दिलमाया !

सन्दर्भ : २७ औँ बेथान वीरता दिवस

कविता

गाऽऽढा नीला आँखा
लमतन्न बिच्छ्याएर
दुस्मन–क्याम्पमा विस्फोटित
हाम्रो आस्थाकी सगरमाथा तिमी !

उर्लंदो यौवन र रूपलाई
फ्युजन गराएर मालेमामा
दुस्मन इलाकामा
बारुदको फ्युज जोड्दै गरेकी
धर्तीको असमानता नामेट पार्न
भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी
हाम्रो निष्ठाकी अविचल चन्द्रमा !

‘निष्पट्ट अन्धकार भगाउन
आफैँ मशाल बन्नुपर्छ
दुष्टता र निचता अन्त्य गर्न
आफैँ नमुना बन्नुपर्छ
सल्काउनुपर्छ आफ्नै टाउकोमा
आगोका लप्काहरू’
गर्दै कासन
दुस्मन–क्याम्पका भग्नावशेषहरूमाथि
बलेर आफैँ चम्किरहेकी
लालभूमिकी चमचमाउँदी सितारा !

उठ न उठ एकफेर
ए ! बेथानकी सन्तान !
ए ! लालभूमिकी जूनमाया !
तिम्रो चिरनिद्राको १७ शिशिरपछि
हातमा लिएर तिम्रो प्रतिमूर्ति
गरिरहेछु ऐलान–
जगाऊ न जगाऊ एकफेर
तिमीसँगै विस्फोटित लालहरूलाई पनि
लामो यात्राकी विश्वासिली पथप्रदर्शक !

तिम्रो महायात्रापछिको यो अवधि
तिमीसँग बिछोडपछिको यो पल
तिम्रो रक्ततर्पणपछिको यो तप्त समय
आशा–निराशा–आशा बन्दै
तय गरिरहेछ अर्काे लामो यात्रा
आऊ न आऊ प्यारी कमान्डर
गरिदेऊ न नेतृत्व एकफेर नयाँ यात्राको ।
गोलमटोल मस्तिष्कहरूलाई
गतिहीन मुटुका धड्कनहरूलाई
लक्पकाउन लागेका तिघ्राहरूलाई
गरिदेऊ न जोडजोडले कासन एकफेर
यात्रा नटुङ्गिँदै बास बस्न हतारिएका
सार्यौ र गौँथलीहरूलाई ।
औँल्याइदेऊ न एकफेर
कर्मी माहुरी र दुष्ट अरिङ्गालहरूलाई ।

त्याग, शौर्य र बलिदानकी प्रतिमूर्ति
मध्यरातकी जूनकीरी
श्मसानकी दुन्दुभि !
ए, लालधरतीकी लालपुत्री !
ए, नवीन आयुधकी वीराङ्गना !!
देखाइदेऊ न सही बाटो
यात्रामा रुमल्लिरहेका पथिकहरूलाई
पर्गेलिदेऊ न गन्तव्य
आगो ओकल्न तयार अग्निबीजहरूलाई
नौलो युगकी संवाहक तिमी
गर न फेरि ललकार दुष्टहरूलाई
रातो समयकी लालतारा तिमी दिलमाया !
लालभूमिकी लालपुत्री तिमी जूनमाया !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :