संसदीय चुनावबारे सङ्क्षिप्त टिप्पणी !

संसदीय चुनावबारे सङ्क्षिप्त टिप्पणी !

अहिले नेपालमा सङ्घीय सभा र प्रादेशिक सभाको चुनाव २०७९ सम्पन्न भैसक्दानसक्दै देश र जनताका लागि यो चुनाव परिणाम रूपमा केही नयाँ, उत्साह र आशाजनक वातावरण निर्माण गरेको जस्तो देखिए पनि सारमा कतिपय अत्यन्त अप्रिय कुराहरूको प्रमाणित गरेको छ भने केही सर्वाधिक गम्भीर कुराहरूको सङ्केत पनि गरेको छ । ती कुराहरू यसप्रकार छन् :

लेखक : नारायण शर्मा

यो व्यवस्था दलाल पुँजीवादी व्यवस्था हुनाले यसमा प्रतिनिधित्व, पहुँच, पकड र प्रभुत्व पुँजी र पुँजीवादी वर्गकै, त्यसमा पनि दलाल पुँजीपति र बहुराष्ट्रिय पुँजीपति र वैदेशिक शक्तिकेन्द्रहरू हुने कुरा सैद्धान्तिक रूपमा स्पष्ट नै भएको कुरा हो । यो कुरा चुनावको सुरुआती क्षणदेखि सम्पन्न हुँदासम्म नै देखिँदै आएको छ । यो सर्वाधिक गम्भीर चिन्ताको विषय हुन पुगेको छ ।

यो चुनावमा पनि प्रायः पार्टीका टाउके–लाउके नेताहरू, गुट र लुटका नाइके–काइते नेताहरू र तिनका नातेपाते, खातेपिते, आसेपासे र गाँसेदासेहरूले नै टिकट पाए र तिनीहरूबीचमै तन, मन, धन, जन आदि सबैप्रकारको सहयोग आदान–प्रदान भयो । विडम्बना, तुलनात्मक रूपले स्वच्छ, सदाचारी, जनप्रिय, देशभक्त र स्वाभिमानी–स्वविवेकीहरूलाई अन्यायपूर्ण र अपमानजनक तरिकाले टिकटै दिइएन र कतिपय टिकट दिइएका यस्ता व्यक्तित्वहरूलाई पार्टी र गठबन्धनभित्रैबाट अन्तर्घात गरी हराइयो । यो संसदीय व्यवस्थाअन्तर्गतको यो चुनावमा देश र जनताले अपेक्षा गरेजस्तो परिणाम आउने कुरा सहज र स्वाभाविक नहुने स्पष्टै थियो । यो कुरा अहिलेको परिणामले पुष्टि गरिरहेको छ ।

यो चुनावप्रणाली नाममा बहुमतीय र लोकतान्त्रिक भनेर जति डङ्का पिटे पनि सारमा र परिणाममा त अल्पमतीय र अलोकतान्त्रिक प्रणाली नै हो भन्नेसमेत खुला, स्पष्ट र नाङ्गो रूपमा प्रमाणित भएको छ ।

यो अपारदर्शी र अति खर्चिलो प्रणाली नै हो भन्ने वास्तविकता पनि पुनर्पुष्टि हुन गएको छ । यो यति धेरै खर्चिलो चुनावप्रणाली हो कि सामान्यतः धनी देशहरूले पनि र विशेषतः नेपालजस्ता गरिब देशहरूले धान्नै नसकिने हुन्छ । अहिलेको चुनाव गराउनका लागि नेपालले विदेशीहरूसँगसमेत लिएको ऋण–अनुदान खर्च भएको छर्लङ्ग नै छ । त्यसै त वैदेशिक ऋणको भार र व्यापारघाटाले टाटपल्टन थालेको यो मुलुकमा बर्सेनि हुने यसप्रकारका चुनावखर्च देशले धान्ने कुरै भएन । यसरी नै पार्टी र उम्मेदवारहरूले गरेको वास्तविक खर्चको योगफल निकाल्ने हो भने पनि त्यो सङ्ख्या कहालीलाग्दो नै हुनेछ ! यो खर्च उठाउन नेताहरूबाट हुने–गराइने भ्रष्टाचार, कमिसनखोरी, घूसखोरी, महँगी, कालोबजारी, कर–भन्सार–राजस्वछली, अनियमितता र ठगी धन्दाले देशमा अकल्पनीय र अप्रिय स्थिति उत्पन्न नहोला भन्न सकिन्न । यसरी हेर्दा यो चुनावले देश नै डुबाउँछ भन्ने ठूलो दुःखानुभूति गराएको छ ।

यो व्यवस्थाको यसप्रकारको चुनाव प्रणालीमा धनीमानी र हुनेखानेहरूले मात्र चुनाव लड्न सक्छन् र तीमध्ये जसले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पावर र पैसाका केन्द्रहरूको बढीभन्दा बढी समर्थन, सद्भाव र सहयोग प्राप्त गर्न सक्छन्, तिनैले मात्र जित्ने चुनाव हो भन्ने कुरा पनि छर्लङ्ग भएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजीपति र पावर सेन्टरहरूबाट सहयोग पाएकाहरूमध्ये पनि जसले सीधा, खुला, निर्लज्ज र नाङ्गो रूपमा पैसा खर्च गर्न, बाँड्न र पावरको प्रयोग र परिचालन गर्न सक्छन्, तिनैले नै जित्छन् भन्नेसमेत साबित भएको छ ।

धेरैजसो जित्न नपर्ने र हराउनैपर्ने निरन्तर देश बेच्ने–खाने भ्रष्ट–दुष्ट, दास–दलाल र खाओ–कमाओवादीहरूले नै यसपटक पनि चुनाव जितेकाले परिवर्तनको अनुभव गर्न नपाइने निश्चितप्रायः छ । त्यसैले यसमा खुसी लाग्ने कुरै भएन ।

केही जित्नैपर्ने र जिताउनैपर्ने सच्चा देशभक्त, जनपक्षीय, इमानदार क्रान्तिकारी, स्वच्छ र स्वाभिमानीहरूले पार्टी र नेतृत्वमा पहुँच र पकड भएका देशद्रोही, पार्टीद्रोही, जनविरोधी र क्रान्तिविरोधी गिरोहका कारण प्रथमतः टिकटै पाएनन् र पाएकाले पनि ती गिरोह र तिनका मालिक साम्राज्यवादी–विस्तारवादी शक्तिकेन्द्रहरूको आर्थिक र राजनीतिक चलखेल र हस्तक्षेपले गर्दा अन्तर्घातसमेत हुन गई त्यस्ता व्यक्तित्वहरूलाई सत्ता राजनीतिको रङ्गमञ्चबाटै पन्छाइएकाले निकै नै गम्भीर चिन्ता, पीडा र आक्रोशको अनुभूति भएको छ ।

MCC, नागरिकता विधेयक, अपरकर्णाली सम्झौताजस्ता चरम राष्ट्रघाती क्रियाकलापहरूको खुलेर, सशक्त र प्रभावकारी विरोध गर्ने स्थापित र प्रभावशाली नेताहरूलाई नै यो हस्तक्षेपको सिकार बनाइएको कुरा नितान्त खेदको विषय भएको छ ।

नयाँ अनुहारका विजेताहरूमा पनि कुनै प्रस्ट विचार, भिजन र मिसनभन्दा पनि उत्तेजना र आवेगको मात्रा ज्यादा छ र त्यसैमा विभिन्न शक्तिकेन्द्रहरू खेल्ने सम्भावना छ जसको परिणति अझ खतरनाक बन्ने भयानुभूति भएको छ ।

विचित्रको विडम्बना त केसम्म भएको छ भने देशै विखण्डन गर्ने भन्नेमध्येका केहीले पनि जितेका छन् ! देशकै मतदाताले मत दिएर जितेका देखाइएकाले देश विखण्डन गर्ने विदेशीहरूको षड्यन्त्र सफल हुने खतरनाक सङ्केत देखेर असह्य पीडाबोध भएको छ ।

नयाँ, युवा र सक्षम भनिएका शक्ति र व्यक्तिहरूका बोली र व्यवहारमा सामञ्जस्य नआउने मात्र होइन, नयाँ ढङ्गले द्वन्द्व उत्पन्न हुने हो कि भन्ने आशङ्का पो उत्पन्न भएको छ ।

कुनै दुई वा दुईभन्दा बढी शक्ति भए पनि उनीहरूबाट जिम्मेवार र जबाफदेही सहकार्य भएर राष्ट्रिय स्वाधीनताको संरक्षण र संवद्र्धन गर्दै राजनीतिक स्थिरतासहित सुशासन, शान्ति, विकासलगायत जनसेवा–सुविधाहरूको डेलिभरी होला भन्ने अपेक्षा पनि आशाजनकभन्दा निराशाजनक नै बढी छ ।

राजनीतिक दलहरू गठबन्धन बनाएर लडेका तर देश र जनताको सेवा र सुविधालाई होइन, खालि सत्ता र शक्तिलाई केन्द्र, अग्र र शीर्ष स्थानमा राखेर जितेका हुनाले बिनाकुनै विचार–सिद्धान्त, मूल्य–मान्यता र लक्ष्य–उद्देश्य अपवित्र साँठगाँठ बनाई सरकार बनाउने प्रबल सम्भावना छ ! फलतः अस्थीरता, अराजकता, अनियमितता र अशान्ति अघिभन्दा अत्यधिक बढेर अनियन्त्रित भै भयङ्कर विष्फोट हुने भय वृद्धि भएको छ ।

कतिपय पार्टीका केही जालीजुलुमी नेताहरूले आफूले जितेकोमा अब सरकारको मात्र होइन, पार्टीको माथिल्लो पदको पनि दावी गर्नेछन् भने हारे–हराइएका कतिपय नेताहरूलाई पद मात्र होइन, पार्टी नै छोड्ने स्थितिमा पुराउने गम्भीर अवस्था पनि उत्पन्न हुने तीव्र सम्भावना छ ।

उपरोक्त थुप्रै नकारात्मक परिघटना, परिस्थिति र परिणामका बावजुद पनि यो दलाल पुँजीवादी प्रतिक्रियावादी व्यवस्था र यसका खम्बा पार्टी–नेतृत्वहरूभित्र अन्तर्निहित व्यक्तिवादी, शक्तिवादी, गुटवादी र लुटवादी अनि दलाली, दासता, आत्मसुरक्षावादी र आत्मसमर्पणवादी चिन्तन र चरित्रका कारण चुनावमै मतदानमा आफ्नै पार्टी र आफ्नै गठबन्धनप्रति व्यापक अन्तर्घात र मतान्तर भएको छ ! यस्ले गर्दा पार्टीहरू र गठबन्धनभित्र अन्तर्विरोध चर्किने निश्चितप्रायः छ । यसका अतिरिक्त सत्ता लिप्सा, सरकारको नेतृत्व गर्ने लालसा, प्रधानमन्त्रीलगायतका पद, पावर, पैसा, पहुँच र प्रसंसाका धेरै महत्वाकांक्षीहरू सबैजसो पार्टीमा र तीभित्रका पनि धेरै जसो नेताहरूमा देखिएको छ । यो अवस्थामा सो स्थान प्राप्त गर्न उनीहरूको आफ्नो बुद्धि–बर्कतले नभ्याउने कुरा पनि अवश्यम्भावी छ । त्यसैले उनीहरूले आआफ्ना प्रभुहरूसंग सहयोगको लागि अपिल र आराधना मात्र होइन, पूजा र प्रार्थना गर्दै आत्मसमर्पण नै गर्नेछन् । त्यसबेला विदेशी शक्तिकेन्द्रहरूको हुकुम–हैकम, हस्तक्षेप र हालीमुहाली नाङ्गो र घीनलाग्दो रूपमै हुने चरम सम्भावना छ । र, यसको केही संकेत र छनक पाइसकिएको पनि छ । यो ज्यादै खेदजनक कुरा हो ।

समग्रमा यसबीचमा विभिन्न वृत्तबाट बढे–बढाइएका विकृति, विसङ्गति र बदमासीहरूले गर्दा भ्रष्टाचार, भाँडभैलो र भद्रगोल सर्वाधिक हुने सुनिश्चित नै छ । यसले गर्दा अन्ततः यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पको खोजीस्वरूप जनस्तरबाटै भयङ्कर विद्रोह र वगावत शुरु हुनेछ, जस्लाई सच्चा र साहसी देशभक्त र क्रान्तिकारीहरूले सचेत, सुनियोजित, संगठित र सुसंयोजित रूपमा नेतृत्व गर्ने सोंच र साहस गर्न सके भने देशले पूर्ण मुक्ति र जनताले साँच्चिकै न्याय, समानता, स्वतन्त्रता, स्वाभिमान र शान्ति–समृद्धि पाउने नयाँ व्यवस्था र अवस्था आउने उज्ज्वल सम्भावना समेत छ ।

हेरौँ, के हुन्छ ? आगामी दिनमा अझ स्पष्ट देख्न र भोग्न पाइनेछ ।

(प्रकाशन गृहको नीतिअनुसार सम्पादित)

प्रतिक्रिया दिनुहोस्