सर्वसाधारणले पहिलोपल्ट लगाए कुलमान घिसिङ र रवि लामिछाने मुर्दावादको नारा

एमसीसी परियोजनाविरुद्ध लप्सीफेदीबासी निरन्तर आन्दोलनमा

सर्वसाधारणले पहिलोपल्ट लगाए कुलमान घिसिङ र रवि लामिछाने मुर्दावादको नारा

लप्सीफेदी (काठमाडौँ) : सम्भवतः कुलमान घिसिङविरुद्ध सर्वसाधारणले पहिलोपल्ट मुर्दावाद र राजीनामा दे भन्ने नारा लगाएका छन् र त्यसमै थपिएका छन् सत्ता राजनीतिमा भर्खरै प्रवेश गरेर गृहमन्त्री पड्काएका रवि लामिछाने पनि । सर्वसाधारणले कुलमानलाई उज्यालो र रविलाई निर्भीकताको बिम्ब मान्ने भुल गरेको हुनसक्छ, अन्तिममा उनीहरूले आफ्नो सक्कली अनुहार देखाएका छन् । लप्सीफेदीमा आफूहरूलाई झुक्याएर साम्राज्यवादी डिजाइन र उद्देश्यको एमसीसी कार्यान्वयनका लागि विद्युत् सबस्टेसन बन्न थालेको सुइँको पाएपछि प्रतिरोधमा उत्रिएका सर्वसाधारणमाथि राज्यस्रोतको दुरूपयोग गर्दै निर्मम दमन गरेसँगै उत्पीडित सर्वसाधारणले कुलमान र रविका विरुद्धसमेत नारा लगाएका हुन् । उनीहरू एमसीसीविरुद्ध लड्दै आएका छन् ।

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन । हाम्रो जमिन फिर्ता गर, जनताको अधिकार सुनिश्चित गर । मानवअधिकार सुनिश्चित गर, गृहमन्त्री राजीनामा दे । कुलमान घिसिङ मुर्दावादलगायत नाराहरूसहित लप्सीफेदीबासी अहिले एमसीसी परियोजनाको विरोध/प्रतिरोध आन्दोलनमा उत्रिएका छन् । एमसीसी परियोजनाका कारण विस्थापित भई घरबासविहीन हुनुपर्ने स्थिति उत्पन्न भएकाले काठमाडौँको शङ्खरापुर नगरपालिका ३ मा पर्ने बोजिनी, सोझे, ढोक्साङ, पाख्रिनटोललगायत बस्तीका बासिन्दा यही पुस १७ गतेदेखि विरोध/प्रतिरोध आन्दोलनमा उत्रिएका हुन् ।

एमसीसीविरोधी जनताको सचेत आन्दोलन (जनआन्दोलन) प्रति नेकपा (बहुमत), नेकपा (क्रन्तिकारी माओवादी) र नेकपा (मशाल) ले ऐक्यबद्धता प्रकट गरेका छन् । नेकपा (बहुमत) का काठमाडौँ जिल्ला संयोजक अविरल, नेकपा (क्रान्तिकारी माओवादी) की काठमाडौं इन्चार्ज शारदा महत, नेकपा मशालका मनु विकलगायत तीनै पार्टीका प्रतिनिधि लप्सीफेदी पुगेर जनताको आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताएका छन् । तीनै पार्टीका तर्फबाट संयुक्त प्रतिनिधिका रूपमा आन्दोलनलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीकी काठमाडौँ जिल्ला इन्चार्ज शारदाले सोमबार ऐक्यबद्धता मन्तव्य व्यक्त गरिन् ।

एमसीसी परियोजनाअनुसार काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर ३ (साबिक लप्सीफेदी गाविस) स्थित जहरसिंहपौवाको बोजिनीमा निर्माण हुने अपर तामाकोसी प्रसारण लाइनको सबस्टेसनसँगसँगै एमसीसी परियोजनाको कार्यान्वयनसमेत सुरु हुन्छ । सोही एमसीसी परियोजनाको विरोधमा स्थानीयले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले फासिवादी ढङ्गले दमन गरिरहेको छ । महिला तथा बालबालिकालाईसमेत लछारपछार पार्ने, पिट्ने, घिसार्ने, घाइते बनाउने र स्थानीयमाथि पेस्तोल ताक्नेसम्मको हर्कत प्रहरीले गरेको हो । स्थानीयमाथि प्रहरीले गरेको ज्यादतीका तस्बिर र श्रव्यदृश्यहरू सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । विरोध प्रदर्शन गर्ने स्थानीयको घरमै पुगेर पुरुष प्रहरीले महिलाको कपाल समातेर लछारपछार पारेको भिडियोमाथि सामाजिक सञ्जालमा टिप्पणीहरू भइरहेको छ ।

प्रहरीको कुटपिट तथा यातनाका कारण १२ वर्षका बालकसमेत घाइते भएको सङ्घर्ष समितिका अध्यक्ष रञ्जित तामाङले बताए । स्थानीयले प्रहरी दमनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसमेत दिएका छन् ।

दोलखाको माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन हुने ४५६ मेगावाट विद्युत् लाइन काठमाडौँको शङ्खरापुर नपा ३ जहरसिंहपौवास्थित बोजिनीसम्म ल्याउनका लागि सबस्टेसन बनाउने तयारी गरिएको छ । त्यो सबस्टेसनबाट तीनतिर ४०० केभीको हाइटेन्सन लाइन फैलिन्छ । एउटा तामाकोसीबाट आउने हाइटेन्सन लाइन, अर्को नुवाकोटको रातमाटे जाने एमसीसी परियोजनाको हाइटेन्सन लाइन र अर्को काठमाडौँ उपत्यका ल्याउने हाइटेन्सन लाइन गरी ३ तिर हाइटेन्सन लाइन जाने भएपछि त्यो गाउँ नै पूरै विस्थापित हुने अवस्था आएको छ । सबस्टेसन बनाउन १९० रोपनीभन्दा बढी जमिन अधिग्रहण गरिएको भनिएको छ तर स्थानीयले उक्त जग्गा अधिग्रहण नगरिएको बरु अन्यायपूर्ण ढङ्गले झुक्याएर, धम्क्याएर, दबाब दिएर हड्पिएको बताएका छन् । सबस्टेसन लाइन बनाउन थप जग्गासमेत अधिग्रहण गर्न खोजिएको छ । यसरी उक्त ठाउँमा निर्माण हुने टावर र हाइटेन्सन लाइनका कारण गाउँ नै विस्थापित हुने भएपछि स्थानीय बासिन्दा आफ्नो थातथलो जोगाउनका लागि प्रतिरोध आन्दोलनमा उत्रिएका हुन् ।

लप्सीफेदी क्षेत्रमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका स्थानीय बासिन्दामाथि दमन गर्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीको घेराभित्र सबस्टेसन राख्नका लागि अधिग्रहण गरिएको र व्यक्तिको थप निजी जग्गासमेत सर्भे गर्न थालिएको छ । स्थानीय आरके तामाङले भने, ‘आफ्नो खेतबारीमा, गोठमा, घरको आँगनमा सर्भे गर्न थालेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिनु स्वाभाविक हो । शान्तिपूर्ण विरोध र आन्दोलनमा प्रहरी दमन सुरु भएपछि झडप हुने, विवाद हुने अवस्था आइरहेको छ । पहिलो दिन ३ जनालाई पक्राउ गरियो । दोस्रो दिन ३ जना घाइते भए । तेस्रो दिन एकजनालाई पक्राउ गरेर प्रहरीले लग्यो । चौथो दिन ३ जनालाई पक्राउ गरेर लगेको थियो भने पाँचौँ दिनको प्रदर्शनमा ४ जना घाइते भएका छन् ।’

त्यस ठाउँमा सर्वसाधारणको १९० रोपनीभन्दा बढी जमिन अधिग्रहण गरिएको छ । अधिग्रहण गरिएको जग्गाका अधिकांश धनीले मुआब्जा बुझिसकेको बताइएको थियो तर एमसीसीको प्रयोगका लागि भन्ने थाहा पाएपछि आफूले बुझेको मुआब्जा फिर्ता गर्न तयारी गरिएको छ । स्थानीय बुद्धमाया वाइबाका अनुसार सुरुमा सरकारले जमिन रोक्का गरेको थियो । कुनै कारणबिना जमिन रोक्का भएकाले त्रसित भएका सोझासीधा स्थानीय बासिन्दाले झुक्याएर र धम्क्याएर वितरण गरिएको मुआब्जा मात्र लिएका हुन् । उनले भनिन्, ‘हामीले जग्गा दिएको होइन । जबर्जस्ती गरिएको छ । हामीलाई झुक्याइएको छ । यसलाई हामीले राजीखुसीले जग्गा दिएको अर्थमा बुझ्नु हुँदैन ।’

स्थानीय इन्द्रकुमारी वाइबा भन्छिन्, ‘अहिल्यै मुआब्जा लिने भए लेऊ, नलिने भए पछि पाउँदैनौ भनेर हामीलाई धम्क्याइयो । अहिले एमसीसी आउँछ भन्ने थाहा भयो । हामी उनीहरूको पैसा फिर्ता दिन्छौँ । यहाँ एमसीसी परियोजनाका लागि सबस्टेसन बन्न दिँदैनौँ । एमसीसी लागू हुन दिँदैनौँ ।’

अर्का स्थानीय आसमान वाइबाले कुखुरा फार्म चलाउन भनेर जग्गा धितो राख्न बैङ्कमा गएपछि मात्र आफ्नो जग्गा रोक्का भएको थाहा पाएको बताए । ‘सरकारले सबस्टेसन निर्माण गर्ने भनिएको क्षेत्रको जग्गाको किनबेच रोक्का गरेको रहेछ तर यसबारे हामी कसैलाई कुनै पनि सूचना थिएन । हाम्रो जग्गा षड्यन्त्रपूर्वक कब्जा गरिएको छ । यो हामीलाई स्वीकार्य छैन ।’

लप्सीफेदीका एमसीसीपीडित सर्वसाधारण आफूहरू कुनै सम्झौता नगरी जमिन रक्षाका लागि लडिरहने बताउँछन् । उनीहरू राष्ट्रघाती परियोजनाका रूपमा प्रमाणित र बदनाम एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने भन्दै प्रतिरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्