देशलाई फेरि अस्थिरताको भुमरीमा धकेल्दै संसदीय व्यवस्था

उसै त संसदीय व्यवस्था र संसद्लाई बुर्जुवाहरूको गफ गर्ने अखडा, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखाना, अल्पमतले बहुमतमाथि निरङ्कुशता लाद्ने प्रणालीजस्ता उपाधि दिइन्छ । यो हुनेखानेहरूले हुँदा खानेहरूलाई जोताउने, ठूलो माछाले सानो माछालाई खाने, असमानता, शोषण, लूटपाट, भ्रष्टाचार, ठगी, तस्करी र काण्डैकाण्डका कारण असफल र बदनाम व्यवस्था हो । संसदीय व्यवस्थामा केही हजार मत ल्याउने पात्रले करोडौँ जनतालाई शासन गर्छ अर्थात् अल्पमतले बहुमतमाथि रजाइँ गर्छ । त्यसैले कथनीमा लोकतन्त्र भनिए पनि व्यवहारमा यो अल्पतन्त्र वा अल्पमतको तानाशाही हो ।

संसदीय व्यवस्था र अझ कसैको पनि बहुमत नभएको ‘हङ पार्लियामेन्ट’ भएको अवस्थामा यो व्यवस्थाको सबैभन्दा कुरूप चित्र स्पष्ट देख्न सकिन्छ । नेपालको संसदीय इतिहासमा दुई हजार पचासको दशकको सुरुका चार–पाँच वर्ष संसारकै विकृत इतिहासलाई बिर्साउने गरी छरपस्ट भए । पार्टीभित्रकै खिचातानीका कारण बहुमतमा रहेको नेपाली काङ्ग्रेसले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्यो । मध्यावधि चुनावमा काङ्ग्रेस खुम्चिएर एमाले अलि मोटायो र अल्पमतको सरकार बनायो । काङ्ग्रेसको असहयोगका कारण एमाले सरकार नौ महिनामै पतन भएपछि संसदीय व्यवस्थाको नग्नताको पराकाष्टा नेपाली जनताले राम्ररी देख्न र भोग्न पाए । रातो पासपोर्ट बिक्री, पजेरो–प्राडोकाण्ड, पुरुष सांसदले सुत्केरी भत्ता खानेदेखि सबैभन्दा बदनाम घटनाका रूपमा भेडाबाख्राझैँ सांसद किनबेच, सांसदहरूलाई सामूहिक रूपमा बिरामीको बहानामा विदेश घुम्न पठाउनेदेखि सुरा र सुन्दरीसहित होटेलका कोठाहरूमा बन्द गर्नेसम्मका विकृतिपूर्ण हर्कतहरू त्यो व्यवस्थाले प्रस्तुत गर्यो । परिणामस्वरूप निर्दलीय पञ्चायती व्यवस्था र राजतन्त्रका कट्टर पक्षपाती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो काङ्ग्रेस र एमालेको साथ र सहयोगमा मुलुकको प्रधानमन्त्री बने जब कि तिनै पात्रहरूले नेतृत्व गरेको र राजतन्त्रको संरक्षण रहेको निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र जनवादी–समाजवादी व्यवस्थाका लागि नेपाली जनताले लामो सङ्घर्ष र बलिदान गरेका थिए । बलिदानको आलो रगत सुक्न नपाउँदै जनताको निशानामा परेका तिनै पात्र र प्रवृत्तिलाई सत्तामा पुर्याएर तत्कालीन काङ्ग्रेस र एमालेले मुलुक र जनताको हुर्मत लिएको थियो । फलस्वरूप जनता त्यो व्यवस्था, पार्टी र पात्रहरूप्रति आक्रोशित बने ।

संसदीय व्यवस्था असमानतामा आधारित, हुनेखाने अर्थात् पुँजीपति र नेपालको वर्तमान सन्दर्भमा साम्राज्यवादको हित र इशारामा चल्ने दलाल पुँजीवादमा आधारित चरम भ्रष्ट व्यवस्था हो । नेपालका संसद्वादी राजनीतिक पार्टी र तिनका नेताहरूले भर्खर सकिनै लागेको निर्वाचनमा गठबन्धनका नाउँमा देखाएको निर्लज्जताको पराकाष्टाले के सङ्केत गर्छ भने संसद्‌वाद आफ्नो हितको सत्ता निर्माण र रक्षाका लागि जस्तासुकै घिनलाग्दा र पतीत हर्कत गर्न पनि पछि पर्दैन । जनयुद्धको नेतृत्व गरेर आएको दाबी गरिरहेको पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले फासिवादको प्रत्यक्ष नेतृत्व गरिरहेको साम्राज्यवादको असली दलाल विचार बोकेको नेपाली काङ्ग्रेससँग गठबन्धन गर्नु, आफूलाई कम्युनिस्ट नै दाबी गरिरहेको एमालेले राप्रपा, राप्रपा नेपाल तथा मधेसवादी नाउँले चिनिएका तराईकेन्द्रित दलहरूसँग लगनगाँठो कस्नु दलाल पुँजीवादी सत्तामा हाबी हुने, अस्तित्व धान्ने र अहं पूरा गर्ने प्रपञ्चबाहेक केही थिएन । आफूलाई पुराना र अनुभवी दाबी गरिरहेका संसद्‌वादी दल र तिनका नेताहरूले देखाएको निर्घृणीपनका कारण नयाँ पुस्ताको एउटा तप्काले भ्रमैभ्रम र लहडैलहडमा पश्चिमाहरूबाट परिचालित ठानिएको एउटा झुण्डप्रति आफ्नो विद्रोही र असन्तुष्ट मत व्यक्त गर्यो भने सामन्ती राजतन्त्रका पक्षपातीहरूले क्रमशः शिर उठाउने मौका पाए । यसको प्रमुख कारण आमूल परिवर्तनका लागि भएको महान् जनयुद्धको समाप्ति र त्यसका प्रमुख भनिएका पात्रहरूले गरेको वर्गघात र आत्मसमर्पणका कारण राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा आएको प्रतिक्रान्ति हो यद्यपि काङ्ग्रेसको टाँगमुनि छिरिसकेका पुष्पकमल दाहालहरू यो तीतो सत्य स्वीकार्न तयार छैनन् किनकि उनीहरूले कम्युनिस्ट पार्टी र माओवादी नाउँलाई एमालेले झैँ केवल ट्रेड मार्कका रूपमा दुरुपयोग गरेर जनतालाई केही हदसम्म भए पनि दिग्भ्रमित पारिरहेका छन् ।

संसदीय सत्ताले साम, दाम, दण्ड, भेद, बुथ कब्जा, दमन, फुटाऊ र राज गर, अनैतिक गठबन्धन, मारपिट, ज्यादती, थुनछेक, मुद्दामामिलालगायत अनेकन गैरलोकतान्त्रिक हर्कतहरूका बीचमा गराएको चुनावमा जनताको सहभागिता, उपस्थिति र चासो अत्यन्त न्यून देखियो । दलाल पुँजीवादका खासखास प्रतिनिधिहरू संसद्मा पुगे । संसद्‌मा कुनै पनि दल वा गठबन्धनको बहुमत नपुग्ने निश्चित भएपछि नेपालको संसदीय व्यवस्थामा पुनः पचासको दशकमा भएका सांसद किनबेचदेखि सुरासुन्दरीसम्मका घृणित खेलहरू हुने र फेरि एक अवधि मुलुक थप अस्थिरता, भ्रष्टाचार, महँगी, अभाव बदनामीका कारण अस्तव्यस्त हुने निश्चितजस्तै बनेको छ । माके, स्वतन्त्र, राप्रपा, मधेसवादीजस्ता ससाना दसबीससिटे दलहरू अब सत्ता समीकरणमा कोसँग मिल्ने र कति कमाउने, भ्रष्टाचार र ब्रह्मलूट गर्ने भन्ने ध्याउन्नमा लागिसकेका छन् भने काङ्ग्रेस र एमाले कुनकुन पार्टी र पात्रलाई किनेर आफ्नो सत्तागठबन्धन बलियो पार्ने र केही समय मात्र भए पनि देश र जनतामाथि ब्रह्मलूट मच्चाउने भन्ने तयारीमा लागिसकेका छन् । यिनले जति लुकाउन खोजे पनि विगतदेखि वर्तमानसम्म मच्चाएका भ्रष्टाचार, राष्ट्रघात, जनघातका काण्डहरूका कारण जनता र क्रान्तिकारी शक्तिले सबैको अनुहार छर्लङ्ग चिनिसकेका छन् । विगतमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसवादी दल सबैसबैले सत्तालाई केन्द्रमा राखेर राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि प्रहार गरेको सन्दर्भ कुनै पुरानु बनेको छैन । शरीरभरि खरानी धसेर नयाँ रूपमा देखिन खोजेका केही रहस्यमय पात्र र समूहहरू पनि केही दिनमै सर्वाङ्ग हुनेछन् । नेपालका क्रान्तिकारी शक्ति र उत्पीडित जनताले भने वैज्ञानिक समाजवादी क्रान्ति र वैज्ञानिक समाजवादी सत्तालाई ‘अर्जुनदृष्टि’ बनाएर क्रान्तिको आँधीबेहरी सिर्जना गरी अघि बढ्नुको विकल्प छैन । पचासको दशकमा संसद्‌वादीहरूले देश र जनताको शिरमा कुल्चिएर नाचेको नाङ्गो नाचबाट वाक्क, दिक्क र हैरान भएका जनताले महान् जनयुद्धलाई नै एक मात्र भरपर्दो विकल्पका रूपमा साथ र सहयोग गरेका थिए । यति बेला पनि क्रान्तिकारीहरूका लागि क्रान्तिको तयारी, सुदृढ गर्ने र अघि बढाउने अर्को सुन्दर अवसर संसद्‌वादीहरूले नै दिने तयारी गरिरहेका छन् । यो अवसरलाई नेपालका देशभक्त, क्रान्तिकारी शक्तिहरूले चुकाउनु हुँदैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :