माओको मुलुकमा पहिलो यात्रा

सन्दर्भ : १३० औँ माओ दिवस

माओको मुलुकमा पहिलो यात्रा

पूर्वी एसियामा अवस्थित करिब ९६ लाख वर्गकिलोमिटर भूमि क्षेत्र भएको पश्चिममा रात र पूर्वमा बिहानको सूर्य चम्किरहने विश्वमा (रुस र क्यानाडाबाहेक) तेस्रो ठूलो, जनसङ्ख्यामा पहिलो (करिब एक अर्ब तीस करोड) र चार मानवसभ्यतामा मिश्र, मेसोपोटामिया, सिन्धु र प्राचीन चीन एउटा केन्द्र रहेको जनगणतान्त्रिक मुलुक हो । ५ हजार वर्षको विकासक्रममा चीनले मानव सभ्यताको प्रगतिमा विशिष्ट योगदान पु¥याएको छ । ८९ प्रतिशत हान र ५५ वटा अल्पसङ्ख्यक जातजातिको मानव सङ्ग्रहालय मानिने चीन भौगोलिक रूपले अग्ला पर्वतहरू, विभिन्न किसिमका घाँटीहरू, नागबेली उच्च पहाडहरू र समतल उब्जनीयोग्य मैदानहरूको विविधताले भरिएको मुलुक हो । दीर्घकालीन जनयद्धको सङ्घर्ष, बलिदान र विजयमा कमरेड माओले निर्माण गरेको जगमा आज चीन मौलिक समाजवादको अभियानमा अघि बढिरहेको छ । यो मुलुक सबैका लागि कुनै रहस्यको विषय छैन । खुल्ला किताबजस्तै सबैले सजिलैसँग अध्ययन गर्न र बुझ्न सक्छन् । जनगणतन्त्र कोरियाको यात्रा गर्ने क्रममा यो मुलुकमा पहिलो यात्रा गर्ने अवसर मिल्यो । यहाँ चीनका बारेमा नभएर मेरो यात्राका बारेमा उल्लेख गरिएको छ ।

लेखक : पूर्णबहादुर सिंह

ल्हासाको भूमिमा पाइला टेक्दा

पहिलो दिन (९ अप्रिल, २०१७) करिब १२ बजे दिउँसो मात्र हामी एयर चाइनाद्वारा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासातर्फ प्रस्थान ग¥यौँ । हामी सबैको दिमागमा महान् माओको नेतृत्वमा दीर्घकालीन जनयुद्धद्वारा जनवादी गणतन्त्र चीन र किम इल सुङको नेतृत्वमा जनवादी गणतन्त्र कोरियाको अवलोकन (अध्ययन) भ्रमणको कौतूहल एवम् उत्साह पैदा भइरहेको थियो । केही समयपछि नेपालको आकाश पार गरी तिब्बतको आकाशमा एयर चाइना प्रवेश गर्यो । विमानको झ्यालबाट कपासले ढाकिएजस्तै सेतो हिउँले ढपक्क छोपिएका हिमालहरू, नीलगगनजस्तै हिमतालहरू र कलकल बगिरहेका हिमनदीहरूको दृश्य अवलोकन गरियो । हिमपातले ढाकेका बुकी पाटनहरू, अनगिन्ती डाँडाकाँडा र खोचहरू पनि विमानबाटै अवलोकन गरियो । केही समयपछि (करिब दुई घन्टापछि) विमान परिचारिकाले ल्हासा विमानस्थलमा पुग्दैछौँ भनेर उद्घोष गरिन् । त्यसपछि संसारको सबभन्दा अग्लो स्थानमा अवस्थित ल्हासा विमानस्थलमा जहाज अवतरण गर्यो । चारैतिर अग्ला डाँडाकाँडा, हिमनदीको किनार, वृक्षरोपणको जङ्गल, उत्खनन गरिएका पहाडमा अवस्थित खानीहरू, विमानस्थलवरिपरि नजिक कृषि फर्म (भेडाबाख्रा) हरू देखियो । विमानबाट झरेर एक घन्टा ल्हासामा व्यतित गरियो । विश्वसर्वहारा वर्गकाका नेता तथा जनवादी गणतन्त्र चीनका निर्माता महान् कमरेड माओ त्सेतुङदेखि सी जिङ पिङसम्मको तस्बिरले भरिएको एउटा होडिङ बोर्ड विमानस्थलमा देख्दा मलाई गौरवको अनुभूति भयो । महान् जनक्रान्ति सम्पन्न गरी आजको चीनको मार्गदर्शन गर्ने तथा मार्गचित्र कोर्ने कमरेड माओको कुशल नेतृत्व र भूमिकाको संस्मरण गर्दा गौरवले छाती फुल्यो भने विचलित भई आत्मसमर्पण गर्ने दलाल प्रचण्डलाई देखेर आक्रोश एवम् घृणा पैदा भयो । कुनै पनि मुलुक बन्नलाई कुशल, दूरदर्शी तथा देश र जनताप्रति समर्पित नेतृत्वको आवश्यकता र महत्वबोध पनि भयो ।
छेन्दुमा पहिलो बास

करिब तीन बजे विमान ल्हासा विमानस्थलबाट छेन्दुतर्फ प्रस्थान गर्यो । विशाल तिब्बतको भूभाग र दुई घन्टाको अन्तरालमा जहाज करिब ५ बजे छेन्दु विमानस्थलमा अवतरण गर्यो । विशाल छेन्दु सहरको विशाल विमानस्थल, भौतिक पूर्वाधार र त्यहाँको विकास, समृद्धि र सभ्यता देख्दा हाम्रो मुलुकलाई कहिले र कसरी त्यो स्तरमा विकास गर्न सकिएला भन्ने चिन्तन र परिकल्पना मेरो मनमा पैदा भयो । विमानस्थलबाट लगेज लगेर निर्धारित होटेलतर्फ गाडीमा प्रस्थान गरियो । थ्री स्टार होटेलको एक रातको बसाइपछि भोलिपल्ट बिहान पुनः साङ्घाईका लागि सोही विमानस्थलतर्फ प्रस्थान गरियो ।

साङ्घाई सहरमा

दोस्रो दिन (१० अप्रिल, २०१७) बिहानको नास्ता खाएर छेन्दु विमानस्थलमा निर्धारित समयमा पुगियो । त्यसपछि छेन्दुबाट साङ्घाईतर्फ प्रस्थान गरियो । छेन्दुको विशाल सहरमा गगनचुम्बी भवनहरू, चौडा सडकहरू, ग्रिन सिटी, विशाल फाँटको आकाशमाथि लामो समयसम्म विमानको झ्यालबाट दृश्यावलोकन गर्दा भौतिक पूर्वाधार, विकास र समृद्धिको राम्रो अनुभूति गर्ने सुवर्ण अवसर प्राप्त भयो ।

स्थानीय समयअनुसार ९ः५५ बजेदेखि १२ः४५ सम्म करिब साढे तीन घन्टाको यात्रापछि विमान परिचारिकाले साङ्घाई (पुदोङ) विमानस्थलमा पुगेको जानकारी गराइन् । विशाल क्षेत्रफलमा निर्मित विमानस्थल र सयौँको सङ्ख्यामा उडिरहेका र अवतरण गरिरहेका विमानहरू, गगनचुम्बी भवनहरू, फराकिला सडकहरू र दर्जनौँ टर्मिनलहरूले साङ्घाई साँच्चिकैको साङ्घाई पो रहेछ भन्ने महसुस मात्र होइन, प्रत्यक्ष अनुभव गरियो । विमानस्थलबाट गाडीमा लामो दूरी पार गरिसकेपछि साङ्घाईको मुख्य भागमा पुगियो ।

छोटो समयमा साङ्घाईका मुख्यमुख्य स्थान घुम्ने र अवलोकन गर्ने निर्णय गरी होटेलमा लगेजहरू राखेर आसपासमा घुम्ने कामसहित साङ्घाई टावर पुगेर अवलोकन गरियो । भारी वर्षा, कुहिरोले पूरै सहर ढाकेकाले टावरमा चढेर पूरै साङ्घाई अवलोकन गर्न सम्भव भएन । टावरलाई स्पर्श गर्दै तस्बिर खिचेर निर्धारित बासस्थानतर्फ फर्कियौँ । एकजना सुरक्षाकर्मी र होटेलमा काम गर्ने एकजना स्थानीय नानीको सेवाभावसहितको सहयोगमा खानेबस्ने व्यवस्था गरिएको थियो ।

२४ घन्टे रेलयात्रा

(अप्रिल १२) चैत ३० गतेका लागि साङ्घाई बेइजिङ लोकल रेलको टिकट निश्चित भयो । बुलेट रेलमा छोटो समयमा पुगिने हुँदाहुँदै कमजोर आर्थिक स्थिति र लामो समयको रेलयात्रामा धेरै स्थानको अवलोकन गर्ने र अनुभव हासिल गर्ने उद्देश्य राखेर २४ घन्टा लामो रेलयात्रा ठोस गरियो ।

तेस्रो दिन : (११ अप्रिल, २०१७) बिहानको खाना होटेलनजिकै रेस्टुरेन्टमा खाइयो । चिनियाँहरूलाई अरू भाषाको खासै आवश्यकता नपरेको महसुस भयो । आवश्यक पर्नेहरूले मात्र अङ्ग्रेजी भाषा सिक्दा रहेछन् । अङ्ग्रेजी नजान्नेले पनि भाषा अनुवाद गर्ने एप्सको माध्यमबाट काम चलाउने रहेछन् । विश्वमै सबैभन्दा धेरै मानिसले बोल्ने भाषा हो चिनियाँ । त्यसैले उनीहरू आफूलाई आवश्यक पर्ने र विशेषगरी व्यापारका लागि अङ्ग्रेजी भाषा सिक्दै रहेछन् । एप्सले उनीहरूको न्यूनतम आवश्यकता पूर्ति गर्दै रहेछ । भाषाको समस्याका कारण हामीलाई होटेलबाट रेलवे स्टेसनसम्म पुग्नका लागि ट्याक्सी पाउन पनि गाह्रो भयो । रेस्टुरेन्टकी तिनै नानीले हामीलाई चीनमा बचेखुचेको समाजवादको अनुभूति गराउँदै ठूलो मानवीय सहयोग गरिन् । ट्याक्सी बोलाएर रेलवे स्टेसनसम्म जाने व्यवस्था गरिदिइन् । सहयोग गरेको पैसा लिन पनि गाह्रो मानिन् ।

निर्धारित समयभन्दा अलि छिटो नै साङ्घाई रेल स्टेसनमा पुगियो । विभिन्न स्थानका तस्बिरहरू खिच्दै समय व्यतित गरियो । हल्का चियानास्ता गरेर रेलको निर्धारित डिब्बाको सिटमा गएर लगेजहरू राखेर बसियो । बेलाबेलामा ड्राई फुड, पेय पदार्थ (कोक, पानी, जुस आदि) फलफूल र ताजा खाना रेलका कर्मचारी र रेलमा व्यापार गर्ने व्यापारीले स्थानीय भाषामा प्रचार तथा सोध्ने गरिरहेका थिए । सफा र आकर्षक सिट, रेस्ट रुम र व्यवस्थित रेस्टुरेन्ट, चिसो र तातो पानीको सुविधा रेलभित्र थियो । कमरेड माणिक लामा कोरिया र चीन पटकपटक भ्रमण गरिसकेकाले त्यहाँका बारेमा वर्णन गर्नुहुन्थ्यो । उहाँले कोरिया र चीनको क्रान्तिसँग सम्बन्धित दन्त्यकथाहरू तथा इतिहास बताउनुभयो । हामी सबैले चासोपूर्वक सुन्यौँ । थप जिज्ञासा क. अशोक सुवेदीसँग पनि राख्यौँ । चीनको राजधानी बेइजिङ पुग्ने र यात्राको मुख्य गन्तव्य जनगणतन्त्र कोरियाबारे हामी सबैको मानसपटलमा असीमित कौतूहल पैदा भइरहेको थियो । एक दिनको रेल यात्रामा चीनका विभिन्न स्थानहरू, नदीहरू, डाँडाकाँडा, हरियाली जङ्गल, खोच, मैदान आदिको दृश्यावलोकन गर्दै चैत ३० गते (अप्रिल १२) दिउँसो बेइजिङको रेल वे स्टेसनमा पुग्यौँ ।
चीनको राजधानी बेइजिङमा

चौथो दिन : चैत ३० गते (अप्रिल १२) दिउँसो बेइजिङको रेल वे स्टेसनमा पुग्यौँ । साम्राज्यवादको सूचनाप्रविधिमा अध्ययन गरिएको भन्दा बिल्कुल फरक विशाल बगैँचाझैँ, लन्डनब्रिजजस्तै चौडा हरित सडकहरू, आकाश छुने भवनहरू, भौतिक पूर्वाधार, विकास र समृद्धिले दन्त्यकथा र शास्त्रहरूमा वर्णित ‘स्वर्ग’ तुल्य त्यो ठाउँमा पुग्दा आफू नमरी स्वर्ग देखिँदैन भन्ने भनाइको ठीक विपरीत आफ्नै जीवनमा स्वर्गतुल्य भूमिमा पुग्ने सुवर्ण अवसर प्राप्त भयो । रेलवे स्टेसनबाट ट्याक्सी चढी होटेल बेस्टयमा पुगेर बसियो । क. अशोक सुवेदी र क. माणिक लामा बेइजिङ–प्योङयाङको जहाजको टिकटका लागि बेइजिङ विमानस्थलमा गएर फर्किनुभयो । तर काउन्टर बन्द भइसकेकाले काम सम्पन्न भएन । भोलि बिहान समयमै विमानस्थल पुगेर टिकट बनाउने ताकेतासहित त्यो रात बेइजिङमा बिताइयो ।

छेन्दु, साङ्घाई र बेइजिङ, मूलतः समग्र चीनको विकास, समृद्धि र प्रगतिको चर्चा मात्र होइन, मुक्तकण्ठले सबैले प्रशंसा गर्नुभयो । माणिकले नेपालको त होइन, साम्राज्यवादी भारतले पनि चीनको जस्तै विकास गर्न पचास वर्ष लाग्ने अनुमान गर्नुभयो । प्रा. डा. सुरेन्द्र के.सी.ले युरोपको स्तरमा चीनको विकास भएको बताउनुभयो । हामी नेपालीहरू प्राकृतिक स्रोतसाधनले प्रचुर र सम्भावना रहे पनि सही राजनीतिक प्रणाली र कुशल नेतृत्वको अभावमा सदियौँ पछाडि परेको सबैको साझा निष्कर्ष रह्यो । राणाकाल, पञ्चायतलाई दोष दिने संसद्वादी दलालहरूले देश र जनताबाट ब्रह्मलुट गरिरहेका छन् । वर्तमान दलालतन्त्र र दलाल संसद्वादीहरूको समूल नष्ट नगरेसम्म नेपालमा शान्ति, समृद्धि विकास, सभ्यता र मुक्ति असम्भव छ । दुनियाँका क्रान्ति, प्रगति, समृद्धि र विकासले सबैलाई यो शिक्षा दिइरहेको छ । पहिलो चरणमा चीनमा करिब ५ दिनको समय बितेको कुनै पत्तो नै भएन ! नयाँनयाँ दृश्यावलोकन, बहस–छलफल, घुमफिर र अनुभूति हासिल गर्दै बित्यो । रमाइलो एवम् अविस्मरणीय भयो यो चरणको चीन यात्रा ।

पुनः बेइजिङमा ५ दिन

पहिलो दिन (२० अप्रिल) : केही समयपछि प्योङयाङ एयरपोर्टबाट बेइजिङका लागि जहाज उड्यो । करिब दुई घन्टामा हामी बेइजिङ विमानस्थलमा पुगेर ट्याक्सी चढी होटेल खोज्न हिँड्यौँ । त्यो दिन बेइजिङ जुन अन होटेलमा बसियो ।

दोस्रो दिन (२१ अप्रिल) : बिहान सबेरै उठेर नित्यकर्मपछि चियानास्ता सकी दिनभरिको प्याकेज कार्यक्रम लिएर गाडी चढियो । आजको मुख्य गन्तव्य ग्रेटवाल अवलोकन रहेको छ । मिस यमीले चीनको इतिहास, सामाजिक, आर्थिक, राजनीतिकलगायत पक्षहरूको सविस्तार वर्णन गरिन् । हामी बसेको ठाउँबाट ग्रेटवाल ६० कि.मि. दूरीमा छ । सबभन्दा पहिला हामी अर्नामेन्ट हाउसमा पुग्यौँ । विभिन्न गहनाहरूको सजावट छ । केही गहना आधुनिक उपकरणको प्रयोग गरेर निर्माण भइरहेको पनि देखियो । त्यसपछि हामी अघि बढ्यौँ । केही समयपछि ग्रेटवाल नजिक पुगियो । गाडीबाट झरेर फोटोहरू खिचियो ।

करिब दुई घन्टाको समय निर्धारण गरेर हामी ग्रेटवालमा चढ्यौँ । करिब एक किलोमिटर माथिसम्म चढेर विभिन्न तस्बिर खिचियो । निर्माण हुँदा २२ हजार किमिबाट घटेर हाल ५ हजार ६ सय कि.मि. दूरी रहेको ग्रेटवालले चीनका ११ वटा सहर छुन्छ । केबुलकार, रेल, गाडी आदि यातायातका साधनहरूको प्रयोग गरेर त्यसको समग्र अवलोकन गर्न सकिँदो रहेछ । सामरिक महत्वका लागि निर्मित ग्रेटवाल आज चीनको मुख्य पर्यटक गन्तव्य बनिरहेको छ ।

हजारौँहजार मानिस ग्रेटवाल अवलोकन गर्न भीड लागिरहेका छन् । त्यसपछि अलि वर फर्किएर राउन्ड टेबुलमा बिहानको खाना खाँदा यात्राको एउटा वास्तविक आनन्द प्राप्त भएको अनुभूति भयो । त्यसपछि गाडी चढेर अकुपन्चर अस्पतालमा पुगियो । अस्पतालको अकुपन्चर उपचार विधिलगायत विषयहरूको अध्ययन गरियो । अकुपन्चर उपचार विधि चीनमा ज्यादै प्रचलित रहेछ । त्यसपछि हामी डाक्टर टी सपमा पुग्यौँ । विभिन्न प्रकारका चियाहरूको स्वाद लिएर केही चिया पनि किनियो । यसरी आजको हाम्रो दिनचर्या बित्यो ।

तेस्रो दिन (२२ अप्रिल) : बिहानै हामी तियानमेन स्क्वायरतर्फ प्रस्थान गर्यौँ । यो ऐतिहासिक ठाउँ हो । यहाँबाट सन् १९४९ मा महान् माओले जनवादी गणतन्त्र चीनको घोषणा गर्नुभएको थियो ।

जापानी साम्राज्यवाद र च्याङकाई सेकको प्रतिक्रियावादी सत्ता ध्वंस गरेर नयाँ चीनको उद्घोष गरेको यो भूमिमा सर्वहारा वर्गका महान् नेता चिनियाँ मुक्ति आन्दोलनका महान् नायक कमरेड माओ त्सेतुङको शव अहिले पनि त्यहीँ राखिएको छ । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक शोषण–उत्पीडनमा पिल्सिरहेको चीनलाई दीर्घकालीन जनयुद्धको माध्यमबाट क. माओले माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग गरी विजय हासिल गर्नुभयो । यो ऐ्तिहासिक स्थानको अवलोकन गर्न दसौँ हजार मानिसहरूको भीड पङ्क्तिबद्ध लाममा अघि बढिरहेको छ । तियानमेन स्क्वायरमा पुगेपछि थाहा भयो, शव राखिएको भवन निर्माणाधीन अवस्थामा रहेछ । त्यसैले क. माओको शव हेर्ने हाम्रो उत्कट अभिलाषा पूरा हुन सकेन । माओका योगदानहरू विषयमा गोष्ठी गर्ने मनसाय पनि पूरा हुन सकेन किनकि तियानमेन स्क्वायरमा नारा, जुलुस, ब्यानर र भाषणमा प्रतिबन्ध लगाइएको रहेछ । त्यसको वरिपरि अवलोकन गरेर केही तस्बिर खिच्दै हामी त्यहाँबाट फर्कियौँ ।

चौथो दिन (२३ अप्रिल) : आजको दिन आराम र सामान किनमेलका लागि छुट्ट्याइयो । व्यक्तिगत सरसफाइ सकेर चीनको बजार व्यवस्थापनको अध्ययन थालियो । विभिन्न स्थानमा पुगेर बेइजिङको बजार तथा व्यापार व्यवस्थाको अध्ययन गरियो । सबै सामान वर्गीकृत गरिएको देखियो । व्यापारमा महिलाहरूको बढी सक्रियता देखियो । सामान किन्नका लागि विभिन्न मुलुकका पर्यटकहरूको निकै भीडभाड देखिन्छ । विश्व व्यापार तथा अर्थतन्त्रमा बलियो उपस्थिति हासिल गर्न सफल चीनको व्यापार व्यवस्थापन निकै राम्रो देखियो । हामीले क. माओको तस्बिर अङ्कित लकेट, रातो तारा अङ्कित टोपीलगायत सामान किन्यौँ । आफ्नै मुलुकको उत्पादन र बिक्रीवितरणलाई खुला बजार तथा उदारीकरणको अनुकरण गरिरहेको चिनियाँ बजार र अर्थतन्त्रको प्रभाव विश्वव्यापी रहेको छ । चिनियाँहरू जसरी पनि पैसा कमाउने ध्याउन्नमा लागेको देखिन्छ ।

पाँचौँ दिन (२४ अप्रिल) : विशाल भूभाग ओगटेको पेकिङ विश्वविद्यालय अवलोकन गर्ने योजनाअनुरूप हामी त्यहाँ पुग्यौँ । चीनमा रहेको २२ सयभन्दा बढी विश्वविद्यालय र ३३८ प्रख्यातमध्ये पुरानो र स्थापित विश्वविद्यालयहो यो । मोटरबाटोको आधा घन्टा दूरीमा मात्र विश्वविद्यालय खोल्ने लक्ष्य रहेछ चीनको ।

यो विश्वविद्यालयमा पनि त्यो मापदण्ड पूरा गरिएको देखियो । राष्ट्रिय निकुञ्ज, जस्तै : रूखबिरुवा, विशाल तालजस्ता दृश्यले यो विशाल बगैँचाजस्तै देखिन्छ पेकिङ विश्वविद्यालय । प्रवेशद्वाराभित्र छिर्नेवित्तिकै सयौँ विद्यार्थीसँग भेट भयो । उक्त विश्वविद्यालयका बारेमा छिटफुट सोधियो । ठाउँठाउँमा व्यवस्थित भवनहरू छन् । अलि पर पुगेपछि अन्तर्राष्ट्रिय सम्बन्धको कार्यालयका डेपुटी डाइरेक्टर जुन यानसँग भेट भयो । उहासँग उठेरै छोटो छलफल पनि गरियो । उहाँसँगै एकजना मिसले नेपालमा आउने अभिलाषा व्यक्त गरिन् । हामीहरूले पनि स्वागत छ भन्यौँ । केही स्थान घुमेर पूर्वी द्वारबाट बाहिर निक्लियौँ ।

त्यसपछि बेइजिङको अर्काे पर्यटकीय गन्तव्य समर प्यालेस अवलोकन गर्न प्रस्थान गर्यौँ । टिकेट लिएर भित्र प्रवेश गर्यौँ । मनिसहरूको ठूलो भीड अवलोकनका लागि अघि बढिरहेको छ । विशाल उत्सवझैँ चङ्गाहरू आकाशमा उडिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै ठूलो जमात देखिन्छ । विशाल ताल छ । बगैँचा तथा निकुञ्जजस्तै बोटबिरुवाले प्राकृतिक सौन्दर्य प्रदर्शन गरिरहेका छन् । कलात्मक शैलीले निर्मित मन्दिर तथा गुम्बा आदिको अवलोकन गरियो । आजको भ्रमण सकेर बेलुका हामी पुनः होटेलतर्फ फर्कियौँ ।
छेन्दु हुदै पुनः ल्हासामा

सत्रौँ दिन (२५ अप्रिल) : ५९० सिट क्षमता भएको जेट विमानमा बेइजिङबाट छेन्दुतर्फ प्रस्थान गरियो । जहाजमा भिडियो हेर्दै, गेम खेल्दै र बेलाबेलामा लोकेसन अवलोकन गर्दै करिब ३ घन्टामा ११ बजे छेन्दु विमानस्थलमा पुग्यौँ । विमानस्थलबाट होटेलमा पुगी लगेज राखेर हामी क. माओका योगदानहरूका विषयमा गोष्ठी गर्ने उद्देश्यसहित टेम्पल स्क्वायर छेन्दुतर्फ प्रस्थान गर्यौँ । क. माओको विशाल सालिक राखेको एउटा भव्य बगैँचाजस्तो स्थानमा पुगेर ब्यानरसहित सङ्क्षिप्त गोष्ठी सकेर होटेलतर्फ फर्कियौँ ।

ब्यानर टाँगेर कार्यक्रम गर्न लाग्दा सुरक्षा निकायबाट हस्तक्षेप हुन थाल्यो । संयोग नै भनौँ, त्यसैबेला आकाशमा उड्दै आएको हेलिकोप्टर हाम्रो टाउकैमाथि घुम्यो । हामी बगैँचातिर लागेपछि हेलिकोप्टर पनि फर्कियो । क. माओको चिनियाँ क्रान्तिमा रहेको योगदान तथा विश्व सर्वहारा वर्गका लागि उहाँले गरेको मार्गदर्शनको पनि छोटो चर्चा उक्त गोष्ठीमा भयो । क. माओको जन्मस्थल हुनान प्रान्तमा पुगेर उक्त गोष्ठी गर्ने हाम्रो उद्देश्य समयको चापले साथ दिएन ।

आफ्नो मुलुकमा

यात्राको अठारौँ दिन (२५ अप्रिल) : आज हामी जनवादी गणतन्त्र कोरियाको भ्रमण सकेर आफ्नो मुलुक फर्किने तयारीमा छौँ । ८ः१५ बजेको एयरपोर्ट समयअनुसार हामी ७ बजे नै पुगिसकेका छौँ । मेरो मानसपटलमा जनवादी गणतन्त्र कोरिया र जनवादी गणतन्त्र चीनको अवलोकन भ्रमणको डायरी कुदिरहेको छ । नेपाल पुगेर अनुभूति साट्ने कौतूहल पनि छ । छेन्दुको आकाशबाट ल्हासा हुँदै नेपाल पुग्दासम्म विशाल हिमाली क्षेत्र र विश्वको सर्वाेच्च शिखर सगरमाथाको फेद हुँदै करिब १२ बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यौँ । कोरिया भ्रमणका जीवन्त अनुभूतिहरूलाई लिखित रूपमा साट्ने अभिप्रायले यो डायरी तथा संस्मरण लेख्ने प्रतिज्ञा मैले गरेको हुँ ।

(‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया’ पुस्तकबाट साभार)

सन्दर्भ सामग्री

१. अशोक सुवेदी, जनवादी गणतन्त्र कोरिया यात्रा र हाइड्रोजन भूकम्प, नेपाल–कोरिया लेखक/पत्रकार मञ्च, २०७३ कात्तिक
२. एकीकृत जनक्रान्ति, परिमार्जित तेस्रो संस्करण, सम्पा. अशोक सुवेदी, जनशिक्षा मासिक, २०७३ फागुन
३. रोहित, कोरिया भ्रमण, कोरिया अध्ययन मण्डल भक्तपुर, २०५७ भदौ
४. नरेश सम्पति शाक्य, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको भ्रमण यात्रा संस्मरण, फेब्रुअरी २०००
५. श्यामकृष्ण खुलीमुली, संसार हल्लाउनेहरू (१०१ जीवनपुञ्ज), तेस्रो संस्करण, ऐरावती प्रकाशन प्रालि, वैशाख, २०६९
६. सी चिनफिङ, चीनको शासन व्यवस्था, चीन अध्ययन केन्द्र, २०१६
७. किम इल सुङ, नेपाल कोरिया मैत्री सङ्घ, २००१
८. किम जोङ उन, विदेशी भाषा गृह, प्योङयाङ कोरिया, जुछे १०४ (२०१५)
९. चीन : एक जानकारी, चीन अध्ययन केन्द्र ।

वेबसाइट

  1. www.kass.org.kp
  2. www.kcna.kp
  3. www.uriminzokkiri.com
  4. www.naenara.com.kp
  5. www.mediaryugyong.com.kp
  6. 6. www.google.com
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :