नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालद्वारा एमसीसीविरुद्ध लडिरहेका लप्सीफेदीका जनताप्रति ऐक्यबद्धता

पुस २७ मा पृथ्वीजयन्ती मनाउने तयारी राजतन्त्र फर्काउने षड्यन्त्र भएकाले प्रतिरोधमा उत्रिन आह्वान

नेकपा (बहुमत), क्रान्तिकारी माओवादी र मशालद्वारा एमसीसीविरुद्ध लडिरहेका लप्सीफेदीका जनताप्रति ऐक्यबद्धता

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा एउटै मोर्चा बनाएर सङ्घर्ष गरिरहेका नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा –मशाल) ले संयुक्त वक्तव्य जारी गरी एमसीसीको षड्यन्त्रविरुद्ध काठमाडौँ लप्सीफेदीमा विस्फोट भएको जनआक्रोशप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी निर्देशनमा नेपाल सरकारद्वारा जनतामाथि गरिएको दमनको घोर भत्र्सना गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले सोमबार जारी गरेको संयुक्त वक्तव्यमा पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पुस २७ गते पृथ्वीजयन्ती मनाउने तयारी गर्दै सरकारले प्रतिगामी कदम चाल्न थालेकोमा तीन पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त प्रतिगामी कदमका विरुद्ध ऐतिहासिक जनसङ्घर्षहरूका उपलब्धिको रक्षा गर्न र त्यसका लागि कडा सङ्घर्षको तयारी गर्न आम जनसमुदायलाई आह्वान गरिएको छ । वक्तव्यमा तीनबुँदे सहमतिविपरीत आजसम्म पनि बन्दी बनाएर राखिएका आस्थाका बन्दीलाई अविलम्ब रिहा गर्न सरकारसँग माग पनि गरिएको छ ।

प्रेस वक्तव्यमा भनिएको छ, ‘अमेरिकी परियोजना सहश्राब्दी चुनौती निगम (एमसीसी) अन्तर्गत सहश्राब्दी निगम लेखा (एमसीए) को हामी तीन कम्युनिस्ट पार्टीले जोडदार विरोध गर्दै आएको कुरा सर्वविदितै छ । तर हाम्रो आवाजलाई लत्याउँदै संसद्बाट विसं २०७८ फागुन १५ गते ‘व्याख्यात्मक टिप्पणी’ का नाममा पारित गरियो । एमसीएले नेपालका प्राकृतिक स्रोतहरू लुटपाट गरी निर्यात गर्ने उद्देश्यका साथ काठमाडौँको लप्सीफेदी, नुवाकोटको बेलकोटगढी (रातामाटे), नवलपरासीको भूमहीलगायत स्थानहरूमा ४०० केभी विद्युतीय प्रवाह सबलाइन निर्माण गरेको विषयमा पनि हाम्रो कडा विरोध थियो । आज लप्सीफेदीमा जनआक्रोश विस्फोट हुन पुगेको छ । यहाँ विद्युत् प्राधिकरणको घर बनाउने भनेर एमसीएअन्तर्गत विद्युतीय प्रवाह सबलाइन बनाउन जग्गा लिएको कुरा जनताले थाहा पाएपछि विरोधमा उत्रेका छन् । हामी जनताको यो विरोधप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी निर्देशनमा नेपाल सरकारद्वारा जनतामाथि गरिएको दमनप्रति घोर भत्र्सना गर्दछौँ । यसका साथै सरकारलाई यो राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न जोडदार माग गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘२०६३ साल जेठ ४ गते पुनस्र्थापित संसद्द्वारा राजतन्त्रको अन्त्य गर्ने प्रक्रियामा ‘श्री ५ को सरकार’ नलेख्न र तत्कालीन राष्ट्रिय गान ‘श्रीमान् गम्भीर’ हटाउन गरिएको निर्णय र २०६५ साल जेठ १५ गते ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को पहिलो संसद्ले राजतन्त्रको अन्त्य गरी पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पृथ्वीजयन्ती मनाउने निर्णय खारेज गरेको सन्दर्भमा वर्तमान सरकारले उक्त निर्णय उल्ट्याउने प्रतिगामी कदम चाल्न थालेकोमा हामी तीन पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वास्तवमा राजतन्त्रलाई पुनस्र्थापना गर्ने प्रतिगामी कदम हो । यो नेपाली जनताले विभिन्न ऐतिहासिक जनआन्दोलनहरूमा गरेको बलिदान र रगत–पसिनामाथि खेलबाडबाहेक अरू केही होइन । त्यसकारण हामी यो प्रतिगामी कदमको घोर भत्र्सना गर्दै नेपाली शोषित–उत्पीडित जनतालाई ऐतिहासिक जनसङ्घर्षहरूका उपलब्धिको रक्षा गर्न र त्यसका लागि कडा सङ्घर्षको तयारी गर्न आह्वान गर्दछौँ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘विभिन्न जनसङ्घर्ष र जनआन्दोलनका क्रममा बन्दी बनाइएका तथा तीनबुँदे सहमतिअनुसार रिहा गर्नुपर्ने राजनीतिक आस्थाका बन्दीहरूलाई अहिलेसम्म रिहा नगरिएकोमा पनि गम्भीर रूपमा हाम्रो ध्यानाकर्षण भएको छ । हामी वर्तमान सरकारलाई देशका विभिन्न कारागारमा रहेका आस्थाका बन्दीहरूलाई यथाशीघ्र रिहाइका लागि जोडदार माग गर्दछौँ ।’ प्रेस वक्तव्यको पूरापाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :