नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालबीच पार्टी एकता संयोजन समिति गठन

क्रान्तिकारी समूहहरूलाई बृहत् ध्रुवीकरणका लागि आह्वान

नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालबीच पार्टी एकता संयोजन समिति गठन

काठमाडौँ : नेपालमा नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) बीच पार्टी एकता संयोजन समिति गठन भएको छ । नेकपा (बहुमत) का संयोजक कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीसहित तीनै पार्टीका सात–सातजना रहेको २१ सदस्यीय पार्टी एकता संयोजन समिति गठन भएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले मङ्गलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता संयोजन समिति गठन भएको सार्वजनिक गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि हामी तीन पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीचमा औपचारिक–अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल गर्दै आएका थियौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकताको अपरिहार्य ऐतिहासिक आवश्यकतालाई महसुस गर्दै सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता देखिए पनि कैयौँ विषयहरूमा बृहत् छलफल गरेर टुङ्ग्याउनुपर्ने भएकाले अन्तिम निष्कर्षमा पुग्नका लागि अहिले हामीले ‘पार्टी एकता संयोजन समिति’ बनाएर छलफल अघि बढाउने निर्णय गरेका छौँ ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा क्रन्तिकारी पार्टी निर्माणमा सहमत हुनसक्ने एकल वा समूहगत रूपमा छरिएर रहेका क्रान्तिकारीहरूलाई एकताप्रक्रियामा आउनका लागि आह्वान गर्दछौँ ।’

नेपालमा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमण बढिरहेको, राजनीतिक रूपमा प्रतिगमनका सङ्केतहरू देखिइरहेको, संसदीय संशोधनवादले क्रान्तिविरोधी हर्कतहरू अघि बढाइरहेको सन्दर्भमा तीन पार्टीको एकता संयोजन समितिलाई विज्ञप्तिमा भनिएजस्तै सर्वत्र अपरिहार्य ऐतिहासिक आवश्यकताका रूपमा लिइएको छ ।

नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले नेपालमा विभिन्न समयमा आन्दोलन, विद्रोह, युद्ध र क्रान्तिहरू भएका छन् तर पनि विद्रोह उठेर उत्कर्षमा पुगेपछि मूल नेतृत्व प्रतिक्रियावादी–साम्राज्यवादी र यथास्थितिवादी शक्तिसँग प्रभावित बनेर उपलब्धिहरू नै नामेट हुने गरी सम्झौता गर्ने र पुरानो सत्तामा लहसिएर सुधारवादी, संशोधनवादी बन्दै प्रतिक्रियावादलाई समर्थन गर्ने गर्नाले क्रान्तिका उपलब्धिहरू संस्थागत नै हुन नपाई प्रतिक्रान्ति हुने गरेको तीतो इतिहास र वर्तमानका बीच क्रान्तिकारी पार्टीहरूबीच पार्टी एकता संयोजन समिति गठन हुनुलाई क्रान्तिकारीहरूले ज्यादै सकारात्मक कदमका रूपमा लिएका छन् ।

२०२८ सालमा झापामा सामन्तहरूको सफाया विद्रोह सञ्चालन गरेका सीपी मैनाली, केपी वली र राधाकृष्ण मैनालीहरू संसद्वादमा डुबेर आफैँले अघि बढाएको विद्रोहप्रति पश्चाताप गर्ने अवस्थामा पुगेका छन् । २०५२ सालमा ऐतिहासिक र महान् जनयुद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल–बाबुराम भट्टराई–रामबहादुर थापाहरू जनयुद्धका सम्पूर्ण उपलब्धिहरू स्वाहा पार्दै दलाल पुँजीवादमा पतन भएका छन् भने एकीकृत जनक्रान्तिका नाउँमा विद्रोह अघि बढाएका नेत्रविक्रम चन्दहरू पनि अन्ततः संसदीय संशोधनवादी बनेर वैज्ञानिक समाजवादी क्रान्तिका विरुद्ध संसद्वादी आहालमा डुबुल्की मार्न पुगेका छन् । यसअघि विद्रोहको नेतृत्व गरेका पार्टीका शीर्ष नेतृृत्व नै क्रान्तिविरुद्ध, साम्राज्यवादको योजना र षड्यन्त्र लागू गर्ने स्थानमा पतीत भएर जनतामा निराशा उत्पन्न हुन लागेको समयमा क्रान्तिकारी शक्तिहरूबीच क्रान्ति सम्पन्न गर्ने उद्देश्यसहित पार्टी एकता संयोजन समिति गठन हुनु ऐतिहासिक कदम हो ।

नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले सोमबार संयुक्त वक्तव्य जारी गर्दै एमसीसीविरुद्ध लडिरहेका काठमाडौँ लप्सीफेदीका जनताको विद्रोहप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए भने आस्थाका बन्दीहरूलाई रिहा गर्न माग गर्दै पुस २७ मा पृथ्वीजयन्ती मनाउने तयारी राजतन्त्र फर्काउने षड्यन्त्र भएकाले प्रतिगमनको प्रतिरोधमा उत्रिन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :