा हुन्छ । विकल्प भनेको एउटा पात्रको ठाउँमा अर्को पात्र, संसद्वादको ठाउँमा अर्को संसद्‌वाद, साम्राज्यवादको ठाउँमा अर्को साम्राज्यवाद विकल्प हुन सक्दैन । हामी विचार र दृष्टिकोणमा स्पष्ट हुन जरुरी छ । हामी भ्रमित हुनु हुन्न । त्यसैले यो विशेष भेलाको निकै ठूलो अभिभारा छ । हामीले सहिदहरूका सपना पूरा गर्नुछ । केही कम्युनिस्ट पार्टीहरू त्यस्ता छन् जसले माक्र्सवादको रक्षाको नारा लगाइरहेका छन् । माक्र्सवादको रक्षाको ठेक्का लिएका ठेकेदारहरू माक्र्सवाद अपराजेय छ । यो सर्वशक्तिमान हो । माक्र्सवादको रक्षाको ठेक्का लिन खोज्ने ठेकेदारहरूलाई भन्न चाहन्छु– माक्र्सवादको रक्षा लेखेर हुँदैन, यसको रक्षा त प्रयोगमा हुन्छ । माओले भनेझैँ निरन्तर क्रान्ति भनेको एउटा क्रान्तिले अर्को क्रान्तिलाई पछ्याउने कुरा हो । निरन्तर क्रान्तिले मात्र हाम्रो अभिभारा पूरा हुन सक्दैन । हामीले निर्णायक क्रान्तिको कुरा गरेका छाँै । यो क्रान्ति सुदूरभविष्यको कुरा होइन । तपाईंहाम्रै जीवनमा र तपाईंहाम्रै पुस्ताले पूरा गर्ने क्रान्ति अहिलेको आवश्यकता हो ।

हिजो संसारमा हाम्रो देशको पहिचान सगरमाथाको देशका रूपमा थियो तर आज हाम्रो देश संसारमा बदनाम भएको छ । आज नेपाल संसारका सबैभन्दा भ्रष्ट र दलालहरूको अखडा बन्न पुगेको छ । नेपालका लाखौँलाख युवाहरूलाई सस्तो श्रमिकका रूपमा बेच्ने र लाखौँ युवालाई बेरोजारको सिकार बनाइएको छ । आज युवाहरू कोही निरास भएर आत्महत्या गरिरहेका छन्, कोही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर लाम लागिरहेका छन् । कोही गोर्खा भर्ती केन्द्रका लागि भनेर तिघ्रा र छाती नपाइरहेका छन् । यो हाम्रो पहिचान हुन सक्दैन । हामी यो अवस्था टुलुटुलु हेरेर बस्न सक्दैनौँ । अब हामी समस्याहरूलाई हेरेर मात्र होइन, बहसमाथि बहस गरेर निर्णायक सङ्घर्ष गर्नैपर्छ । नेपालका विश्वविद्यालयहरूलाई सैनिक ब्यारेकमा बदल्नुपर्दछ । तपाईहामी जनगणतन्त्र कोरियाका विद्यार्थीजस्तो लडाकु दस्तामा बदलिनुपर्छ ।

आज हामीले काठमाडौँमा राता टिसर्ट लगाएर मार्च पास्ट गरेका छौँ । यहाँ जनमुक्ति सेनाले त्यसरी नै मार्च पास्ट गर्ने सपना हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ । त्यो कार्यभार पनि हाम्रो काँधमा छ । मान्छेहरूले छरेका भ्रमहरूलाई चिर्दै आगामी कार्ययोजना र कार्यक्रम तय गर्नेछौँ । नेपालको यो दलाल सत्ताका विरुद्ध नलडीकन यो विद्यार्थी आन्दोलन अघि बढ्न सक्दैन । आज देशका प्रत्येक गल्लीमा कन्सल्टेन्सीहरू छन् । उनीहरूले के नारा लगाइरहेका छन् भने स्टडी इन जापान, यूके, अमेरिका, जापान, कोरिया । विद्यार्थी साथीहरू, हामीले ओयाङ हाईको गीत नामको उपन्यास सम्झनुपर्दछ । एउटा विशाल पत्थर टुक्राटुक्रा पारेपछि कसरी सम्भव भयो भनेर मानिसहरूले सोध्दा युवाहरूले जबाफ दिन्छन्– यसलाई हामीले च्याङकाइसेकको टाउको सम्झेर घन बजार्यौँ । त्यसपछि यो टुक्राटुक्रा हुन सम्भव भयो । हो त्यस्तै यो दलाल पुँजीवादी व्यवस्थाको टाउकोमा घन बजारेपछि मात्रै हामीले चाहेको जस्तो शिक्षाप्रणाली प्राप्त गर्नेछौँ । त्यो अभिभारा, जिम्मेवारी र भूमिकासहित हामी यहाँ उभिएका छौँ । यहाँबाट तयार गरिएको घोषणापत्रको उद्देश्य नेपाली विद्यार्थीहरूको हित हुनेछ । आगामी विद्यार्थी आन्दोलनले नयाँ गति लिनेछ । भेलाले नयाँ सङ्गठन, नयाँ कार्यदिशा, नयाँ नीतिसहित अघि बढ्नेछ भन्ने शुभकामना छ ।

(अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष र हाल विद्यार्थी सङ्गठनका फ्र्याक्सन इन्चार्जसमेत रहेका नेकपा (बहुमत) का सचिवालय सदस्य सिंहले भेला उद्घाटन समारोहमा दिएको शुभकामना मन्तव्यको सार ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :