फासिवादी अभ्यासको पराकाष्टा

फासिवादी शासकहरू जनमत र जनविश्वासमा होइन, केवल हतियारको भरमा टिकेका हुन्छन् । उनीहरूलाई जनताको कत्ति पनि विश्वास र भर हुँदैन । उनीहरू राज्यसत्ता र शक्तिको दुरूपयोग गर्दै सयौँ प्रहरी र सैनिकको पहरामा मात्र आफूलाई सुरक्षित देख्नछन् भने निहत्था जनता र क्रान्तिकारी पार्टीका नेता–कार्यकर्तामाथि सत्ताका क्रूरता लादेर मक्किइसकेको सत्ता जोगाउने दुष्प्रयत्न गर्छन् । दलाल संसदीय व्यवस्थालाई टिकाउने अन्तिम प्रयत्नस्वरूप आगामी मङ्सिर ४ गते गराउन लागिएको कथित चुनावका विरुद्ध जनमत र जनलहर देखिएपछि उनीहरू चुनाव भाँडिने डरले कति डरपोक र कायर देखिएका छन् भन्ने कुराको पछिल्लो प्रमाण चुनाव अवज्ञा र बहिष्कारका पक्षमा शान्तिपूर्ण प्रचारप्रसार गर्दै हिँडेका नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) लगायत पार्टीका नेता–कार्यकर्तालाई पर्चा वितरण गरिरहेको, पोस्टर टाँसिरहेको वा भित्तेलेखन गरिरहेको स्थानबाट अपहरण शैलीमा गिरफ्तार गर्नुले प्रस्ट पार्छ ।

संसदीय व्यवस्थामा चुनावमा मत दिनुलाई जति महत्वका साथ लिइन्छ, मत नदिनुलाई पनि उत्तिकै महत्वका साथ हेरिन्छ । नेपालमा त शासकहरू सधैँ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विरुद्ध हुने, विदेशीहरूको दलालका रूपमा काम गर्ने र सधैँ जनताका समस्याबाट टाढा रहने हुनाले उनीहरूलाई जनताप्रति कत्ति पनि भर र विश्वास छैन । त्यसैले उनीहरू सत्तामा रहेको समयमा मात्र होइन, सत्ताबाट बाहिरिएपछि पनि आफ्नो अलोकप्रियता र राष्ट्रघाती–जनघाती चरित्रका कारण बदनाम छन्, जनताबाट डराउँछन् र हतियारको बीचमा, प्रहरी–सैनिकको सुरक्षाघेरामा बस्न रमाउँछन् । त्यति हुँदाहुँदै पनि कयौँ ठाउँमा अलोकप्रिय, राष्ट्रघाती–जनघाती नेतामाथि जनताले आक्रोश व्यक्त गर्दै आक्रमणसमेत गरेका उदाहरण छन् । दलाल पुँजीवादका ठेकेदार बनेका, विभिन्न अलोकतान्त्रिक गठबन्धनमा रमाइरहेका संसद्‌वादी पार्टीका नेताहरूकै उक्साहटमा क्रान्तिकारी पार्टीका नेता–कार्यकर्ताहरूलाई पर्चा वितरण गर्दागर्दै, पोस्टर टाँस्दाटाँस्दै र चुनाव अवज्ञाको भित्तेलेखन गर्दागर्दै गिरफ्तार गर्नु भनेको उनीहरूको हतास मनस्थितिको पराकाष्टा हो । यसको उच्चस्तरमा प्रतिरोध हुनु आवश्यक छ । देश र जनताका लागि काम गरिरहेका नेताहरूले जनतासँग डराउनुपर्ने कुनै काम छैन । जनताको काम गर्ने नेता–कार्यकर्तालाई जनताले नै बचाउँछन् ।

नेपाली काङ्ग्रेस दलाल संसदीय व्यवस्थाको बलियो खम्बा हो । राप्रपाहरू प्रतिगामी राजनीतिका पक्षधर हुन् । कम्युनिस्ट नाउँधारी एमाले राष्ट्रघाती महाकाली सन्धि गराउनेदेखि जनयुद्ध दबाउन कालो कानुन ल्याउने कामसम्मका लागि कुख्यात र बदनाम छ । माओवादी केन्द्र जनयुद्धको नेतृत्व गरेका केही नेता रहेको तर जनयुद्धका सम्पूर्ण उपलब्धिहरू समाप्त पारेर सत्ताका लागि दलाल संसदीय व्यवस्थामा लम्पसार पर्दै क्रान्तिविरोधी कित्तामा उभिएको छ । मधेस पक्षधर दलहरू सीमित क्षेत्रीयतावादी र साम्राज्यवादपरस्त स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् । सबै शक्तिले सत्तास्वार्थका कारण आआफ्ना प्रतिबद्धतामाथि गद्दारी गरेका छन् र तिनलाई आआफ्नो अस्तित्व धान्नका लागि अलोकतान्त्रिक, अवैध, अस्वाभाविक चुनावी गठबन्धन गर्नु बाध्यता बनेको छ यद्यपि तिनले जनतालाई यो अवस्थाबाट बच्नका लागि बनावटी कथा बनाएर प्रस्तुत गर्ने गरेका छन् । संसद्वादी दलहरूले सत्तास्वार्थमा गरेको घिनलाग्दो गठबन्धन हेर्दा र तिनले घोषणापत्रका नाउँमा जनताअघि फ्यालेका आश्वासनका पुलिन्दा हेर्दा लाग्छ– प्रतिक्रियावादी शक्तिहरू नसकिउन्जेल सुध्रिँदैनन् भन्ने महान् वाणीमा हजारौँ सत्यहरू छन् ।

दलाल संसदीय व्यवस्थाले राष्ट्रघात र जनघात गर्नेबाहेक कुनै पनि राम्रा काम गर्दैन वा गर्न सक्तैन भन्ने सत्य स्थापित भइसकेको छ । यति हुँदाहुँदै पनि उनीहरू पुरानो सत्ता शक्तिको दुरुपयोग गर्दै फेरि संसदीय चुनावमा भाग लिन र यही व्यवस्था टिकाएर आफूहरूलाई मालिक बनाइराख्न जनतामा अपराध र काला करतुतका पुन्तुरा लिएर पुगेका छन् । कयौँ स्थानमा जनताले तिमीहरूलाई मत दिँदैनौँ, यो व्यवस्थाले गराउने निर्वाचन प्रक्रियामा भाग लिँदैनौँ भनेर स्पष्ट अवज्ञा गरिदिएका छन् भने कतिपय स्थानमा जनताले निर्णय लिने समय कुरिरहेका छन् । कि डाँका, कि चोर, कि लुटेरामध्ये एउटालाई रोजेर फेरि पाँच वर्षसम्म लुटिइरहने प्रक्रियामा भाग नलिएर, अवज्ञा/बहिष्कार गरेर यो व्यवस्था र यो प्रणालीको अन्त्य गर्ने महत्वपूर्ण समय अब आमूल परिवर्तनका पक्षधर जनताको हातमा आइपुगेको छ । देश र जनताका विरुद्ध यति धेरै खराब काम र अपराध गर्ने पात्र र प्रणालीलाई रोजेर हामीले क्रान्तिकारी विकल्पलाई बेवास्ता गर्यौँ भने बारम्बार पछुताउनुबाहेक हामीसँग अर्को विकल्प हुनेछैन । विकास, समृद्धि, स्वाधीनत, मुक्तिका कुरा त छोडिदिऊँ, जनतालाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रताको अधिकारसमेत खोस्ने यी निर्लज्ज फासिवादी, दलाल पुँजीवादीहरूले फेरि सत्तामा पुगेर केही गर्लान् भन्ने सोच्नु बूढो गोरु ब्याउला र बिगौती खाऊँला भन्ने भ्रमबाहेक केही होइन । त्यसैले आमूल परिवर्तनका पक्षधर जनता र शक्तिले बेलैमा सोच्नुपरेको छ– यो दलाल पुँजीवादी व्यवस्थालाई नै अवज्ञा गरेर समानता र न्यायमा आधारित वैज्ञानिक समाजवादको बाटो हिँड्नु आवश्यक छ । वैज्ञानिक समाजवादले नै देशको सार्वभौमसत्ताको, राष्ट्रियता रक्षाको र जनजीविका तथा जनतन्त्रको सुनिश्चितता गर्नेछ । त्यसैले शोषणमूलक, साम्राज्यवादको ऐँजेरु दलाल पुँजीवादका जरा काट्न पनि निर्वाचन अवज्ञा गर्नु अपरिहार्य छ र अवज्ञा/बहिष्कारमा अघि बढिरहेका कम्युनिस्ट शक्तिहरूले अलि सशक्त र प्रभावकारी कार्यक्रम ल्याउनु आवश्यक छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :