नभुलौँ सहिदहरूका सपनालाई !

सन्दर्भ : २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

नभुलौँ सहिदहरूका सपनालाई !

दोरम्बा हत्याकाण्ड भएको बर्सौं बितिसकेको छ । तत्कालीन सरकार र विद्रोही माओवादीबीच वार्ता चलिरहेको बेलाको घटना । अन्तर्राष्ट्रिय रूपमा नै बुहचर्चित नकारात्मक परिघटना । एकातिर दर्जनौँ क्रान्तिकारी सहयोद्धाहरूले ज्यान गुमाएको घटना, अर्कोतिर बलिदानी र उत्सर्गको नयाँ कीर्तिमान कायम गरेको त्यो क्षण ! खोइ, बलिदानीको उत्कर्ष थियो कि नरसंहारको दुर्दशा ! मथिङ्गलमा कुरा खेल्दा प्रश्न उब्जिन्छ । जबाफ सहज छैन । किनकि नेपाली क्रान्तिको स्थिति न घरको न घाटको भएको छ । हजारौँको बलिदानले सार्थकता पाउने हो कि होइन ? आगामी दिनले बताउनेछ । तर हामीलाई दोरम्बा हत्याकाण्ड, गौर हत्याकाण्डजस्ता कहालीलाग्दा घटनाहरूले झस्काइरहेका छन् । पिरोलिरहेका छन् । जे होस्, निरन्तर क्रान्तिमा लागिरहन प्रेरणा मिलेको छ । ती तमाम सहिदहरूलाई रातो सलाम !

लेखक : शरद रसाइली

बलिदानबिना क्रान्ति सहज तरिकाले सोचेजस्तै अगाडि बढ्दैन, बढ्नेछैन । लाखौँ–करोडौँको बलिदानबिना संसारमा क्रान्ति कहीँ पनि सम्भव भएन र हुनेछैन । क्रान्ति चुनाववाट हुने कुरा पनि होइन किनकि क्रान्तिले राज्यसत्तामा वर्गको नेतृत्व परिवर्तन गर्ने उद्देश्य राख्छ । पुँजीपति वर्गले आफ्नो हातको राज्यसत्ता दयामायाले कहिल्यै अर्को वर्गलाई हस्तान्तरण गर्दैन । बरु सर्वहारा वर्गले बलिदानको असङ्ख्य मूल्य चुकाएर नयाँ इतिहास रचना गर्छ । क्रान्तिको यही सार्वभौम मान्यतालाई आत्मसाथ गर्दै धर्ती र आकाश हल्लाउने नेपाली जनयुद्धमा हजारौँको बलिदान भयो । हजाराैँ वीर–वीराङ्गनाले आफूलाई बलिदानको कोटामा समाहित गराए । दस वर्षको बलिदानीपूर्ण सङ्घर्षले राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो तर आज विश्व–सर्वहारा वर्गको आशाको प्रकाशपुञ्ज बनेको माओवादी पार्टी गम्भीर अन्तरसङ्घर्षको मोडबाट अघि बढिरहेको छ । अवश्य पनि यस अन्तरसङ्घषले पार्टीलाई जीवन्तता नै प्रदान गर्ला तर ऐसआराम र विलासिताको जीवनशैलीले क्रान्तिलाई कतिखेर कहाँ लगेर विसर्जन गर्ने हो ? क्रान्ति अगाडि बढ्ला वा नबढ्ला ? सहिदहरूको बलिदानको सम्मान होला वा नहोला ? यसै भन्न सकिने अवस्था छैन । क्रान्ति निरन्तर प्रवाह हो । रोकिने कुरा होइन तर यतिखेरको हाम्रो पार्टीको दुरवस्था र हाम्रो तरिका देखेर महान् सहिदहरूले गिज्याइरहेको अनुभूति हुन्छ ।

हामी भन्छौँ पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष पार्टीजीवनको उत्प्रेरक हो । पार्टीभित्र चल्ने स्वस्थ र मैत्रीपूर्ण सङ्घर्षले पार्टीलाई सशक्त बनाउँदै रूपान्तरण गर्छ । आज हामीले अन्तरसङ्घर्षको जुन विधि अपनाइरहेका छौँ, यो आफैँमा नयाँ र हाम्रो वर्गलाई निराश पार्नेखालको छ । बहसको विषय र पात्रहरूलाई अतिशयोक्तीकरण गर्ने वा अतिन्यूनीकरण गर्ने खालको हाम्रो बहसको तरिका भएकाले पार्टीलाई आवश्यक ऊर्जा प्राप्त हुन सकिरहेको छैन । हामी कोही उग्रवादी भइसकेको जस्तो, कोही दक्षिणपन्थी नै भइसकेको हाम्रो ठम्याइ हो भने यो निष्कर्षले के परिणाम ल्याउँछ ? निष्कर्ष हाम्रो यही हो भने बहसको जरुरी नै परेन नि । आआफ्नो बाटो अपनाए हुन्छ तर विषय यस्तै होइन । बहसको खाँचो छ तर बहस यसरी नगरौँ कि एकथरी शान्ति र संविधान मन पराउने, अर्कोथरी जनविद्रोह मन पराउने, पार्टी आफैँचाहिँ शान्ति र संविधानमार्फत जनविद्रोह गर्ने । पार्टी विपरीतहरूको एकत्व हो भन्ने यथार्थलाई स्वीकार गर्छाैँ भने पार्टीभित्र पार्टीबाहेक दुईथरी कसरी हुन्छ ? सबैथरी प्रवृत्ति मिलेर पार्टी बन्छ कि एकैजना राजामहाराजा पल्टेर बन्छ पार्टी ? दुईथरी गैरपार्टी त पार्टीमा आवश्यक नै परेन । आफूलाई ठीक नलागेको पक्ष गैरपार्टी हुन्छ भन्ने मान्यता राख्यौँ भने के हामी माक्र्सवादी बन्न सक्छौँ ? के यही हो त द्वन्द्ववाद ? फरक विचारसमूह वा व्यक्तिहरूबीचको ठूलठूला लाइन सङ्घर्षबाट नै क्रान्तिकारी विचारको जन्म हुने हो । एक्लै भइदिए हुन्थ्यो वा फरक विचार राख्ने व्यक्ति नभइदिए हुन्थ्यो भन्ने हो भने माक्र्सवादको पनि जन्म हुने थिएन होला । कार्ल माक्र्ससँग एङ्गेल्स, बाकुनिन र काउत्स्कीहरू नभएको भए, लेनिनसँग स्टालिन, मार्तोभ र प्लेखानोभहरू नभएको भए र माओसँग चाउएन लाई, छन त्यु स्यु र वाङ्मिनहरू नभएको भए ठोकेर भन्न सकिन्छ, माक्र्स माक्र्स बन्नुहुने थिएन, लेनिन र माओ लेनिन र माओ बन्नुहुने थिएन । नेतृत्व भीषण वर्गसङ्घर्षबाटै पैदा हुने हो । एकजना व्यक्तिलाई सार्वभौम घोषणा गरेर कसैले पनि उसलाई चुनौती दिनु हुँदैन भन्यौँ भने सही अर्थमा सफल नेतृत्व प्रणालीको विकास हुन सक्दैन । चीनमा जनयुद्धको सुरुआत माओले गर्नुभएको होइन तर दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावका विरुद्ध क. माओले चुनौती खडा गरिदिनुभयो र उहाँ चिनियाँ क्रान्तिको सफल प्रयोगकर्ता बन्नुभयो ।

आज हाम्रो पार्टीमा सयौँ आर्थिक र सांस्कृतिक प्रश्नहरू उठेका छन् । के बिग्रियो भन्न नपाइने ? दङ्ग गनाउन थालिसक्यो, गनायो भन्न पनि नपाइने ? आलोचना गर्दा, प्रश्न उठाउँदा छाला काढेको भन्न थालियो भने कसैले पनि छालाले ढाकिदिइरहन सक्दैन । आलोचना गर्नु, प्रश्न उठाउनु नै छाला हालिदिनु हो नि त । प्रश्न उठ्छ, आलोचनाको पनि त सीमा हुन्छ । त्यसो त कमजोरीको पनि त सीमा हुन्छ । माओले भन्नुभएजस्तै बेलैमा आलोचना गर्न सक्नुपर्छ र तिखो आलोचना गर्न सक्नुपर्छ । कसैले कि तिखो आलोचना सहन गर्नसक्ने हुनुप¥यो कि त कमजोरी नै नगर्नु पर्यो । मानौँ नेतृत्व देश र जनताप्रति प्रतिबद्ध, निष्ठावान् र आदर्शवान् छ भने त क्रान्ति गर्ने मान्छेले खाल्टो खन्दै खन्दैन नि । वर्गसङ्घर्षमा समस्या आयो भने जनतामा जाने हो । अन्तरसङ्घर्षमा सङ्कट आयो भने पनि जनतामा नै जाने हो । भन्नुको तात्पर्यचाहिँ समस्या जे हो, त्यसलाई गुपचुप राख्ने भन्ने हो र ? जस्ताको तस्तै जनतासम्म लग्नु पर्दैन र ? जनताले मुर्दावाद ! भनिरहँदा हामी जिन्दावाद मात्र कतिन्जेल भनिरहने ? के सही र के गलत भन्ने कुराको अन्तिम फैसला जनताले नै गर्ने होइन र ? निश्चित रूपमा पूर्वाग्रहपूर्ण तरिकाले नेतृत्वलाई खुइल्याउनु हुँदैन । पार्टी फुटाउन खोज्नेलाई ‘अपराधी’ भन्दा अरू नेताको चाहिँ सम्मान हुन्छ र ? साम्राज्यवादी घुसपैठभन्दा के आन्दोलनप्रति न्याय गर्छौं ? हामीले नै स्थापित गरेका हाम्रा सबै नेताहरूको हामीलाई माया छ । प्रचण्ड विश्वक्रान्तिको नायक बन्न लायक भइदिए हुन्थ्यो भन्ने थियो । विचार र दृष्टिकोणका आधारमा चलाउनुपर्ने पार्टीलाई बहुमतको हतियार प्रयोग गरेर चलाउने महाभूलको सुरुआत कहाँबाट भयो, यो विचार गर्नेुपर्ने विषय हो । हेडक्वार्टरवरिपरिका आसेपासेहरूको दिमागले यो गराएको हो भने पनि गल्ती भएको छ । आशा गरौँ भविष्यमा दोहोरिनेछैन । बहुमतले क्रान्ति गर्ने होइन, एकताले हो । हामी भनिरहेका छौँ– सबै नेताहरू एक ठाउँमा हुनुपर्छ र क्रान्तिको नेतृत्व गर्नुपर्छ । जनविद्रोहको अनिवार्य सर्त हो यो । त्यसो हो भने पार्टीभित्र बहुमत र अल्पमतको अभ्यासको सुरुआत गरेर किन जनतालाई पनि विभाजित गर्दैछौँ ? जनतालाई एक ढिक्का गर्न सक्यौँ भने मात्र क्रान्ति सफल पार्न सक्छौँ । आज केन्द्रदेखि सेलसम्म को कताको भनेर सङ्ख्या निकाल्ने परिपाटी सुरु भएको छ । विचारको सङ्घर्षमा बहुमत वा सङ्ख्याको कुनै गुन्जायस हँुदैन । हाम्रा विचारहरूलाई वस्तुसङ्गत र तथ्यसङ्गत सिद्ध गर्नु हाम्रो कार्यभार हो नकि बहुमत सिद्ध गर्नु । बहुमत अस्थायी कुरा हो, जसले पनि बनाइदिनसक्छ, यो यसअघि नै हामीले थाहा पाइसक्यौँ । हामीलाई एउटा ऐतिहासिक शिक्षा पनि मिलेको छ ।

आज पार्टीभित्र जुन समस्या देखिएको छ, कसैले माक्र्सवाद धेरै बुझेर र कसैले बुझ्दै नबुझेर होइन । माक्र्सवादको प्रयोगमा देखापरेको समस्या हो यो । नेपाली क्रान्ति नयाँ पनि मानियो, मौलिक ढङ्गको हुने कुरा पनि मानियो तर अनुभूत हामीलाई के भयो त । नयाँ भयो ? भएन । मौलिक भयो ? अनिश्चयको घेरामा छ । १२ बँुदे समझदारी राज्यसत्ता कब्जा गर्ने आधार तयार पार्नका लागि भनिएको थियो । जनयुद्धलाई सहरमा जोड्न भनिएको थियो । संविधानसभाको निर्वाचन विद्रोहकै लागि भनिएको थियो । दस्ताबेजमा कतिपल्ट भयो चार तयारी लेखिएको तर सिन्को भाँचिएको छैन । बरु युद्धबाट आएका जुझारू कार्यकर्ताहरू पलायन भइरहेका छन् । विचलित छन् । विद्रोहका लागि बाहिरी तयारीमा निकालिएका जनमुक्ति सेनाका कमान्डरहरू एनजीओहरूको उक्साहटमा आन्दोलित हुनुपर्ने परिस्थितिमा पुगेका छन् । एकपछि अर्को सरकार बनाउनेमा मात्र पार्टीको समय बितेको छ । आन्तरिक संरचना र शक्तिलाई सुदृढ गर्न सकिएको छैन । अनि कसको भरमा विद्रोको सपना देख्दैछौँ ? सर्वहारा वर्गको पार्टीको अग्रदस्ता भन्न आज धक मान्नुपर्ने अवस्था उत्पन्न भएको छ । प्रचण्ड र दुई दशकदेखि नेतृत्वमा हुनुहुन्छ र सफल हुनुहुन्छ भन्ने हाम्रो विश्लेषण हो भने सफलताको श्रेय सबै प्रचण्डलाई अनि असफलताको अपजसचाहिँ मुख्य नेतृत्व अरूलाई मात्र ! सफल हँुदा आफ्नै कारणले मात्र, असफल हुँदा अरूको कारणले भन्न मिल्दैन । यसको निचोड प्रचण्ड असफल भइसकेको भन्नेचाहिँ होइन तर चाहेर वा नचाहेर नसकेको त पक्कै हो । अध्यक्षको क्रान्तिकारी लाइनका विरुद्धमा कहिले को खडा भएको छ र ? तर शान्ति र संविधानको लाइन क्रान्तिकारी हो भने भन्नु केही छैन । संविधानसभालाई उपयोग भन्नेमा कोही असहमत छैनन् तर त्यहीँ हराउनु त भएन नि ! के नेपाली काङ्ग्रेस र एमालेले भनेजस्तै गरी शान्तिप्रक्रिया टुङ्गिएला ? संविधान बन्ला ? यो असम्भव कुरा हो । फरकफरक राजनीतिक दर्शनको जगमा एउटै सहमतिको संविधान कुनै हालतमा बन्दैन । त्यसकारण हाम्रो तयारीलाई नछोडौँ भन्नेमा जोड हो ।

यही तयारी किन चाहियो भन्ने खालको उदासीनता र तयारी गर्नुपर्छ भन्नेहरूका बीचको सङ्घर्ष होइन र अहिलेको अन्तरसङ्घर्षको प्रधान पक्ष ? हिजो आम–छापाखानाहरूमा र बहसको एउटा वृत्तमा एउटा गलत सूचना सनसनीपूर्ण ढङ्गले प्रचार भइरहेको छ, त्यो हो पार्टी भित्रको दुई लाईन सङ्घर्ष भागबन्डामा गएर समाप्त भयो । आखिर जुँगाको लडाइँ त थियो रे । पदकै लागि थियो भने त पार्टी फुटाउँदा धेरै नेता पार्टी अध्यक्ष नै हुने थिए नि किन कार्यविभाजन गरिराख्नुपथ्र्यो र ? भागबन्डाको लडाइँ भन्ने तल्लो स्तरको कुतर्कले पार्टीको अन्तरविरोधलाई समाधान होइन, उत्तेजक बनाउन चाहन्छन् भन्ने प्रस्ट हुन्छ । जसले पार्टीमा एकता देख्न चाहँदैनन्, फुट चाहन्छन् र आफ्नो निहित स्वार्थ पूर्ति गर्न चाहन्छन् । कार्यविभाजनको विषय समग्र विचार दृष्टिकोणसँग सम्बन्धित छैन भनी भन्न मिल्दैन । कामको सही र वैज्ञानिक विभाजन क्रान्तिकारी पार्टीमा अनिवार्य छ । यही कार्यविभाजन ठीक ढङ्गको हुन नसक्दा र मूर्त जिम्मा दिन नसक्दा आवश्यक पर्दा पहलकदमी लिन नसकिरहेका थुप्रै घटनाहरू छन् । अति केन्द्रीयता र अति प्राधिकारले नोकरशाहीतन्त्रलाई नै जन्म गराउँछ । प्राधिकारको बहस अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण सैद्धान्तिक विषय हो । यति महत्वपूर्ण विषयलाई भागबन्डाको डसबिनमा हालिदिएपछि प्रतिक्रियावादी शाक्तिहरूले हाम्रो दिमाग कति खराब गरिदिएछन् भन्ने सहज अनुमान गर्न सकिन्छ । अध्यक्ष प्रचण्डले जता खुट्टा टेके पनि दायाँबायाँ त हो अरू के हो र हुने ? तर अरू नेताहरूको कु्रा मिल्यो भने अपवित्र, अप्राकृतिक र अराजनीतिक हुने ? यो कसरी हुन्छ । त्यही काम प्रचण्डले गर्दा सुनैसुनले सजिएको हुने अरूले गर्दा गोबरले लत्पतिएको हुने ? प्रत्येक नेताहरूको योग्यता र क्षमताअनुसार उचित कार्यविभाजन गरौँ भन्दा टपरे हुने, एउटै व्यक्तिमा असीमित अपारदर्शी जिम्मेवारी र स्रोतसाधन केन्द्रित भइराख्दा केही नहुने ? पार्टी फुटे पनि फुटोस् ! शान्ति र संविधान नछोड, देशको नेतृत्व तपाईं लिनुहोस् भनी खगेन्द्र सङ्गौलाहरूले उक्साइरहेका छन प्रचण्डलाई । हामी देशको, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकै नेतृत्व लिनुस् भनिरहेका छौँ । विश्वक्रान्तिकै पहलकदमी लिनुस् भनिरहेका छौँ । तर रूपान्तरित हुनुपर्यो । निष्ठा र आदर्शको स्रोत बन्नुप¥यो । लाखौँ कार्यकर्ता र करोडौँ जनताको मन जित्नुप¥यो । कार्यशैली र आचरणहरू सुधार्नुप¥यो, पुँजीपतिवर्गको नेतृत्वजस्तो होइन सर्वहारावर्गको नेतृत्व । हामीले भनेको र चाहेको बस् यत्ति हो ।

वर्तमानले हामीलाई धेरै कुरा सिकाइरहेको छ । पार्टीनेतृत्व र क्रान्तिबारे कतिपय हाम्रा विगतका बुझाइहरू अपर्याप्त र गलत साबित भएका छन् । हाम्रा विगत स्कुलिङका कतिपय पक्षहरू गलत भएको हुनाले हाम्रो स्कुलिङलाई सच्याउनुपर्ने देखिन्छ । जस्तै : पार्टी र त्यसको नेतृत्वले कहिल्यै गल्ती गर्दैन र नेतृत्व बिग्रिँदैन भन्ने जड प्रकारको आदर्शवादी सोचाइ हामीमा हुन गयो । यसले गर्दा नेतृत्वप्रतिको बुझाइ द्वन्द्वात्मकभन्दा एकात्मक र आदर्शवादी प्रकारको भयो । यति धेरै विश्वास कि देख्दैनदेखेको व्यक्तिलाई आदर्श भनेर बलिदानको यात्रामा हामफालियो । प्रचण्डले यसो भन्नुभयो रे भन्ने एक शब्दले बर्सौँसम्म ऊर्जा मिल्न जान्थ्यो तर आज त्यो विश्वास कसरी गुम्दै गइरहेको छ । नेतृत्व स्वयम्को कमजोर विगतको स्कुलिङमा त्रुटि छ भन्ने बुझ्नुपर्छ । ठूलाठूला मोर्चाहरू हार्दा पनि विश्वास गर्नुपर्ने विशुद्ध समझदारी गर्दा, जनयुद्ध अन्त्यको घोषणा गर्दा, स्थानीय जनसत्ता विघटन गर्दा, संविधानसभाको निर्वाचनले पनि विद्रोहको वातावरण नबन्दा पनि नेतृत्वले कमजोरी कुनै हालतमा गर्दैन भन्ने नै भयो तर कमजोरी नै नगर्ने व्यक्ति कोही नहुने रहेछ । खरीपाटीको निर्णय कार्यान्वयन भएन । बालाजु विस्तारित बैठकको निर्णय कार्यान्वयन भएन । पालुङटारको निर्णय लागू भएन र विश्वासको सङ्कट गहिरिँदै आएपछि एकैचोटि लडाइँ परेको जस्तो भयो । अर्को कुरा क्रान्ति सरल रेखामा हुँदैन भन्ने व्याख्या गरिँदै आएको भए पनि जस्तोसुकै स्थितिका लागि पनि तयार रहनुपर्छ । यसप्रकारको जटिलता पनि आउन सक्छ र सजिलै क्रान्ति हुँदैन भन्ने कुराको महसुस हुन नसक्दा हामीले अहिले ठूलो निराशाको स्थिति उत्पन्न भएको छ । सत्ता कब्जा गर्न त अब केही बेर पनि लाग्दैन तर टिकाउन गाह्रो हुने भएकाले अन्तर्राष्ट्रिय हस्तक्षेपका विरुद्ध लडिरहेका छौँ । झन्डैझन्डै सबै प्राप्त भइसक्यो भन्ने पार्टीको ५८/५९ सालतिरैको स्कुलिङ थियो । त्यो विश्लेषणबाट हेर्दा अहिले केही पनि नभएको जस्तो अनुभूति हुनु स्वाभाविकै हो ।

पार्टी वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको दृष्टिकोणले जुन मोडमा छ, यो निराशाजनक लागे पनि हामी अर्को विजयको तयारीमा नै छौँ भन्ने बुझ्नुपर्छ । क्रान्तिबाट भाग्ने छूट कसैलाई छैन र छूट पाउने पनि छैनन् । हजारौँ सहिदहरूको दबाब छ, करोडौँ जनताको दबाब र अन्तर्राष्ट्रिय भाइचारा शक्तिहरूको चासो र चिन्ता छ । यसकारण हजारौँ सहिदहरूले देखाएको क्रान्तिको मार्गमा लाग्नुको विकल्प छैन । आजको परिस्थितिले हामी सबभन्दा बढी निराश र चिन्तित छौँ । गरिबी, बेरोजगारी, आराजकता र दण्डहीनता बढ्दै गइरहेको छ । यसकारण जस्तोसुकै मूल्यमा भए पनि जनविद्रोहमा जानुको विकल्प छैन । यसको अर्थ भर्खरै बन्दुक पड्काउँदै छापामार युद्धमा जाने भन्ने होइन । यो निश्चित हो कि पार्टीमा चलिरहेको दुई लाइन सङ्घर्षले सम्भावनाका ढोकाहरू खोलिदिएको छ । विकल्पहरू प्रस्तुत गरेको छ । अवश्य पनि सहिदहरूको सपना पूरा गरिछाडिनेछ । एक मुठी रगत बाँकी रहँदासम्म लडिरहने प्रेरणा प्रदान गर्ने तपाईं तमाम सहिदहरूलाई सलाम ! सलाम ! सलाम !

(नवाैँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस २०६८ का सन्दर्भमा लिखित र प्रकाशित– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :