शक्तिशाली विद्यार्थी आन्दोलनको आवश्यकता

शक्तिशाली विद्यार्थी आन्दोलनको आवश्यकता

हामी नयाँ उत्साह, उद्वेलन र जिज्ञासासहित यो विशेष राष्ट्रिय भेलामा सहभागी भएका छौँ । २०२२ सालमा स्थापना भएको अनेरास्ववियुको एउटा उत्तराधिकारी सङ्गठनले आफ्नो साङ्गठनिक हैसियत प्राप्त गर्ने एउटा भेला सम्पन्न गर्दैछ । यो राष्ट्रिय भेला सम्पन्न गर्दै गर्दा मलाई एउटा कुराको स्मरण आयो । मैले तत्कालीन महासचिवलाई एउटा कुरा भनेको थिएँ : पार्टी गलत बाटोतिर नजाओस् । यो चन्द माओवादी हो कि चन्दा माओवादी हो भनेर भनिरहेका छन् । हामी कतै बिलाउँदै त छैनौँ ? गलत त गर्दैछैनाैँ भनेर प्रश्न गरेको थिएँ । त्यो मेरो दुस्साहसी प्रश्न थियो । तर उनले यो कुरा को रूखो र कडा ढङ्गले प्रतिवाद गरे । मैले भन्न खोजेको के हो भने के कुरा किन भयो, कसरी भयो भनेर मन्थन गर्दैनौँ, किन भनियो भनेर कारण खोज्दैनौँ, नयाँ अन्वेषणको अन्त्य त्यहीँ हुने रहेछ । जब हामी किन भन्ने प्रश्नलाई स्वीकार गर्दैनौँ । अन्ततः विप्लव समूह आज भाइ, छोरा, भतिज र आफ्ना अंशियारहरूलाई भर्ती गर्ने प्राइभेट कम्पनी बनेको थियो, त्यस कम्पनीबाट विद्रोह गरेर यहाँ, क्रान्तिको मैदानमा आउनुभएको छ । यसलाई म विद्रोहको राष्ट्रिय भेला भन्छु । म तपाईंहरूप्रति आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरूले जनवादलाई अलिकति माथि उठाइदिनुभएको छ । तपाईंहरूले जनवादलाई मर्न दिनुभएको छैन । जनवादको हत्या हुन दिनुभएको छैन । त्यस अर्थमा यो विशेष राष्ट्रिय भेलाको विशेष अर्थ छ ।

अर्को कुरा, यहाँ शुभकामना दिन अनेरास्ववियुलगायत सङ्गठनका साथीहरू आउनुभएको छ । म के भन्न चाहन्छु भने जतिबेला यहाँ एउटै अनेरास्ववियु थियो त्यतिबेला देश–विदेश हल्लाएको थियो । मुलुकको राजनीतिको मुख्य बागडोर त्यसले समातेको थियो । परिवर्तनको बागडोरका रूपमा हामीले अनेरास्ववियुलाई बुझ्ने गरेका थियौँ । इतिहासमा ज्यादै महत्वपूर्ण भूमिका अनेरास्ववियुले पूरा गरेको थियो । जब अनेरास्ववियु टुक्रा–टुक्रा भयो त्यसभित्रैबाट नेविसङ्घ जन्मियो । त्यसबाट अरूहरू बन्न थाले । जनयुद्धको तयारी गर्दै गर्दा अनेरास्ववियु (क्रान्तिकारी) बन्यो र त्यसले धर्ती हल्लाएको थियो । जब त्यो अनेरास्ववियु (क्रान्तिकारी) पनि टुक्रा–टुक्रा हुन थाल्यो त्यही अनेरास्ववियुको उत्तराधिकारीको सङ्गठनिक हैसियत प्राप्त गर्दैछौँ । आज यहाँ थुप्रै अनेरास्ववियु (क्रान्तिकारी) का नाउँमै साथीहरूले आसन ग्रहण गर्नुभयो, यो के भएको हो ? शैक्षिक क्षेत्रमा जुन दबदबा र प्रभाव थियो, सुधारका जुन सकारात्मक कामहरू भएका थिए, के आज त्यो स्तरमा भएको छ ? छैन । जब अनेरास्ववियु टुक्रियो, विचारहरू, आस्थाहरू, आदर्श र विश्वासहरू पनि टुक्रिए । जनतासँग खण्डित गर्ने काम भयो । आज ससाना टुक्रामा बदलियो र विश्वास गुमाइयो ।

आज नयाँ विश्वास र नयाँ आदर्श निर्माण गर्नका लागि हामीसँग एउटा प्रश्न उब्जिएको छ । यो समस्याको हल गर्नका लागि विद्यार्थी हुनुको नाताले हामी हाम्रा मातृपार्टीहरूलाई खबरदारी गर्न सक्छौँ कि सक्दैनौँ ? यो प्रश्न छ । विद्यार्थी आनदोलन मातृपार्टीको पछाडि कुदिरहने हो कि बिग्रिएका पार्टीहरूलाई नयाँ ठाउँमा ल्याउन पहल गर्ने हो ? हामी त्यो गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न तेर्सिएको छ ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई आदर्श मान्ने कम्युनिस्ट पार्टीभित्र किन पटकपटक फुट आउँछ । काङ्ग्रेसहरू त फुट्दैनन् भने कम्युनिस्टहरू किन पटकपटक टुक्राटुक्रामा विभाजित हुन्छन् ? यो गम्भीर प्रश्न बनेको छ । हामीले मार्क्सवादलाई सिद्धान्तको तहमा मात्र अवलम्बन गर्यौँ तर व्यवहारमा अर्कै गर्यौँ । हामीलाई प्रचण्डले बालाजु बैठकमा मुखमा संविधानसभा र दिमागमा विद्रोह बोकेर जानुहोस् भनेर भ्रम पारेका थिए । हामीले त्यसलाई आत्मसाथ गर्यौँ तर त्यो रहेनछ । त्यस्तै

विप्लवले ‘महाधिवेशनमा हतियार किन्न भनेर उठाएको पैसाले उनीहरुले गाडी किने’ भने तर आज विप्लवले त्यसै गरे । त्यसका विरुद्ध हामीले विद्रोह गर्ने साहस गर्यौँ र आज यो अवस्थामा पुगेका छौँ । नेपालको वामपन्थी विद्यार्थी आन्दोलनका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा तपाईंहरू गहन छलफल गर्नुहोला । नेपालमा के राजनीतिक आन्दोलनको औचित्य समाप्त भएको छ ? विद्यार्थी आन्दोलन अघि बढ्न किन सकेन, बहस गरौँ । एकातिर मागपत्र पेस गर्ने र अर्कोतर्फ दामपत्र पेस गर्ने, बाहिर–बाहिर आन्दोलन गर्ने, भित्र गएर मालिकसँग मिलेर पैसा लिने, एउटा सङ्गठनले एकातिर सङ्घर्षको कार्यक्रम घोषणा गर्ने, अर्को सङ्गठनले अर्कोतिर गएर दीप प्रज्वलन गर्ने कार्यले गर्दा आज विद्यार्थी आन्दोलन कमजोर भएको छ । हामी विद्यार्थी आन्दोलनमा रहँदाखेरि एकातिर सङ्घर्ष, आन्दोलन र वार्ता गर्ने, अर्कोतिर भित्र गएर सहमति गर्ने र कर्मचारी भर्ती गर्ने, आन्दोलन गरेको देखाउन वक्तव्य जारी गर्ने तर भित्र पैसा खाने कारणले गर्दा आज विद्यार्थी आन्दोलन बदनाम भएको छ ।

म एउटा अनुभव भन्छु– सेमेस्टरको आन्दोलनमा म मेरो सङ्गठनभित्र पनि झन्डैझन्डै एक्लै परेको थिएँ । त्रिविमा अन्तिम सहमतिका लागि वार्ता चलिरहेको थियो । मेरै सङ्गठनका साथीहरूले साइन गर भनेर दबाब दिनुभएको थियो । म एक्लै पर्दा पनि कारबाही भए पनि होस् भनेर सेमेस्टरमा साइन नगरेको मान्छे हो तर मेरा केही साथीहरूले सेमेस्टर लागू गर्ने भएपछि उहाँहरूले आफ्ना श्रीमती र केही आफन्तहरूलाई जागिर लगाइदिने सहमति गर्नुभएको रहेछ । यसको रहस्य पछि खुलेको थियो । यस्तो अवस्थाको सामना गर्दै आएका छौँ हामीले । हाम्रो उद्देश्यप्रतिको इमानदारीमा यो नेतृत्व कहिल्यै पनि विचलित नहोस् । यौ नैतिकता र उच्च आदर्श तपाईंहरूमा कायम रहोस् भन्ने विश्वास व्यक्त गर्दछु ।

(अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेला उद्घाटन समारोहमा दिएको शुभकामना मन्तव्यको सार ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :