हिरासतमुक्त भक्तपुर इन्चार्ज रोजनलगायतको टोलीलाई स्वागत

हिरासतमुक्त भक्तपुर इन्चार्ज रोजनलगायतको टोलीलाई स्वागत

काठमाडौँ : चुनाव अवज्ञाका क्रममा गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् भक्तपुर इन्चार्ज रोजन रखाललगायत ४ जनालाई मङ्गलबार पार्टीको केन्द्रीय कार्यालयले स्वागत अभिनन्दन गरेको छ ।

स्वागत कार्यक्रममा पार्टीका संयोजक कञ्चनले आफ्नो पार्टीले आयोजना गरेको निर्वाचन अवज्ञा कार्यक्रमका अवसरमा देशका ४० भन्दा बढी ठाउँमा प्रदर्शन भएको र अवज्ञाले पार्टीलाई स्थापित गर्न थप मद्दत पुगेको बताए । अहिलेको निर्वाचनमा ६० देखि ७० प्रतिशत मानिसले भोट नहालेको विभिन्न तथ्यहरूले पुस्टि गरेको भन्दै संयोजक कञ्चनले क्रान्तिकारी आन्दोलनका लागि उपयुक्त वातावरण बन्दै गएको बताए ।

स्वागत कार्यक्रममा आफ्ना अनुभूति राख्दै भक्तपुर इन्चार्ज रोजनले पार्टीको योजना कार्यान्वयन गर्न आफू सधैँ प्रतिबद्ध रहेको र आवश्यक परे जुनसुकै भूमिका पनि निर्वाह गर्न तयार हुने बताए । देशभर गरिएका आन्दोलनका कार्यक्रमले पार्टीलाई जनतामा स्थापित गराएको र आगामी दिनमा यसको भूमिका बढाउनुपर्ने उनको भनाइ थियो ।

अखिल (क्रान्तिकारी) का नेता रमेशले आन्दोलनका क्रममा रत्नपार्कका गल्लीगल्ली र कलेजका प्रवेशद्वारहरूबाट दर्जनौँपटक गिरफ्तारी दिएको अनुभूति सुनाउँदै जेल बस्नु मात्र ठूलो कुरा नभई निरन्तर क्रान्तिबाट आफ्नो उद्देश्यमा कसरी पुग्न सकिन्छ भन्ने कुरा नै मुख्य भएको बताए ।

प्रवेशले क्रान्तिलाई अघि बढाउन पार्टीले उच्च प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिए भने सम्झनाले आफ्नो पार्टी सामाजिक कामहरूमा जोडिनुपर्ने, जनतालाई न्याय दिलाउनुपर्ने र उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा जोड दिनुपर्ने बताइन् ।

स्वागत कार्यक्रममा नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, सचिवालय सदस्य अटल, महाधिवेशन आयोजक समितिकी सदस्य देवकला अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :