हामी जित्नेछौँ ! विचार, समय र आन्दोलनले जित्नेछ !

समयसमीक्षा

हामी जित्नेछौँ ! विचार, समय र आन्दोलनले जित्नेछ !

मेरो गीत कति भयानक छ तिम्रो धुन
जब मैले यो विपत्लाई गाउनु छ
विपत् जसमा म अहिले बाँचिरहेको छु
विपत् जसमा म अहिले मरिरहेको छु…

– भिक्टर जारा

हो, चिलीका क्रान्तिकारी कवि, गायक एवम् सहिद भिक्टर जाराको हामी जित्नेछौँ गीतजस्तै छ हामीले बाँचेको विषाक्त वर्तमान । लोकतान्त्रिक र गणतान्त्रिक भनिने वर्तमान सत्ताले मानिसले सुखसँग बाँच्न त के दुःख गरेर बाँच्छुभन्दा पनि त्यो वातावरण बनाएको छैन । तीन करोडभन्दा पनि कम जनता भएको देशमा एक करोडको हाराहारी क्षमतावान् युवा त कामको खोजीमा विदेशमै भौँतारिइरहेका छन् अनि जनताले किन गाउँदैनन् विद्रोहको गीत, अनि युवाले किन फाल्दैनन् मतपेटिका, अनि जनताले किन रित्तै पठाइदिँदैनन् मतपत्र हाल्न थापिएका बाकस ! दैनिक हजारौँ युवा प्रियजनसँग रुवाबासी गर्दै एयरपोर्टबाट बिदा हुन्छन् र दर्जनौँ युवाको शव आउँछ बाकसमा प्याक भएर । बिदा गर्दा पनि रुनुपर्ने अनि रुँदैरुँदै प्रियजनको लास बुझ्नेपर्ने विडम्बनामा पुर्याइदिएका छन् पुँजीवादी शासकहरुले । यस्तो अवस्थामा थबाङहरूले विद्रोह नगरे कसले गर्छ विद्रोह !

लेखक : अशोक सुवेदी

चुनावको मुखैमा सामाजिक सञ्जालमा ‘गाउँगाउँबाट उठौँ’ गीतको प्यारोडी बनाएर सार्वजनिक गरिएको गीतले आक्रोशित जनताको भावनाको पनि प्रतिनिधित्व गर्यो र निकै राम्रो स्थान पनि पायो । गीत यस्तो थियो :

गाउँगाउँबाट खेदौँ, बस्तीबस्तीबाट खेदौँ
यो देश लुट्नेहरूलाई देशबाटै खेदौँ
हातमा खुर्पा हुनेहरूले खुर्पा लिएर खेदौँ
गैँची–गल चलाउनेहरूले गैँची लिएर खेदौँ
हलो जोत्ने कृषकहरूले फाली लिएर खेदौँ
आरन चलाउने हातहरूले घन लिएर खेदौँ…
कलम चलाउने हातहरूले कलम लिएर खेदौँ
गीत गाउन जान्नेहरूले गीत गाएर खेदौँ
केही नहुने जनताहरूले प्रश्न सोधेर खेदौँ
भोट हाल्न जानेहरूले भोट नहालेर खेदौँ ।
गाउँगाउँबाट खेदौँ, बस्तीबस्तीबाट खेदौँ
यो देश लुट्नेहरूलाई देशबाटै खेदौँ

यो प्यारोडी कसले बनायो, थाहा छैन तर विद्यमान व्यवस्थाबाट आजित आममानिसको मूल मर्म बोकेको छ यो गीतले । त्यसैले बुझ्न सकिन्छ, चुनावमा ४० प्रतिशत मत पनि खसेन । जनताले व्यवस्था, पार्टी र व्यक्ति सबैलाई अवज्ञा गरेका कारण स्वतः व्यवस्था नै अवैध प्रमाणित भयो ।

वर्तमान कति भद्रगोल, असमान, व्यभिचारी छ भन्ने विषय कि त क्रान्तिकारी पार्टीका दस्ताबेज र भाषणहरूमा मुखरित हुन्छ कि त क्रान्तिकारी मार्क्सवादी स्रष्टाहरूको सिर्जनामा । सत्तान्धहरू त फेरि कसरी जालझेल र प्रपञ्च गरेर सत्तामा पुग्ने र कसरी अर्को पाँच वर्षसम्म लुटपाट र दोहन गर्ने भन्ने ध्याउन्नमै छन् । यति विसङ्गत समय पहिले कहिल्यै थिएन भन्ने अवस्थामा जनता पुगे त्यसैले सामान्य विकल्पहरु रोज्नुपर्दा उनीहरुले साङ्केतिक विद्रोह पनि गरे ।

मार्क्सवादी स्रष्टा बीपी विद्रोही विद्यमान असङ्गत अवस्था र जनताको विद्रोही भावनालाई यसरी प्रस्तुत गर्छन् :

आजकल जून रातमा छैन, घाम बिहानमा छैन
त्यस्तो सन्नाटा चाहन्छ सत्ता जति चिहानमा छैन
नफस्नुहोस् तपाईं चुनावी घोषणापत्रको कुलतमा
बरु पिउनुहोस् मज्जाले त्यति खराबी धूमपानमा छैन
पढ्नुहोस् धोकाको शिक्षालयमा तिरस्कारको ठेली
जति पाठ अपमानमा छ त्यति सम्मानमा छैन
जताततै छ देश सिंहदरबारदेखि सिंहदरबारसम्म
यो उत्पीडनको लामो कथा राष्ट्रिय गानमा छैन
राजनीतिको रङ्गशाला दलालहरूले कब्जा गरिसके
खेल सुरु हुनै लाग्यो एउटा खेलाडी मैदानमा छैन ।
हो, जनताले मैदानको नेतृत्व गर्ने नायक खोजिरहेका छन् र नायक निर्माण गरिरहेका छन् ।

यो समाज अर्थात् दलाल पुँजीवादी समाज काम गरेर खाने वर्गको होइन, दलाल पुँजीपतिहरूको हो । यहाँ राजनीति गर्ने संसद्वादी दलहरू पनि दलाल पुँजीपति वर्गकै सेवक हुन्, श्रमिक जनताका होइनन् । सत्ता गठबन्धनका एक नेता र सत्तामा रहँदा झनै विवादास्पद छवि बनाएका गगन थापाले चुनाव घोषणा भएपछि मत माग्ने क्रममा भनेका रहेछन् :

काङ्ग्रेस गरिबको पार्टी होइन
काङ्ग्रेस सुकुमबासीको पार्टी होइन
काङ्ग्रेस हुनेखानेको पार्टी हो
गाडी–घोडा हुनेको पार्टी हो ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणाले पनि आफ्ना मतदाताहरू आफूहरूजस्तै हेलिकोप्टर चढेर आउने क्षमताका सम्पन्न रहेको बताएकी थिइन् । मुखले भने पनि नभने पनि एमाले, माके, राप्रपा, मधेसवादी वा आफूलाई स्वतन्त्र भनाउन रुचाउनेहरू पनि दैनिक हवाईजहाज र महँगामहँगा गाडी चढेर विपन्न मतदातालाई लोभ्याउँदै हिँडेका देखिए । आममानिसलाई राजनीतिले लोभ्याएको पनि समाजको आमूल परिवर्तनभन्दा आफूहरू सत्तामा पुगेमा यसैगरी हुनेखाने बन्ने र गाडीघोडा चढ्न सक्ने बन्ने अभिप्रायले नै हो । सिद्धान्त र व्यवस्थाले भन्दा व्यक्तिगत लालसाले मानिसहरू सक्ने–नसक्ने प्रलोभन दिएर चुनावमा होमिए । अब दलालीका पैसाले लड्ने यो दलाल पुँजीवादी व्यवस्था, संसदीय चुनाव, महँगो चुनाव इमानदार र मेहनती वर्गका लागि रहेन, धनाढ्यहरूको पेवा बन्यो । यसैले पनि आमजनतामा यो व्यवस्थाप्रति वितृष्णा बढिरहेको छ र जनताले विद्रोहको बाटो रोजिरहेको छ ।

नेपाली समाज दलाल पुँजीवादी संसदीय व्यवस्था अवज्ञा गर्दै वैज्ञानिक समाजवादी क्रान्तितर्फ अग्रसर छ । संसदीय व्यवस्थाको रक्षाका लागि गराइएको निर्वाचन, यसक्रममा भए–गरिएका अशोभनीय, अलोकतान्त्रिक र सिद्धान्तहीन गठबन्धन, चलखेल तथा हर्कतहरूका विरुद्ध जनताले व्यक्त गरेको विद्रोह र आक्रोश हेर्दा राजनीतिक–सांस्कृतिक प्रतिक्रान्तिपछि जनताले नयाँ निकास खोजेको प्रस्टै देखिन्छ यद्यपि दलाल पुँजीवादी शासकहरूले यो व्यवस्था र यसले गराएको निर्वाचनलाई वैधानिकता दिने अन्तिम प्रयास गरिरहेका छन् । यो उनीहरूको मृगमरीचिकाबाहेक केही होइन ।

जनता अर्थात् उत्पीडित श्रमजीवी जनताले कहीँ सुनिने गरी र कहीँ मौनतापूर्वक संसदीय व्यवस्था अवज्ञा गरिदिएका छन् र वैज्ञानिक समाजवादको मार्गप्रसस्त गरिदिएका छन् । संसदीय संशोधनवादी बनेको एउटा समूहले फेरि चुनावमा जान नपाएको झोकमा पेट्टीबुर्जुवा रोमान्स देखाउँदै आत्मघाती हर्कत गरेर क्रान्तिकारी युवाहरूको क्षति गराएको छ । नेकपा (बहुमत) ले देशैभरि अवज्ञाको आवाज बुलन्द पारेको छ र कास्कीलगायत स्थानमा मतपेटिका नै ध्वस्त बनाएर क्रान्तिकारी आवाज चर्काएको छ । स्रष्टाहरू पनि सत्ताको विनाशलीला टुलुटुलु हेरेर बसिरहेका छैनन् । माक्र्सवादी स्रष्टाहरू यो पट्ट्यार र दिक्दारलाग्दो वर्तमानबाट समाजलाई निकास दिन मस्तिष्कमन्थन गरिरहेकै छन् ।

मार्क्सवादी युवा स्रष्टा रसुवाली कवि ‘मौनताको तरबार’ लेख्दै भन्छन् :

आवाजहरूलाई बन्द गर
सुन सन्नाटाहरूको भूकम्पलाई
बन्द गर आक्रोशहरू
फुल्न नदेऊ मखमलीहरूलाई
सत्तासीन छ मौनता
धप्पक्कै छ अन्धकार
चुप लाग
आवाजहरू निद्रामा छन्
झर्न सक्छ पारिजातको फूल
रोक बतास र सिरोटोलाई
मानिसहरूको श्वास बढ्न सक्छ
कोही रुन सक्छ ऐँठनले
खोकीले सताउन सक्छ पुराना दमका रोगीहरूलाई
सुस्तरी कोइलीले वसन्तको गीत गाउन सक्छ
भर्भराउन सक्छ अगेनामा आगो
चुप लाग
आवाजहरू निद्रामा छन्
जतिसुकै रटे पनि मौनताको सारङ्गी
एक दिन सङ्घर्षले उठाउनेछ मुन्टो
आन्दोलन बन्नेछ जब्बर
मौनताको तरबार ज्यादै भुत्ते छ ।

समय मौनताबाट पनि विद्रोह गरिरहेको छ र अवाज, गतिविधि र हाउभाउसहित पनि विद्रोह बोलिरहेको छ । थबाङहरूले फेरि यो चिच्याहट र भद्रगोललाई मौनताबाटै अवज्ञा गरिदिएका छन् । देशमा एउटा मात्र थबाङ छैन, हजारौँ थबाङ र कास्कीका लुम्रेहरू जन्मिसकेका छन् ।

यसरी भद्रगोललाई चिर्दै थबाङ र लुम्रेहरु जन्मिरहेको समयमा जन्मदिनको सन्दर्भ पारेर ३ मङ्सिर २०७९ मा रचना गरेको ‘आजको बिहान र उद्देश्यको सगरमाथा’ शीर्षकको आफ्नै कविता प्रस्तुत गर्दै यो साताको समयसमीक्षा यहीँ बिट मार्ने अनुमति माग्छु :

सङ्घर्षमय बनिरहेकै छ जीवन
लक्ष्य चुम्ने जुन मेरो उद्देश्य हो ।

कतै थाकेँ, गलेँ वा सुस्ताएँ कि ?!
सोध्छु आफैँलाई
परीक्षण गर्छु प्रियजनहरूसँग
र जाँच्छु नजिकदेखि टाढासम्मका वर्गवैरीहरूसँग
अहँ छैन हारेको र थाकेको
घटेको छैन, उचाइ छोइरहेकै छ माया प्रियजनहरूको
बढिरहेकै छ दुस्मनको र दुस्मनहरूप्रतिको घृणा
यसको अर्थ लगाउन कुनै कठिनाइ पर्दैन मलाई–
म ठीक छु र अझ ठीक हुँदैछु ।

छैन कुनै गुनासो जीवनप्रति
केही उपहार छ यसमा
केही उद्देश्य छ र यत्न छ ।
जहानियाँ शासनविरुद्ध लड्दालड्दा थाकेर
रित्तो हात घर फर्किएका मेरा बाबाले
देखेका थिए होलान् सपना–
मेरोजस्तो सिसिफस कहर नकाटोस् यसले…
तर यतिचाहिँ ठोकेरै भन्छु–
उनले चाहेका थिए– म कसैको दास नबनूँ
गुमाएर अस्तित्व र स्वाभिमान ।
हो, यसैमा गर्व छ मलाई
सार्थक जीवनका लागि
माग्नुपरेको छैन परायासँग भिक ।

सङ्घर्ष, सङ्घर्ष, सङ्घर्ष…
जीवनलाई सङ्घर्षको पर्यायवाची बनाएकी मेरी आमाले
सोचेकी थिइन् अवश्य–
मिसिनु परे पनि माटोमा
नगुमाओस् धैर्य
र जोगाइराखोस्, बढाइराखोस् जीवनसङ्घर्ष, विचारसङ्घर्ष…
हो, यसमै अति गौरवशाली ठान्छु म आफूलाई
जीवनका अन्तिम पलहरूमा
तिनका लोलाएका आँखाहरूले जे चाहेका थिए मसँग
छैन मैले तिनको विश्वास डगमगाएको
म जान्दछु
तिनै र त्यस्तै आशा र विश्वासहरू छन्
मेरा प्रिय कमरेडहरूका पनि मसँग
जन्मिए त के गर्नु एकाध कुलङ्घार विभीषणहरू
देखिए त के गर्नु एकाध शकुनी र जुडासहरू
पराजित त भइरहेकै छन् नि उनीहरू
तब न छ जीवन प्रिय–प्रिय
गर्दै सङ्घर्ष
भित्रदेखि बाहिर, पर–परसम्म निरन्तर
झन्–झन् स्पातिलो बनेको छ जीवन ।

घुमिफिरी आउँछन् शिशिर र वसन्तहरू
जीवनमा थप्दै आशामाथि आशा
ल्याउँछन् बोकेर गर्विला इतिहास
पल्टाउँछु पाना जीवनका
घुम्छन् चलचित्रका दृश्यहरूझैँ झन्झन् नवीन दृश्यहरू ।
मुखिया विष्णुप्रसादसँग मल्लयुद्ध लडिरहेका
शिवलाल–चन्द्रलालहरू आउँछन् घरिघरि
पुष्पलाल–गङ्गालाल–कृष्णलालका सपना बोकेर
र गर्छन् खबरदारी ।
जिम्मल ज्ञानप्रसाद र डम्बरजङ्गहरूसँग लडिरहेका
हितप्रसाद र जूनमायाहरू आउँछन्
र गराउँछन् सावधान–
झुकेर, लत्रेर, लम्पसार परेर
ठगेर, ठगिएर बाँच्नु पनि के बाँच्नु !
हो, यसैले त स्पातिलो बनाएको छ जीवन
हो, यसैले त सार्थक बनाएको छ जीवन !

इतिहास र वर्तमानका रक्तिम पानाहरू भन्छन्–
वसन्त ल्याउन त अनन्त तुसारे शिशिरहरू पार गर्नुपर्छ…
यो निश्चित हो
अब पटाक्षेप बनिरहेका छन् निरन्तर यत्न–प्रयत्नले
वसन्त आउने बाटोका अवरोधक शिशिरे कहरहरू ।
उद्देश्यका क्षितिज र सगरमाथा
पर्यटक बनेर दृश्यपान गर्नका लागि अवश्य होइनन्
ती त विजयको उद्देश्य चुम्नका लागि हुन् ।

त्यसैले छैन जीवनप्रति कुनै गुनासो
किनकि
दैनन्दिन निकट बनिरहेका छन्
उद्देश्यका क्षितिज र सगरमाथाहरू
यिनैले पुर्याउनेछन् हामीलाई
सार्थक जीवनका उद्देश्य बनेका
विचार र आस्थाका सगरमाथाहरूसम्म ।

सिर्जनानगर, नयाँघर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :