संसदीय व्यवस्थाकै अवज्ञा

संसदीय व्यवस्थाकै अवज्ञा

जनता सधैँ विद्रोह, अग्रगमन र परिवर्तन चाहन्छ । वास्तवमा परिवर्तन श्रमिक/उत्पीडित जनताका लागि आवश्यक छ । जनता राष्ट्रियताको पहरेदार र रक्षक हो । बिनाफर्मेसन जनताले निरन्तर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा मेरुदण्डको काम गरिरहेको हुन्छ । व्यवस्था र पार्टी र नेताहरू देश र जनताको रक्षा, सुख, समृद्धि, विकास र शान्तिका व्यवस्थापक हुन् । संसारमा आजसम्म भएका प्रयोगहरूमा वैज्ञानिक समाजवाद नै राष्ट्रियता र श्रमिक जनताको असल सहयात्री, पथप्रदर्शक र अभिभावक बनेको छ र यो निरन्तर निर्विकल्प बन्दै गएको छ । पुँजीवादी र साम्राज्यवादी व्यवस्थाका जनघाती, राष्ट्रघाती र द्रोही चरित्रका कारण संसारभर त्यो अलोकप्रिय मात्र होइन, असफल र बदनाम बनिसकेको छ । नेपालमा भित्र्याइएको खच्चड/ऐँजेरु पुँजीवाद अर्थात् दलाल पुँजीवादले संसारमा कहीँ पनि नभएको जात्रा देखाइरहेको छ र देश र जनताको दोहन गरिरहेको छ । त्यसैले यो दैनन्दिन मृत्युशैयातिर धकेलिइरहेको छ र मालेमावादी, सच्चा क्रान्तिकारी शक्तिहरूको सचेत पहल, प्रयत्न र जनताको उठ्दो चेतनाका कारण दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना निकट बन्दै गएको छ ।

जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनाका लागि भएको महान् जनयुद्धका उपलब्धि र जनयुद्धका मुख्य नेतृत्वकर्तालाई अपहरण/खरिद गरेर यी डेढ दशकमा दलाल पुँजीवादले रजगज गरे पनि संसदीय व्यवस्थाको पछिल्लो निर्वाचनले जनता यो व्यवस्थाबाट वाक्क, दिक्क र आजित भएर भरपर्दो विकल्प खोजिरहेका छन् भन्ने प्रस्ट पारेको छ । नेकपा (बहुमत) ले आह्वान गरेको चुनाव अवज्ञा आन्दोलनले संसदीय व्यवस्थाको विकल्पमा अघि सारिएको वैज्ञानिक समाजवाद जनताको मनमनमा स्थापित बन्दै गएको छ । यो व्यवस्थाका विरुद्ध जनताले पार्टीले आह्वान गरेको अवज्ञा आन्दोलन र विद्रोहमा राम्रो र उत्साहजनक साथ दिएर नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने विचार र नेतृत्व नेकपा (बहुमत) र क्रान्तिकारी शक्तिहरूमै छ भन्ने पनि प्रमाणित गरिदिएका छन् ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाले आफ्नो रक्षाका लागि मङ्सिर ४ गते गराएको चुनावप्रति अवज्ञा, अविश्वास, तिरस्कार र विद्रोह गरेर जनताले यो व्यवस्थाप्रतिको चरम असन्तुष्टि र अवज्ञा प्रकट गरेका छन् । अनैतिक, अपवित्र, अलोकतान्त्रिक गठबन्धन, डर, त्रास, पैसाको खोलो, क्रान्तिकारी शक्तिको गिरफ्तारी, मारपिटलगायत हर्कतहरू गर्दा पनि चुनावमा कतिपय स्थान शून्य मत, अधिकांश स्थानमा न्यून मत र समग्रमा ४० प्रतिशत पनि मतदान नहुनु, कास्कीलगायत ठाउँमा मत खसाल्न प्रयोग गरिएका बाकसहरू नै क्रान्तिकारी शक्तिको कब्जामा आएर तोडफोड हुनु, प्रारम्भिक मत परिणामहरूमा परम्परावादी शक्ति र अवैध/निकृष्ट गठबन्धनप्रति जनताले चरम अविश्वास र घृणा प्रकट गर्नु यो व्यवस्थाको पूर्ण असफलता हो । जनताले संसदीय व्यवस्थाको भरपर्दो विकल्प खोजिरहेका छन् र त्यो विकल्प नेकपा (बहुमत) ले अघि सारेको कार्यदिशाअनुसारको वैज्ञानिक समाजवादी व्यवस्था नै हो भन्ने थप प्रस्ट र प्रमाणित भएको छ ।

संसदीय चुनावपछि नेकपा (बहुमत) ले विज्ञप्ति जारी गरेर संसदीय व्यवस्थाप्रति जनताको चरम घृणा र अविश्वासका कारण यो व्यवस्था पूर्णतः असफल भएको प्रमाणित भएको संश्लेषण गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले असफल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएकाले वैज्ञानिक समाजवादी सत्ता स्थापनाको दिशातर्फ अघि बढ्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्तिलाई आह्वान गरेका छन् । पार्टीले सञ्चालन गरेको अवज्ञा आन्दोलनका कारण दलाल पुँजीवादी संसदीय राज्यव्यवस्थाको विकल्प वैज्ञानिक समाजवादप्रति जनआकर्षण बढाएको, नेकपा (बहुमत) को कार्यदिशा, कार्यक्रम र कार्यनीतिलाई सापेक्षतामा स्थापित गर्न सफल भएको, चुनावमा ‘मतदाताको उत्साह देखिएन’, ‘मतदाताको फ्लो देखिएन’ भन्ने संसद्वादी नेताहरूकै भनाइ र केही परिकलन गणित (अल्गोरिदम) का विज्ञहरूको भनाइअनुसार ‘३५ देखि ४० प्रतिशत मात्र मत खसेको’ कुराले संसदीय पुँजीवादी व्यवस्थाप्रति जनघृणा व्याप्त भएकाले यस व्यवस्थाअन्तर्गत हुने चुनावसम्बन्धी पार्टीको निर्णय सही रहेको नेकपा (बहुमत) को निष्कर्षले पनि नेपालमा अब संसदीय व्यवस्थाको आयु धेरै लामो नरहेको स्पष्ट सङ्केत गरेको छ । पार्टीले संसदीय चुनाव अवज्ञा गर्ने निर्णयका साथ यसलाई सफल बनाउन प्रचारात्मक, आन्दोलनात्मक र क्रियात्मक गरी तीन चरणमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । यसले जनतालाई वैज्ञानिक समाजवादी व्यवस्थातर्फ लम्किन राम्रोसँग प्रेरित गरेको छ ।

संसदीय व्यवस्थाभित्र भइरहेका अत्यन्त न्यूनकोटीका गतिविधि, हर्कत, मारपिट, भ्रष्टाचार, राष्ट्रघात, महँगी, बेरोजगारी, युवा/प्रतिभा पलायनलगायत कारण राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयहरू कमजोर बनेर सङ्कटग्रस्त बन्दै गएका छन् । दलाल पुँजीवादी व्यवस्थाले न राष्ट्रियताको रक्षा गर्न सक्छ, न त जनतन्त्र र जनजीविकाको समस्या नै समाधान गर्न सक्छ । पुगनपुग तीन करोड जनसङ्ख्या भएको मुलुकमा एक करोड हाराहारी युवा जनशक्ति रोजगारी, शिक्षा र सीपका लागि भौँतारिँदै विदेशको भूमिमा पुग्नु र वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिनु भनेको दलाल पुँजीवादी व्यवस्थाको चरम असफलता र सङ्कट नै हो । दलाल व्यवस्थाका रक्षकहरू देशमा उद्योग, कलकारखाना खोलेर, कृषिमा आधुनिकता ल्याएर रोजगारी सिर्जना गर्नु त कता हो कता, मत माग्दा पनि फ्रि भिसा, फ्रि टिकटको व्यवस्थाको नारा लगाउने अवस्थामा पुगेका छन् । देश र जनताका लागि योभन्दा लाजमर्दो र निम्छरो अवस्था अरू कुन हुनसक्छ ? पैसाका लागि मानिस बेच्ने अवस्थामा पुग्नु भनेको यो व्यवस्थाको पूर्ण असफलताको द्योतक हो । पुँजीवादी व्यवस्थाको विकल्प अर्को पुँजीवादी व्यवस्था, सरकार, दल वा नेता हुन सक्तैनन् । यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्रै हो । देश र दलाल पुँजीवादी व्यवस्थाको असफलताको पछिल्लो अवस्थाले क्रान्तिकारीहरूबीच एकता, ध्रुवीकरण र निर्णायक विद्रोहको अत्यावश्यकता बोध गराएको छ । यसका लागि नेकपा (बहुमत) को संश्लेषण ‘हामी यस अवसरमा विभिन्न तथाकथित कम्युनिस्ट घटकहरूभित्र रहनुभएका क्रान्तिकारी विचार समूह, सम्पूर्ण क्रान्तिकारी पार्टी र देशभक्तहरूलाई एउटै झन्डामुनि रही स्वाधीन संयुक्त सरकार निर्माण गर्दैै वैज्ञानिक समाजवादतिर अघि बढ्न आह्वान गर्दछौँ’ भन्ने आह्वानलाई कार्यरूप दिनु आवश्यक छ ।सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :