कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित जनताका अगाडि घुँडा टेक्न विवश भएको इतिहास सर्वविदितै छ । पेरिस कम्युन र अक्टोबर क्रान्तिपूर्व क्रान्ति एवम् समाजवाद पुँजीवादी डाँकुहरू र विश्वका श्रमिक तथा उत्पीडित जनताका वर्ग–सैतानहरूलाई हवाईकल्पना वा दिवासपना लाग्थ्यो । पेरिस कम्युनले आकाशका विरुद्ध धावा बोल्यो । माक्र्सवादी एवम् कम्युनिस्ट विचार भौतिक शक्तिमा रूपान्तरण भयो । अक्टोबर क्रान्तिको विजयले विश्वको छ खण्डको एक खण्ड विशाल भूभाग पुँजीवादी शोषण, उत्पीडन र घेराबाट मुक्त भई सोभियत सङ्घको जन्म भयो । त्यसले ‘समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो ।’ (माक्र्स–एङ्गेल्स, सङ्कलित रचनाहरू, खण्ड १, पृष्ठ १५) मा उल्लेख भएझैँ वैज्ञानिक समाजवाद सुनको भर्याङ चढेर आकाश छुने हवाईकल्पना एवम् कुम्भकर्ण निद्राको सपना होइन भन्ने पुष्टि भयो । त्यसले विश्वका सबै श्रमिक तथा उत्पीडित जनतालाई समाजवादको दिशामा अघि बढ्न प्रेरित एवम् आह्वान गर्यो । त्यो लहर पूर्वीयुरोप, विशाल चीनलगायत दर्जनौँ मुलुकमा फैलियो । त्यो कुनै वीरको चमत्कारले होइन, इतिहासका निर्माता जनताको तागतले हो । क्रान्ति कुनै पार्टीगत र व्यक्तिगत चाहना एवम् मामिला नभएर देश र जनताको चाहना र आवश्यकता हो । कम्युनिस्ट पार्टी उत्पीडित श्रमिक र आमजनताको अग्रदस्ता हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्नु भनेको आमश्रमिक र उत्पीडित जनताको नेतृत्व गर्ने मामिला हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वले कार्यकर्ता र जनवर्गीय सङ्गठन/मोर्चाहरूसँग मात्र सम्बन्ध कायम गरेर हुँदैन, इतिहासका निर्माता जनताबाट सिकेर जनतामा लैजाने जननीति एवम् जनदिशालाई सधैँ आत्मसाथ गर्नै पर्दछ । जनतालाई आकर्षित, सचेत, सङ्गठित र आन्दोलित गर्ने महत्वपूर्ण साधन जनवर्गीय सङ्गठन/मोर्चाहरू नै हुन् । इतिहासका निर्माता जनताबिना क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र नयाँ इतिहासको रचना गर्न असम्भव छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, जनवर्गीय सङ्गठन/मोर्चाहरू र जनताबीच माछा र पानी तथा नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ । यसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूको आवश्यकता, महत्व, भूमिका र अन्तरसम्बन्धबारे उल्लेख गरिनेछ ।

सच्चा कम्युनिस्टहरूको वास्तविक पार्टी नै कम्युनिस्ट पार्टी हो । यसको विचारधारात्मक मार्गनिर्देशन गर्ने सैद्धान्तिक आधार माक्र्सवाद–लेनिनवाद–माओवाद हो । कमरेड लेनिनले ‘तीव्र गृहयुद्धको वर्तमान युगमा कम्युनिस्ट पार्टीले तब मात्र आफ्नो कर्तव्य पूरा गर्न सक्नेछ जब त्यो अत्यधिक केन्द्रित ढङ्गबाट सङ्गठित रहेको हुन्छ, जब त्यसमा सैनिक अनुशासनसरहको फलामे अनुशासन हुन्छ र जब त्यसको केन्द्रीय सङ्गठन व्यापक शक्तिको प्रयोग गर्ने सारा पार्टी सदस्यहरूको विश्वास प्राप्त एउटा शक्तिशाली र आधिकारिक निकाय रहन्छ’ (लेनिन सङ्कलित रचनासङ्ग्रह, भाग २५, पृष्ठ २८२–८३) मा भनेझैँ अनुशासित र क्रान्तिकारी कम्युनिस्ट पार्टी त्यसको केन्द्रीय सङ्गठन व्यापक शक्तिको प्रयोग गर्ने र शक्तिशाली र आधिकारिक निकाय भनेको व्यापक जनवर्गमा जाने विषय हो । लेनिनले अझैँ जोड दिएर ‘हाम्रो पार्टी एउटा वर्गको पार्टी हो । हामी त्यही पार्टीका सदस्य हौँ । त्यसैले प्रायः सम्पूर्ण वर्गले हाम्रो पार्टीको नेतृत्वमा काम गर्नुपर्छ र सकेसम्म घनिष्ठ रूपमा हाम्रो पार्टीको अनुगामी बन्नुपर्छ तर पुँजीवादअन्तर्गतजस्तो पुच्छरवादी बन्ने र झूट्टो आत्मसन्तुष्टि र निरर्थक दिवास्वप्न देख्ने मैनिलोव होइन, …आमजनताबीचको भेदलाई बिर्सनु अधिकाधिक व्यापक जनसमुदायहरूलाई उच्चतम् स्तरसम्म उठाउने अगुवाको अटुट कर्तव्यलाई बिर्सनुको अर्थ आफैँलाई धोका दिनु हो । हाम्रा अभिभाराहरूको विशालताप्रति आँखा चिम्लनु र त्यसलाई सङ्कुचित पार्नु हो’ (लेनिन सङ्कलित रचनासङ्ग्रह, भाग ६, पृष्ठ २०५–२०६) मा भन्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूले व्यापक जनसमुदायलाई उच्चतम् स्तरसम्म उठाउने, अगुवाको कर्तव्य एवम् दायित्वबोध गर्ने र युगीन अभिभाराहरूप्रति आँखा नचिम्लने एवम् सङ्कुचित नभएर मात्र क्रान्ति र जनताप्रतिका युगीन अभिभाराहरू पूरा गर्न सकिन्छ । कमरेड स्टालिनले भनेझैँ कम्युनिस्ट पार्टी आमश्रमिक एवम् उत्पीडित जनताको अगुवा, सङ्गठित दस्ता, उच्चतम् रूपको वर्गसङ्गठन, अधिनायकत्वको साधन, गुटबन्दी र अवसरवादी तत्वविरोधी सङ्कल्पबद्ध एकताको प्रतिक हो । कमरेड माओले क्रान्तिको नेतृत्व गर्ने केन्द्रीय शक्ति नै क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । क्रान्तिकारी सिद्धान्त र पद्धतिअनुसार बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति असम्भव बताउनुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्तालाई परास्त गर्न पनि असम्भव छ । सच्चा कम्युनिस्टहरूको वास्तविक कम्युनिस्ट पार्टीबिना विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताको शोषण–उत्पीडनलाई अन्त्य गर्ने क्रान्ति असम्भव छ । क्रान्तिद्वारा विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताको शोषण–उत्पीडनको अन्त्य गरेर मात्र मुक्ति, स्वाधीनता, शान्ति र समृद्धिमा आधारित वैज्ञानिक समाजवादको स्थापना सम्भव छ । त्यसैले सम्पूर्ण आमश्रमिक एवम् उत्पीडित जनताको नेतृत्वदायी केन्द्रीय शक्ति नै क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । त्यो पार्टी र क्रान्तिको शक्तिद्वारा मात्र विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताको पराजय र वैज्ञानिक समाजवादको विजय सम्भव हुनेछ ।

कुनै पनि क्रान्ति र जनताको नेतृत्व गर्नु क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय एवम् मुख्य काम हो । त्यो काम समग्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूको नेतृत्वको माध्यमबाट नै गरिन्छ । विश्वका सबै क्रान्तिहरूमा जस्तै नेपालमा पनि क्रान्ति र जनताको नेतृत्व गर्ने काम क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूले गरिरहेका छन् । नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले सर्वप्रथम जनवर्गीय सङ्गठनहरूको गठन गर्नुभएको थियो । त्यसबेला ‘पार्टीको सिद्धान्त र राजनीति जनताको समाजको शोषित र पीडित अङ्गका बीचमा पुर्याउनका निम्ति, उनीहरूको दिमागबाट सामन्ती तथा पुँजीवादी विचार हटाउनका निम्ति, उनीहरूमा वर्गीय चेतनाको वृद्धि गर्नका निम्ति पार्टीले उनीहरूकै तत्कालीन र मौलिक मागहरूलाई लिई उनीहरूकै जनवर्गीय सङ्गठनमा सङ्गठित गर्ने फैसला गर्यो’ भनेर कमरेड पुष्पलालले ‘नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास’ (भाग एक, पृष्ठ ५३) ‘विभिन्न जनवर्गीय सङ्गठनहरूको गठन’ उपशीर्षकमा उल्लेख गर्नुभएको थियो । त्यसपछि पार्टी र जनवर्गीय सङ्गठनहरूमा काम गर्ने नेता तथा कार्यकर्ताहरूको कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूमा आगमन भएको थियो । जनवर्गीय सङ्गठनहरूबाट पार्टी कामको सम्पर्क आउने क्रमको पनि प्रारम्भ भएको थियो । पार्टीले मजदुर, किसान, विद्यार्थी, युवा तथा महिला जनवर्गीय सङ्गठनसम्बन्धी नीति निर्माण र जनवर्गीय सङ्गठनहरूका समस्या र मागहरूलाई सूत्रबद्ध गरेर फरक–फरक घोषणापत्र तयार गर्यो । ती जनवर्गीय सङ्गठनहरूको घोषणापत्रहरूको मुख्य आधार नेकपाको प्रथम घोषणापत्रमा गरिएको अपिल नै थियो । नेकपाको प्रथम घोषणापत्रमा गरिएको अपिलले एकातिर कम्युनिस्ट पार्टी लोकप्रिय र स्थापित भयो भने अर्कोतिर जनवर्गीय सङ्गठनहरूको घोषणापत्रहरूको अपिलले व्यापक जनमत निर्माण गरेको थियो । आज नेपालमा कम्युनिस्ट र समाजवाद दुवै लोकप्रिय मात्र होइन, कम्युनिस्ट र समाजवादका पक्षमा विशाल जनलहर देखा परिरहेको छ । अब कम्युनिस्ट र समाजवादका पक्षमा रहेको यो विशाल जनलहरलाई नयाँ कम्युनिस्ट क्रान्ति र वैज्ञानिक समाजवादको विजयमा बदल्नु नै क्रान्तिको केन्द्रीय एवम् मुख्य अभिभारा हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेतृत्व गर्ने क्रान्ति र वैज्ञानिक समाजवादको स्थापना भनेकै देश र आमश्रमिक तथा उत्पीडित जनताको खातिर हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूको मुख्य काम नै देश, जनता र क्रान्तिको काम हो । जनवर्गीय सङ्गठन/मोर्चाहरू भनेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका अङ्ग–प्रत्यङ्गहरू हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको विचार, सिद्धान्त, दृष्टिकोण, कार्यदिशा, कार्यनीति र राजनीतिक कार्यक्रम आमश्रमिक तथा उत्पीडित जनताका बीचमा पुर्याउने एवम् सम्पे्रषण गर्ने र उनीहरूलाई आकर्षित, सचेत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने विशिष्ट काम जनवर्गीय सङ्गठन/मोर्चाहरूको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनता र क्रान्तिको समग्र एवम् आमनेतृत्व गर्दछ ।

जनवर्गीय सङ्गठन/मोर्चाहरूमा काम गर्ने सन्दर्भमा विशुद्ध ढङ्गले पेसागत एवम् व्यावसायिक बन्ने र राजनीतिको गन्ध पनि आउनु हुन्न भन्ने दुई खराब चिन्तन देखापर्ने गरेका छन् । बढी राजनीतीकरण गर्न खोज्ने चिन्तनले पेसागत एवम् व्यावसायिक विशेषताको पक्षलाई गौण बनाउँछ भने विशुद्ध पेसागत एवम् व्यावसायिक बन्ने र बनाउने चिन्तनले अर्थवादतिर धकेल्न पुग्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूबीच अटुट अन्तरसम्बन्ध हुन्छ । पार्टी जनवर्गीय सङ्गठन/मोर्चा बन्ने र जनवर्गीय सङ्गठन/मोर्चाहरू नै पार्टी बन्ने अतिबाट बचेर यी दुईबीचको अन्तरसम्बन्धलाई उचित ढङ्गले कायम गर्न जरुरी छ । जनवर्गीय सङ्गठन/मोर्चाहरूको आफ्नो विशेषता एवम् स्वत्व हुन्छ । विशेषता एवम् स्वत्वका नाममा बेलगाम असनको साँढे बन्ने र बनाउनु हुँदैन । त्यसबाट बचाउन खोज्दा फेरि लगाम लगाएको टाँगा पनि बनाइनु हुन्न । यी दुवै अतिबाट जनवर्गीय सङ्गठन/मोर्चाहरूलाई बचाउन जरुरी छ । पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूको अन्तरसम्बन्धलाई ठीक ढङ्गले बुझ्नु र वैज्ञानिक र कलात्मक परिचालन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नै पार्टीले जनवर्गीय सङ्गठन/मोर्चाहरूमा फ्र्याक्सनको व्यवस्था अनिवार्य गरेको हुन्छ । जनवर्गीय सङ्गठन/मोर्चाहरूमा काम गर्ने सदस्यहरू सबै कम्युनिस्ट नहुने भएकाले फ्र्याक्सनले जनवर्गीय सङ्गठन/मोर्चाहरूका बैठक, भेला र सम्मेलनहरूमा कम्युनिस्ट सहभागिता र नेतृत्वका लागि आवश्यक तयारी र पहल गर्नुपर्छ । फ्र्याक्सनले जनवर्गीय सङ्गठन/मोर्चाहरूको प्रस्ताव, चुन्ने–चुनिने विधि–पद्धतिको निर्धारण र नेतृत्व चयनमा सक्षम, अनुभवी र उत्साहित व्यक्ति चयन गर्नेमा ध्यान दिनुपर्दछ । फ्र्याक्सनले जनवर्गीय सङ्गठन/मोर्चाहरूका हरेक गतिविधिहरूमा अप्रत्यक्ष नेतृत्व गर्नुपर्दछ । जनवर्गीय सङ्गठन/मोर्चाहरूलाई माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारात्मक आलोकमा पार्टीले मार्गनिर्देशन गर्नुपर्दछ । जनवर्गीय सङ्गठन/मोर्चाहरूका लागि माक्र्सवादी–लेनिनवादी–माओवादीे विचारधारात्मक स्कुल खडा गरेर माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारात्मक रूपले प्रशिक्षित गरिनुपर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूको अन्तिम लक्ष्य क्रान्तिलाई निर्णायक विजयमा पुर्याउने र वैज्ञानिक समाजवादको झन्डा फहराउने हो । जनवर्गीय सङ्गठन/मोर्चाहरूलाई पार्टी र क्रान्तिका निम्ति राजनीतिक साधन, नेता कार्यकर्ता जन्माउने कारखाना एवम् पाठशाला बनाउन जरुरी छ । जनवर्गीय सङ्गठन/मोर्चाहरूको विशिष्टीकरण गरेर उचित परिचालन गर्न आवश्यक छ । हरेक सङ्घर्षका रूप, काम र तरिकाजस्तै सङ्गठनका रूप, काम र तरीका पनि परिस्थितिसापेक्ष नै हुन्छन् । त्यसैले आज जनताका आफ्ना समस्या र मागका आधारमा आन्दोलन उठाउने र उनीहरूलाई आकर्षित, सचेत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने तथा त्यसलाई राजनीतिक सत्ता–सङ्घर्षसँग जोड्न आवश्यक छ । जहाँ जनता त्यहाँ जनसङ्गठन जनवर्गीय सङ्गठन/मोर्चाहरूको आम नीति बनाइनु पर्दछ । आमजनताका वर्गीय, क्षेत्रीय, लैङ्गिक र जातीय समस्याहरूलाई क्रान्तिकारी राजनीतिक चेतनामा बदल्न जरुरी छ । आमजनताको साधारण र वर्गीय चेतनालाई प्रबुद्ध वैज्ञानिक समाजवादी वर्गीय चेतनामा रूपान्तरण गरिनुपर्दछ । त्यसका खातिर जनवर्गीय सङ्गठन/मोर्चाहरूको सङ्गठनात्मक संरचना, कार्यक्रम र कार्यशैलीमा विकास गर्न र कामकारबाहीहरूलाई व्यवस्थित, व्यापक र प्रभावकारी बनाउन जरुरी छ ।

क्रान्तिको सफलता, प्रतिक्रान्ति रोक्न, क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न, निरन्तर र निर्णायक क्रान्तिको दिशामा अघि बढ्न लाखौँलाख उत्तराधिकारीका रूपमा जनवर्गीय सङ्गठन/मोर्चाहरूको निर्माण र व्यवस्थित परिचालन कुनै पनि पार्टीका लागि निकै महत्वपूर्ण हुन्छ । पार्टी र क्रान्तिका लागि जनवर्गीय सङ्गठन/मोर्चाहरूबाट नै कार्यकर्ता उत्पादन हुन्छन् । दिमित्रोयले प्रस्तुत गर्नुभएको कार्यकर्तासम्बन्धी चारवटा नीतिगत सर्त– उद्देश्यपूर्ण समर्पण, जनसमुदायसँगको सजीव सम्बन्ध, स्वतन्त्र रूपले आफ्नो दायित्व बहन गर्ने क्षमता र अनुशासनको निष्ठापूर्ण पालना गर्नु जनवर्गीय सङ्गठन/मोर्चाहरू र कार्यकर्ताहरूका लागि आधारभूत रूपले महत्वपूर्ण छन् । कम्युनिस्ट पार्टीले तिनीहरूलाई आधार बनाएर जनवर्गीय सङ्गठन/मोर्चाहरूको निर्माण र परिचालन गर्नु पर्दछ । स्टालिनले कार्यदिशा घोषणाका लागि होइन, जीवनव्यवहारमा कार्यान्वित गर्नका लागि एउटा सही कार्यदिशाको आवश्यकता र त्यसको कार्यान्वयनका लागि कार्यदिशा बुझ्ने, लागू गर्ने, जबाफदेही र त्यसको रक्षा गर्ने एवम् लड्न तयार कार्यकर्ता हुनुपर्ने विषयमा निकै जोड दिनुभएको थियो । स्टालिनले कार्यकर्ताहरूको छनोट, बढुवा र बाँडफाँटमा कुनै व्यक्तिको वरिपरि थुप्रै सहयोगी तथा मुन्तिरकाहरूको जमघट गर्ने, कार्यालय स्थापना गर्ने र एकपछि अर्को आदेश निकाल्ने कुराको विरोध गर्नुभएको थियो । साथै उहाँले कुनै तर्क वा कारणबिना दर्जनौँ तथा सयौँ मानिसहरूलाई एउटा कामबाट अर्को काममा सरुवा गर्दै र अनन्त आफ्नो शक्तिको ‘पुनर्गठनहरू’ गर्दै आफ्नो शक्तिको दुरुपयोग गर्ने कुराको पनि विरोध गर्नुभएको थियो । स्टालिनले कार्यकर्ताहरूको सही छनोटका लागि पहिलो, स्वर्ण जगेडाका रूपमा कदर गर्नु, मूल्यवान् ठानी जतन र सम्मान गर्नु, दोस्रो, वैयक्तिक गुण र त्रुटिको अध्ययन र क्षमता विकास गर्नु, तेस्रो, कार्यकर्ताहरूलाई हुर्काउनु, अघि बढ्न मद्दत गर्नु र समय प्रदान गर्नु, चौथो, नयाँ र पुराना कार्यकर्ताहरूको हिम्मतका साथ पदोन्नति गर्नु, पाँचौँ, कार्यकर्ताहरूको बाँडफाँट प्रत्येकले आफू ठीक ठाउँमा रहेको अनुभव गरोस् र साझा लक्ष्यमा अधिकतम् योगदान गरोस् भन्ने राजनीतिक र व्यावहारिक कसीमा जोड दिनुभएको थियो । कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठन/मोर्चाहरूका नेता–कार्यकर्ताहरूको समग्र पक्षको अध्ययन गरेर कार्यकर्ताको छनोट गर्नुपर्दछ । उनीहरूको पदोन्नति गर्दा क्षमता, राजनीतिक इमानदारी र क्रियाशीलतालाई मुख्य कसी बनाई उचित ढङ्गले गर्नुपर्दछ । उनीहरूको परिचालनमा नोकरशाही, उदारता, गुटगत र कृपावादबाट कम्युनिस्ट पार्टी सचेत हुनुपर्दछ । विचार, कार्यदिशा, योजना र गतिमा स्पष्ट बनाई निरन्तर मार्गदर्शन गरिनुपर्दछ । उनीहरूलाई काम गर्ने तरिका सिकाउनुका साथै स्तर विकासमा ध्यान दिनुपर्दछ । कार्यकर्ताहरू आजीवन कर्ता मात्र होइनन्, एक तहका नेता र क्रान्तिको जीवन र भविष्य पनि हुन् । आज कार्यकर्ताहरूलाई विचारधारात्मक स्तरवृद्धि, समिति प्रणालीमा परिचालन, उनीहरूको व्यवस्थापन र वर्ग एवम् समाज तथा क्रान्तिप्रति उत्तरदायी बनाउन आवश्यक छ । कम्युनिस्ट पार्टीका र जनवर्गीय सङ्गठन/मोर्चाहरूका कार्यकर्ताहरू नेताप्रति मात्र होइन, पार्टी, सङ्गठन, जनता र क्रान्तिप्रति उत्तरदायी हुनुपर्दछ ।

मुलुक एवम् जनताका जल्दाबल्दा समस्याहरूको पहिचान गरी निश्चित मागहरूका आधारमा जनवर्गीय सङ्गठन/मोर्चाहरूलाई आन्दोलित गर्नुको राजनीतिक महत्व नदेख्ने सङ्कीर्णतावादी र आंशिक सुधारको वरिपरि घुम्ने र राजनीतिक आन्दोलनबाट जनवर्गीय सङ्गठन/मोर्चाहरूको आन्दोलनलाई अलग राख्न खोज्ने अर्थवाद र सुधारवादविरुद्ध कम्युनिस्ट क्रान्तिकारीहरूले सङ्घर्ष गर्न जरुरी हुन्छ । जनवर्गीय सङ्गठन/मोर्चाहरूले आंशिक सुधारात्मक आन्दोलनमा मात्र जोड दिने र आमूल परिवर्तनलाई अस्वीकार गर्ने दक्षिणपन्थी अवसरवाद, आमूल परिवर्तनमा मात्र जोड दिई सुधारात्मक आन्दोलनलाई नकार्ने उग्रपन्थी र अलगाववादी दुवै अतिबाट सतर्क रही दक्षिणपन्थी एवम् संसदीय संशोधनवाद, प्रतिक्रियावाद र अर्थवादविरुद्ध सङ्घर्ष गर्नु पर्दछ । कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठन/मोर्चाहरूको शक्तिलाई विशुद्ध पेसागत समस्या र गतिविधिमा मात्र सीमित राख्ने होइन, पेसागत हकहितको आन्दोलनलाई समग्र वर्गसङ्घर्षसँग एकाकार गर्न जरुरी छ ।

आमजनतालाई आकर्षित, सङ्गठित तथा आन्दोलित गरेर मात्र जनवर्गीय सङ्गठन/मोर्चाहरूले नयाँ कार्यभारहरूको दृढ कार्यान्वयन गर्न सक्छन् । जनवर्गीय सङ्गठन/मोर्चाहरूले पेसागत हकहित र अधिकारका लागि मात्र होइन, सबै राजनीतिक आन्दोलनमा महत्वपूर्ण तथा अविस्मरणीय भूमिका निर्वाह गरेको इतिहास सर्वविदितै छ । महान् जनयुद्धपूर्व र त्यसको थालनीपछि जनवर्गीय सङ्गठन/मोर्चाहरूले गरेको जनयुद्धका लागि देशव्यापी आधार तयार पार्ने र त्यसको सेवा गर्ने काम सामान्य समर्थन र सहयोगमा सीमित थिएन । आत्मत्यागमय ढङ्गले क्रान्तिको सेवा आफ्नो स्वार्थको तिलाञ्जली दिएर गरेका थिए । जनवर्गीय सङ्गठन/मोर्चाहरूको महान् जनयुद्धमा भौतिक रूपले प्रत्यक्ष सहभागिता थियो ।

जनवर्गीय सङ्गठन/मोर्चाहरूले तमामखाले गलत प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने र शोषित–उत्पीडित बहुसङ्ख्यक जनताको हितका लागि समर्पित भएर मात्र ऐतिहासिक एवम् अग्रीम भूमिका निर्वाह गर्न सक्छन् । वर्गसमाज रहेसम्म त्यसको प्रभाव पार्टी र सङ्गठनहरूमा पनि रहिरहन्छ । वर्गसङ्घर्षसँगै अन्तरसङ्घर्ष पनि जारी रहन्छ । यो क्रान्तिको सार्वभौम नियम पनि हो । त्यसैले जनवर्गीय सङ्गठन/मोर्चाहरूले गैरसर्वहारावादी खराब प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ । यो वर्गसङ्घर्षको अनिवार्य सर्त हो । जनवर्गीय सङ्गठन/मोर्चाहरूलाई व्यापक जनसमुदायबीच फैलाएर, दलाल, राष्ट्रघाती र जनघाती सत्ताको दमनका विरुद्ध जुझारु र बृहत् आन्दोलन सङ्गठित गरेर, पुरानो राज्यप्रणाली ध्वस्त पार्न देशव्यापी आन्दोलन सञ्चालन गरेर वैज्ञानिक दृष्टिकोण र विचारको गहन अध्ययन र व्यापक प्रसारप्रचार गर्नुपर्दछ । प्रत्येक जनवर्गीय सङ्गठन/मोर्चाहरूले विशिष्ट मोर्चा निर्माण गरेर नै क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्छन् । त्यसले नै पार्टीको जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोहको आमनीतिको कार्यान्वयन गर्दछ ।

अन्त्यमा जनता नै इतिहासका निर्माता हुन् । इतिहासमा जनताको समर्थन, सहयोग, सहभागिता र बलिदानमा सञ्चालित हरेक विशाल सङ्घर्ष एवम् आन्दोलनहरू झिनो लेनदेनमा सीमित हुनुले जनतालाई धोका र जनादेशको उपहास भइरहेको छ । इतिहासका निर्माता जनताबाट सिकेर जनतामा लैजाने जननीति एवम् जनदिशालाई कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूले सधैँ आत्मसाथ गरौँ । कम्युनिस्ट पार्टी आमश्रमिक एवम् उत्पीडित जनताको अगुवा, सङ्गठित दस्ता, उच्चतम् रूपको वर्गसङ्गठन र अधिनायकत्वको साधन हो । त्यो पार्टीमा गुटबन्दी र अवसरवादी तत्वको कुनै स्थान हुँदैन । एक क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन/मोर्चाहरूको अन्तिम लक्ष्य क्रान्तिलाई निर्णायक विजयमा पुर्याउने र वैज्ञानिक समाजवादको झन्डा फहराउने हो । जनवर्गीय सङ्गठन/मोर्चाहरूलाई पार्टी र क्रान्तिका निम्ति राजनीतिक साधन, नेता कार्यकर्ता जन्माउने कारखाना एवम् पाठशालाका रूपमा निर्माण र विकास गरौँ । जनताका आफ्ना समस्या र मागका आधारमा आन्दोलन उठाउने र उनीहरूलाई आकर्षित, सचेत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने तथा त्यसलाई राजनीतिक सत्ता सङ्घर्षसँग जोडौँ । जनवर्गीय सङ्गठन/मोर्चाहरू भनेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका अङ्ग–प्रत्यङ्गहरू हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको विचार, कार्यदिशा, कार्यनीति र राजनीतिक कार्यक्रम आमश्रमिक तथा उत्पीडित जनताका बीचमा पुर्याउने एवम् सम्पे्रषण गर्ने र उनीहरूलाई आकर्षित, जागृत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने विशिष्ट काम जनवर्गीय सङ्गठन/मोर्चाहरूको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनता र क्रान्तिको समग्र एवम् आमनेतृत्व गर्दछ । महान् माओका ‘हाम्रो कामको आरम्भबिन्दु जनताको सेवा गर्नु हो र कहिल्यै एक छिनका निम्ति पनि आफूलाई जनसमूहबाट नअलग्याउनु हो । आफ्नै व्यक्तिगत हित अथवा सानो दलको हितबाट होइन तर जनताको हितबाट सबै अवस्थामा लम्कनु हो र जनताप्रतिको हाम्रो जिम्मेवारीलाई पार्टीका अगुवा अङ्गहरूप्रतिको जिम्मेवारीसित एकाकार तुल्याउनु हो’ (माओ, संयुक्त सरकारका विषयमा, २४ अप्रिल १९४५) र ‘सेनाले जनतासित एक हुनैपर्छ । त्यसो भए उनीहरूले यसलाई आफ्नै सेना ठान्छन् । त्यस्तो सेना अरूबाट जित्न नसकिने हुन्छ’ (माओ, दीर्घकालीन युद्धका विषयमा, मे १९३८) । यी भनाइहरूलाई आत्मसात गरौँ । वैज्ञानिक समाजवाद– जिन्दावाद !

२८ असोज, २०७९

प्रतिक्रिया दिनुहोस्