…त्यसपछि म झन् स्पात भएँ

जेल/हिरासत संस्मरण

विश्व–सर्वहारा वर्गका महान् नेताहरू हिरासत र जेल जीवनलाई सामान्य मन्छन् । उत्पीडित जनताको आवाज बोकेर हिँड्ने मान्छेहरूलाई शासकहरूले आफ्नो सत्ता र अस्तित्व जोगाउन समाएर बन्दी बनाई राख्ने ठाउँलाई हिरासत र जेल भनिन्छ तर क्रान्तिकारीहरूलाई जेल जीवन सामान्य लाग्छ । उत्पीडित वर्गको आवाज बोकेर हिँड्ने क्रान्तिकारीहरूलाई हिरासत र जेल जीवन विश्राम गर्ने ठाउँ हो, अध्ययन गर्ने ठाउँ हो । नयाँ कुरा सिकेर झन् स्पातिलो भएर निस्कने ठाउँ हो । महान् सर्वहारा वर्गका नेता क. माओले क्रान्तिकारीहरू आमाको कोखबाट नभई वर्गसङ्घर्षको भट्टीबाट जन्मिन्छन् भनेझैँ क्रान्तिकारीहरूलाई हिरासत र जेलमा बन्द गरी राखेर उसको विचार बदल्न सकिँदैन, झन् स्पातिलो भएर निस्कन्छ ।

नेपालमा पनि राज्यसत्तामा पुगेका नेताहरू सबैजसो जेलमा बसेकाहरू छन् । राणाशासनविरोधी आन्दोलनमा होस् वा दसबर्से जनयुद्धमा परिवर्तनको खातिर हिँडेका क्रान्तिकारीहरूलाई राज्यसत्तामा बसेकाहरूले हिरासत र जेलमा बन्दी बनाउँदै आएका छन् । नेपालमा संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न हिँडेको म २०७६ असार ३ गते काठमाडौँ गोंगबुबाट गिरफ्तार भएँ । त्यो बेला म नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्ला समिति सदस्य तथा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक थिए । म कोठाबाट साथी भेट्न गोंगबु चोक निस्किन मात्र लागेको थिएँ, एक्कासि वरिपरि सीआईबीले घेरा हालेको अनुभव भयो । चारैतिरबाट मतिर सादा पोसाकमा रहेको टोली अघि बढ्दै थियो म त्यहाँबाट गोंगबु चोक ननिस्की अन्तै जाने विचार गरेँ र गल्लीबाट छिरेर नयाँ वस पार्कतर्फ लागेँ । म त्यहँबाट बिस्तारै घेरा छलेर माछापोखरीस्थित नयाँ बस पार्क पुगेँ । त्यहाँबाट गाडी चढेर अन्यत्र जाने सोचाइले गाडी रोक्दै थिएँ, पछाडिबाट ‘कमरेड, टाढै हिँड्न लाग्नुभयो ?’ भन्दै बोलायो । म चिनेकै कमरेड हो कि भनी पछाडि फर्कें तर मैले कहिल्यै नदेखेको ‘कमरेड’ परेछ । म त्यहाँबाट भाग्न खोजेँ तर मलाई चारजनाले समाइहाले । मैले किन समातेको ? को हो तपाईंहरू भन्दा एउटाले तपाईंविरुद्ध हामीसँग पक्राउ पुर्जी छ । तपाईं हामीसँग हिँड्नुस् भन्यो । मैले पक्राउ पुर्जी देखाउन भने तर कार्यालयमा छ, उतै हेरौँला हिँडनुस् भन्दै मलाई तान्न थाल्यो । मलाई तान्दै लगेर गाडीमा हाल्यो । गाडीमा हाल्नेबित्तिकै आँखामा कालोपट्टी बाँध्यो । कञ्चटमा पेस्तोल राख्यो र गाडीभित्रै काठमाडौँमा तेरो कुनकुन ठाउँमा बम पड्काउने योजना छ, भन् भन्दै सोध्न थाल्यो । म केही बोलिनँ । तीनचार थप्पड गालामा हान्यो । म चुप लागेर बसेँ ।

त्यसपछि मलाई अपराध अनुसन्धान महाशाखा कार्यालय पुर्यायो । सुनसान कोठामा राखियो । एक घन्टापछि कोही आएजस्तो लाग्यो । आँखामा पट्टी बाँधिएको हुनाले मान्छे चिन्न सकिनँ । उसले नम्र स्वरमा भन्यो– सर आउँदै हुनुहुन्छ । तिमीलाई थाहा भएजति सबै कुरा राम्रोसँग भन । तिमीलाई छाडिदिन्छौँ भन्दै फकाउन थाल्यो । म केही बोलिनँ । मलाई थाहा थियो– जे गरे पनि अब मलाई छोड्दैन । एक छिनपछि एकजना मान्छे आयो र त्यहाँ भएको मान्छेलाई सरले केही भन्नुभयो त ? भनी सोध्यो । छैन सर…उसले जबाफ दियो । तिमी बाहिर जाऊ…पछि आएको मान्छेले त्यहाँ बसेको मान्छेलाई भन्यो । आँखामा पट्टी बाँधिएको हुँदा म अन्धोजत्तिकै थिएँ । के हुँदैछ केही देख्न सक्दैनथेँ । सर चिसो–तातो केही लिनुहुन्छ कि भन्दै उसले मलाई सोध्यो । म केही खान्नँ, मैले जबाफ दिएँ ।

सरको घर कतातिर पर्यो ? उसले फेरि प्रश्न गर्यो । ‘दोलखा’, मैले जबाफ दिएँ । ए, दोलखा कुन ठाउँ हो सर ? फेरि प्रश्न सोधियो । मैले जिरी भनेँ । ए, जिरी त राम्रो ठाउँ हो । म जिरी बसेको छु भन्यो । म चुप बसेँ । अव तपाईं जिरीको मान्छे, क्रान्ति गर्न हिँड्नुभएको मान्छे पर्नुभएछ । हजूरको जिम्मा चैँ के छ त कमरेड भनी सरबाट ऊ कमरेड शब्दले सम्बोधन गर्न थाल्यो ।

म : मेरो केही जिम्मा छैन ।
ऊ : (अलि चर्को स्वरमा) हामीलाई थाहा छैनजस्तो लाग्छ कि के हो ?
म : थाहा छ भने किन सोधेको त ?
ऊ : (अलि नम्र भएजस्तो भएर) हैन, हजूरकै मुखबाट सुनौँ भनेर नि ?
म चुप बसेँ ।
ऊ : हजुरको जिल्ला इन्चार्ज कता हुनुहुन्छ त कमरेड ?
म : मलाई थाहा छैन ।
ऊ : तपाईंलाई के थाहा छ त ?
म : मलाई केही पनि थाहा छैन ।

ऊ झन् रिसायो र चर्को स्वरमा– तँलाई थाहा छैन भनेर हुन्छजस्तो लाग्छ ? तँलाई कसरी मुख खोलाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ भन्दै बाहिर गयो । एक छिनपछि दुईजना आएर ल हिँड् भन्दै लिएर गए । कता लगेको हो, थाहा थिएन । कोठामा पुगेजस्तो लाग्यो भुइँमा राख्यो । हात पछाडि लगेर बाँधिएको थियो । आँखामा कालोपट्टी थियो । मलाई त्यहाँ राखेर ‘सर, त्यो गोंगबुमा समातेकोलाई ल्याइयो’ भन्दै एउटाले भन्यो । एक छिनपछि अर्को मान्छे आयो सायद इन्सपेक्टर होला, मलाई फेरि सोधपुछ सुरु भयो :

सोम पाख्रिन भन्ने मान्छे कता छ ?
मैले मलाई थाहा छैन भनेँ ।
उसले भन्नु न कमरेड तपाईंले यति भन्नुभयो भने तपाईंलाई अहिले नै छाडिदिन्छौँ भन्दै फकाउन थाल्यो ।
मैले फेरि भनेँ– मलाई थाहा छैन ।
उसले अर्को प्रश्न गर्यो– हजूरको जिल्लामा के जिम्मा छ ?
मैले भनेँ– म विद्यार्थी हुँ ।
उसले बिद्यार्थीको कुन जिम्मामा काम गर्नुहुन्छ भनेर सोध्यो ।
मैले भनेँ– सामान्य कार्यकर्ता हुँ ।
उसले फेरि प्रश्न गर्यो– सुकेधाराकाण्डामा तपाईंको भूमिका के थियो ?
मैले म दोलखा जिल्लाको विद्यार्थी हुँ, सुकेधाराको कुरामा मेरो के भूमिका हुनु र भनेँ ।
उसले तपाईं त सेनामा जाने कुरा थियो रे, तपाईंको पार्टीमा जनमुक्ति सेना कति छन् ? भनी प्रश्न गर्यो । काभ्रेको बैठकमा भएको कुरा कसरी प्रहरीमा पुग्यो ? म अचम्ममा परेँ ।
म पढ्ने मान्छे हुँ । पार्टीको कुरा मलाई थाहा छैन भनेँ ।
उसले त्यहाँ भएका दुईजनालाई सरलाई चिसो भएजस्तो छ, तातो खानेकुरा दिनुपर्यो । खानेकुरा लिएर आइजा त भन्यो ।

उसका केटाहरू बाहिर गए । उसले अलि चर्को स्वरमा– तँ जिल्लामा त खुब चर्चामा रैछस् । खुब क्रान्तिको कुरा गर्छस् रे । एकीकृत जनक्रान्ति गर्छु भन्दै हिँड्छस् रे ? भन्दै एकैचोटि भन्यो ।

क्रान्ति गर्न पाउनु जनताको अधिकार हो । जब देशमा भ्रष्टाचार बढ्छ, जनताको राज्यसत्ता सीमित मान्छेको हातमा हुन्छ । महँगी बढ्छ, शिक्षामा समानता हुँदैन तब म मात्रै हैन, मजस्ता हजारौँ देशभक्तहरू क्रान्ति गर्न सडकमा आउँछन्– मैले भनेँ ।

उसले मलाई केही नभनी एक्कासि कुट्न थाल्यो । गालामा दुई थप्पड हान्यो अनि बुटले जिउमा हिर्काउन थाल्यो । तीनचार बुट हिर्काएपछि तिमीहरू आतङ्ककारी हौ । देशमा अशान्ति फैलाउने, जनता भड्काउने तिमीहरू भन्दै पाइपले हिर्काउन थाल्यो । उसले पाइपले हान्दै तेरो कमान्डर कहाँ छ भनी सोध्यो । मैले थाहा छैन भनेँ । त्यसपछि उसले फेरि पाइप र बुटले हिर्काउन थाल्यो । म बेहोस भएँछु । पछि होसमा आउँदा जिउ सबै दुखेको रहेछ । उठ्न खोजेँ, सकिनँ । पानी खान मन लाग्यो । हात बाँधिएको थियो । आँखामा पट्टी थियो । त्यत्तिकै बसेँ ।

पछि कोही आएजस्तो लाग्यो । मैले पानी खान मन लाग्यो, पानी खाने भनेँ । तर फेरि तिनै प्रश्नहरु दोहोर्याइयो– तेरो साथीहरू कताकता छन्, त्यति भन् त, तँलाई छाडिदिन्छु ।

मैले मनमनै सोचेँ– बरु म मर्छु तर केही भन्दिनँ ।
म चुप बसेँ । मलाई उठाएर कुर्सीमा राखियो अनि फेरि प्रश्न गर्न थाल्यो– तिमीहरूको योजना केके छ ?
मैले भनेँ– मलाई केही थाहा छैन ।

हातमा केही चीजले खोपेजस्तो लाग्यो । हात सार्न खोजेँ तर समातेर सार्न दिएन । लगातार प्रश्न गर्दै हातमा खोप्न थालियो । म सहँदै बसेँ । केही गर्दा पनि नसकेपछि उनीहरू निस्किए । जिउ दुखेर मलाई कतै लडौँजस्तो भएको थियो । म भित्तामा अडेस लागेर बसेँ ।

एक छिनपछि फेरि तीनजना आए र उही प्रश्न गर्न थाले । जिउ दुखिरहेको थियो । सबैले एउटै बनिबनाउ प्रश्न मात्रै गर्ने हुँदा दिक्क पनि लाग्यो । मैले भनेँ– मलाई केही थाहा छैन भनेर कति भन्नु ?

त्यसपछि फेरि कुट्न थाल्यो । त्यो रातभरमा म तीनचोटि बेहोस भएँ ।

दिनको दुई बजेतिर मलाई चक्रपथ हिरासतमा लगियो । हिरासतभित्र पुर्याएपछि जब आँखाको पट्टी खोलियो हातमा हेरेँ । हातमा त पिन खोपिएको रहेछ । धेरै दुखिरहेको थियो । शरीर पूरै थङ्थिलो भएको थियो । जता छोए पनि दुख्ने भएको थियो । म हिरासतभित्र सुतिहालेँ । राती करिब नौ बजेतिर मलाई बोलाइयो । यसो हेरेको प्रहारी जवान रहेछ । तपाईंलाई डीएसपी साहेबले बोलाउनुभाको छ, हिँड्नुस् भन्यो । म डीएसपीको कार्यकक्षमा गएँ । डीएसपीले करिब एक घन्टा सोधपुछ गरेपछि फेरि हिरासतमै लगियो । भोलिपल्ट दिनको १२ बजेतिर फेरि मलाई प्रहरी भ्यानमा हालेर लगियो । जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी मलाई टेकु हिरासतमा लगियो ।

म त्यहाँ पुग्दा कमरेड मुकुन्द, कमरेड सागर र दोलखा जिल्ला इन्चार्ज कमरेड यादव दाहाललाई पनि त्यहीँ ल्याइएको रहेछ । करिब एक महिना हिरासत बसाइपछि धरौटी खुल्यो । धरौटी तिरेर निस्कन खोज्दा दोलखा लगिने भन्ने खबर सुनियो । हामीले धरौटी नतिर्ने निर्णय गरर्यौ र जेल गयौँ । जेल बसाइ करिब ४ दिनको रह्यो । त्यसपछि म साउनको ३ गते रिहा भएँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :