युगौँयुगमा देखिने दुर्लभ–सुन्दर दृश्य

कविता

युगौँयुगमा देखिने दुर्लभ–सुन्दर दृश्य

दुर्गन्धित पानी र मलमूत्रहरू बोकेर
हरपल घिस्रिरहेछ बागमती
जसरी घिस्रिरहेछन् सभ्य समाजको असभ्य दुर्गन्ध बोकेर
विष्णुमती र इच्छुमतीहरू
तिनै दुर्गन्धवतीका किनारहरूमा
पन्छाउँदै सभ्यहरूले फालेका असभ्य मलमूत्र र प्लास्टिकका पोका
छन् लर्खराउँदै उभिएका बुकुराहरू ।
मानेर तिनै बुकुराहरूलाई दरबार
सजाएर बुकुराहरूमा सुन्दर सपना
काटिरहेछन् तप्त पल केही बुकुरेहरू
काटिरहेछन् रुग्ण–जिन्दगी बुकुरेहरू ।

पिल्पिलाउँदा दुर्गन्धित बस्तीहरूमा
आउँछन् बेलाबेला
चढेर हात्ती, घोडा र प्राडो–पजेरो
दल खोलेर देश लिलाम गर्न पल्केका महामहिमहरू र
गर्छन् दर्शन, नमस्कार र पाउलागी
मानौँ– भेट्न आएका हुन् बाबु, आमा र प्रियजन ।
बाँड्छन् सपना– छिट्टै महल बन्नेछन् यी झुप्राहरू
दिन्छन् ढाडस– आउनेछ रातारात लालपुर्जा
यो रहनेछैन सुकुमबासी बस्ती, बन्नेछ सुकुमार बस्ती
र हुनुहुनेछ तपाईंहरू
यो देशको भविष्य, यो देशको कर्णधार…
बाँड्दै सुन्दर सपनाका हवेली
जब फुत्काउँछन्÷लुट्छन्÷चोर्छन्
सुन्दर भविष्य खोजिरहेका झुप्राहरूको अन्तस्करण
तुरुन्त लोप हुन्छन् कुनै जादुगरझैँ ।

‘हाम्रा भविष्य र कर्णधार हौ’ भन्थे महामहिमहरू
आज आउलान्, भोलि आउलान्, पर्सि आउलान्
टट्टाइसक्छन् बस्तीका आँखाहरू
बितिसक्छन् कयौँ रुग्ण–जीर्ण जिन्दगी
अहँ आउँदैआउँदैनन्
कहिल्यै आउँदैनन् ती ‘सपनाका सौदागर’ हरू
आशा, सपना र कल्पनामै बित्छन् दर्जन– तुसारे शिशिरहरू
चुहाउँदै झुप्राछाप्रामा तुसारो र पानी
जीवनँसगै छचल्किँदै–बढारिँदै–बगाउँदै बुकुराहरू !

स्वप्नबगैँचा बगेकै एउटा बिहान
बस्तीभरि भइरहेको छ माइकिङ र टाँसिएका छन् सूचनाहरू–
सहर फोहोर र दुर्गन्धित गराएको छ रे
भोकमरी लागेका फोहोरी सुकुमबासी बस्तीहरूले…
सूचनासँगै आउँछन् लावालस्कर
बुल्डोजर, सङ्गीन र आगोका मुस्ला
हेर्दाहेर्दै दन्किन्छन् दनदनी बुकुराहरू
छैन कुनै मूल्य
बिलौना, चिच्याहट, क्रन्दन र रोदनको !
बस्ती बिमाख पार्न आदेश दिइरहेछ त्यही महामहिम
जो हिजो बाँडिरहेको थियो स्वप्नमहलका सपनाहरू ।

जब लाग्छ बुकुरा–सपनामा आगो
जब दन्किन्छन् स्वप्नमहल र स्वप्नबगैँचाहरू
जब चल्न थाल्छन् सपना–बस्ती छाप्राहरूमा
बुल्डोजरका तीखा विषाक्त नङ्ग्राहरू
जब चल्न थाल्छन् रित्ता थाल, बटुका र कराईहरूमा
सकसकाउँदा सङ्गीनहरू– बुकुरेका अर्धनग्न तनहरूमा
विवशतामै भट्टी बन्न थाल्छन् रित्ता चुलाहरू र
लाग्न थाल्छ धार भुत्ते खुकुरीहरूमा
अनि सुरु गर्छन् ती
हावासँगै चम्किन र लहराउन आकाशमा
धमाधम भरिन थाल्छन् पेट्रोलले रित्ता बोतलहरू
हुत्तिन्छन् आततायी, निर्विवेकी नीलवस्त्रे हूलतिर
कुलेलम ठोक्छ एउटा जब्बर पुँजीवाद पीठ फर्काउँदै
बस्तीहरूबाटै उदाएर
बस्तीहरू नै नामेट पार्ने स्वेच्छाचारी आतङ्क–साम्राज्य !

युगयुगपछि देखिएका छन् सहरभित्रका छाप्रे बस्तीमा
खुकुरी चम्किएका दृश्यहरू
पेट्रोल भरिएका बोतलसहितका अति सुन्दर दृश्यहरू
तिनै खुकुरीको चम्चमाहट र बतासिँदै डोजरतिर बढेका
पेट्रोल भरिएका बोतलहरू र
गन्धक–तीतेपातीको घुलनमा
देखिरहेछु म एकीकृत जनयुद्धका भ्रूणहरू
युगौँयुगमा देखिने सुन्दर, दुर्लभ दृश्यहरू
नालापानी र दसबर्से जनसङ्ग्रामपछि उदाएका
मनै लोभ्याउने पलहरू
चरम आनन्द दिने हृदयका स्पन्दनहरू !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :