सलाम छ घरेलु हतियारले सत्ताको प्रतिरोध गर्ने वीर–वीराङ्गनालाई !

समय समीक्षा

सलाम छ घरेलु हतियारले सत्ताको प्रतिरोध गर्ने वीर–वीराङ्गनालाई !

सररर पानी घट्टमा
चुनावमा भोट हाल्दै नहाल्नू
ज्यूँदै हाल्छन् इँटाभट्टामा…

संसदीय चुनावको मुखैमा स्रष्टा बीपीले सामाजिक सञ्जाल फेसबुकमा प्रवाह गरेको यो सन्देश निकै चर्चित बन्यो । नेपाली काङ्ग्रेसका नेता र पूर्वसांसदसमेत रहेका मोहमद अफताब आलम प्रवृत्तिका गतिविधि झल्काउन मात्र होइन, सिङ्गो संसदीय व्यवस्थाकै अनुहार देखाउन यो प्यारोडी गीतांशले ठूलो काम गर्यो । जति मेहनत गरेर, जति आशा र अपेक्षा गरेर चुनावमा मतदान गरे पनि संसदीय व्यवस्थाले दिने सुविधा भनेको इँटाभट्टा प्रकृतिको पीडादायी मृत्यु नै हो भन्ने सन्देश बोकेको यो गीतांश नै यो साताको भव्य अभिव्यक्ति हो ।

लेखक : अशोक सुवेदी

यही सोमबार काठमाडौँ थापाथलीमा सुकुमबासीहरूले आफूहरूमाथि बालेन शाहका प्रहरी र डोजरको हमलापछि घरेलु हतियार लिएर प्रतिरोध गर्दै धपाए । निहत्था जनताले शस्त्रधारी सत्तालाई प्रतिरोध गरेको यो घटना नै यो साताको सबैभन्दा सुन्दर सिर्जना हो ।

सुकुमबासीहरुको प्रतिरोधको विषयलाई लिएर माक्र्सवादी स्रष्टा सुनीता बुढाथोकी भन्छिन् :

उनीहरूको
सबै लुटिसकेपछि
सरकारले आदेश गर्यो–
तिमीहरू सुकुमबासी हौ
सुकुमबासीहरू सहर छोड
तिम्रा बस्तीहरू भत्काऊ
तिम्रा आवाजहरू बन्द गर ।
हामी भन्छौँ–
ओ प्रिय सुकुमबासीहरू !
यसपटक पछि नहट
लड्न तयार होऊ
तिमी लडेर मात्रै जित्न सक्छौ ।
यो सरकारलाई घुँडा टेकाउन सक्छौ ।

एकातिर राज्यकोषको ब्रह्मलूट गर्दै अनेक अनैतिक गठबन्धन बनाएका संसद्‌वादी दलहरू कसैले पनि संसद्‌मा बहुमत ल्याउन सकेनन् । कुनै पनि गठबन्धन एकल रूपमा सरकार बनाउन अक्षम छन् । त्यसले उनीहरू र उनीहरूका रिमोट सञ्चालकहरूमा रुवाबासी चलिरहेको छ । जनताले दलाल संसदीय व्यवस्थाप्रति व्यक्त गरेको चरम घृणा र अवज्ञाका कारण चालीस प्रतिशत मतदान पनि नहुँदा संसद्वादीहरू आफ्नो आयु छोट्टिएको अनुभूत गर्दै शोकगीत गाइरहेका छन् । अर्कातिर बालेन शाह नामको उद्दण्ड प्रवृत्तिले काठमाडौँका नदीकिनार र पर्ती जमिनहरूमा यसो मुन्टो लुकाएर गुजारा गर्न निर्माण गरेका टहराहरूमाथि डोजर र प्रहरी लगाएर हमला गरेको छ, मानिसको जिउन पाउने हकअधिकारमाथि दागा धरेको छ र धावा बोलेको छ । यद्यपि दलाल संसदीय व्यवस्था गरिब, विपन्न, श्रमजीवी, उत्पीडित वर्गको व्यवस्था होइन । यो व्यवस्थामा घुमिफिरी देउवा, वली, दाहाल र बालेनहरू नै शासकका रूपमा आउँछन्, ल्याइन्छन् र श्रमिक जनताको टाउकोमा घन बजार्छन्, जनताका बुकुराहरूमा डोजर लगाउँछन् र आफ्ना महलहरू खडा गर्छन् । देशभरि देउवा, वली र दाहाल थरका बालेनहरू साम, दाम, दण्ड, भेद, लुटपाट गरेर चुनावी मोहोरा लगाएर आएका छन् र सुकुमबासी, श्रमजीवीहरूमाथि डोजर चलाइरहेका छन् । जनताहरू, कोही पनि भ्रममा पर्नु आवश्यक छैन, चोर स्यालले जति नखरा गरे पनि कुखुरा खाइछोड्छ । केही स्यालहरू कुखुरा चोर्ने सल्लाह मिलाइरहेका छन् । बालेन नाउँको स्यालले श्रमजीवी, सुकुमबासी जनतामाथि डोजर र प्रहरी अर्थात् सत्ताको हतियार चलाएको छ । खुसीकै कुरा भन्नुपर्छ– स्यालहरूको गठबन्धन र हर्कतहरूका विरुद्ध जनताले प्रतिरोध गरिरहेका छन् । कुनै प्रतिरोध बालेनका डोजर र प्रहरीका विरुद्ध घरेलु हतियारले भइरहेको छ भने कुनै प्रतिरोध अवज्ञाका माध्यमबाट रित्ता बाकस फिर्ता पठाएर, बाकस कब्जा गरेर र अवज्ञा गरेर भइरहेको छ । यी तीन किसिमका प्रतिरोध र अवज्ञाहरूको कुल परिणाम हुन्छ– विद्रोह र त्यो एकीकृत जनयुद्धका रूपमा प्रस्फुटन हुँदैछ । सलाम गर्नैपर्छ थापाथलीमा घरेलु हतियार लिएर प्रतिरोध गर्ने बहादुर–वीराङ्गना सुकुमबासीहरूलाई ! जसले संसदीय अत्याचार, हमला र आक्रमणका विरुद्ध सहरी विद्रोहको छनक दिएका छन् । जनताले आफूसँग जे छ, त्यही लिएर आततायी सत्तासँग विद्रोह बोल्ने हो । त्यो भएको छ । यो हजारबार सलामयोग्य छ । यसभित्र कुनै समस्या पनि रहेछ भने त्यो अर्को पाटो हो, समीक्षा गरौँला ।

सुकुमबासीको विद्रोहबारे बोलिन थालेको छ । यो वाक्यांश कविता होइन तर आन्दोलन र विद्रोहमा सामान्य वाक्यांश पनि कविता बन्छन्, गीत र सङ्गीत बन्छन् विद्रोहका तालसँगै । सुकुमबासी विद्रोहकै बारेमा सीता विक भन्छिन् :

दमनले विद्रोह जन्माउँछ
विद्रोहले तिम्रो सत्ता पल्टाउँछ
बिनाविकल्प
जबर्जस्ती बलप्रयोग निन्दनीय छ ।

उतातिर सुकुमबासीहरू हँसिया, खुकुरी र तरबार लिएर विद्रोह बोलिरहेका छन्, यतातिर जनता अवज्ञा गरेर र रित्तो बाकस फिर्ता गरेर विद्रोह बोलिरहेका छन् । स्रष्टाहरू भने विद्रोही सिर्जनाका माध्यमबाट विद्रोह बोलिरहेका छन् । सुकुमबासी विद्रोह सोमबार अपराह्नको मात्रै घटना भएकाले त्यो विद्रोहलाई लिएर सिर्जनाहरू, गीत, कविता, कथा र उपन्यासहरू तयार होलान्, हुनेछन् र हुनुपर्छ । तर यतिबेला भने स्रष्टा विनोद थापाले संसदीय चुनाव र त्यसको परिणामबारे बोलेको सिर्जनात्मक विद्रोह हेरौँ :

हाल्यौ हैन भोट नेता फेर्न
पर्ने भो अब फेरि संसद् भवन घेर्न
कसैले गुन तिरे, कसैले साटो फेरे
मासु, चिउरा, रक्सीमा आफ्नै मतलाई बेचे
कोही नयाँ, कोही पुराना आए संसद्वादी
भ्रममा नबस जनता हो, यी हुन् सबै अपराधी
नयाँहरू उत्साहित छन्, पुरानोलाई छट्पटी
विदेशीहरूबाट सञ्चालितहरूको हुँदैछ दुर्गति
योग्य–अयोग्य मापन हुन्न यो व्यवस्थामा हेरौँ
दलाल संसदीय व्यवस्था हटाऔँ, यो व्यवस्था फेरौँ
राष्ट्रघात र जनघातले टाउको उठाउनेछ
संसद्चित्र दुईचार दर्जन कुर्सी फुटाइनेछ ।
अस्थिरताले फेरि पनि जरा गाड्दैछ
लुटेराहरूको राज्यमा शोसित–पीडित जाग्दैछ !

सुकुमबासी भूमिहीन अवस्थाको परिचायक हो । बस्ने ठाउँ नभएका, घर बनाउने घडेरी नभएका, खेती गर्ने जमिन गुमाएका अर्थात् भूमिहीनहरू सुकुमबासी हुन् । सहरमा केही काम पाइएला र जीवन धान्न सकिएला कि भन्ने झिनो आशा बोकेर नदीकिनार र फोहोर फालिएका ठाउँहरू पन्छाएर ओत बस्दै आएकाहरूमाथि सरकारले डोजर र हतियार चलाएको छ । सुकुमबासी जनताले झुप्रा र छाप्राबाट आफूले भान्छामा प्रयोग गर्ने घरेलु हतियारले राज्यको प्रतिरोध गरेका छन् र आफ्नो अदम्य साहस प्रस्तुत गरेका छन् । दुष्टहरूको राजधानीमै दिउँसै खुकुरी र भालाहरूले सत्ताको प्रतिरोध गर्ने जोदाहाहरूलाई सलाम छ ! सत्ताका बन्दुकका बीचबाट विद्रोह गर्दै मत खसाल्ने बाकस कब्जा गर्नेहरूलाई सलाम छ !

संसदीय व्यवस्थालाई व्यङ्ग्य गर्दै यो व्यवस्थाको विशेषता समेटेर सिर्जना गरेको स्रष्टा विनोदको अर्को कवितांश पनि हेरौँ :

खान चामलको दाना छैन
ओत लग्न घरको छाना छैन
तैपनि भोट माग्न आउनेलाई नाइँ भन्न सकिएको छैन
यस्तै रहेछ संसद्वाद ।
अरूको के भो थाहा छैन, हामीलाई दिनकै मासुभात
खसी खानेले खसी काटे, राँगा खानेलाई राँगा
दिनैपिच्छे भोजभत्तेर, रक्सी मानाका माना ।

अझै जागिर लगाइदिने आश्वासन नि पायौँ
चुनावभरि पैसा पायौँ, कति खायौँ–खायौँ ।
हजार–हजारका नोटले खल्ती भरिदिए
हाम्रा शाखा–सन्तानका सबै भोट लिए ।
सदनमा जान्छ अरे हाम्रो कुरा बोकी
दुःखीका दिन ल्याउने रे अब एकचोटि ।

यस्तै कुरा भन्न आए गाउँसहरमा नेता
सोझासीधा भुट्दा रैछन् त्यो हामीलाई के था ?
साँच्चै गल्ती गर्यौ कि क्या हो पिर पर्यो मनमा
लोभीपापीको आँखा पर्नेभो राज्यकोषको धनमा ।
उफ्रिरा’छन् नेताजति चर्काे भाषण गरी
आइरा’छन् क्रान्तिकारी एक कदम अघि बढी
भुल भए नि सच्याउनु छ हामी जनताले
सर्वहाराको हित गर्दैन संसदीय व्यवस्थाले
यो व्यवस्थालाई फाल्न हामीले क्रान्ति गर्नुपर्छ
भ्रष्ट–दलाल तह लाउन फेरि लड्नैपर्छ
वैज्ञानिक समाजवाद ल्याउन बढ्नैपर्छ ।

जबजब जनता अन्याय, अत्याचार, असमानता र व्यभिचारविरुद्ध आन्दोलनको मैदानमा चिच्याइचिच्याई न्याय र समानताका पक्षमा नारा लगाउन थाल्छन्, त्यतिबेला कविताहरू पनि नाराजस्ता र नारा पनि कविता र गीतजस्ता हुन्छन्, लाग्छन् । हो, संसदीय व्यवस्थाले आफ्नो जीवनरक्षाका लागि जब चुनाव घोषणा गर्यो र खोटा सिक्का अर्थात् जाली भरपाईजस्तै नक्कली घोषणापत्रहरू जारी गर्यो, त्यसपछि जनताको आवाज बुलन्द हुन थाल्यो सडकमा । यो असफल, बदनाम, राष्ट्र र जनघाती व्यवस्था र उसले गराउन लागेको निर्वाचनका विरुद्ध अवज्ञा आन्दोलन सुरु भयो । भित्तेलेखन, नाराजुलुस, पर्चा–पम्प्लेटहरू भए । मतबाकसहरू नै कब्जा गरियो । ४० प्रतिशत पनि मत नखस्दा यो व्यवस्थाप्रति जनताको चरम अविश्वास र अवज्ञा अभिव्यक्त भयो । माफिया र तस्करहरूका अड्डा र कारखानामा कालो ब्यानरसहित नाराजुलुस र भाषणहरू गरियो । उत्पीडित वर्गले आफ्नो वर्गको मुक्तिका लागि लगाएको नारा पनि सुललित गीत र कविताजस्तै बन्यो । अवज्ञा पोस्टर पनि मिसाइल बने । सत्ता आतङ्कित बनेर रातारात गिरफ्तारीमा उत्रियो र पोस्टरहरू च्यात्न थाल्यो । कास्कीको लुम्रेमा युवाहरूले मतपत्र खसालेको बाकस कब्जा गर्दाको दृश्य र त्यसपछि सत्तापक्षको भागदौड कुनै सुन्दर गीत, जनयुद्धकालीन अपेरा र जनमुक्ति सेनाको आक्रमणले तहसनहस सत्ताको कुरूपताभन्दा कम मूल्यको थिएन ।

पुँजीवादी संसदीय व्यवस्था सदैव आलोच्य र बदनाम छ । यो असफल पनि छ । पुँजीवाद जनताका विरुद्ध कसरी आउँछ भन्ने विषयमा माक्र्सवादी स्रष्टा बीपी विद्रोहीले ५ महिनाअघि नै कविताका माध्यमबाट यसरी अभिव्यक्त गरेका थिए :

बाँच्न नदिनु भनेको
मार्न खोज्नु हो
बाँच्नै नसक्ने बनाइदिनु भनेको
अन्ततः मृत्युतिर धकेल्नु हो
जनता मार्न पुँजीवाद बन्दुक मात्र बोकेर आउँदैन
विषको घैला मात्र लिएर आउँदैन
बजारलाई विषाक्त बनाउँछ
यति बेला सत्ताले मजदुरहरू मर
किसानहरू झुन्डेऊ भनेको हो
पुँजीवादको आज्ञाकारी भएर मर्ने हो कि
बन्दुक बोकेर लड्ने हो
ए दाजुभाइ दिदीबहिनीहरू हो
फैसला हाम्रै हातमा छ
अब सहन सकिँदैन ।

पुँजीवादी संसद्वादले गराउने भनेको चुनावका विरुद्ध सिङ्गो क्रान्तिकारी जनमत एक भयो । चुनाव अवज्ञाका क्रममा सामाजिक सञ्जाल र अनलाइन पत्रिकाका भित्ताहरू अवज्ञा पोस्टरहरूले रंगिए । विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्म र सुनील शर्मा, बालकृष्ण खाणदेखि विष्णु पौडेलका घर र कार्यालयहरूसम्म काला ब्यानर टाँगिए र तस्कर, माफिया, भ्रष्टहरू मुर्दावादका नाराहरू गुन्जिए । यी नाराहरू कुनै शक्तिशाली क्रान्तिकारी गीत र कविताभन्दा कम थिएनन् ।

जनतामारा दलाल पुँजीवादका विरुद्ध सशक्त प्रतिरोधी सिर्जना पस्किने कवि हुन् मक्र्सवादी स्रष्टा बीपी विद्रोही । उनले सामाजिक सञ्जालका माध्यमबाट निरन्तर पुँजीवादविरुद्ध र वैज्ञानिक समाजवादका पक्षमा यसरी सिर्जनाहरू पस्किइरहेका छन् :

पुँजीवाद र समाजवादको नाका बोकेर आऊ
अक्टोबर क्रान्तिको झैँ राँका बोकेर आऊ
पुल, बाटो, धारा केही चाहिँदैन अब चुनावमा
हृदयमा समाजवादको खाका बोकेर आऊ ।
नाच्दैनौँ हामी पुरानो त्यो गनगने सङ्गीतमा
माक्र्सवादको वैज्ञानिक भाका बोकेर आऊ
संसद्वादी घाउ गहिरो लागेको छ बस्तीमा
ए क्रान्तिकारी, एक मलम टाँका बोकेर आऊ !
मिल्काइदेऊ केही थान ठेसहरू सहनशील मुटुभित्र
जित्नै लागेको पुरानै समय ताका बोकेर आऊ ।

त्यसैगरी उनी अगाडि अर्को सिर्जनामा भन्छन् :

पुँजीवादीहरूलाई
पहिलो सर्त पुँजीवाद हो
समाजवादीहरूलाई
समाजबाद पहिलो सर्त हो
डरलाग्दो चित्रजस्तै बनेको छ
यो सिङ्गो भूगोल
युद्धमैदानमा कोरिएको चित्रझैँ
मिलनबिन्दु, सहकार्य, सम्झौता
फासिवादले कैदी बनाएको छ
शान्त छैन किसानको छाती
दनदनी बलिरहेछ श्रमिकको मगजभित्र आगो
उन्मुक्त छैन हावा
उन्मुक्त छैन नदी
नाजायज सर्तको साङ्लोले बाँधिएको छ
सिङ्गो भूगोल
अब बिनासर्त, बिनाढिलासुस्ती
मोर्चा कस्नुपर्छ
पहिलो सर्त पनि पुँजीवाद हो
दोस्रो सर्त पनि पुँजीवाद हो
अन्तिम सर्त पनि पुँजीवाद हो
पुँजीवाद ढल्नुपर्छ
यही पहिलो र यही अन्तिम सर्त हो
पुरानो सत्तालाई टेको लगाउन
फेरि भोट लुट्न
देश लुट्न फेरि
फेरि आएका छन् नयाँ लुटेराहरू
यी लुटेराहरू स्याल लुटेराहरू हुन्
स्यालजस्तै स्वभाव
स्यालजस्तै आकार नभए पनि
स्यालजस्तै हुइयाँ भएकाहरू
पुँजीवादी सर्तहरूको झोला बोकेर हिँड्छन्
सर्त ओडछन्, सर्त ओछ्याउँछन्
सर्त पिउँछन्
खाना खाँदा एउटा सर्त
चर्पी जाँदा अर्को सर्त
सुत्दा एउटा सर्त
उठ्दा अर्को सर्त
मान्छेहरू मर्दा पनि उसकै सर्त मानेर मर्नुपर्छ
कहिले फेर्ने श्वास निःसर्त ?
कहिले देख्ने सपना बिनासर्त ?
कति बाँच्ने साथी यो सर्तको जिन्दगी
हामी बिनासर्त बाँच्न
बिनासर्त हाँस्न
एउटा अन्तिम प्रतिज्ञा गरौँ
दलाल पुँजीवाद ढाल्ने सङ्कल्प गरौँ
उन्मुक्त जिन्दगी बाँच्न
सर्तरहित जिन्दगी बाँच्न
अब ढिला नगरौँ ।

पुँजीवाद शोषणकारी, दोहनकारी र विभेदपूर्ण छ । यसले सीधा, सोझा र इमानदार श्रमजीवीहरूलाई स्वाभिमानपूवर्क बाँच्न दिँदैन । निःसर्त पुँजीवाद स्वीकार्नेहरू परजीवी बनेर पुँजीवादका दास बाँचिरहेका छन् । दलाल पुँजीवादलाई टिकाउन भर्खरै चुनाव गरिएको छ । चुनावमा बेइमानीको खोलो, पैसाको बाढी, गुन्डागर्दीको खहरे, षड्यन्त्र र झूटको नदी बगाइएको छ र दिउँसै रात पार्ने गरी झूट्टा बकबासहरू वितरण गरिएको छ । जनता र देशले भोग्ने त उही परजीवीपन नै हो, बालेनपन नै हो । एउटै बाटो हिँडेर कहिल्यै पनि अर्को गन्तव्यमा पुगिँदैन । नयाँ लक्ष्यमा हिँड्न बाटो पनि नयाँ नै तय गर्नुपर्छ । संसद्वादीहरूले त उही पुरानै बाटोमा घिस्याउने हुन् हरियो घाँसका मुन्टा देखाएर बाख्राको पाठोलाई घिस्याएझैँ । यो यथार्थलाई बुझेर अब जनताले विद्रोहको बाटो नहिँडी सुखै छैन । त्यही विद्रोहको बाटोले नै हामीलाई वैज्ञानिक समाजवादी समाजव्यवस्थासम्म पुर्याउनेछ । हालै सकिएको चुनावको परिणामसँग मिल्दोजुल्दो ‘खोटो सिक्काको बिगबिगी’ शीर्षकको आफ्नै कविताको प्रस्तुतिबाट यो साताको समय–समीक्षा अन्त्य गर्ने अनुमति माग्छु :

खोटा सिक्काको बिगबिगी

क्रान्तिआमाको कोखबाट
जन्मिँदै गरेको जनतन्त्र शिशुलाई
निरन्तर–निरन्तर घाँटी निमोठेर सिध्याउन खोज्ने
शकुनीतन्त्र छ एउटा
जसलाई कहिल्यै पचेन जनतन्त्र
ऊ अलापिरहन्छ राग–
दसकौँ अघि दाहसंस्कार गरिएको
परिवारतन्त्रको ।
मानौँ बोकेर सतीदेवीको दुर्गन्धित लास
हिँडिरहेछ बर्बराउँदै स्वस्थानी कथाको महादेव ।
फेरी–फेरी नाउँ, नारा र पात्रहरू
आइरहन्छ ऊ कुखुराचोर स्यालझैँ ।

हानेर आमाको छातीमा लात
खाएर साम्राज्यवादको कलो र पुरो
गर्दैन कहिल्यै देश र जनको भलो
साहूकार हो ऊ गाउँको
मुखिया हो, सूदखोर हो– मिटरब्याजी
जोडे पनि शिरमा नेपाली नाउँ
कहिल्यै सोच्दैन हित देशको
खान्छ बेचेर राष्ट्रका उद्योग–कारखाना र
लखेट्छ लाखौँ युवालाई ऊँट चराउन मरुभूमिमा
र युवा बेचेको पैसाले भर्छ ढुकुटी
बुझाउँछ पालैपालो पराईलाई–
कोसी, गण्डकी र महाकालीहरू
ढाँटेर, झुक्याएर, छलेर लोकलाई
रेटेर घाँटी जनतन्त्रको
उल्टै जपिरहन्छ नारा लोकतन्त्रको
बनाएर विभिन्न बहाना र गरेर जालसाजी
आइरहन्छ दोहोर्याइ–तेहेर्याई फेरि उही
दिक्क लगाउँदै देश र जनतालाई
उही खोटो सिक्का !

आफ्नै गर्भबाट
उदाउँदै गरेको जनमुक्तिको लाल–बिहानलाई
छेकेर हत्केलाले
पश्चाताप गर्ने कायर छ एउटा
भट्ट्याइरहन्छ महान् माक्र्स–लेनिन र पुष्पलालको नाउँ
भन्दै टे«डमार्क
देखाइरहन्छ हँसियाहथौडाको प्रिय झन्डा
तर छैन कहिल्यै इमानदार
त्यो रक्तरञ्जित झन्डा र वर्गप्रति
भक्त छ दलाल पुँजीपति वर्गको
तैपनि गरिरहन्छ कुरा देशभक्तिको
पखाल्नलाई महाकालीमा गरेको राष्ट्रघातको कलङ्क
गर्छ बेलाबेला चुच्चे नक्साको कुरा
जब चाहिन्छ उसलाई देशभक्त जनताको भोट ।
न वर्ग छ, न लिङ्ग छ, न अडान छ
‘प्रसाद’ का नाउँमा खाइदिन्छ निरङ्कुश सत्ताको कलोसमेत
झुक्याइरहन्छ जनमनलाई दिएर उट्पटाङ नारा
गर्छ रहर दोहोरिइरहन बारम्बार
खोटो सिक्का !

गरेर हत्या आफ्नै गर्भबाट जन्मिएर
हुर्किंदै गरेको क्रान्तिशिशु र लालसत्ताको
दिँदै धोका वर्गयोद्धा र महान् सहिद–बेपत्ताका रक्तरञ्जित सपनीमाथि
जो परेको छ परायाहरूको पाउ
जसका विरुद्ध बलिदान भएको छ
आमाका दसौँ हजार सुन्दर सन्ततिको ।
मतिभ्रष्ट दभएर गरेको छ ऐलान–
अब हुनै सक्तैन क्रान्ति !
अहँ छँदैछैन, कत्ति पनि छैन पश्चाताप
आफूले गरेको वर्गघातप्रति
राखेर केही थान खोटा सिक्काहरू वरिपरि
नग्न बादशाह बनेकोसम्म पत्तो छैन हुस्सुपथिकलाई
एक मुठी खरानीका लागि
बस्दै आएको आफ्नै घरमा आगो लगाउने
निम्नकोटीको व्यापारी हो ऊ
हिँडिरहेको छ बोकेर झोलीमा
सपना पोलेको एक मुठी खरानी ।
चाटेर तलुवा साम्राज्यवादको
योजनाबद्ध पारित गराइरहेछ ऊ
गर्दै व्याख्यात्मक टिप्पणीका कलाविहीन नाटक
राष्ट्रघाती योजना–परियोजनाहरू
र दाबी गरिरहेछ अझै
दस वर्षसम्म चलेको
संसार हल्लाउने त्यो महान् आँधीतुफानको सृष्टिकर्ताको
आउँछ कहिले ह्वात्तै बर्खे खहरेझैँ र
सुक्छ कहिले एउटा धर्को पनि नदेखिने गरी ।

थपिएका छन् विभिन्न योजनाका
खोटा सिक्कामार्का हरिया झिँगाहरू
बोकेर शरीरभरि डलररूपी झिँगैझिँगा
के नै भयो र नौलो
सडिसकेको शरीरमा
भन्किनु झिँगाहरू !
झिँगाको धर्म नै दुर्गन्धित लासहरूमा भन्किनु हो
नाउँमा जतिसुकै लगाए पनि स्वतन्त्रको लेपन
जति जडे पनि भ्रष्टाचारविरुद्धका झुम्काहरू
जाहेर छ दुनियाँलाई
काण्डैकाण्डका चाङमा पुरिएका
यी हुन् पराया–परिचालित केवल खोटा सिक्काहरू !

केवल हेरिरहेकी छैनन् क्रान्ति आमा यी तमासा–
हरिया झिँगाहरूको दौडधूप
खराबै–खराबहरूको खराब विकल्प
संसद्वादको ‘बाइप्रोडक्ट’ कचरा
बाघको छालामा स्यालको रजाइँ
असल सिक्काको अभावमा
खोटा सिक्काको व्यापक चलनचल्ती
देखेर खोटा सिक्काको जयजयकार र लावालस्कर
आक्रोशसाथ लपलपाइरहेका छन् शिखा मैनबत्तीका
र चिर्दैछन् खोटा सिक्काले निर्माण गरेको निशालाई ।

कहाँ रहिरहन्छ र निस्पट्ट रात निरन्तर
निश्चित छ– आयु तय भइसकेको निशाको मृत्यु त प्रकाशले नै गराउँछ
जन्मिँदैछ एकीकृत जनयुद्ध नामको प्रकाश– लालशिशु
क्रान्तिआमाको गर्र्भबाट
त्यसपछि
फरार हुन्छ निशा र अलप हुन्छन् निशाचरहरू
र सकिन्छ खोटा सिक्काको बिगबिगी
सुरु हुन्छ असल सिक्काको वैज्ञानिक समाजवादी लालयुग ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :