सर्लाहीमा हिरासतमुक्त पार्टी नेता–कार्यकर्ताको सम्मान

हिरासत र जेल पनि क्रान्तिका मोर्चा हुन्, जित्नुपर्छ : आले

सर्लाहीमा हिरासतमुक्त पार्टी नेता–कार्यकर्ताको सम्मान

काठमाडौँ : निर्वाचन अवज्ञाका क्रममा गठबन्धन सरकारले सर्लाहीको हरिवनबाट गैरन्यायिक गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज विचारमान थिङ ‘निर्माण’, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज उपेन्द्र परियार, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सचिवालय सदस्य भरत पुलामीलगायत पार्टी नेता–कार्यकर्तालाई सोमबार रिहा हुनासाथ स्वागत गरिएको छ । प्रहरीले नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सर्लाही जिल्ला प्रशासन कार्यालय मलङ्गवा पुर्याएको थियो ।

रिहाइपछि पार्टीका केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’, पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नवौँ महाधिवेशन आयोजक समिति सदस्य विमला, सर्लाही जिल्ला संयोजक पदम मगर ‘बिहानी’ लगायतले हिरासतमुक्त नेता–कार्यकर्तालाई खादा र अबिर लगाएर स्वागत गर्दै बधाई दिए ।

हिरासतमुक्त नेता–कार्यकर्तालाई बधाई दिँदै पार्टी केन्द्रीय सल्लाहकार समितिका सचिव पवनले हिरासत र जेल पनि क्रान्तिको एउटा मोर्चा रहेको बताए । उनले क्रान्तिको मोर्चामा सधैँ जित हासिल गर्दै अगाडि बढ्न पार्टी कार्यकर्तालाई प्रेरित गरेका थिए ।

हिरासतमुक्त नेता–कार्यकर्ताले महान् सहिदका अधुरा सपना क्रान्तिको मोर्चाबाट पूरा नहुँदासम्म जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

चुनाव अवज्ञाका क्रममा मधेस ब्युरोका सर्लाही, धनुषालगायत जिल्लामा अवज्ञा सभाका साथै पर्चा, पोस्टरिङ, भित्तेलेखन गरिएको थियो ।
यसअघि अवज्ञा अभियानकै क्रममा कात्तिक २९ गते गिरफ्तार गरिएका पार्टीका सिराहा जिल्ला संयोजक उचित महरा ३० गते रिहा भएका थिए ।

पार्टीका सिराहा–सप्तरी इन्चार्ज गणेश शाहलाई भने सरकारले तीनबुँदे सहमति उल्लङ्घन गर्दै धनुषाको झूट्टा मुद्दा लगाएर कारागार चलान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :