यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’

समय समीक्षा

यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’

समय बाङ्गोटिङ्गो र अस्वाभाविक रूपमा बहिरहेको छ । आफू माओवादी हौँ भन्दै कम्युनिस्टको झन्डा बोकेर हिँडिरहेका हिजोसम्मका ‘कमरेड’ हरू आज काङ्ग्रेसको चारतारे झन्डा बोकेर ‘जय नेपाल’ भन्दै हिँडिरहेका छन् । त्यस्तै केही समयअघिसम्म दुस्मन सत्ताविरुद्ध लड्दा जङ्गलको एउटै ध्वान्द्रोमा रात बिताएका कमरेडहरू ज्यानी दुस्मन बनेर अर्को कमरेडमाथि साङ्घातिक आक्रमणमा उत्रिएका छन् ।

एकातिर दलाल पुँजीवादी सत्ता चुनाव अवज्ञा पोस्टर टाँस्ने क्रान्तिकारीहरूमाथि आक्रमण गरिरहेको छ र अर्कातिर हिजोसम्मका वर्गमित्रहरू नै क्रान्तिकारीमाथि धावा बोलिरहेका छन् र भनिरहेका छन्– कपिलवस्तु आक्रमण त कास्टिङ मात्रै हो, अझै ठोकिन्छ, हानिन्छ । धर्मेन्द्र–सुदर्शनहरूले संसदीय सुधारवादी करार गरेर आफूहरूलाई निष्कासन गर्नु र क्रान्ति अघि बढाउनु विप्लव समूहका लागि असह्य बनेको छ । त्यसैले संसदीय चुनावमा जान नपाएको झोक नेकपा (बहुमत) का नेता–कार्यकर्तामाथि आक्रमण गरेर देखाइरहेका छन् । अवस्था यस्तै दारुण छ ।

पेचिलो छ समय । अर्कातिर वर्गदुस्मन जमजमाइरहेको छ चिहानबाट उठ्न । उसले आफ्नो अन्तिम त्राणका रूपमा चुनावको झटारो फ्यालेको छ । क्रान्तिकारीहरू अवज्ञा आन्दोलन लिएर दुस्मनका क्याम्पहरूबाहिर अवज्ञा र बहिष्कारका ब्यानरहरू टाँस्दै र भित्तेलेखनमा समाजवादका नाराहरू लेखिरहेका छन् । उता संसदीय सत्ता यही अपराधी खेललाई ‘रामराज्य’ को भ्रम बाँडिरहेको छ । माक्र्सवादी स्रष्टाहरू आफूलाई अजम्मरी ठानिरहेको दलाल पुँजीवादी सत्तालाई चुनौती दिइरहेका छन् । कवि अग्निराज पौडेल ‘अराप’ ‘ब्युँझ, अब त ब्युँझ’ शीर्षक कवितामा लेख्छन् :

उद्देश्य देखिएन पटके निर्वाचनको
बदलिएन अनुहार सत्ता र सिंहासनको
कुनै परिवर्तन ल्याउँदैन निर्वाचनले
विद्रोह गर्नैपर्छ भोका–नाङ्गाहरूले
रक्तरञ्जित परिवर्तन माग्दैछ
फेरि एकपटक समयले ।
ब्युँझ, अब त ब्युँझ
कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ
मजदुर, किसान, हरूवा, चरुवा ब्युँझ
पद, पैसा र शक्तिका अगाडि
झुक्न, बिक्न, लम्पसार पर्न होइन
दुर्जनलाई सज्जन देखाउन पनि होइन
गरिब, दुःखीको सारथी हुन ब्युँझ
अझ सशक्त क्रान्तिको ज्वाला दन्काउन ब्युँझ ।
ब्युँझ, अब ब्युँझ कलमका पण्डित ब्युँझ
सूदखोरको तमसुक लेख्ने
मतियार मात्र होइन कलम
कलम शब्दको दीपशिखा हो
उज्यालो फैलाउने अग्निज्वाला हो
कलमले आगो ओकल्न सक्नुपर्छ
भ्रष्टलाई भ्रष्ट नै लेख्न सक्नुपर्छ
जति लेख्यौ, अपूरो भो
अब पूरा लेख
विद्रोही बन्दुकको कानुन लेख
गाउँगाउँमा दन्किएको आगोको आवाज लेख
छातीमा दागिएको गोलीको चित्कार लेख
छरपस्ट मृत्युको इतिहास लेख ।

स्रष्टाले सर्जकहरूलाई विद्यमान आततायी शासकका हर्कतहरूका विरुद्ध आगो ओकल्न आह्वान गरेका छन् र हुँकार बोलेका छन् । सत्ता–नाटक र प्रहसन अत्यन्त घिनलाग्दो शैलीमा अघि बढिरहेको छ । सत्ता र यही प्रतिगामी सत्तालाई नै अन्तिम लक्ष्य बनाएर दलाल पुँजीवादका मतियार संसद्‌वादीहरू लम्पसार परिरहेका छन् । कवि अराप विद्यमानतालाई उजागर गर्दै अगाडि लेख्छन् :

कुन नैतिकताले चलेको छ सरकार
पटके निर्वाचनको नाटक मञ्चन गर्दै
हत्यारा, भ्रष्ट, दलालहरूको
भीड जम्मा गरेर
मानव–बधशाला चलाइरहेको छ
आफ्नो दलाल सत्ता जोगाउन
यस्तो लाग्छ– संसद् संसद् होइन
मधुशालाले भरिएको दरबार हो
छुट्ट्याउन सकिएन सांसद सांसद हुन् कि
रिमोटबाट चल्ने यन्त्रमानव
वा मानिसजस्तै देखिने बुख्याँचा मात्र हुन्
त्यसैले
ब्युँझ, अब त ब्युँझ
कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ
मजदुर, किसान, हरूवा, चरुवा ब्युँझ
रक्तरञ्जित परिवर्तन माग्दैछ समयले
फेरि विद्रोह गर्नैपर्छ भोका र नाङ्गाहरूले
राम्रो उद्देश्य देखिएन पटके निर्वाचनको
बदलिएन अनुहार सत्ता र सिंहासनको
बदल्नु छ अनुहार सत्ता र र सिंहासनको…

कवि अरापले मङ्गलबार काठमाडौँमा आयोजित चुनाव बहिष्कार कविगोष्ठीमा शब्दबाट आगो ओकल्दा सहभागी क्रान्तिकारी स्रष्टाबीच सनसनाहट उत्पन्न हुँदै थियो ।

हिजो आफ्नै र आफ्ना सहयोद्धाहरूको टाउकाको मोल तोक्ने काङ्ग्रेस र शेरबहादुर देउवासँग जनयुद्धको नेतृत्व गरेका तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहितको कथित वाम–लोक गठबन्धन, राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने माग लिएर हिँडेका राप्रपाहरू र हिजो मधेस आन्दोलन र त्यसपछि भारतीय प्रतिबन्धको समयमा नेपालको राष्ट्रियताविरोधी गतिविधि गरेका कथित मधेसवादीहरूसँगको झापा विद्रोहका नायक केपी वली नेतृतवको पार्टी एमालेको गठबन्धन, फलानो पार्टीले फलानो टिकट नदिएको वा स्वतन्त्रका नाउँमा विद्रोही बनेर उम्मेदवारी दिएको वा कसैको उम्मेदवारी खाइदिने निर्वाचन आयोगविरुद्ध रिटपछि उम्मेदवारी फिर्ता भएका घटनाहरू नै यतिबेला चर्चामा छन् । त्यसैगरी र अझ त्यसभन्दा पनि बढी चर्चा हुने गरी नेकपा (बहुमत) सहित चार कम्युनिस्ट पार्टीले घोषणा गरेको संसदीय निर्वाचन अवज्ञा सभा र प्रचारप्रसारहरू छन् यतिबेला परिचर्चामा । यसैको प्रतिफलस्वरूप लोकतान्त्रिक भनिने सरकारले चुनाव अवज्ञाका पोस्टर–पम्प्लेट टाँसिरहेका, पर्चा बाँडिरहेका र शान्तिपूर्वक भित्तेलेखन गरिरहेका क्रान्तिकारी पार्टीहरूका नेता–कार्यकर्तालाई गिरफ्तार गरेका घटनाहरू छन् छलफल र बहसमा । यी छलफल र बहसको अन्तर्यमा संसारभर असफल, अस्तव्यस्त, अराजक र जनविरोधी संसदीय व्यवस्थालाई टिकाइराख्ने कि देश र श्रमजीवी श्रमिक जनताको हकहितलाई केन्द्रभागमा राखेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको दिशामा अघि बढ्ने भन्ने विषय छ ।

मार्क्सवादी कवि बीपी विद्रोही विद्यमान चुनावी दङ्गाफसाद, सत्ताविकृति, विसङ्गति र असङ्गतिहरूका विरुद्ध वैज्ञानिक समाजवादको भरपर्दो विकल्प लिएर यसरी प्रस्तुत भएका छन् :

पुँजीवाद र समाजवादको नाका बोकेर आऊ
अक्टोबर क्रान्तिको झैँ राँका बोकेर आऊ
पुल, बाटो, धारा केही चाहिँदैन अब चुनावमा
हृदयमा समाजवादको खाका बोकेर आऊ
नाच्दैनौँ हामी पुरानो त्यो गनगने सङ्गीतमा
माक्र्सवादको वैज्ञानिक भाका बोकेर आऊ
संसद्वादी घाउ गहिरो लागेको छ बस्तीमा
ए ! क्रान्तिकारी, एक मलम टाँका बोकेर आऊ
मिल्काइदेऊ केही थान ठेसहरू सहनशील मुटुभित्र
जित्नै लागेको पुरानै समय ताका बोकेर आऊ ।
यतिबेला समग्र माक्र्सवादी स्रष्टाहरूको भावना युवा स्रष्टा विद्रोहीले बोलेका छन् ।

युक्रेनमा देखावटी रूपमा युक्रेन–रुस युद्ध देखिए पनि सारमा अमेरिका–रुस युद्ध भइरहेझैँ यो चुनावमा पनि देश र जनतालाई सधैँ कङ्गाल, असहाय, परनिर्भर बनाइरहेको संसदीय व्यवस्था रोज्ने कि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि यो चुनाव अवज्ञा गरेर अघि बढ्ने भन्ने विषय नै उत्कर्षमा छ ।

मार्क्सवादी योद्धा र चिन्तकहरूले यो चुनावलाई राष्ट्र र राष्ट्रियता नै होम्ने ‘महायज्ञ’ भनिरहेका छन् र अपवित्र वा असैद्धान्तिक गठबन्धन गरिरहेका छन् । टाउकै सकिएपछि जोसँग गरे पनि भयो गठबन्धन । सत्ता एक मात्र लक्ष्य बनेपछि जोसँग गरे पनि भयो तालमेल । त्यसैले मङ्सिर ४ गते हुने भनिएको संसदीय चुनावको पूर्वसन्ध्यामा संसद्‌वादी पार्टीहरू आकाशका तारा झारिदिने आश्वासनसहितका हावा भरिएका बेलुनजस्त घोषणापत्र लिएर जनतामा फेरि भ्रम फिँजाइरहेका छन् । संसदीय निर्वाचनलाई संसद्वादीहरूले महायज्ञ, आमनिर्वाचन, जनमतसङ्ग्रहलगायत पदवी भिराइरहेका छन् तर तिनका अभिव्यक्ति सुन्दा टिठ लाग्छ– राष्ट्र र राष्ट्रियता नै होम्ने ‘महायज्ञ’ देशलाई किन चाहियो, जनतालाई किन चाहियो ? एमसीसी र नागरिकता विधेयकजस्ता राष्ट्रघाती सन्धिसम्झौता गर्ने सांसद र संसद् बनाउने चुनाव नेपाल र नेपालीलाई किन चाहियो ?

मानिसलाई अतिशयोक्ति पनि लाग्न सक्ला– यो चुनाव कसरी राष्ट्र र राष्ट्रियता नै होम्ने ‘महायज्ञ’ हुनसक्छ ? तर संसदीय व्यवस्था र यसले विगतदेखि गराउँदै आएका चुनावहरूको कुल परिणाम भनेको अरू केही समयका लागि देश र जनता लुट्ने लाइसेन्सबाहेक केही पनि होइन ।

‘देश बेच्ने चुनाव बहिष्कार गरौँ’ शीर्षकमा मार्क्सवादी स्रष्टा खगेश्वर भण्डारी लेख्छन् :

तिमी फेरि आयौ चुनावी बनेर
तिमी ढाँट्न आयौ मुकुन्डो भिरेर
म विश्वास केले गरौँ बारबार
बहिष्कार गर्दैछु तिम्रो चुनाव । १।
जितायौँ कुरामा फसी चोटिचोटि
अहो ! देश बेच्यौ रहेछौ नि खोटी
यता एक वाचा उता भिन्न काज
बहिष्कार गर्दिन्छु तिम्रो चुनाव ।२।
यता रक्तधारा बगाई लडायौ
उता शत्रुसँगै मिली भोज खायौ
तिमी गर्न थाल्यौ उसैको बयान
यता रक्तरञ्जित् चिसै छन् चिहान ।३।
यताबाट जित्छौ र लिन्छौ प्रमाण
यसैमाथि टेकी बनाई विधान
पूरै देश बेच्छौ र बन्छौ दलाल
तिमी लुट्न जान्ने लुटेरा समान ।४।
यता भोट माग्छौ र जित्छौ र झुम्छौ
उता भीख माग्दै सबै देश घुम्छौ
भिखारी तिमी हौ नदी बेचिदिन्छौ
गरी सन्धि स्वाधीनता छोडिदिन्छौ ।५।
बुझेको छु मैले तिमी भोट किन्छौ
लिई द्रव्य केही पूरै देश दिन्छौ
यही भोट हाम्रो अहो ! बन्छ श्राप
यही भोटले नै बनायो विषाद ।६।
दिएकै त हो भोट कहाँ के गर्यौ खै ?
बरु देश बेची दलाली भर्यौ है ।
यता भोट माग्दै उता देश बेच्छौ
भिखारी बनी हात थापेर हिँड्छौ ।

मत माग्न भनेर झोली थाप्दै जनताको घरमा पुगेका उम्मेदवार र पार्टीका मानिसहरूलाई आमजनताले गरेको जिज्ञासा हेर्दा के लाग्छ भने मत माग्नेलाई पनि थाहा छ– मतदातालाई यिनीहरूले केही गर्ने छैनन् भन्ने र उम्मेदवारलाई पनि थाहा छ– मतदातालाई यी उम्मेदवारले जिते भने केही पनि गर्दैनन् भन्ने थाहा छ भन्ने । माग्ने र दिने दुवैलाई पत्यार नभए पनि आखिर यो झूट र षड्यन्त्रको खेल किन निर्विघ्न खेलिरहेका छन् खेलाडीहरू ? उत्तर सजिलो छ– झूट र षड्यन्त्रमा टिकेका संसद्वादीहरूका लागि फेरि थप एकपल्ट झूट बोल्ने र थप केही थान ओम्नी, यती, वाइडबडी, न्यारोबडी, सेक्युरिटी प्रेस, ललित निवासकाण्डहरू दोहोर्याउने पर्व हो संसदीय चुनाव । अनि निरीह जनतालाई कि चोर, कि फटाहा, कि डाँका, कि बलात्कारी, कि व्यभिचारी, कि राष्ट्रघातीमध्ये एउटालाई रोज्नैपर्ने एक घृणित र भद्दा प्रहसन हो यो । जनतालाई थाहा नभएको होइन– मत दिएर आफ्नो जीवनमा सकारात्मक परिवर्तन केही हुँदैन ।

संसदीय चुनाव भ्रष्टहरूको जाल र खेल मात्रै हो भन्दै माक्र्सवादी स्रष्टा ढुण्डीराज अधिकारी ‘आह्वान गर्छु सबैलाई– नजाऊ भोट हाल्न’ शीर्षक कवितामा भन्छन् :

दलाल, भ्रष्ट, व्यवस्थाका भ्रष्ट, दलाल नेता
चुनावको नाटक रची आउँदैछन् है यता
झुटमुटको भाषा बोल्दै लुटतन्त्रका लागि
हात जोड्दै पसारिँदै खाँदैछन् मागीमागी
नकच्चरा, थेत्तरा भै लाज–सरम पचाएर
भोट माग्दैछन्, जन ठग्दैछन् मुख नचाएर
जनतालाई आफ्नै घरको नोकर सम्झिएर
लर्याङबर्याङ हल्लिँदैछन् खट्टु पिएर
फकाउँदै धम्क्याउँदै डर देखाउँदै जनलाई
पानीसरि बगाउँदैछन् देश लुटेको धनलाई
हामीलाई मूर्ख, अबुझ केही नजान्ने ठान्ने
गरिब–दुःखी, निमुखालाई मान्छेमा नगन्ने
यो व्यवस्था टिकाउन मनपरी गर्दैछन्
हाम्रो रगत–पसिनाले ढिकुटी भर्दैछन्
लाटो–सोझो हुनु हुन्न अब बुझ्नुपर्छ
चुपो लागी बस्यौँ भने मनलागी गर्छ
त्यसैले त हामी जनता बनौँ है सचेत
अवज्ञा र बहिष्कार गराैँ जनतामारा भोट
वैज्ञानिक समाजवाद ल्याउने बाटो लागौँ
गाँस, बास, कपासको हकअधिकार मागौँ
तयार हुनुपर्छ हामी क्रान्ति–मशाल बाल्न
एकजुट हुनुपर्छ यो व्यवस्था ढाल्न
ढिलो गर्नु हुन्न अब मुक्ति–क्रान्ति थाल्न
आह्वान गर्छु सबैलाई– नजाऊ भोट हाल्न

चुनावपछि उही तीतो–अमिलो इतिहास दोहोरिने हो– संसद्‌वादी पार्टी र नेताहरूले चुनाव लड्नका लागि भनेर व्यापारी र तस्करहरूसँग चन्दा वा सहयोगका नाउँमा अकुत रकम जोडेका हुन्छन् । चुनावपछि व्यापारी र तस्करहरूले उम्मेदवारहरूलाई सहयोग वा चन्दा दिँदा गरेको बोलकबोलअनसार सामानको भाउ बढाउँछन् । त्यसपछि झन् दुर्दिन सुरु हुन्छन् सर्वसाधारण, श्रमजीवी जनताका लागि । आफूले मत दिएर पठाएको नेता भनाउँदो मानिस माथिमाथि नै सत्ताको चाकरी र दलालीमा लाग्छ । सरकार ढाल्ने र बनाउने खेलमा लाग्छ । ठेक्कापट्टा लगाउने र लिने ध्याउन्नमा हुन्छ । आफूले जितेर गएको जिल्ला–क्षेत्रका प्राकृतिक साधन र स्रोतहरू दोहन गर्ने ध्याउन्नमा हुन्छ । प्रत्याह्वानको व्यवस्था नभएकाले मतदाताले फेरि अर्को चुनावसम्म कुर्नुपर्ने हुन्छ । अर्को चुनावसम्म कताकता केके भइसक्छ । समीकरणहरू बदलिन्छन् । आश्वासनका पोकाहरू थपिन्छन् । फेरि अरु आवश्यकताहरू थपिन्छन् । केही भइहाल्ला कि भन्ने लोभ र लालचले पनि सताउन थाल्छ । मानिस पाँच वर्ष बुढिन्छ । मतदाताहरूबीच एकता हुने अवस्था हुँदैन किनकि संसद्वादी शासकहरू जनता–जनताबीच लडाउन, जुधाउन व्यस्त हुन्छन् ।

आजित भएपछि ढाँट, छल र षड्यन्त्रमा टिकेको विद्यमान व्यवस्थाका विरुद्ध उठेका स्वरहरू मन पर्छन् मतदातालाई । उता विरोधका स्वरहरू एकत्रित हुन र यता विभाजित जनताको मन मिल्न समय लाग्छ । जब आजित मतदाता एक हुन्छन्, त्यसपछि व्यवस्थाको अवज्ञा हुन्छ । चुनावको अवज्ञा हुन्छ । उम्मेदवार वा दलका नेताको अवज्ञा, बहिष्कार र तिरस्कार हुन्छ र सुरु हुन्छ जनकारबाही । त्यसैको उच्च रूप थियो महान् जनयुद्ध र त्यसको एक अंशका रूपमा सडकमा जनआन्दोलनका रूपमा जारी छ असन्तोष । बारम्बार जोखिम मोलिरहने समय हुँदैन जनतासँग । जनयुद्ध र जनआन्दोलनमा विद्रोहमा उत्रिएका जनतालाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि सडकमा उत्रिन फेरि एक दशक लाग्यो । नेकपाको नेतृत्वमा सञ्चालित सडक सङ्घर्षमा जनताले विगतदेखिकै अपूरा र अधुरा सपना पूरा हुने अपेक्षा गरेका थिए तर हिजोका केपी, सीपी, राधाकृष्ण, बीच समयका पुष्पकमल, बाबुराम, रामबहादुरहरूजस्तै पछिल्लो समयका नेत्रविक्रम चन्दहरू पनि केही शक्ति र स्वार्थ पूरा भएपछि संसदीय संशोधनवामै चुर्लुम्म डुबे । जनतालाई फेरि चटारो परेको छ– अब सम्झौताहीन विद्रोहमा उत्रिनुपर्छ ।

जनयद्धबाट आएको माओवादी आन्दोलन तीन धारमा विभाजित बनेको छ– पुष्पकमल दाहालले नेतृत्व गरेको र केपी वलीसँग मिसिएर नफर्किएको एउटा धार हिजो आफैँले लडेको दलाल सत्ताको रक्षक बनेर काङ्ग्रेस र राप्रपासँग गठबन्धन गरेर समाप्त भएको छ । नेकपा (बहुमत), नेकपा क्रान्तिकारी माओवादीसहतिको एउटा धार नयाँ शिराबाट क्रान्ति उठाउने तयारीमा छ भने विप्लवसहितको एउटा धार क्रान्ति गर्ने नाउँमा केही रकम र जमिन बटुलेर संसद्‌वादतिरै लहसिएको छ भने क्रान्तिकारी शक्तिमाथि आक्रमणमा उत्रिएर साम्राज्यवादले क्रान्तिकारी आन्दोलन र कान्तिकारी नेताहरू सिध्याउन खडा गरेको कोन्ट्रा प्रतिविद्रोही, अराजक र अपराधी समूहमा भ्रष्टीकृत बन्दैछ । गत मङ्गलबार नेकपा (बहुमत) कपिलवस्तुका नेता टुकलाल पुनमगरमाथिको नियोजित साङ्घातिक आक्रमण र त्यसको प्रतिरक्षाका लागि उसले प्रस्तुत गरेको निर्लज्ज र निकृष्ट विज्ञप्ति हेर्दा यो प्रवृत्ति पहिचान गर्न कुनै समय खर्च गरिरहनुपर्ने देखिँदैन ।

यो साताको समय समीक्षाको अन्त्यमा मङ्गलबार काठमाडौँमा आयोजित बहिष्कार कविगोष्ठीमा वाचित आफ्नै ‘उल्टो मेसिन’ शीर्षक कविता प्रस्तुत गर्दै कलम रोक्ने अनुमति माग्छु :

धान हाल्यो– भुस निकाल्छ
तोरी हाल्यो– पिना निकाल्छ
उल्टो मेसिन, खराब मेसिन ।

बगैँचा दियो– खोरिया बनाउँछ
फूल दियो– बनमारा उमार्छ
माटो राख्यो– खरानी निकाल्छ
उल्टो मेसिन, बिग्रिएको मेसिन ।

सुन दियो– पत्रु निकाल्छ
जनता दियो– दास बनाउँछ
योद्धा दियो– कारिन्दा बनाउँछ
सपना दियो– लास बनाउँछ
उल्टो मेसिन, पत्रु मेसिन ।

बुद्ध दियो– हिटलर जन्माउँछ
माक्र्स दियो– ख्रुस्चोभ र देङ बनाउँछ
लेनिन र माओ दियो– पुष्पकमल र नेत्रविक्रम नै बनाइदिन्छ
सडेको मेसिन, कुहिएको मेसिन ।

यो अजिङ्गर हो– सुन्दर सपनाहरू निल्ने
यो ब्ल्याक होल हो– कालजयी आदर्शहरू समाप्त पार्ने
रूप, रङ, स्वाद
आदर्श, विचार, निष्ठा
सबैसबै स्वाहा पार्ने
यो दलाल पुँजीवादी अक्टोपस
यो साम्राज्यवादको कनिष्ठ र पत्रु संस्करण
यो मर्मत गर्नै नमिल्ने कबाडी मेसिन ।

अवज्ञा गरौँ यो सिसिफस यात्रा
बहिष्कार गरौँ यो आफैँलाई लिलाममा राख्ने बोलकबोलको जात्रा
निर्माण गरौँ नयाँ मेसिन
जसले सगरमाथाको यात्रा गर्दा
सगरमाथा नै पुर्याउँछ, दिल्ली र वासिङ्टन पुर्याउँदैन
तय गरौँ हाम्रा
चिहानबाट ब्युँतिएका सुन्दर सपनाहरूको यात्रा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :