प्रचण्ड मत र प्रचण्ड चुनौती

समाचार विश्लेषण

प्रचण्ड मत र प्रचण्ड चुनौती

दृश्य

पुस २६ गते बेलुकाको ५ः२८ बजेको थियो । नाती जर्नेल श्री पशुपतिशमशेर जङ्गबहादुर राणा संसद्को सभामुखको कुर्सीमा बसेर एकएक अक्षर उच्चारण गरिराखेका थिए– सम्माननीय श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनाइयोस् भनी राखेको प्रस्तावका पक्षमा मतदान हुँदा खसेको जम्मा २७० मतमा २६८ मत प्राप्त गर्नुभएकाले उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछु । पशुपतिशमशेर जङ्गबहादुर राणालाई संसद्का कर्मचारीहरूले लेखेर दिएको कुरा र नाम उच्चारण गर्न निकै अप्ठ्यारो भैराखेको थियो । ८१ वर्ष काटेका वयोवृद्ध राणालाई अप्ठ्यारो लाग्नु त स्वाभाविक नै हो तर उनले गरेको ढिलाइबाट प्रचण्ड र उनका सहकर्मी नारायणकाजी श्रेष्ठ आत्तिराखेका थिए । यो दृश्य हेर्नलायक थियो । अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यप्रणालीको पूर्ण अन्त्य गरी नयाँ जनवाद स्थापना गरेर समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने हेतुले गरिएको जनयुद्धका सुप्रिम कमान्डरलाई प्रधानमन्त्री भएको घोषणा गर्ने अवसर जन्मसिद्ध जर्नेल भएका र अहिले पनि राजतन्त्रको वकालत गर्ने पशुपतिशमशेर राणालाई प्राप्त भएको थियो ।

कसकसको समर्थन

पुस ९ गते खड्गप्रसाद ओलीले एउटा कार्यक्रममा बोलेका थिए— अब प्रचण्डको प्रधानमन्त्री हुने सबै सम्भावनाका ढोकाहरू बन्द भएका छन् । तर १० गते १२ बजेतिर एकाएक उनको भनाइले एक सय असी डिग्रीको फन्को मार्यो– केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, नागरिक पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र स्वतन्त्र सांसदहरूको हस्ताक्षर लिएर दलबलसहित राष्ट्रपति निवास शीतल निवास पुगेका थिए प्रचण्ड । ११ गते राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको शपथ ख्वाइयो ।

शपथ ख्वाएको १५ दिनपछि विश्वासको मत प्राप्त गर्न संसद्‌मा चुनाव भयो । मतदान हुँदै गर्दा संसद्‌मा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक—एकजना गरी जम्मा २ जनाले मात्र प्रचण्डका विरुद्ध मतदान गरे । यसरी नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबैले मत दिएका थिए । संसद्मा उपस्थित अरू सबै २ सय ६८ जना अर्थात् ९९.२५ प्रतिशतले पुष्पकमल दाहाललाई मत दिएका थिए । यस्तो मत नेपालको संसदीय प्रणालीअन्तर्गत यसअघि कहिल्यै भएको थिएन । सायद अब पनि नहोला । त्यसैले प्रचण्डले संसद्‌मा प्रचण्ड मत पाएका छन् ।

कस्ता—कस्ता पार्टी

२०७२ सालमा संविधानसभाद्वारा क्रियावादी–प्रतिक्रियावादी, गामी–प्रतिगामी सबैलाई उपयुक्त हुने संविधान घोषणा भएपछि जनयुद्ध र त्यसको जगमा भएको १९ दिने जनआन्दोलनका उपलब्धिहरूलाई खण्डित गरिएको थियो । त्यसैको परिणामस्वरूप प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा, २०६३ साल जेठ ४ गते राजतन्त्रमाथि लगाइएको प्रतिबन्ध र २०६५ साल जेठ १५ गतेको पहिलो संविधानसभाको पहिलो बैठकले गरेको घोषणालाई प्रचण्डले आफू प्रधानमन्त्री हुनका लागि मात्र उल्ट्याएका छन् । यसैको फलस्वरूप, खुला राजावादी राप्रपा, सङ्घीयताविरोधी स्वतन्त्र पार्टी, मधेस टुक्र्याउनुपर्छ भनी सशस्त्र युद्धको घोषणा गरेका, मधेसलाई अलग राज्य घोषणा गरेका, झन्डा, राष्ट्रिय गान बनाएर गाएका सीके राउत, टीकापुर घटनाका प्रमुख अभियुक्त घोषणा गरिएका रेशम चौधरीहरूले आफ्ना पार्टीका माग र धारणालाई पुस २५ गते सार्वजनिक गरिएको सरकारको न्यूनतम् कार्यक्रममा समावेश गरेपछि मात्र प्रचण्डलाई प्रधानमन्त्रीका लागि मत दिने अडान लिएका थिए । त्यसैको फलस्वरूप राप्रपाले राखेको मुख्य माग पृथ्वीजयन्तीमा बिदा दिने सूचना गृह मन्त्रालयले पुस २६ गते बिहान नै सार्वजनिक गरेको थियो । सङ्घीयताको पक्षधरदेखि कट्टर विरोधी, राजतन्त्रका विरुद्ध १० वर्ष जनयुद्ध लड्नेदेखि राजतन्त्र स्थापनाको नारा दिएर चुनावमा गएको राप्रपा, अमेरिकी, भारतीय, चिनियाँ पक्षधर भनिएकाहरूले प्रचण्डलाई मत दिएका छन् ।

कस्ता होलान् प्रचण्डका अबका दिन

अहिलेसम्मको घटनाक्रमलाई अध्ययन गर्ने हो भने १९५० को सन्धिपछिका सबै सरकार बन्ने र भत्कने प्रक्रियाहरू बाहिरबाट हुने गरेका छन् । प्रचण्डको यो सरकार पनि त्यस्तै बाह्य शक्तिको गुरुयोजनामा बनेको भन्न कुनै अप्ठ्यारो मान्नु पर्दैन । यति मात्र फरक हो– यो विगतका जस्ता खुलेआम चलखेलबाट होइन । यसमा गहिराइमा भएका योजनाहरू लागू गरिएका छन् । चपस्टिक डिप्लोमेसी प्रयोग गरिएकाले त्यसपछिका घटनाक्रम आश्चर्यजनक बन्ने गरेका छन् । पहिलो कुरा प्रचण्ड आजकै दिनदेखि तानातानमा परेका छन् । दोस्रो कुरा, उनले विभिन्न पार्टी र व्यक्तिसँग गरेका प्रतिबद्धताहरूले थिचेका छन् । तेस्रो कुरा, वैदेशिक शक्तिहरूको क्रीडास्थल बन्दै गरेको राजनीतिमा खेल्न उनलाई सकस पर्ने मात्र होइन, असफलता प्राप्त हुने सम्भावना छ भन्दा ढिलो नहोला ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :