६ कम्युनिस्ट पार्टी/मोर्चाद्वारा महँगी, नागरिकता विधेयक र राष्ट्रघातविरुद्ध २७ गते देशव्यापी प्रदर्शन घोषणा

काठमाडौँ : नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी/मोर्चाले महँगी, नागरिकता विधेयक, राष्ट्रघातलगायत सरकारले गरेका राष्ट्रघाती, जनघाती निर्णय र कार्यविरुद्ध २७ गते देशव्यापी प्रदर्शन गर्ने भएका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै ६ कम्युुनिस्ट पार्टी/मोर्चाले सरकारले गरेको जनघाती र राष्ट्रघाती क्रियाकलापविरुद्ध संयुक्त सङ्घर्ष जारी रहेको र त्यसकै अर्को चरणका रूपमा असार २७ गते विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोध कार्यक्रम आयोजना गरिएको उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पवनमान श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेपाल कम्युनिस्ट पार्टी मसाल (केन्द्रीय समन्वय समिति) का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालका पासाङ मोक्तान र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका नारायणप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको प्रमुख खाद्य बाली धान रोपाइँको अन्तिम समयसम्म आइपुग्दा पनि किसानहरूले मलको चर्को अभाव झेल्नु परिरहेको छ । पटकपटक पेट्रोलियम पदार्थमा गरिएको अचाक्ली मूल्य वृद्धिले जनताको टाउकोमाथि चौतर्फी महँगीको भार बढेको छ । यसले आमजनताको जीवन निकै कष्टकर बन्दै गैरहेको छ । कमिसनको लोभमा जनतामाथि कष्ट थोपरेरै भए पनि सरकार जनताको रगत–पसिना चुस्ने नाङ्गो खेल खेलिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही बेला नेपालको राष्ट्रियतामाथि गम्भीर दीर्घकालीन असर पार्ने नागरिकता विधेयक संसद्मा टेबुल गर्ने षड्यन्त्र भैरहेको छ । सरकारका यसखाले जनघाती र राष्ट्रघाती क्रियाकलापविरुद्ध हाम्रो संयुक्त सङ्घर्ष निरन्तर जारी छ । त्यसकै अर्को चरणका रूपमा हामी तपसिलका पार्टी र मोर्चाहरूले असार २७ गते विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोध कार्यक्रम आयोजना गरेको यही विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :