चुनावमा जनताको अवज्ञा र वितृष्णा : संसदीय व्यवस्थाको असफलता

चुनावमा जनताको अवज्ञा र वितृष्णा : संसदीय व्यवस्थाको असफलता

काठमाडौँ : नेपालमा संसदीय व्यवस्था असफल भइसक्यो र यसको विकल्पमा एक मात्र उत्तम व्यवस्था वैज्ञानिक समाजवाद स्थापना आवश्यकता पर्यो भन्ने जनमत बढिरहेको सन्दर्भमा हालै सम्पन्न संसदीय व्यवस्थाको निर्वाचनमा आमजनताको निराशा मात्र देखिएन, निर्वाचन अवज्ञा र बहिष्कार गर्ने मत पनि अत्यधिक बढेको देखिएको छ । परिणामस्वरूप नेपालको संसदीय व्यवस्थाको इतिहासमा २०४६ सालयताको आँकडामा सबभन्दा कम मत खस्यो ।

केही विश्लेषक र आममानिसले यसकोकारणका रूपमा वर्तमान निर्वाचन प्रणाली, वर्तमान राजनीतिक दलहरू, बुढापुराना नेताहरूको पुनरावृत्ति, दल वा दलीय नेताहरूप्रति आममान्छेको वितृष्णा यस्तैयस्तै बहस गरेको पाइन्छ । तर अरू सबै विषय सहायक मात्र भएको र वर्तमान संसदीय प्रणाली असफल भएका कारण यो व्यवस्थाको विकल्प आवश्यक भैसकेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा मशाल, माओवादी कम्युनिस्ट पार्टी नेपाललगायत दल र अन्य केही समूहले समेत यसको अवज्ञा र बहिष्कार गरेका छन् ।

हालै सम्पन्न संसदीय निर्वाचनमा मतदाताहरूको सहभागिता, यसको सम्भावित मतपरिणामलाई हेर्दा र नेपालमा संसदीय व्यवस्था स्थापना भएको ५ दशकको अवधिमा यो व्यवस्था नेपालमा पूर्ण असफल भैसकेको छ र मानिसहरूमा यो व्यवस्थाप्रतिको वितृष्णा निकै बढेको छ । यो व्यवस्था असफल हुनु भनेको वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता र यसको बहसले आकार पाउनु हो भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शन भन्छन्, ‘नेपालमा वैज्ञानिक समाजवादको अनिवार्यता बन्दै गएको छ । आज राज्यको ठूलो अर्थतन्त्र विदेशमा गएका लाखौँ युवाले पठाएको रेमिट्यान्सले धानेको छ भने अबको १० वर्षको सेरोफेरोमा अरब होस् वा अन्य देशहरूको भौतिक संरचनाको निर्माणकार्य करिब अन्तिम चरणमा प्रवेश गर्नेछ र त्यहाँ श्रमिकहरूको माग घट्नेछ । त्यस्तो अवस्थामा युवाहरूको ठूलो सङ्ख्या स्वदेश फर्किने अवस्था बन्नेछ । त्यति बेलासम्म यता देशको अवस्था झनै कङ्गाल बनिसकेको हुनेछ । त्यसबेला एउटा ठूलो विद्रोह हुनसक्छ । अनि यहाँ सबैखाले समस्या, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू गम्भीर बन्दै जानेछन् । राज्यसत्ता पूर्ण रूपले असफल हुनेछ र वैज्ञानिक समाजवादी क्रान्तिका लागि शक्तिशाली आधार तयार गर्नेछ ।’

नेता सुदर्शन अगाडि भन्छन्, ‘आज मान्छेहरू, खासगरी युवाहरूमा जुन निराशा छ यो संसदीय व्यवस्था असफल भएको परिणाम हो । यो निराशा आक्रोशमा परिणत हुनसक्ने छ ।’

नेता सुदर्शनले भनेजस्तै अहिलेको निर्वाचनको परिणामलाई हेर्दा पनि मतदाताहरूले ठूला भनिएका पार्टी र नेताहरूलाई होइन, नामै नसुनिएका तर स्वतन्त्र भनेर उठेका सामान्य व्यक्तिहरूलाई मत दिएका छन् । उच्च व्यक्तित्व बनाएका (हाई फ्रोफाइल) हरूलाई समेत निर्वाचनमा धक्का लाग्नु भनेको व्यवस्थाप्रति जनताको असन्तुष्टि विकल्पमा व्यक्त हुनु हो ।

यस्तै निर्वाचन प्रणाली महँगो हुनु, निर्वाचनमा साम, दाम, दण्ड, भेद, जाल, झेल, गुन्डागर्दीको बढी प्रयोग हुनु, इमानदार र असल मानिसहरूको ठाउँमा आपराधिक आचरण र खराब प्रवृत्तिका मानिस, तस्कर, दलाल र गुण्डाहरूले ठाउँ पाउनु पनि यो व्यवस्थाको असफलता हो जसको कारण नागरिकहरूमा व्यवस्थाप्रति वितृष्णा पैदा भएको छ ।

यस्तै यो व्यवस्थाको चुनावमा जुनसुकैले जिते पनि नयाँ बोतलमा पुरानै रक्सी भरेजस्तै एउटै प्रवृत्ति देखिने र सामान्य सुधारका कामहरूबाहेक केही गर्न नसक्ने भएकाले पनि यो व्यवस्थामा व्यक्ति मात्र होइन सिङ्गो व्यवस्था नै खराब छ । त्यसकारण संरचना बदल्न आवश्यक छ भन्ने बहसले व्यापकता पाउनेछ ।

यस्तै एमालेबाट विद्रोह गरी रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका वामपन्थी नेता घनश्याम भुसालले पनि यो व्यवस्थामा काम गर्ने नेताहरू नसुध्रिएमा र यही प्रवृत्ति दाहोरिइरहेमा यो व्यवस्थामा नै सङ्कट आउने विश्लेषण गरेका छन् । त्यसकारण नेताहरूले विवेक पुर्याउनुपर्ने उनको विश्लेषण छ । दलाल संसदीय व्यवस्थाको सत्ता चास्नीमा डुबेका नेताहरूको तुलनामा उनको विश्लेषण सही देखिन्छ ।

६ दशक लामो समय नेपालको क्रान्तिकारी वामपन्थी आन्दोलनमा आफ्नो जीवन व्यतित गरिसकेका, सरल स्वभाव, साधारण जीवनशैली र सधैँ क्रान्तिका पक्षमा रहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले यो संसदीय व्यवस्था असफल भैसकेको र यसबाट अब देश पार नलाग्ने भन्दै यो व्यवस्था नबदलेसम्म देश अघि बढ्न नसक्ने ठोकुवा गरेका छन् । संसदीय चुनावमा बहिष्कारको नीति अवलम्बन गरेको क्रान्तिकारी माओवादी नेकपा (बहुमत) सहित ४ पार्टीको सहकार्यमा चुनाव बहिष्कार तथा अवज्ञा कार्यक्रममा सहभागी थियो ।

यसैबीच नेकपा (बहुमत) ले चुनाव अवज्ञाका क्रममा मङ्सिर ४ भन्दा पहिले देशैभरि पर्चा–पम्प्लेट वितरण, भित्तेलेखन गर्नुका साथै कोणसभा र जनसभाहरू सम्पन्न गरेको छ भने कैयौँ ठाउँमा भ्रष्ट, तस्कर र दलाल उम्मेदवारहरूलाई बहिष्कार गर्न भन्दै घरहरूमा कालो ब्यानर र झन्डासमेत टाँगेको छ । यस्तै चुनावको दिन मङ्सिर ४ गते देशैभरि मतदान केन्द्रनजिक प्रदर्शन पनि गरेको छ । पोखराको लुम्रेमा नेकपा (बहुमत) का युवाहरूले मतपेटिका नै फुटाइदिएका छन् भने दाङ, काठमाडौँ, मकवानपुर, झापाको चन्द्रगढी, बैतडी, बजाङ, कञ्चनपुर, कैलाली, जाजरकोटको नलगाढ, अर्घाखाँची, नवलपुर, कपिलवस्तु, दोलखाको शैलुङ, धनुषाको वीरेन्द्रबजार, उदयपुर, सुनसरीको इटहरीलगायत ठाउँहरूमा प्रदर्शनहरू भएका छन् । प्रदर्शनका क्रममा नेकपा (बहुमत) का सयौँ नेता–कार्यर्ता गिरफ्तार भएका छन् । कतिपय जिल्लाका नेता–कार्यकर्ता रिहा भएका छन् भने कयौँ जिल्लामा रिहा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :