नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लव समूहको आपराधिक आक्रमण

अराजनीतिक व्यवहार सच्याऊ : शार्दूल

नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लव समूहको आपराधिक आक्रमण

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध आपराधिक गिरोहले नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गरी उक्त गुण्डागर्दीजन्य आपराधिक आक्रमणको घोर निन्दा, विरोध र भत्र्सना गरेका छन् । टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको, आँखा र कानको बीचमा रहेको हड्डी भाँचिएको, दायाँ हातमा गम्भीर चोट लाग्नुका साथै खुट्टाको गोलीगाँठाको हाड भाँचिएको अवस्थामा पार्टीको रेखदेखमा बुटवलस्थित प्रादेशिक अस्पतालमा पुनको उपचार भइरहेको जानकारी दिँदै शार्दूलले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

विप्लव समूहको नाउँबाट नेकपा (बहुमत) का जिल्ला नेतामाथि भएको साङ्घातिक हमलाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको भन्दै ब्युरो इन्चार्ज शार्दूलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहका कारण भौतिक आक्रमण गर्नु भनेको विचारको पतनको पराकाष्टा हो । क्रान्तिकारी पार्टीका नेता–कार्यकर्तामाथि भौतिक आक्रमण गर्नु भनेको विचारको शून्यताबाहेक अरू केही पनि होइन । यस्ता अराजनीतिक, गलत क्रियाकलाप बन्द गरी राजनीतिक हिसाबले प्रस्तुत हुन र घाइते कमरेडको उपचारको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई सूचित गर्दछौँ । यस्तो अराजनीतिक व्यवहार सच्याउन हाम्रो पार्टी जिम्मेवारीपूर्वक अनुरोध गर्दछ ।’

ब्युरो इन्चार्ज शार्दूलले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

२०७९ कात्तिक २२ गते दिउँसो २ः०० बजे कपिलवस्तु जिल्ला वाणगङ्गास्थित अखिल नेपाल महिला सङ्गठन कपिलवस्तुका जिल्ला अध्यक्ष माया थापाको घरमा राजनीतिक छलफल गरी बसिरहेको अवस्थामा हाम्रो पार्टी कपिलवस्तुका जिल्ला सचिवालय सदस्य क. टुकलाल पुनमाथि ७/८ जनाको सङ्ख्यामा आएको जत्थाले साङ्घातिक हमला गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त गुण्डागर्दीजन्य आपराधिक आक्रमणको हाम्रो पार्टी घोर निन्दा, विरोध र भत्र्सना गर्दछ । उक्त घटनामा बोरामा फलामका रड र लाठी लुकाएर आएका कालो मास्क र टाउकोमा ज्याकेटको टोपी लगाएका नकाबधारी भेषमा आएका व्यक्तिहरूले ‘टुकलाल पुन भन्ने तँ होस्, हाम्रो पार्टी फुटाएर जाने ?’ भन्दै रड र लाठीले भौतिक आक्रमण गरेका थिए । उनीहरूको आक्रमणबाट टुकलाल पुनको टाउकोमा तीन ठाउँमा गहिरो घाउ लागेको छ । आँखा र कानको बीचमा रहेको हड्डी भाँचिएको छ । दायाँ हातमा गम्भीर चोट लाग्नुका साथै खुट्टाको गोलीगाँठाको हाड भाँचिएको छ । हाल पार्टीको रेखदेखमा बुटवलस्थित प्रादेशिक अस्पतालमा उहाँको उपचार भइरहेको छ । भौतिक आक्रमणबाट पीडित क. टुकलाल पुन र स्थानीय प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिहरू विप्लव नेतृत्वमा रहेको पार्टीका कार्यकर्ता भएको कुरा पुष्टि भएको छ ।

एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहका कारण भौतिक आक्रमण गर्नु भनेको विचारको पतनको पराकाष्टा हो । क्रान्तिकारी पार्टीका नेता–कार्यकर्तामाथि भौतिक आक्रमण गर्नु भनेको विचारको शून्यताबाहेक अरू केही पनि होइन । यस्ता अराजनीतिक, गलत क्रियाकलाप बन्द गरी राजनीतिक हिसाबले प्रस्तुत हुन र घाइते कमरेडको उपचारको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई सूचित गर्दछौँ । यस्तो अराजनीतिक व्यवहार सच्याउन हाम्रो पार्टी जिम्मेवारीपूर्वक अनुरोध गर्दछ ।

जुनसुकै तहबाट भए पनि राजनीतिक न्यूनतम् मूल्य–मान्यताविपरीत गरिने यसखाले दुष्कर्मले वर्गदुस्मनलाई सहयोग हुने तथा कम्युनिस्ट र देशभक्तलाई क्षति हुने तथा स्वयम्लाई घातक हुने कुराप्रति बेलैमा सजग गराउँछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :