विश्व फुटबलकै महान फुटबलर पेलेको निधन

विश्व फुटबलकै महान फुटबलर पेलेको निधन

काठमाडौँ : विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो भएपनि विश्वभर उनलाई पेलेबाटै चिनिएका छन् ।

क्यान्सर र मृगौला तथा मुटुमा गम्भीर समस्या देखा परेपछि अस्पताल भर्ना भएका पेलेको स्वास्थ्यमा झनझन गम्भीर बन्दै गएको थियो । १७ वर्षको कलिलो उमेरमा फुटबलका अन्तर्राष्ट्रिय खेलाडी भएका पेलेले तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाएका थिए । खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका थिए।

पेलेले खेल जीवनमा एक हजार गोल गरेका थिए । धेरैजसो उनले घरेलु क्लब सान्टोसका लागि गोल गरेका थिए । पेलेको जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलको सानो सहर मिनास गेराइसमा भएको थियो । तीन पटक विश्वकप उपाधि जिताएकोले पेलेलाई ब्राजिलमा नायकका रूपमा लिइन्छ । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । अहिलेसम्म तीन पटक विश्वकप जित्ने पेलेको रेकर्ड कसैले तोडेका छैनन् ।

२१ वर्षको लामो फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गोल गरेको विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो । पेलेको निधनको खबरले विश्वभरका उनका फ्यानहरु शोकमा डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस्