चुनाव अवज्ञा कार्यक्रम विकास गर्दै नेकपा (बहुमत)

केन्द्रीय सचिवालयस्तरीय साताव्यापी स्कुलिङ सम्पन्न

चुनाव अवज्ञा कार्यक्रम विकास गर्दै नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) ले देशव्यापी चुनाव प्रचार र आन्दोलनपछि अवज्ञा कार्यक्रम विकास गर्ने भएको छ । पार्टी सचिवालयस्तरीय केन्द्रीय स्कुलिङपछि काठमाडौँमा बसेको सचिवालय बैठकले दलाल संसदीय व्यवस्थाले गर्ने कथित प्रदेश र सङ्घको चुनाव अवज्ञा आन्दोलन प्रचारात्मक रूपले सम्पन्न भएको र असोज २३ देखि आरम्भ भएर कात्तिक २३ गते काठमाडौँमा सम्पन्न हुने अवज्ञा सभापछि कार्यक्रम विकास गर्ने निर्णय गरेको हो । नेकपा (बहुमत), नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल, माओवादी कम्युनिस्ट पार्टीसहित चार वामपन्थी पार्टीले देशव्यापी रूपमा निर्वाचन बहिष्कार/अवज्ञा सभा आयोजना गरिरहेका छन् । देशव्यापी रूपमा जनताको व्यापक र उत्साहजनक उपस्थितिमा अवज्ञा सभाहरू हुँदै आएका छन् ।

बैठकले चुनाव अवज्ञा कार्यक्रमलाई प्रभावकारी रूपले अघि बढाउने, साङ्गठनिक रूपले पार्टी र जनसङ्गठनलाई विस्तार गर्ने र अवज्ञा आन्दोलनलाई अझै सक्रिय बनाउने निर्णय गरेको जानकारी पार्टी प्रवक्ता सुदर्शनले दिए ।

बैठकले माओवादी केन्द्रको युवा सङ्गठनबाट विद्रोह गरेर नेकपा (बहुमत) मा समाहित हुन आएका सञ्जीव तामाङलाई पार्टीमा स्वागत गर्ने, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य झमानसिंहलाई पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्यको जिम्मेवारीमा लैजाने निर्णय पनि गरेको छ ।

यसअघि नेकपा (बहुमत) ले काठमाडौँमा सचिवालयस्तरीय साताव्यापी केन्द्रीय प्रशिक्षण सम्पन्न गरेको छ । नेकपा (बहुमत) का संयोजक कञ्चनले कात्तिक ७ गते कीर्तिपुरमा आयोजित एक भव्य कार्यक्रममा मैनबत्ती बालेर पहिलो केन्द्रीय स्कुलिङ उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा संयोजक कञ्चनले पुँजीवाद, साम्राज्यवाद, संसदीय संशोधनवादलगायत जनविरोधी तत्वहरूद्वारा उत्पन्न सङ्कटहरूलाई मालेमावादीहरूले समाधान दिनुपर्ने र त्यसको जिम्मेवारी नेकपा (बहुमत) मा आएको बताए । पार्टीको स्कुलिङ तथा अनुसन्धान विभागद्वारा आयोजित केन्द्रीय स्कुलिङमा संयोजक कञ्चनले भने, ‘देश, जनता र उत्पीडित वर्गलाई वैज्ञानिक समाजवादसम्म लग्ने नैतिक आधार भएको एउटै मात्र पार्टी नेकपा (बहुमत) हो । एमाले, माके, माले हुँदै विप्लव समूहसम्म प्रकारान्तरले दलाल पुँजीवादी संसदीय व्यवस्थामा फसिसकेका छन् ।’

पार्टी संयोजक कञ्चनले वैचारिक, सैद्धान्तिक, राजनीतिक रूपमा प्रस्ट हुन, परिवर्तित र विद्यमान राजनीतिक धार–प्रवाह र गतिको संश्लेषण गर्दै मालेमावादी क्रान्तिकारी कार्यदिशा लागू गर्न र दलाल पुँजीवादी व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न केन्द्रदेखि स्थानीय स्तरसम्म सैद्धान्तिक, वैचारिक, राजनीतिक विषयहरूमा निरन्तर स्कुलिङ सञ्चालन गरिरहनुपर्ने पनि प्रस्ट पारे । दुस्मनहरूका योजना र प्रहार सामना गर्न सक्षम बन्न ठूलो चुनौती सामना गर्दै सक्षम बन्नुपर्ने र त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टी तयार रहेको पनि पार्टी संयोजक कञ्चनले बताए ।

पार्टी प्रवक्ता एवम् स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज सुदर्शनले इतिहासदेखि नै दुवै वर्गले आआफ्नो वर्गलाई फाइदा हुने गरी स्कुलिङ गरिरहेको भए पनि मालेमावादी स्कुलिङले विचार–व्यवहारलाई उद्याएर धारिलो बनाउँदै निरन्तर अवधारणाको विकास गरिरहने बताए ।

साताव्यापी स्कुलिङ कार्यक्रमको अध्यक्षतासमेत गरिरहेका प्रवक्ता सुदर्शनले स्कुलिङले माक्र्सवादमा भएको विकास बुझ्ने, दलाल पुँजीवाद र भूमण्डलीकरणको प्रतिरोध गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने विचार र व्यवहारबीच तादात्म्य मिलाउने विचारको विकास गर्ने, हाम्रो परिस्थिति र सिर्जनात्मकताका कुँजीहरूबारे संश्लेषण गर्न सक्षम बौद्धिक योद्धाहरू तयार पार्ने, सिर्जनात्मकताका नाउँमा आउने अवसरवाद र रक्षाका नाउँमा देखापर्ने जडसूत्रवाद चिरेर क्रान्तिकारी धार निर्माण गर्ने भएकाले पार्टीले सबै तहमा प्रशिक्षण चलाइराख्ने प्रस्ट पारे ।

केन्द्रीय स्कुलिङ कार्यक्रमका विशिष्ट अतिथि पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारे काकाले मालेमावादको आजको परिवेश, विकास र सिर्जनशीलतालाई भुत्ते हुनबाट जोगाएर वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न स्कुलिङले ठूलो ऊर्जा र हतियार प्रदान गर्ने बताए । मालेमावाद क्रान्तिकारी जीवन–दर्शन र आदर्श भए पनि गहन अध्ययन, विश्लेषण, खोज गर्ने परिपाटी घट्दै गएको र फेसबुकका सस्ता सन्देशका शीर्षक हेरेर धारणा बनाउने समस्याले क्रान्तिकारी विचार छिपछिपे र भुत्ते हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै अग्रज कम्युनिस्ट नेता असारेले दर्शन, विचार, सिद्धान्त र व्यवहारलाई एकरूपतामा बुझेर लागू गर्न निरन्तर स्कुलिङ सञ्चालन गरिरहनुपर्ने धारणा राखे ।

केन्द्रीय स्कुलिङ उद्घाटनमा पार्टी केन्द्रीय कार्यालय सदस्य दीपक, प्रवीर, गम्भीर, निर्मल, जगत, सचिवालय सदस्यहरू प्रतीक, शार्दूल, अटल, शरद, रूपेश, नयन, महान, सङ्गम, आर्जन, समरजङ्ग, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू विप्लव, मुक्ति, खलिल, एजन, युगान्त, इमानदार, राजन, रकम, आकाशका साथै पार्टी कार्यालय राकेश, विवेक, टाइगरलगायत नेता सहभागी थिए । स्कुलिङ विभागका सदस्य खलिलले कार्यक्रम सञ्चालन गरेका थिए । स्कुलिङमा कञ्चन, सुदर्शन, दीपक र प्रवीरले एक सातासम्म प्रशिक्षण दिएका थिए ।

स्कुलिङको समापन गर्दै पार्टी प्रवक्ता एवम् विभागीय इन्चार्ज सुदर्शनले स्कुलिङ सफल रहेको र यसले नेतृत्वलाई झनै धारिलो बनाएको र वैचारिक शक्तिलाई भौतिक शक्तिमा ढाल्ने अपेक्षा र विश्वास गरिएको बताए । क्रान्ति सम्पन्न गर्न निरन्तर अध्ययन, स्कुलिङ र व्यवहारबीच उचित तालमेल निर्माण गर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :