चुनाव अवज्ञा आन्दोलनमा काठमाडौँबाट गिरफ्तार २४ जना रिहा, नेकपा (बहुमत) का संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले गरे स्वागत

चुनाव अवज्ञा आन्दोलनमा काठमाडौँबाट गिरफ्तार २४ जना रिहा, नेकपा (बहुमत) का संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले गरे स्वागत

काठमाडौँ : संसदीय चुनाव अवज्ञा आन्दोलनका क्रममा काठमाडौँबाट आइतबार गिरफ्तार गरिएका नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् बागमती उपत्यका ब्युरो इन्चार्ज शरद रसाइलीसहित २४ जना आज हिरासतमुक्त भएका छन् । काठमाडौँका विभिन्न स्थानमा रहेका प्रहरी हिरासतबाट उनीहरू मुक्त भएका हुन् । पार्टी संयोजक कञ्चन र पार्टी प्रवक्ता सुदर्शनको उपस्थितिमा सबैलाई रिहा गरिएको हो । रिहाइपछि काठमाडौँमा कार्यक्रम आयोजना गरी हिरासतमुक्त नेता–कार्यकर्तालाई पार्टी संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले स्वागत अभिनन्दन गरेका छन् ।

माइतीघर मण्डलामा निर्वाचन अवज्ञा आह्वान गर्दै आइतबार निकालिएको जुलुसबाट गिरफ्तार गरिएकाहरूमध्ये महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएका नेकपा (बहुमत) का १५ जना, दरबारमार्ग प्रहरी वृत्त हिरासतमा रहेका ७ जना र तीनकुने प्रहरी वृत्तको हिरासतमा रहेका २ जनासमेत २४ जनालाई पार्टीका संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टी नेताको उपस्थितिमा हिरासतमुक्त गरिएको थियो । हिरासतबाट मुक्त भएका सबै नेता–कार्यकर्तालाई बागबजारस्थित हार्दिक होटेलमा पार्टीका संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

सोह्रखुट्टे हिरासतबाट शरद रसाइली, हरि श्रेष्ठ, निशान ठकुरी, नितेश थापा, रोहित दाहाल, सरोज न्यौपाने, भूपाल विक, दिनेश नेपाली, दीपेन्द्र क्षेत्री, दिनेश जोशी, मीनबहादुर ऐरी, उद्धव थापा, विक्रम पौडेल, आयुषा भुजेल र सम्झना गिरी मुक्त भएका हुन् । त्यसैगरी दरबारमार्ग हिरासतबाट नवराज भट्ट, सपना पुनमगर, वीरेन्द्र नेपाली, कृष्ण खड्का, गणेश थापा, स्मृति कार्की र वचन शाह मुक्त भएका छन् । त्यसैगरी तीनकुने हिरासतबाट गोविन्द बिष्ट र धनराज विक मुक्त भएका छन् ।

हिरासतमुक्त भएका नेता–कार्यकर्तालाई स्वागत अभिनन्दन गर्दै नेकपा (बहुमत) का नेताहरूले दलाल पुँजीवाद र संसदीय व्यवस्था असफल भइसकेकाले क्रान्तिकारी आन्दोलनले यसलाई विस्थापित गरेर वैज्ञानिक समाजवाद स्थापित गर्ने बताए । जेल मोर्चामा विजय प्राप्त गरेर नेकपा (बहुमत) का नेता–कार्यकर्ताले आफ्नो क्रान्तिकारी कौशल प्रस्तुत गरेको पनि नेताहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :