कलाकार अरनिकोको स्मृति दिवस मनाइयो

कलाकार अरनिकोको स्मृति दिवस मनाइयो

काठमाडौँ : चीनसम्म पुगेर आफ्नो प्रतिभाबाट नेपाललाई चिनाउने कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) ले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय विभूति घोषित कलाकार अरनिकोको स्मृति दिवस मनाएको हो । उक्त अवसरमा क्यानले कलाका विभिन्न विधाका १५ कलाकारलाई नगद र दुई कलाकारलाई सम्मानपत्रसहित सम्मान गरेको जानकारी संस्थाका सचिव अग्निराज पौडेल ‘अराप’ ले दिए ।

क्यानले अरनिकोविद्का रूपमा चिनिएका साहित्यकार सत्यमोहन जोशीको स्मृतिमा ३० हजार रुपैयाँको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कार पनि घोषणा गरेको छ । यस वर्ष उक्त पुरस्कार वासुदेव अधिकारीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा सङ्घका केन्द्रीय सचिव अग्निराज पौडेल ‘अराप’ ले कलाकारहरूलाई राज्यले गरेको भेदभाव र दृश्य प्रदूषणका नाममा कला व्यवसायीमाथि भइरहेको ज्यादतीलाई समेटेर लेखिएको कविता प्रस्तुत गरेका थिए । त्यसैगरी कलाकार हरिप्रसाद वैद्यका विद्यार्थीले भ्वाइलिनको धुन र गायिका उमा पनेरूले गीत गाएका थिए । सङ्घका अध्यक्ष आईबी मल्लको अध्यक्षता र महासचिव भोलानाथ पौड्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सङ्घका कोषाध्यक्ष प्रेमलाल श्रेष्ठले अतिथिहरूलाई शब्दले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :