केन्द्रीय स्कुलिङ र सचिवालय बैठकको सन्देश

केन्द्रीय स्कुलिङ र सचिवालय बैठकको सन्देश

नेकपा (बहुमत) ले पार्टी पुनर्गठनपछि पहिलोपटक केन्द्रीय स्तरमा पार्टी प्रशिक्षण (स्कुलिङ) सम्पन्न गरेको छ । दर्शन, विचार, राजनीति, पार्टी कार्यदिशा, योजना र कार्यक्रमलाई एकरूपतामा बुझ्न र कार्यान्वयन गर्न नियमित प्रशिक्षणहरू हुनु आवश्यक छ र त्यो केन्द्रदेखि स्थानीय एकाइसम्म निरन्तर चलिरहनुपर्छ । निरन्तर स्कुलिङले भुत्ते बन्दै गएका विचारहरूलाई धार लगाउँछ र बुझाइहरूलाई एकरूपतामा ल्याएर समान बनाउँछ ।

संसदीय संशोधनवाद/वादी समूहलाई कारबाही गर्दै मालेमाको क्रान्तिकारी झन्डा उठाएर नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा तय भएपछि र दलाल संसदीय व्यवस्थाको रक्षाका लागि अन्तिम प्रयास स्वरूप गर्न लागिएको कथित प्रदेश र प्रतिनिधिसभाको चुनाव अवज्ञाको कार्यक्रम अघि आएपछि केन्द्रीय स्तरमै कार्यदिशा, कार्यक्रम र योजनाहरू एकरूपपतामा अघि बढाउन केन्द्रीय स्तरको प्रशिक्षण आवश्यक थियो र सचिवालय स्तरमा यो सम्पन्न पनि भएको छ । यसले नेपालमा मालेमाको रक्षा, विकास र प्रयोग गर्न, साम्राज्यवाद, पुँजीवाद, संसदीय संशोधनवादको मृत्युन्मुख चरित्र बुझ्न र क्रान्तिकारी आन्दोलन अघि बढाउन ठूलो सहयोग पुर्याउनेछ ।

पुँजीवादी–दलाल पुँजीवादी समाज अत्यन्त विशृङ्खलित, एकल, व्यक्तिवादी महत्वाकाङ्क्षी छ । पुँजीवादले मानिसलाई संसारमा नितान्त स्वार्थी, एक्लो र चरम व्यक्तिवादी बनाइदिएको छ । सामूहिक चेतना र सामूहिक श्रमबाट निर्माण हुने नयाँ संसारका लागि कम्युनिस्ट आन्दोलन अघि बढिरहेको छ । कम्युनिस्ट आन्दोलनभित्र विभिन्न बहानामा प्रवेश गरेको व्यक्तिवादी, पुँजीवादी प्रवृत्तिले हजारौँ प्रतिभाहरू विकास गर्ने, सबैको क्षमता स्वीकार गर्ने, सीमाहरूलाई कम गर्दै कम्युनिस्ट बनाउने र सामूहिकतामा बाँच्न सिकाउने स्कुलिङ समाप्त गर्दै व्यक्तिलाई धुरी बनाउने पुँजीवादी स्कुलिङतिर धकेलिदिएको छ । यो संसारकै कम्युनिस्ट आन्दोलनलाई बदनाम र समाप्त पार्ने धमिरो हो र समाजवादलाई बदनाम गर्ने पुँजीवादको योजना पनि हो । यसलाई समाप्त पार्न र कम्युनिस्ट चेतना प्रवाह गर्न पनि केन्द्रीय स्कुलिङ आवश्यक थियो । यो स्कुलिङले झापा विद्रोहदेखि जनयुद्ध र एकीकृत जनक्रान्तिका नाउँमा भएका बलिदान र उपलब्धिहरूलाई समाप्त पार्ने केपी–प्रचण्ड–विप्लव प्रवृत्तिबाट सावधान रहँदै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन एउटा बलियो शक्ति प्रदान गरेको छ र साम्राज्यवाद–पुँजीवादका विरुद्ध निर्णायक लडाइँ लड्ने क्रान्तिकारी चेतनामा धार लगाउँदै नयाँ ऊर्जा प्रदान गरेको छ ।

विज्ञान–प्रविधि, सूचना–सञ्चार र विशेषतः सामाजिक सञ्जालहरूको विकास, प्रयोग (दुरुपयोगसमेत) पछि न्यून चेतनाका अधिकांश मानिस गहन अध्ययन, अनुसन्धान, पठन, लेखनभन्दा सतही सूचनाबाटै प्रभावित हुने र गहिराइसम्म नपुग्ने समस्या बढेको छ । आमसमाजमा बढेको यो प्रवृत्ति र यसको गलत प्रभावले मालेमा पक्षधरलाई पनि गाँजेको छ । त्योभन्दा पनि बढी त संसदीय संशोधनवादी बनेर दलाल पुँजीवादी व्यवस्थाको चुनावको उपयोग गर्ने भन्दै क्रान्तिकारी आन्दोलनबाटै विमुख बनेको विप्लव समूहलाई कारबाही गर्दै नेकपा (बहुमत) को पुनर्गठन गरिएपछि मालेमावादी विश्वदृष्टिकोण, राष्ट्रिय–अन्तर्राष्ट्रिय अवस्थामा आएको परिवर्तन, विकास वा फेरबदल, दलाल पुँजीवादको पछिल्लो अवस्था, क्रान्तिकारी आन्दोलनको अवस्था र दलाल संसदीय व्यवस्थाको रक्षाका लागि संसद्वादी पार्टीहरूले मङ्सिरमा चुनाव गराउने ऐलान गरिरहेको र उक्त चुनाव अवज्ञाका लागि देशभर चार वामपन्थी पार्टीको आयोजनामा अवज्ञा÷बहिष्कार सभा सञ्चालन भइरहेको अवस्थामा पार्टीको स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा पार्टीको सचिवालयस्तरीय प्रशिक्षण हुनु अत्यन्त राम्रो कामको सुरुआत हो । यसले पुराना गलत स्कुलिङका प्रभावहरूलाई समाप्त पारिदिएको छ । मूलतः माक्र्सवादी दर्शन, पार्टी कार्यदिशा र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, एकीकृत जनयुद्धको सैन्य कार्यदिशा र माक्र्सवादी अर्थशास्त्रमा केन्द्रित रहेर आयोजना गरिएको केन्द्रीय स्कुलिङले जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्ने एउटा बलियो जग निर्माण गरेको अनुभूति गरिएको छ ।

यसै सिलसिलामा नेकपा (बहुमत) को सचिवालय बैठक बसेर दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा कार्यक्रममा विकास गर्ने निर्णय गरेको छ । कात्तिक २३ गतेसम्म चुनाव अवज्ञा आन्दोलनले प्रचारात्मक चरण पार गरिसकेको छ । यसबीच सरकारले अवज्ञा आन्दोलनका क्रममा भित्तेलेखन गरिरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्तालाई गिरफ्तार गर्दै भित्तेलेखनसमेत मेटेर आफ्नो फासिवादी चरित्र उदाङ्गो पारेको छ । यो अवस्थालाई ध्यान दिँदै बैठकले चुनाव अवज्ञाका कार्यक्रमहरूलाई अझै प्रभावकारी ढङ्गले लैजाने, पार्टी र जनसङ्गठनहरूलाई विस्तार गर्ने अवज्ञा आन्दोलनलाई सक्रिय बनाउने निर्णय गरेर यो व्यवस्थाविरुद्ध आवश्यक कार्यक्रम ठोस गरेको छ । स्कुलिङ र बैठकले पारेको प्रभाव दीर्घकालीन नेपाली समाजलाई वैज्ञानिक समाजवादसम्म पुर्याउन सहायक बन्ने आशा, अपेक्षा र विश्वास गरिएको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :