क्रान्तिकी ऊर्जा आमा फूलमती

क्रान्तिकी ऊर्जा आमा फूलमती

क्रान्तिका लागि धेरै आमाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यस्तै फूलमती विक आमाले पनि समाज परिवर्तनका लागि आफ्नो जीवनलाई समाजसेवामा समर्पित गर्नुभएको थियो र समाजवादी व्यवस्था ल्याउनका निम्ति आफ्नो मुटुको टुक्रालाई कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लाग्न प्रेरित गर्नुभयो । आमा फूलमतीका छोरा कमरेड लोकेश समाजवादी आन्दोलनको एक योद्धाका रूपमा कार्यरत हुनुहुन्छ ।

सायद वर्गीय मुक्तिका लागि वर्गीय आन्दोलनका क्रममा भेट भएको दुई दशकजति भयो । हाम्रो चाहना भनेको नेपालका उत्पीडित जनताका लागि सङ्घर्षपूर्ण जीवनको खोजी गर्दै कम्युनिस्ट चेतना, कम्युनिस्ट व्यवस्था, कम्युनिस्ट समाज स्थापना गर्नुपर्छ भन्दै साहसिक यात्रा गर्ने अठोट गर्नु हो । नेपाली जनताले आजका दिनसम्म पनि जातीय, लैङ्गिक, वर्गीय, क्षेत्रीय उत्पीडनबाट मुक्ति पाएका छैनन् । यी सपनाहरू पूरा गर्नका लागि घरपरिवार छोडी क्रान्तिकारी यात्रामा लामबद्ध छौँ । त्यसैले होला घरको भन्दा क्रान्ति माया र चिन्ता लाग्छ ।

लेखक : सुजन विश्वकर्मा ‘आयाम’

सायद मेरा लागि अकल्पनीय र तीतो दिन थियो । क. लोकेशले मलाई एकाबिहानै फोन गर्नुभयो– सुजन, आमा गाउँ गएको बेला हृदयाघात भयो । आमा गाउँमै हुनुहुन्छ । हेलिकोप्टर खोज्नुपर्यो, आमालाई काठमाडौँ ल्याउनुपर्यो ।

मैले लामो कुरा नगरी हुन्छ, म बुझ्छु, खोज्छु भनेर फोन राखेँ । क. लोकेशको आवाजमा बेग्लैपन थियो । शब्दहरू आधा उच्चारण भएजस्तो सुनिन्थ्यो । म तुरुन्तै सम्बन्धित ठाउँहरूमा बुझ्न लागेँ । केही समयको अन्तरालमा क. लोकेशको फोन आयो । लोकेश, हेलिकोप्टर खोज्ने प्रयास गरिराखेको छु भन्दै थिएँ । अगाडि बोल्न नपाउँदै उहाँले भन्नुभयो, ‘अब भयो सुजन, आमा त रहनुभएन ।’

म निःशब्द भएँ । के भन्ने, के नभन्ने मन आत्तियो । मन छिया–छिया भयो । मनमा अनेकथरी कुरा चले । भुइँचालो गएजस्तै भयो । अनि मेरी आमाको निधनलाई सम्झेँ । मेरी आमाको निधन हुँदा म सानै थिएँ । युद्वमैदानमा मुक्तिको सपना बुनिराखेको थिएँ । आफैँलाई प्रश्न गर्न थालेको थिएँ– आमाहरूको काम जन्माउने, हुर्काउने, पढाउने मात्रै हो कि ! यस्तै अनुभूति भयो । हामी आमा–बाबाप्रतिको जिम्मेवारी र दायित्व पूरा गर्न नसक्ने रहेछौँ भनी ग्लानिजस्तो भयो ।

अनि फेरि लोकेशले मलिन स्वरमा फोन गर्नुभयो– सुजन, म आउँदैछु । मलाई रिसिभ गर्नु ल ! हुन्छ भन्दै म एयरपोर्ट पुगेँ । चिलगाडी आयो । सधैँ चिलगाडी आउँदा खुसी हुने मेरो मन त्यो दिन निकै भावुक र अत्यासलाग्दो भएको थियो । लोकेश आएको चिलगाडी बस्ताखेरि नै मनभित्र आँधी मडारिरहेको थियो । केही समयपछि विक्षिप्त अनुहारसहित प्रिय कमरेड लोकेश आउनुभयो । मलाई आफ्नै साथीको मुख हेर्नसम्म निकै कठिन भयो । मसँग सम्झाउन र बोल्न शब्द थिएन । क. लोकेशलाई देखेपछि बल्ल बुझेँ– आमाको बिछोडमा कति उजाड र भावविह्वल हुनेरहेछ सन्तानको जीवन !

एक वाक्य पनि पूरा नबोली हाम्रो पीडादायी यात्रा सुुरु भयो । लोकेशले लुकाउन खोज्दाखोज्दै झरेका आँसु म लुकिङ ग्लासबाट देखिरहेको थिएँ । सवारीसाधन चलाउने मेरा हात फत्याकफुतुक गलिराखेका थिए । मलाई गाडी चलाउन निकै कठिन भैरहेको थियो ।

दुई घन्टाको यात्रा पार गर्न हामीलाई चार घन्टाजति लाग्यो । ठाउँठाउँमा बिसाउनुपर्ने बाध्यता बन्यो । कमरेड लोकेशले पटकपटक पानीले टाउको भिजाइराख्नुभएको थियोे । त्यो व्यस्त सडकको किनारातिर आधा दर्जनभन्दा बढी ठाउँमा घोप्टो परेर पल्टिराख्नुभयो ।

मसँग उहाँलाई सम्झाउने कुनै शब्द नै थिएन । मेरो पनि मन समाल्नै नसक्ने अवस्थामा थिएँ । तर साधन चलाउँदै आमाको मृत शरीर भेट्न जानुपर्ने कष्टकर बाध्यता नै थियो । केही समयपछि आमाको मृत शरीर भएको ठाउँमा पुग्यौँ । त्यहाँ दुईवटा गाडी स्ट्यान्डबाई थिए । लोकेश ओर्लिनेबित्तिकै एकजना अँगालो हालेर भक्कानिनुभयो । म सहन नसकेर अलि घोप्टिएँ । भोलिपल्ट दाहसंस्कार गर्ने भनी आमाको शरीर नदेखाई लोकेशलाई अर्को गाडीमा बसाइयो । गाडीहरू पर्वततिर हुइँकिए । म फाटेको मन लिएर फर्किएँ ।

कमरेड लोकेशलाई धेरै सामाजिक चुनौतीहरू थिए । दाजुभाइ सबै विदेशमा । आफू यहाँ एक्लै हुनुको पीडा जति थियो त्योभन्दा बढी रूढिवादी मान्यताले चिथोर्ने खतरा नै थियो । तर कमरेड लोकेशले कुशलता र धैर्यपूर्वक आफ्नो विचार र सिद्धान्तलाई व्यवहारमा उतार्नुभयो जुन एक असल र वास्तविक कम्युनिस्ट कार्यकर्ताले गर्नैपर्ने थियो र हुन्छ । उहाँको यो सही प्रयोग देखेर म हिजो र आजका कम्युनिस्ट स्कुलिङ दिने र लिने अनि बरखी बार्ने, झापो हाल्ने नक्कली कम्युनिस्टलाई धिक्कार भन्न मन लाग्यो । घरमा सत्यनारायणको पूजा लगाएर हातमा डोरी बाँध्ने र काँधमा जनै भिरेर क्रान्तिका भाषण गर्ने कथित कम्युनिस्टका लागि कमरेड लोकेश एक झापड बन्नुभयो । माक्र्सवाद बोल्ने र आदर्शवाद लागू गर्ने नक्कलीहरूका लागि कमरेड लोकेशको निर्मम विद्रोह थियो ।

यो आदर्शवादी चेतनाबाट लोकेशले विद्रोह मात्र गर्नुभएन बरु नयाँ र वास्तविक जनवादी संस्कारको थालनीसमेत गर्नुभयो । कमरेड लोकेशले भौतिकवादी चिन्तनलाई सपाट तरिकाले लागू गर्नुभयो । परम्परागत काजकिरिया कर्मलाई खारेज गर्न सफल हुनुभयो । कपाल मुण्डन गर्नुभएन । सेता लुगा लगाउनुभएन । पुरानो चेतनासँग विद्रोह गरी नयाँ संस्कारको बीजरोपण गर्नुभयो ।

२९ गते पार्टीका सचिवालय सदस्य क. पूर्णबहादुर सिंह, कालीकोट इन्चार्ज क. रण, अखिल क्रान्तिकारीका गण्डक प्रदेश सयोजक क. हरि, कास्की युवा सङ्गठनका अध्यक्ष क. लोकेन्द्र, युवा सङ्गठनका कोषाध्यक्ष क. सूर्य र म आमालाई श्रद्धाञ्जली अर्पण गर्न र परिवारसँग समवेदना साट्न पोखराबाट यात्रा सुरु गर्यौँ । केही घन्टापछि दुग्लुङ गाउँमा पुगियो । पर्वत जिल्ला इन्चाज क. अनन्तसँग भेट भयो अनि पर्वत जिल्ला पार्टी सदस्य क. नवराजको घरमा पुगियो । कमरेडहरू भावुक हुनुहुन्थ्यो । हामी सबै एक छिनपछि कमरेड लोकेशको गाउँको घरमा पुग्यौँ । त्यो घरमा परिवार, छरछिमेकी र आफन्तहरूको अनुहार मलिन र स्तब्ध देखिन्थ्यो ।

केहीबेरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पर्वत जिल्लाको अयोजनामा आमा फूलमतीको श्रद्धाञ्जलीसभा प्रारम्भ भयो । उक्त सभामा शोकाकुल परिवारजन, आफन्तहरू, सहिद परिवार, विभिन्न राजनीतिक दलका नेता– कार्यकर्ता, बासिन्दा र हाम्रो जिल्ला स्थानीय पार्टीको सहभागितामा कार्यक्रम सुरु भयो । सबै राजनीतिक पार्टीका नेताहरूले आफ्नो मन्तब्यमार्फत फूलमाया आमालाई श्रद्धाञ्जली अर्पण गर्दै पैयुँखोले वामपन्थी आन्दोलनका एक अगुवा तथा समाजसेवी भएकोमा मुक्तकण्ठले प्रशंसा गरे । कमरेड लोकेशकी आमा फूलमाया र बुबा लक्ष्मण विश्वकर्माका योगदानबारे राजनीतिक दलका नेता–कार्यकर्ताले गहिरोसँग चर्चा–परिचर्चा गर्नुभयो ।

वक्ताहरूले कमरेड लोकेशको परिवारले वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय सङ्घर्षमा निर्वाह गर्दै आएको भूमिकाप्रति सबैले नमन गरेका थिए । आमा फूलमायाले वर्गीय मुक्तिका लागि निरन्तर सङ्घर्ष गर्दै आफ्नो वर्गलाई शिक्षादीक्षा र अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ भनी घरघरमा पुगेर सम्झाएको विशेष स्मरणसमेत गरेका थिए ।

आमा फूलमतीले देखाएको मार्गमा क. लोकेश निरन्तर लागिरहनुभएको छ । आमा–बाबाको मृत्युका सन्दर्भमा पुरानो संस्कार–संस्कृति तथा कथित बैकुण्ठ एवम् स्वर्ग–नर्कवाद (समग्रमा आदर्शवाद) का विरुद्ध विद्रोह गर्नुभयो । उहाँले आमा–बाबाको स्मरणमा फूल फाउन्डेसनमार्फत गरिब, दलित र जेहेनदार विद्यार्थीका लागि पाँच लाखको अक्षयकोष स्थापना गर्नुभयो । महान् जनयुद्धले निर्माण गरेको नयाँ मूल्य, मान्यता र संस्कार–संस्कृति थियो । यो संस्कृतिले आमजनतालाई अघि बढ्न प्रेरित गरेको छ ।

हुनत झापा विद्रोह र दसबर्से जनयुद्धबाट आएका र आफूलाई कम्युनिस्ट भनाउने केही नेताहरू मन्दिर र भैँसीपूजा गर्न थालेका छन् भने केहीले ग्रहशान्तिका लागि पञ्चधातुको औँठी लगाउन र केही कपालमुण्डन गरी श्वेतवस्त्र धारण गर्न थालेका छन् । अझ माक्र्सवाद पुरानो भयो, नयाँ संश्लेषण गर्नुपर्छ भन्दै घिनलाग्दो प्रवचन दिइराखेका छन् । जसले, जे–जसरी र जुन उद्देश्यले भनून्, माक्र्सवादी हुनु भनेको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद ग्रहण गर्ने र लागू गर्ने कुरा हो । त्यसमा कुनै बहाना वा तर्क गरेर आदर्शवाद लागू गर्नु भनेको साधुको भेषमा चोर बन्नशिवाय केही होइन । त्यसैले कमरेड लोकेशले गरेको मालेमाको सही कार्यान्वयनलाई सलाम गर्दै आमा फूलमतीप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :